संरक्षणकर्मीले सम्झिए दीपेन्द्र
![संरक्षणकर्मीले सम्झिए दीपेन्द्र](https://www.himalkhabar.com/uploads/posts/800X600/dipendra-adhikari-1704633743.jpg)
अनुसन्धाता दीपेन्द्र अधिकारीको स्मरण गर्दै सहकर्मी तथा संरक्षणकर्मीले श्रद्धाञ्जली अर्पण गरेका छन्।
जीउ सुन्निने समस्याको उपचार गराइरहेका संरक्षणकर्मी अधिकारीको पुस ९ गते शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारका क्रममा ३८ वर्षको उमेरमा निधन भएको थियो। शनिबार साना स्तनधानी प्राणी संरक्षण तथा अनुसन्धान फाउन्डेशनले श्रद्धाञ्जली सभाको आयोजना गरी अधिकारीको स्मरण गरेका हुन्।
अनुसन्धानमा गम्भीरतापूर्वक लागेको र नयाँ पुस्तालाई पनि अनुसन्धानमा लाग्न प्रेरित गर्ने व्यक्तिका रूपमा अधिकारीलाई वक्ताहरूले स्मरण गरेका छन्। “हामीले दीपेन्द्रको सम्झनामा हाइना दिवस, ढोले दिवस वा सचेतना अभियान चलाउने योजना राखेका छौं,” साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउन्डेशनका कार्यकारी निर्देशक सञ्जन थापाले भने, “उनको योगदानलाई स्मरण गर्ने हाम्रो प्रयास हो।”
फाउन्डेशनको बोर्डमा रहेका उनी पछिल्लो समय एनसीआरसी संस्थामा आबद्ध थिए। नेपाल जूलोजिकल सोसाइटी र सोइसाइटी फर कन्जर्भेशन बायोलोजी नेपाल च्याप्टरका सदस्य अधिकारीले स्नातकोत्तर सकेपछि जूलोजिकल सोसाइटी अफ लन्डनको नेपाल कार्यालयमा फील्ड बायोलोजिस्टका रूपमा केही समय काम गरेका थिए। शुरूआती चरणमा उनी साना स्तनधारी प्राणीको अनुसन्धानमा केन्द्रित थिए।
सन् २०१५ मा रुफोर्ड फाउन्डेशनबाट वन कुकुर, हुँडारबारे अनुसन्धानका लागि अध्ययनवृत्ति पनि पाएका थिए। अध्ययन तथा अनुसन्धानमा संलग्न उनी विद्यावारिधिका लागि अमेरिकाको टार्लेटन स्टेट युनिभर्सिटी जाने तयारीमा थिए।
अब नयाँ पुस्ताका संरक्षणकर्मीले उनको सपना पूरा गर्नुपर्ने थापाले बताए। “विद्यावारिधि हुने वेलामा देहावसान भयो। विद्यावारिधि गर्ने सपना पूरा हुन पाएन,” थापाले भने, “नयाँ पुस्ताले साना मांसाहारी प्राणीमा विद्यावारिधि गर्नु पनि उहाँप्रतिको श्रद्धाञ्जली सरह हुन्छ।”
सँगै काम गरेका प्रकाश सिग्देलले उनलाई गम्भीर संरक्षणकर्मीका रूपमा स्मरण गरे। “उनको ध्यान सधैं संरक्षण र अनुसन्धानमै केन्द्रित हुन्थ्यो,” सिग्देलले भने, “साना मांसाहारी प्राणीको अध्ययनमा गम्भीरताका साथ लागेका थिए र विद्यावारिधिपछि नयाँ काम गर्नुपर्छ भन्ने सुनाइरहन्थे।”
साना स्तनधारी प्राणीको अनुसन्धान पनि ठूला प्राणीको छाया परेको छ। अधिकारीले भने संरक्षणको मूलधारमा नपरेका साना मांसाहारी प्राणीहरू हुँडार, वन कुकुर, खिया थोप्ले बिरालोको संरक्षण तथा अनुसन्धानमा आफूलाई केन्द्रित गरेका थिए। अर्का संरक्षणकर्मी शशांक पौडेलले भने, “संरक्षणको क्षेत्रमा इमानदार र अनुसन्धानप्रति गम्भीर थिए।”
संरक्षणको मूलधारमा नपरेका साना मांसाहारी स्तनधारी प्राणीको अनुसन्धान तथा संरक्षणमा समर्पित अधिकारीको स्मृतिमा छात्रवृत्ति स्थापना गरिने भएको छ। यसका लागि नेपाल कन्जर्भेशन एन्ड रिसर्च सेन्टरले पहलकदमी लिएको छ। अधिकारीसँग काम गरेका तथा संरक्षण क्षेत्रका साथीहरूले स्नातकोत्तर तहमा पढ्ने एक जनालाई उनको स्मृतिमा विद्वत्वृत्ति दिने योजना बनाएको पौडेलले बताए।
सोसाइटी फर कन्जर्भेशन बायोलोजी नेपाल च्याप्टरका महासचिव अम्बिकाप्रसाद खतिवडाले उनलाई एक कुशल अनुसन्धाताका रूपमा स्मरण गरे। उनी मिलनसार स्वभावको रहेको खतिवडाले बताए।
संरक्षण क्षेत्रमा सक्रिय दीपेन्द्र पछिल्लो दिनमा ढोले संरक्षण कार्ययोजना निर्माणमा क्रियाशील रहेको जेडएसएस नेपालका राष्ट्रिय प्रतिनिधि डा. भगवान दाहालले बताए। “उहाँ संरक्षणमा लगनशील हुनुहुन्थ्यो,” दाहालले भने, “उहाँको अभाव हामीलाई सधैं खट्किरहनेछ।”
संरक्षणकर्मी जीवन राईले हँसमुख र सहृदयी व्यक्तित्वका रूपमा अधिकारीलाई स्मरण गरे। राईले भने, “नयाँ पुस्तालाई सहयोग गर्ने तथा सकारात्मक सोचका व्यक्ति हुनुहुन्थ्यो।”