सुन्दरीडाँडामा सुन्दर अभियान
कास्कीको बेगनास तालसँगै रहेको सुन्दरीडाँडाका किसानले जैविक विविधता जोगाउँदै रैथाने बालीको उत्पादन र बजारीकरण गरेर लाभ लिइरहेका छन्।
कागुनोबारे कास्कीको पोखरा महानगरपालिका–३१, सुन्दरीडाँडा क्षेत्रका किसान अनभिज्ञ थिए। जैविक स्रोत संरक्षण अभियान मार्फत बारीमा कागुनो लगाउने कुरा गर्दा कसैले वास्ता गरेका थिएनन्।
तैपनि रैथाने बाली जोगाउन भनेर लमजुङको घनपोखराबाट कागुनो ल्याएर खेती गरियो। “पहिला कागुनोलाई गाउँघरतिर बच्चा हुर्काउने, परिवार पाल्ने बालीका रूपमा लिइन्थ्यो। यो हराउँदै गइरहेको थियो,” अभियानका सचिव पुष्प सुवेदी भन्छन्, “घनपोखराबाट दुई किलोग्राम ल्याएर खेती गर्दै जाँदा अहिले ५० मुरीसम्म उत्पादन गर्न सफल भयौं।”
कागुनोलाई परापूर्वकालदेखि गाउँघरमा औषधिका रूपमा प्रयोग गर्ने गरिएको छ। ढाड दुखेको, हातखुट्टा भाँच्चिएको वेला खाने गरिन्छ। अनदीको पुवा बनाएर खाँदा रक्तस्राव र रक्तअल्पता भएकाहरूलाई फाइदा गर्ने कृषिविज्ञ बताउँछन्। बाली विकास केन्द्रका पूर्व प्रमुख रामकृष्ण श्रेष्ठ भन्छन्, “महिलालाई रक्तअल्पताबाट मुक्त गराउन कागुनो लगायत रैथाने बालीका परिकारको उपभोग प्रभावकारी हुन्छ।”
यस अभियान मार्फत सुन्दरीडाँडा क्षेत्रमा कागुनो जस्तै रैथाने बाली संरक्षणमा स्थानीय बासिन्दा जुटेका छन्। समुदाय सक्रिय हुँदा रैथाने जात फस्टाएको मात्रै होइन, बजारीकरण र राम्रो भाउ पाएको उदाहरण अभियानले प्रस्तुत गरेको छ। पछिल्ला १८ वर्षमा ५३ जातका धान, १६ जातका कोदो, आठ जातका पिंडालु, वर्षौंले घिरौंला, मादले काँक्रोको संरक्षणसँगै खेतीपाती गर्दा जैविक विविधता पनि जोगिएको छ।
अभियानले रातो अनदी, कालो झिनुवा, पहेंले, बयर्नी, एक्ले धानका जातलाई पनि संरक्षण ब्लकमा लगाएको छ। एक्लेको उत्पादन राम्रो हुने भएकाले थोरै उत्पादनमा पनि बढी फाइदा लिन सकिने सुवेदी बताउँछन्। यसको माग पनि बढ्दै गएको छ। “रातो अनदी र बयर्नी धानको माग उच्च छ। माग अनुसार आपूर्ति गर्न सकेका छैनौं,” उनी भन्छन्।
रूपा ताल र बेगनास तालको जलाधार क्षेत्रमा कृषिजन्य जैविक विविधता संरक्षण गरिरहेको अभियानमा २२ कृषि समूह आबद्ध छन्। उनीहरूले सिमसार क्षेत्रमा पाइने बाली, फलफूल, जडीबुटी तथा वनस्पतिको संरक्षण गर्दै आएका छन्।
पारिस्थितिक प्रणाली एवं जैविक विविधताका दृष्टिले महत्त्वपूर्ण बेगनास–रूपा जलाधार क्षेत्रमा अभियानले हालसम्म ५३ जातका धानलाई संरक्षण ब्लक (लोपोन्मुख जात लगाइने खेत)मा खेती गराइरहेको छ। त्यस्तै, १६ जातका कोदोलाई पनि संरक्षण ब्लकमा लगाइएको छ। वर्षौंले घिरौलो, मादले काँक्रोसँगै लहरे बालीबाली पनि समेटिएका छन्।
रैथान उत्पादनको बढ्दो माग
चामलको भातलाई ‘वैभवको प्रतीक’ का रूपमा लिइने र कोदोजन्य रैथाने बालीको उत्पादनलाई ‘गरीबको खाना’ का रूपमा हेर्ने सामाजिक मान्यताले पनि रैथाने बाली ओझेलमा परेको सुवेदी सुनाउँछन्। लागतको तुलनामा लाभ कम हुने, चुट्न तथा पेल्न गाह्रो हुँदा पनि यसको खेती संकुचनमा परेको उनको बुझाइ छ। खाद्य संस्कृतिमा ‘कुअन्न’ र ‘सुअन्न’ को भाष्यले पनि रैथाने बालीको खेतीपाती कम हुँदै गएको उनी सुनाउँछन्।
अर्कातिर, अनुसन्धान र विकासमा पनि रैथाने बाली प्राथमिकतामा परेको छैन। सरकारी सेवासुविधा र अनुदान पनि धान, मकै, गहुँ जस्ता बालीको उत्पादन बढाउन केन्द्रित हुँदा कोदो लगायत रैथाने बाली छायामा परे।
करीब ३० वर्षअघिसम्म कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टे जस्ता रैथाने बाली गाउँघरको खाद्य सुरक्षाका प्रमुख आधार थिए। तर यातायातको विस्तार र बजारको विकाससँगै चामल जस्ता खाद्यान्न सहजै उपलब्ध हुन थाले। रैथाने खाद्यान्नको उत्पादन र उपभोग घट्दै गयो। कोदो, फापर लगायत बालीको उचित प्रचारप्रसार र बजारीकरण हुन सकेन।
पछिल्लो समय भने रैथाने बालीको उत्पादन र प्रशोधित खाद्य पदार्थको माग शहर बजारमा बढ्दै गएको सुवेदी सुनाउँछन्। “शुरूमा प्रांगारिक उत्पादन राम्रो हो भनेर बुझाउन गाह्रो भएको थियो, अहिले महत्त्व बुझिसकेपछि बजारको समस्या छैन,” उनी भन्छन्।
अभियानले किसानलाई बीउ पनि दिने गरेको छ। गण्डकी प्रदेशका सबै जिल्लाका किसानले बीउको माग गरे पनि अभियानले आपूर्ति गर्न सकेको छैन। “पहिला पहिला किसानहरू स्थानीय जातको बाली लगाएर के हुन्छ भन्थे। लगाउन मान्दैनथे। अहिले भने मागे जति बीउ नै दिन सकेका छैनौं,” सुवेदी भन्छन्।
यी बालीले सुक्खा पनि सहने, धेरै पानी पनि सहने, डोके तथा प्रांगारिक मल हाल्दा पनि हुने भएकाले किसान आकर्षित भएका हुन्।
किसानले उत्पादन गरेका बाली किनेर अभियानले बजारीकरण पनि गर्दै आएको छ। बजारीकरण गर्दा भने संस्थाले दुई प्रतिशत नाफा आफूसँग राख्छ। शुरूआतका दिनमा बजारको दुःख भए पनि हाल भने सजिलो भएको संस्थाका सचिव सुवेदी बताउँछन्।
संस्थाले पोखरामा मात्रै होइन, काठमाडौंका सुपरमार्केटमा पनि सामान आपूर्ति गरिरहेको छ। जसले गर्दा पोखरा बाहिरका शहरमा पनि रैथाने बालीको माग बढ्दै गएको सुवेदी बताउँछन्। “बजारले अहिले बढी खोजेको उत्पादन भनेको रातो अनदी र कागुनो हो,” उनी भन्छन्, “अहिले रातो अनदी प्रतिकिलोग्राम २५० रुपैयाँ र कागुनो प्रतिकिलोग्राम ३०० रुपैयाँमा कारोबार हुने गरेको छ।”
नेपालमा क्षेत्रफल र उत्पादनका दृष्टिले धान, मकै, गहुँ र कोदो सबैभन्दा धेरै खेती हुने बाली हुन्। मध्य तथा उच्च पहाडको लगभग तीन लाख ५० हजार हेक्टर क्षेत्रफलमा कोदो, फापर, कागुनो, उवा, जौ, लट्टे लगायत बालीको खेती हुने गरेको छ।
के हो अभियान?
मुनाफा वितरण नगर्ने सेवामूलक संस्थाका रूपमा दर्ता भएको जैविक विविधता संरक्षण अभियानले रैथाने बालीको संरक्षणसँगै बजार प्रवर्द्धन पनि गर्दै आएको छ। यो संस्थामा विभिन्न कृषि समूह सदस्य छन्। “उस्तै उद्देश्य भएका समूह यसका सदस्य छन् जसकारण हामीले सहकार्य गर्दै सहकारितालाई अघि बढाएका छौं,” सुवेदी भन्छन्।
यसमा आबद्ध सबै सदस्य पोखरा क्षेत्र आसपासकै छन्। शुरूआती चरणमा १४ वटा समूह थिए भने अहिले २२ समूह पुगेका छन्।
संस्थाले लिबर्ड संस्थाको सहयोगमा सूचना केन्द्र र भ्यूटावर पनि बनाएको छ। २०६५ सालदेखि संस्थाले सञ्चालन गर्न थालेको भ्यूटावरमा आउने स्वदेशी तथा विदेशी पर्यटकबाट पनि आम्दानी हुन्छ। भ्यूटावरलाई सूचना केन्द्रका रूपमा विकास गरिएको छ र त्यहाँ स्थानीय उत्पादन बिक्रीका लागि कोसेली घर पनि छ।
केन्द्रमा हुने आम्दानीको २० प्रतिशत अरुणज्योति प्राथमिक विद्यालयलाई दिने गरिएको छ। त्यस्तै, २० प्रतिशत भ्यूटावर सञ्चालन समिति र २० प्रतिशत जैविक स्रोत संरक्षण अभियानमा जान्छ। ४० प्रतिशत जैविक विविधता संरक्षण कोषमा जम्मा गरिन्छ। “लिबर्डले २०६४ सालमा हामीलाई जिम्मा दिंदा कोषमा ६ लाख ६५ हजार थियो, अहिले ३३ लाख पुर्याएका छौं,” सुवेदी भन्छन्। यो रकमलाई घुम्ती कोष बनाएर समूहमा लगानी गरिन्छ।
अभियानले नेपालमा भएका कृषि बाली, घाँसे बाली, पशुपन्छी, जलचर, कृषि महत्त्वका कीरा र सूक्ष्म जीव गरी ६ प्रकारका विविधतालाई समेटेर संरक्षण अभियान चलाइरहेको छ। “वासस्थान विनाशका कारण मात्र बर्सेनि करीब ५० हजार प्रजाति लोप हुँदै गएको र करीब १० लाख प्रजाति लोप हुने खतरामा रहेको अध्ययनले देखाएको छ,” बाली विकास केन्द्रका पूर्व प्रमुख श्रेष्ठ भन्छन्, “यथास्थितिमा सन् २०५० सम्म ५० प्रतिशत कृषि आनुवंशिक स्रोत लोप हुने आकलन छ। त्यस्तो अवस्थामा स्थानीय स्तरमा भएको जैविक विविधता संरक्षणको प्रयास महत्त्वपूर्ण छ।”
पछिल्लो १०० वर्षमा विश्वमा ७५ प्रतिशत जैविक विविधता नाशिएको अनुमान छ। जैविक विविधतामा धनी नेपालमा विश्वभरका ३.२ प्रतिशत वनस्पति र १.१ प्रतिशत प्राणीजन्य विविधता पाइन्छ।
गाउँ गाउँमा बाटो पुगेसँगै आयातीत खाद्य वस्तुको उपलब्धताले स्वदेशी कृषि क्षेत्रमा नकारात्मक प्रभाव परेको सन्दर्भमा अभियानको काम सराहनीय भएको श्रेष्ठ बताउँछन्। “गाउँको उत्पादन बजार पुगेर किसान बलियो हुनुपर्थ्यो तर बजारले गाउँलाई कमजोर बनाइदियो,” उनी भन्छन्, “त्यो अवस्था चिर्न गम्भीरतापूर्वक लाग्नुपर्ने धेरै क्षेत्रमध्ये एउटा रैथाने खेतीको प्रवर्द्धन हो। यसमा सुन्दरडाँडाको अभियानले उदाहरणीय काम गरेको छ।”