दाङको स्वर्गद्वारी गुठीपीडित किसानले प्रधानमन्त्री पुष्पकमल दाहाल सहित राजनीतिक दलका नेतालाई ज्ञापनपत्र बुझाएका छन्।
दाङबाट काठमाडौं पुगेका पीडित किसानले बिहीबार प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र बुझाएका हुन्। उनीहरूले गुठीपीडितको समस्या सम्बोधन हुने गरी कानून बनाउन माग गरेका छन्।
प्रधानमन्त्री दाहालले गुठीपीडितको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन्। “गुठी समस्या समाधान गर्ने एउटै बाटो भनेको ऐन मार्फत हो,” प्रधानमन्त्री दाहालले भने, “अहिले संसद् बन्द छ। अब संसद् खुल्ने बित्तिकै विधेयक अघि बढाउँछौं।”
उनीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी ओली, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीलाई ज्ञापनपत्र बुझाएका छन्।
त्यस्तै, प्रतिनिधि सभाको कृषि, सहकारी एवं प्राकृतिक स्रोतसाधन समितिका सदस्यहरू सरस्वती सुब्बा, रूपा जोशी चौधरी, सुकुमदेवी थापा, बिजुला रायमाझी, समितिका उपसचिव शिवदत्त बराललाई भेटेर ज्ञापनपत्र बुझाएका छन्।
सबैले गुठी विधेयक अघि बढाउने विषयमा सहमति जनाएको उनीहरूले बताएका छन्। त्यस्तै, एमाले महासचिव शंकर पोखरेलले आफ्नो पार्टीको सरकार हुँदा विधेयक ल्याएको भए पनि पारित गर्न नसकिएको बताए। उनले अझै पनि कानून बनाउन पहल गर्ने प्रतिबद्धता जनाए।
दाङका स्वर्गद्वारी गुठीपीडित किसान प्रतिनिधि, राष्ट्रिय भूमि अधिकार मञ्च र सामुदायिक आत्मनिर्भर सेवा केन्द्रको संयुक्त टोली काठमाडौं आएको हो। दाङबाट आएका ११ जनाको टोलीले सरोकारवाला सबैलाई ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराइरहेको छ।