बारीमै मोलमोलाइ, गाउँमै बजार
व्यापारीहरू गाउँमै आउन थालेपछि चुरे क्षेत्रमा पर्ने कैलालीको खेरा गाउँका किसान सुन्तलाखेतीबाट मनग्य आम्दानी गरिरहेका छन्।
आजभोलि व्यापारीहरू गाडी हुइँक्याउँदै गाउँमा आइपुग्छन्। किसान र व्यापारीबीच बारीमै मोलमोलाइ हुन्छ। रित्ता आएका गाडीहरू फर्किंदा भने सुन्तलाले भरिएका हुन्छन्।
यो दृश्य हो, कैलालीको चुरे गाउँपालिका-१, स्थित खेरा गाउँको। ४२ घरधुरी रहेको गाउँमा एक लाखदेखि ३० लाख रुपैयाँसम्म सुन्तला कारोबार गर्ने किसान छन्। उनीहरूको मुख्य आयस्रोत नै सुन्तला बिक्री बनेको छ। उसो त गाउँपालिका नै सुन्तलाको पकेट क्षेत्रका रूपमा चिनिन्छ।
स्थानीय लालसिंह धामी पाँच रोपनी १२ आना जग्गामा सुन्तलाखेती गरिरहेका छन्। बझाङका धामीले २०७३ पुस ७ मा यो बारी ७० लाख रुपैयाँमा किनेको बताउँछन्।
अहिले बारीमा २५० बोट सुन्तला रोपेका छन्। जसमध्ये २०० बोटमा फल लागेको छ भने ५० बोट हुर्किंदै छन्। यस वर्ष ८०-८५ क्विन्टल सुन्तला फलेको उनी सुनाउँछन्।
व्यापारीसँग मोलमोलाइ र सुन्तला बिक्री गरेर उनको दिन बित्छ। “अहिले सुन्तलाको सिजन हो। व्यापारी आउँछन् र छानीछानी सुन्तला लैजान्छन्,” उनी भन्छन्।
छानेर सुन्तला लैजाँदाखेरि प्रतिकिलोग्राम १०० रुपैयाँ पर्छ। सानोठूलो सबै मिलाएर भने प्रतिकिलोग्राम ७५ रुपैयाँमा बिक्री गरिरहेको उनी बताउँछन्।
उनले घरमै बसेर ५८ क्विन्टल सुन्तला बिक्री गरिसकेका छन्। अब बारीमा २५ क्विन्टल जति सुन्तला बेच्न बाँकी छ। सिजनमा सात लाख रुपैयाँसम्मको सुन्तला बिक्री गर्दै आएको उनी सुनाउँछन्।
सुन्तला नभएको सिजनमा तरकारी र किबीखेती पनि गर्न थालेका छन्। तरकारीखेतीबाट पनि वार्षिक एक लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनी बताउँछन्।
सुन्तला बेचेर ६ वर्षमा बारीको मूल्य असुल भइसकेको उनको भनाइ छ। धामी भन्छन्, “६ जनाको परिवारलाई यही बारीबाट खानलाउन पुगेको छ।”
अन्य किसानले पनि सुन्तलाबाटै आम्दानी गरिरहेका छन्। बजारका लागि पनि समस्या नभएको उनीहरू सुनाउँछन्।
खेरा गाउँकै देवराज सापकोटाले ७०० बोट सुन्तला रोपेका छन्। अहिले ५०० बोटमा फल लागेको छ भने बाँकी हुर्किंदै छन्। वार्षिक २५ लाख रुपैयाँसम्मको सुन्तला बेच्ने गरेको उनी सुनाउँछन्।
त्यस्तै, रमेश कँडेलको बारीमा यो सिजनमा ३०० बोटमा सुन्तला फलेको थियो। हरेक बोटमा कम्तीमा ५० किलोग्राम सुन्तला फलेको कँडेल बताउँछन्। प्रतिकिलोग्राम ८० रुपैयाँका दरले सबै सुन्तला बेचिसकेका छन्। यस वर्ष उनले १२ लाख रुपैयाँको कारोबार गरे।
अन्यभन्दा सुन्तलाखेती सजिलो भएको उनी बताउँछन्। “सुन्तलाखेतीमा त्यति धेरै खर्च आउँदैन। गोडमेल, मलजल र काँटछाँट गर्दा वार्षिक ५० हजारदेखि एक लाख रुपैयाँसम्म खर्च हुन्छ,” कँडेल भन्छन्, “वर्षमा एक सिजन मात्रै फल्ने भएकाले अरू वेला तरकारीखेती गर्न सकिन्छ।”
त्यस्तै, सुन्तला बेच्न बजार खोज्नु पर्दैन। व्यापारी सुन्तला खोज्दै गाउँमा आउने गरेको उनी सुनाउँछन्। जसले गर्दा किसान उत्साहित छन्।
चुरे गाउँपालिका अहिले सुन्तलाले चिनिएको अध्यक्ष चक्रबहादुर बोगटी बताउँछन्। “यस वर्ष गाउँपालिकाबाट २५ करोडको सुन्तला बाहिर पठाएका छौं,” बोगटी भन्छन्। खेरा गाउँसँगै सहजपुर, निगाली, खैराला लगायत क्षेत्र सुन्तलाका लागि उपयुक्त मानिन्छन्।
किसानलाई एउटै चिन्ता छ, सुन्तलामा लाग्ने रोग। एक वर्षयता सुन्तलामा रोग लाग्न थालेको छ। गाउँपालिकाको कृषि शाखाका विज्ञलाई बोलाएर सरसल्लाह लिंदा पनि उपाय ननिस्केको उनी गुनासो गर्छन्।
गाउँपालिका अध्यक्ष बोगटी पनि सुन्तलाका बोट सुकेर जाने ‘सेन्ट्राइस’ रोग देखिएको बताउँछन्। धेरै ठाउँ चहार्दा पनि यो रोगको औषधि नभेटिएकाले समस्या भएको उनको भनाइ छ।
सुन्तला किसानका समस्यालाई ध्यानमा राखेर हरेक वडामा भेटेरिनरी स्थापना गर्ने तयारीमा जुटेको उनी बताउँछन्। अहिले किसानलाई सुन्तलाको बेर्ना उपलब्ध गराइँदै आए पनि पछि नर्सरी बनाइने उनको भनाइ छ।