दुई दशकदेखि भौतिक पूर्वाधार र शिक्षक अभाव खेपिरहेको विद्यालयमा विद्यार्थी खाजा खान मात्रै आउने गरेका छन्।
नेपालको सीमाना प्रायः सबैले पूर्वमा मेची र पश्चिममा महाकाली नदी भनेर बुझ्छन्। तर पूर्वमा मेची नदीपारि पनि नेपाली बस्ती छन्। त्यही बस्तीमा रहेको विद्यालयको अवस्थाले भने ‘सिंहदरबार’हरूलाई गिज्याइरहेको छ।
झापाको मेचीनगर नगरपालिका-१५ मा पर्ने सिसोडाँगी, ग्वालाबस्ती र झाडुबस्तीमा ४५ परिवार बस्छन्। तीनै बस्तीका बालबालिकाका लागि २३ वर्षअघि मेची प्राथमिक विद्यालय स्थापना गरिएको थियो। तर यो विद्यालयमा यतिका वर्षसम्म पनि सुधार हुन सकेको छैन।
ग्वालाबस्तीको मध्यभाग भएर जाने कच्ची सडकको छेउमै विद्यालयका भुइतले दुइटा भवन छन्। टिनको छानो र ईटाको गाह्रो लगाएको भवनमा राम्रोसँग रंगरोगन पनि गरिएको छैन।
त्यही भवनको पहिलो कोठामा विद्यालयको कार्यालय छ। स्टिलको दराज र छेउमै बेन्च राखिएको छ। खाजा पकाउन र खानका लागि भाँडाकुँडा पनि सँगै छन्। त्यसकै माथि ग्यास चुलो राखेर विद्यार्थीका लागि खाजा तयार गरिन्छ। अर्को कोठामा वर्षौदेखि ताल्चा लागेको छ।
विद्यालयको कार्यालय।दोस्रो ब्लकको पहिलो कोठाको एउटा कुनामा दुई वटा डेस्क र एउटा बेन्च छ। त्यसको छेउमै दुइटा प्लास्टिकका चटाइमाथि एउटा म्याट र अर्को म्याट्रेस ओच्छ्याइएको छ। त्यही म्याट र म्याट्रेसमा बस्छन् बाल कक्षादेखि कक्षा २ सम्मका विद्यार्थी।
तीनै कक्षाका विद्यार्थी एउटै कोठामा बस्छन्, पढ्छन्। उनीहरूलाई पढाउँछिन्, बाल कक्षाकी शिक्षिक रमादेवी ढकाल।
यही विद्यालय पुग्न पनि विद्यार्थीलाई मुस्किल हुन्छन्। किनकि, टापु जस्तै रहेको गाउँबाट विद्यालयसम्म पुग्न बाटो बनाइएको छैन। कोही मेचीको किनारै किनार आउँछन् त कोही आलिको डिल पहिल्याउँदै विद्यालय पुग्छन्।
कति विद्यार्थीलाई भने शिक्षिका ढकालले नै सँगै लिएर आउँछिन्। “म विद्यालय आउँदा कोही विद्यार्थी नै आउँदैन थिएँ, अभिभावकलाई धेरै अनुरोध गरेपछि बाटोसम्म निकाली दिनुहुन्छ,” ढकाल भन्छिन्, “कतिपयलाई सँगै लिएर आउँछु।”
शिक्षिक रमादेवी ढकाल।यसरी आइपुग्ने विद्यार्थी पनि पढाइभन्दा खाजामा ध्यान दिइरहेका हुन्छन्। प्रायः अभिभावकले पनि खाजाका लागि स्कूल पठाउने गरेको उनी सुनाउँछिन्। विद्यार्थीको बस्ने समय पनि खाजासम्मै हुने गरेको छ। “कति विद्यार्थी त घरमा काम छ भनेर निस्किन्छन्,” शिक्षिका ढकाल भन्छिन्।
केही समय कक्षाकोठामा बस्ने बालबालिकालाई पढाउन पनि समस्यै हुन्छ। उनीहरू नेपाली भाषा बुझ्दैनन्। सबैजसोले हिन्दीभाषा बोल्छन्। “बालबालिकालाई विस्तारै नेपाली भाषा सिकाउँदै छु,” उनी भन्छिन्। उनी यो विद्यालयमा पढाउन थालेको दुई महीना मात्रै भएको छ।
अहिले बालकक्षादेखि कक्षा २ सम्म २५ विद्यार्थी छन्। २०५७ सालमा स्थापना हुँदा भने धेरै विद्यार्थी थिए। विस्तारै घट्दै गएको कार्यालय सहयोग राजेश राजवंशी सुनाउँछन्। एक दशकदेखि काम गरिरहेका राजवंशी अभिभावकमा ज्ञानकै कमिले बालबालिकालाई विद्यालय नपठाउने गरेको बताउँछन्।
![class room_4.jpg](https://www.himalkhabar.com/uploads/editor/Education/mechi school/class room_4.jpg)
अर्कातिर, विद्यालयको अवस्था पनि नाजुक छ। यतिका वर्षसम्म पठनपाठनका लागि आवश्यक सामग्री नभएको उनी सुनाउँछन्। “सधैं धूलोमाटोमै लेखपढ भइरहेको छ,” राजवंशी भन्छन्, “माथिबाट त विद्यालय व्यवस्थापनका लागि सामाग्री आउँछन् होला तर हाम्रो भागमा केही पर्दैन।”
मेचीनगर नगरपालिका-१५ का वडाध्यक्ष गुणराज भट्टराई विद्यालयको भौतिक पूर्वाधारको व्यवस्था गर्न वडासँग बजेट नभएको सुनाउँछन्। “हामीले विद्यार्थीका लागि पोशाक, ब्याग र जुत्ता प्रत्येक वर्ष वितरण गर्दै आएका छौं तर भौतिक व्यवस्थापनका लागि नगरसँग भन्ने हो, नगरले वास्तै गर्दैन,” वडाध्यक्ष भट्टराई भन्छन्, “हाम्रो वडामा चार वटा विद्यालय छन,सबैको भौतिक अवस्था जीर्ण नै छ।”
![School.jpg](https://www.himalkhabar.com/uploads/editor/Education/mechi school/School.jpg)
यो विद्यालय स्थापना भएको २३ वर्ष भयो। अहिलेसम्म शिक्षा सुधारमा कसैले ध्यान दिएन। गाउँमा कक्षा २ भन्दामाथि पढ्न भने मेची नदी तर्नुपर्छ। त्यसैले, मेची तरेर नेपालतिरको विद्यालयमा पढ्न जाने विद्यार्थी थोरै छन्।
धेरै जसो मेची तरेर पढ्न जाँदैनन्। गएकाहरू पनि बीचमै पढाइ छोड्ने गरेका छन्। किनकि, असारदेखि असोजसम्म मेची तरेर पश्चिम जान गाह्रो हुन्छ। उसो त पानीकै कारण यो वेला त गाउँको विद्यालयमा पनि बन्द हुन्छ।
जसोतसो अक्षर लेख्न चिन्न जान्ने भएपछि काम गर्न भारततिर लाग्ने गरेको स्थानीय विमला राजवंशी बताउँछन्। “राम्रो पढ्ने व्यवस्था छैन। मेची पारी गएर पढ्न सकिँदैन,” राजवंशी भन्छिन्, “गाउँमा केही सेवासुविधा छैन। काम गर्न भारततिर जानै परिहाल्यो।”