वैकल्पिक विश्वको खोजीमा काठमाडौं आइपुगेको राउटे समुदायको कथा
अर्को विश्वबारे बहस गर्न नेपालमा पहिलो पटक आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा संसारभरका नागरिकसँगै तीन जना राउटे युवा पनि दैलेखबाट काठमाडौं पुगेका छन्।
वैकल्पिक विश्वबारे विचारविमर्श गर्न काठमाडौंको भृकुटीमण्डपमा आयोजित विश्व सामाजिक मञ्चको १६औं सम्मेलनमा अनेकथरी स्टल राखिएका छन्। त्यसमध्ये ९० नम्बरमा राउटे समुदायको स्टल छ। तीन जनाले सहजीकरण गरिरहेको स्टलमा राउटे समुदायले बनाएका काठका सामग्री प्रदर्शनमा राखिएका छन्।
स्टलमा दीपक राउटे, बन्धवीर राउटे र सुर्मान राउटे सँगसँगै बसिरहेका छन्। अवलोकन गर्न आउने आगन्तुक उनीहरूसँग सेल्फी खिच्नेदेखि अनेकानेक प्रश्न सोधिराखेका छन्। दीपक सबै प्रश्नको उत्तर सहजै दिइरहेका छन्।
बन्धवीर र सुर्मान भने चूपचाप आफ्नै ध्यानमा छन्। बाहिर गीत बज्यो भने सुर्मान कान ठाडो पारेर सुन्छिन्। सक्दो हेर्नका लागि स्टल भित्रबाहिर गरिराख्छिन्।
तीनै जनाले सेता लुगा तलदेखि माथि बर्को जस्तै ओढेका छन्। दीपक र बन्धवीरको शिरमा ढाकाटोपी छ भने पाउमा किट्टो चप्पल। सुर्मानको घाँटीभरि पोते छ। हातमा सिल्भरका चुरा छन्। रातो पोलिस्टरको चोलो र गुन्युँ लगाएकी छन्।
कोरीबाटी चिटिक्क परेकी उनलाई काठमाडौं नौलो लागेको छ। “पहिलो पटक आएकी हुँ,” उनी भन्छिन्।
दीपकलाई अनौठो त लागेको छैन, उत्साहित भने छन्। सुर्मानसँगै बसेका बन्धवीरलाई भने झिंजो लागेको छ। आउने-जाने मान्छेले गरेका प्रश्नले दिक्क लागेको उनी सुनाउँछन्। उनी मन नलागी नलागी बोल्छन्।
सुर्मान र बन्धवीर नेपाली त बुझ्छन् तर जवाफ फर्काउन सक्दैनन्। दीपक भने सबै प्रश्नको जवाफ दिइरहेका छन्। उनलाई नेपाली राम्रैसँग बोल्न आउँछ।
दीपक २५ वर्षका भए। उनले विवाह गरेका छैनन्। त्यसको कारण हो- केटी नपाउनु। उनी राउटे समुदायमा आफूलाई मिल्ने केटी नभएको सुनाउँछन्। राउटे समुदायको चलन अनुसार केटाले आफूभन्दा जेठी र एकल महिलासँग बिहे गर्दैनन्।
१६ वर्षे सुर्मान पनि एकल हुन्। केही समयअघि उनका श्रीमान्को मृत्यु भएको थियो। अब उनले विवाह नगर्ने सुनाइन्। राउटे समुदायमा श्रीमान्को मृत्यु भएपछि बिहे नगर्ने चलन छ।
केही दिनदेखि काठमाडौंको रमझममा बसिरहेका दीपक जंगल नै प्यारो लाग्ने गरेको बताउँछन्। “दुनियाँसँग बस्न मन लाग्दैन,” उनी भन्छन्।
गाउँमा छँदा पनि उनी बाँदर मार्न जान्छन्, जंगलतिर। काठका सामान बनाउँछन्। उनलाई मासु र भात निकै मन पर्छ। “काठमाडौं आउँदा बाटोमा मासु मात्रै खाएँ,” उनी भन्छन्।
उनी बाँदर मार्न सिपालु छन्। यो हिउँदमा मात्रै १६ वटा बाँदर मारेको बताउँछन्। बाँदर, कुखुरा र खसी बाहेकको मासु खाँदैनन्।
राउटे समुदायले खानामा प्रायः भात खाने गरेको छ। राउटे जातिबारे अध्ययन गरेका अमीर पौडेल भन्छन्, “राउटेको भान्सामा कोदो, गहुँ र मकैको रोटी विरलै पाक्ने गरेको छ।”
राउटेलाई तरकारीको जोहो गर्न निकै कठिन हुने गरेको उनी सुनाउँछन्। यदाकदा नजिकै गाउँमा गएर तरकारी मागेर खाने गरेका छन्।
राउटेको विशेषता समूहमा बस्ने हो। एक्लै केही काम गर्दैनन्। राउटेको मुखियाले जे भन्यो त्यही गर्ने गरेको पौडेल बताउँछन्। “नियमको पालना गर्छन्। उनीहरूलाई आफ्ना जनता बाहेक दुनियाँसँग कुनै सरोकार हुँदैन,” उनी सुनाउँछन्।
उनीहरूलाई घर बनाउन, लेखपढ गर्न स्थानीय सरकार र जनप्रतिनिधिले भन्ने गरेका छन्। त्यसका लागि सहयोग गर्न पनि तयार छन्। तर उनीहरू आफ्नै चालचलनमा रमाइरहेका छन्। “बाउबाजे जसरी बाँचे, हामी पनि त्यसरी नै बाँच्छौं,” दीपक भन्छन्।
यस पटक भने उनले त्यसरी बाँच्न रुचाएनन्। ‘अर्को विश्व सम्भव छ’ भन्ने मुख्य नारा रहेको विश्व सामाजिक मञ्चको १६औं संस्करणमा सहभागी भएका छन्। उनीहरू सामुदायिक सेवा केन्द्र (सोसेक) नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाको अगुवाइमा दैलेखबाट दुई दिन लगाएर काठमाडौं आइपुगेका हुन्।
संसारका विभिन्न समुदायका आदिवासीको हकअधिकारबारे बहस हुने भएकाले राउटे समुदायलाई पनि काठमाडौं ल्याइएको लालबहादुर खत्री सुनाउँछन्। गत ६ वर्षदेखि राउटे समुदायलाई व्यावहारिक शिक्षा सिकाउँदै आएका खत्री भन्छन्, “छुट्टै भाषा, संस्कार, जीवनशैली र फिरन्ते जाति राउटेबारे संसारलाई थाहा होस् भनी ल्याइएको हो। संसार एकै छैन। मान्छेहरू पनि फरक फरक छन्।”
दीपक भने यसअघि पनि काठमाडौं आएका थिए। अहिलेसम्म १२ पटक काठमाडौं आइसकेको उनी सुनाउँछन्। उनले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटिसकेका छन्। दीपक दैलेखको चामुण्डासैनी नगरपालिका-९ को सांगेतडामा बस्दै आएका छन्।
राउटे घुमन्ते जातिका रूपमा परिचित छ। दैलेख, सुर्खेत र सल्यानका विभिन्न ठाउँमा बस्दै आएका छन्। उनीहरू दुई महीनासम्म एक ठाउँमा बस्छन्। उनीहरू आफूलाई जंगलका राजा ठान्छन्। दीपक पनि यही कुरा दोहोर्याउँछन्, “हामी जंगलका राजा हौं।”
उनी काठका सामान बनाउँछन्। गाउँमा लगेर बिक्री गर्छन्। काठको सामानमा भरेर अन्नपात लिन्छन्। त्यसैबाट जीवन निर्वाह भइरहेको छ।
नेपाल सरकारले २०६५ सालदेखि राउटे समुदायलाई प्रतिव्यक्ति ५०० रुपैयाँ सामाजिक सुरक्षा भत्ता दिन थालेको थियो। हाल स्थानीय सरकारले प्रति महीना प्रतिव्यक्ति चार हजार रुपैयाँ दिंदै आएको छ।
अध्येता खत्रीका अनुसार राउटे समुदायमा ४२ परिवार सहित १३७ जना छन्। राउटेहरूको जन्मदर निकै कम छ। निमोनिया र झाडापखाला जस्ता रोग लाग्ने, उपचार नहुने, एकै ठाउँ नबस्ने, सरसफाइ नगर्ने भएकाले बालबालिकाको ज्यान जाने गरेको पाइएको छ।
बिस्तारै व्यावहारिक ज्ञान सिकाउँदै आएको खत्री बताउँछन्। “बिस्तारै राउटेको जीवनमा परिवर्तन आइरहेको छ,” उनी भन्छन्, “जंगलका कारण भने वेलावेला दुःख पाउँछन्। स्थानीय सरकार आएसँगै जता पनि बस्न पाउने भएकाले केही सजिलो भएको छ।”
राउटेमा तीन गोत्र कल्याल, रास्कोटी र सोवन्शी छन्। यही तीन थरीमा गोत्र अनुसार विवाह गर्ने चलन छ। पछिल्लो समय भने राउटे पुरुषलाई विवाह गर्न महिला पाउनै मुश्किल हुँदै गएको छ। जसले गर्दा दीपक जस्तै केही युवा अविवाहित छ्न्।