चुरियामाई सुरुङमार्ग तयार, सर्वसाधारणले हेर्न पाउने
![चुरियामाई सुरुङमार्ग तयार, सर्वसाधारणले हेर्न पाउने](https://www.himalkhabar.com/uploads/posts/800X600/chiriyamai-tunnel-1707741821.jpg)
१०० वर्षअघि निर्माण गरिएको चुरियामाई सुरुङमार्गको मर्मतसम्भार पूरा भएसँगै अवलोकनका लागि खुला गरिने भएको छ।
मकवानपुर र बारा जिल्लाको सिमानामा पर्ने १०० वर्ष पुरानो सुरुङमार्गको पुनर्निर्माण सकिएको छ। बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका–१५ स्थित चुरियामाई सुरुङमार्ग प्रयोगमा नआउँदा जीर्ण बनेको थियो।
पुनर्निर्माणका लागि २०७८ साउन १४ मा शुरूआत गरिएको थियो। गत असोजमा पुनर्निर्माण सकिए पनि आन्तरिक काम बाँकी नै थियो। अहिले सबै सकिएको जनाएको छ।
काठमाडौंलाई मकवानपुरको हेटौंडा हुँदै तराईसँग जोड्न प्रधानमन्त्री चन्द्रशमशेर राणाको पालामा चुरियामाई सुरुङमार्ग निर्माण भएको थियो। यो ऐतिहासिक सुरुङमार्गको करीब ४० मिटर खण्ड भत्किएको थियो। त्यसलाई मर्मत गरेर वारपार गर्न सक्ने बनाइएको बागमती प्रदेशको भौतिक पूर्वाधार निर्देशनालयका प्रवक्ता हरिप्रसाद ओझाले बताए।
![chiriyamai (1).jpg](https://www.himalkhabar.com/uploads/editor/Infrastructure/churiyamai tunnel/chiriyamai (1).jpg)
अध्ययन केन्द्रका रूपमा विकास गर्न स्थानीय तहलाई हस्तान्तरण गर्ने वा पर्यटन मन्त्रालय अन्तर्गत राख्ने तय हुन बाँकी छ। यसलाई अवलोकन र पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने योजना रहेको उनको भनाइ छ।
“सुरुङमार्ग भन्नासाथ सवारीमै ओहोरदोहोर गर्ने भन्ने बुझिन्छ तर यो त्यस्तो सुरुङमार्ग होइन,” ओझाले हिमालखबरसँग भने, “यो सुरुङमार्ग ऐतिहासिक हो, जहाँबाट २०२० सालसम्म सवारी नै आवतजावत गर्ने गर्थे। अब अध्ययन, अनुसन्धान र पर्यटनका लागि खुला हुनेछ।”
चुरियामाई सुरुङ १९७४ सालमा बनेको थियो। यसको डिजाइन इन्जिनीयर ब्रिगेडियर जनरल डिल्लीजंग थापाले गरेका थिए। चुरे पर्वत क्षेत्रमा बनेको यो सुरुङमार्ग साढे दुई मिटर चौडाइ, तीन मिटर उचाइ र ५०० मिटर लम्बाइको छ।
![chiriyamai (4).jpg](https://www.himalkhabar.com/uploads/editor/Infrastructure/churiyamai tunnel/chiriyamai (4).jpg)
यसको एकातिरको भाग पुरिएपछि अब करीब २८० मिटर मात्र बाँकी छ। माटो, इँटा, चुना र सुर्की प्रयोग गरी निर्माण गरिएको सुरुङमार्गबारे स्वीस भूगर्भविद् टोनी हागनले आफ्नो पुस्तक द हिमालयन किङ्डम अफ नेपालमा पनि चर्चा गरेका छन्। उनले यो ‘एशियाकै पहिलो मानवनिर्मित सुरुङ हुन सक्ने’ उल्लेख गरेका छन्।
राणाकालमा रक्सौलबाट बाराको अमलेखगन्जसम्म रेल चल्थ्यो। त्यहाँबाट मकवानपुरको भीमफेदीसम्म बनाइएको सडकमार्गमा चुरे पहाड छिचोल्दै हेटौंडा छिर्न समस्या थियो। चुरे पर्वत फोरेर घुमाउरो बाटो बनाउनुको विकल्पमा यो सुरुङमार्ग निर्माण गरिएको थियो।
यही सुरुङमार्ग हुँदै चल्ने गाडीले भीमफेदीसम्म सामान ल्याउँथे। सडक नभएकाले भीमफेदीबाट भरिया लगाएर काठमाडौंसम्म सामान भित्राइन्थ्यो।
![chiriyamai (7).jpg](https://www.himalkhabar.com/uploads/editor/Infrastructure/churiyamai tunnel/chiriyamai (7).jpg)
प्रजातन्त्र पुनःस्थापनापछि त्रिभुवन राजपथ बन्यो। सुरुङमार्गको बीच खण्डमा भत्काएर सडक बनाइएको थियो। २०७२ सालको भूकम्पले थप क्षति गराएको थियो।
प्रदेश सरकारले त्रिभुवन राजपथको बक्स कटिङ रोडदेखि दक्षिणतिरको भागमा धसिएको स्थान मर्मत गरेर सुरुङमार्ग खुलाइएको भौतिक पूर्वाधार निर्देशनालयले जनाएको छ। सुरुङमार्गको २० मिटर जति भाग धसिएको अनुमान गरी मर्मतका लागि डीपीआर निर्माण गरिएको थियो। मर्मत शुरू गरेपछि ४० मिटर भाग धसिएको पाइएको थियो।
![chiriyamai (8).jpg](https://www.himalkhabar.com/uploads/editor/Infrastructure/churiyamai tunnel/chiriyamai (8).jpg)
शुरूआतमा १९८ मिटर पुनर्निर्माण गर्नुपर्ने अनुमान थियो। मर्मत गर्दै जाँदा २२२ मिटर पुगेको निर्देशनालयले जनाएको छ। जसले गर्दा तीन करोड ३६ लाखमा ठेक्का लगाइए पनि संशोधित लागत तीन करोड ८४ लाख पुगेको ओझाले बताए।
हेटौंडा उपमहानगरपालिका–१५ मा पर्ने यस क्षेत्रमा सुरुङ डिजाइन गर्ने इन्जिनीयर थापाको अर्धकदको शालिक स्थापना गरिएको छ।
![chiriyamai (11).jpg](https://www.himalkhabar.com/uploads/editor/Infrastructure/churiyamai tunnel/chiriyamai (11).jpg)