धरौटीमा छुटेका अभियुक्तको सफाइ शैलीको हर्षबढाइँ
![धरौटीमा छुटेका अभियुक्तको सफाइ शैलीको हर्षबढाइँ](https://www.himalkhabar.com/uploads/posts/800X600/bal-krishna-khan-1704109860.jpg)
नक्कली शरणार्थी प्रकरणमा पर्याप्त प्रमाण र साक्षी छँदाछँदै इन्कारी बयानकै भरमा कोही विशिष्ट पात्र किन छुटे?
देवेन्द्र भट्टराईगाईजात्रा-२०८० मा मञ्चित ‘स्वर्गालयमा बीपी-मदन संवाद’ निकै लोकप्रिय भयो। त्यसमा नेता बीपी कोइराला (अभिनेता चक्र दवाडी र मदन भण्डारी (अभिनेता मनोज गजुरेल) धर्तीलोकको रंगमञ्चमा देख्छन्- जगन्नाथदेवल (भद्रगोल जेल)।
त्यही केन्द्रीय कारागारमा कुनै वेला वर्षौंसम्म राजबन्दी थिए, सम्मानित नेताहरू मनमोहन अधिकारी, गणेशमान सिंह, बीपी कोइरालादेखि आजका राष्ट्रपति रामचन्द्र पौडेलसम्म। जनाधिकार, लोकतन्त्र र स्वतन्त्रताको लडाइँमा जीउज्यान सुम्पिएका यी नेताका नाम र योगदानको स्मरण मात्रैले नतमस्तक हुने पुस्ता आज पनि छँदै छ।
यतिका वर्षपछि, पद्धति-व्यवस्था फेरिएपछिको यो घडीमा पनि यही कारागारमा नेताहरू पुर्पक्ष थुनामा बसिरहेकै छन्, एकाध चर्को धरौटी बुझाएर बाहिरिए पनि। भएभरको इमानजमान र लाजसरम त्यागेपछि मात्र लाग्ने तहको अभियोग बोकेका र बडो मुश्किलले रिहा भएका कांग्रेसका वरिष्ठमध्येका नेता अहिले सुनपानी छर्किएपछिको हैसियतमा धुम्बाराही-बालुवाटार गर्न थालिसकेका छन्। ४५ लाख रुपैयाँ धरौटी राखेर पाएको रिहाइसँगै शुरू भएको यो हर्षबढाइँ उदेकको लाग्छ।
यस्तै, मुश्किलको धरौटीमा तारिख पाएका अर्का बलशाली प्रतिवादी (तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझी-पुत्र सन्दीप) अदालत परिसरमै सञ्चारकर्मीका नाक-चिउँडो ताक्न थालिसकेका छन्। केही महीनाअघि हत्याको अपराधलाई सरकारले आममाफी दिएपछि नेपालगन्जका योगराज ढकाल (रिगल)ले गरेको अबीरजात्रा (लगत्तै जेलफिर्तीको आदेश)कै झल्को दिने अनेक कर्तूत शुरू भइसकेका छन्- यी नक्कली शरणार्थी निर्माता र अभियन्ताहरूबाट।
सामाजिक न्यायपद्धति र सुशासन निर्माणमा राजनीतिक संयन्त्र र व्यवस्थाको खासै आशा नरहे पनि हामीमाझ न्यायालयले वेलाबखत दिने खुशी अमूल्य छ। केही दिनअघि रुकुम पश्चिमको सोतीमा नवराज विक लगायत ६ जनाको ज्यान लिइएको घटना (२०७७ जेठ १०)को लम्बेतान कानूनी निरूपणपछि जिल्ला अदालतले आमजनलाई दिएको सन्तुष्टि सानो छैन। मानवीय संवेदना र विवेक धूलोपीठो पार्ने गरी भएको जातीय विभेदको घटनामा संलग्न २४ जनालाई जन्मकैदको फैसला (२०८० मंसीर २९)पछि जनसाधारणले रुकुम जिल्ला अदालतको प्रांगणमा आस्थाले शिर टेकाए। यति न्यानो न्यायका निम्ति न्यायालय साँच्चै स्तुत्य छ।
तर यही घडीमा राज्य संयन्त्रको भरमग्दुर दुरुपयोग गर्दै नागरिकलाई नक्कली शरणार्थी बनाएर करोडौं रुपैयाँ असुल्ने ‘सम्माननीय’ एकपछि अर्को छुट्दै छन्। सात महीना जेल बस्दा पनि कांग्रेस पार्टीबाट निलम्बनमा नपरेका पूर्व गृहमन्त्री बालकृष्ण खाण अहिले पाटन उच्च अदालतले धरौटीमा रिहा गरिदिएपछि त सफाइ नै पाए जस्तो मुखमुद्रामा देखिन थालेका छन्।
धरौटी बुझाएका नेतालाई केही आसेपासेले ‘सम्मानित न्यायालयबाट पनि सम्मानित’ भन्दै डंका पिटिरहेको दृश्य लाजमर्दो छ, उही ‘फर्गेट यस्टर्डे’ बान्कीमा। कांग्रेस मुख्यालयमा बिहीबार केन्द्रीय समिति बैठकमा उस्तै सानमानका साथ खाणको हाजिरी उदेकलाग्दो थियो, मानौं हिजोसम्म केही भएकै छैन। मानौं- उनी न्यायालयबाट भर्खरै विभूषित भएर यसो हावा खाना बाहिर निस्किएका हुन्।
प्रहरी अनुसन्धानले नक्कली शरणार्थी काण्डको मुख्य योजनाकार खाण सहित पूर्व उपप्रधानमन्त्री रायमाझी, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई र गृहसचिव टेकनारायण पाण्डेलाई देखाएको छ। यो संगठित अपराधको नीतिगत परिबन्द तय गर्नमा यी चार जनाले केन्द्रीय भूमिका खेलेको अनुसन्धानको पहिलो चरणमै देखिएको थियो, जुन अदालती मिसिलमा पनि समेटिएको छ। तर मिलीभगत कतिसम्म देखियो भने मोबाइलको ‘फ्याक्ट्री रिसेट’ देखि लेनदेन, सुराकीका चिर्कटो तानातान र मोबाइल-मेसेजसम्मका प्रमाण छँदाछँदै न्यायालय समेत ‘प्रश्नातीत’ बनिदियो।
अरू सबै प्रमाण एकातर्फ, इन्कारी बयान अर्कातर्फको नियति यहाँ पनि देखियो- केही चर्चित बलात्कार र हत्याकाण्डहरूमाझै। ‘शुरूमै कुरो मिलाउनुहोला, पछि गएर दिइने इन्कारी बयानले समस्या सुल्झँदैन’ भन्ने भाकाका चिर्कटो आदानप्रदान गर्नेहरू आज त्यही बयानका भरमा जेल बाहिर मखलेल घुमफिरमा छन्। यो राजनीतिक गोलचक्करले धमिल्याएको पानीमा माछा मार्न हाल एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली समेत बल्छी-ढोक्सा थापिरहेछन् र संकेतमा भनेका छन्, “कांग्रेस भएकै कारण कोही छुट्ने, एमाले भएको रिसले हाम्रा साथी नछुट्ने?”
![bhutani_1684677687.jpg](https://www.himalkhabar.com/uploads/editor/Crime/bhutani_1684677687.jpg)
यो तुक्काबाजी र वचनको थुनछेक न्यायिक निरूपण वा प्रक्रियाभन्दा पनि विशुद्ध राजनीतिक नियतमा अल्झेको देखिन्छ। कांग्रेस गण्डकी प्रदेश सम्मेलन (पुस ३) मा राखिएको तुलमा ‘भ्रष्टाचारबाट पार्टीलाई बचाऔं’ नारा छोपछाप गर्न लगाएर मात्र सभामा जाने शर्त राख्ने सभापति शेरबहादुर देउवाको मनसुवामा त्यसअघि नै अर्का नेता भीष्मराज आङ्देम्बेले मार्गप्रशस्त गरिसकेका थिए। उनले भनेका थिए, “बालकृष्ण खाणको रिहाइले देशमा सुखद सन्देश प्रवाह भएको छ।” यो केवल संयोग होइन, हामीमाझका सबैजसो राजनीतिक दलभित्रको चित्र-चरित्र पनि हो।
यस्ता संयोग र संकेत नित्य-निरन्तर आइरहेकै छन्। मंसीर दोस्रो साता कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलनमै सभापति देउवाले ‘बालकृष्ण खाणजीले छिटै न्याय पाउने’ उद्घोष गरिसकेका थिए। खाण पुर्पक्ष थुनामा छँदै ‘नेपाली कांग्रेस, लुम्बिनी प्रदेशको संगठन सुदृढीकरणका लागि आर्थिक सहयोगको उच्च मूल्यांकन गर्दै’ देउवाले (पार्टी जिल्ला सभापति रामकृष्ण खाण मार्फत) प्रशंसापत्र दिइरहँदा त्यही मञ्चमा छड्के साक्षी सरह थिए- प्रभावशाली र आशलाग्दा नेताहरू शेखर कोइराला, गगन थापा र विश्वप्रकाश शर्मा।
विडम्बना! पार्टीभित्र अलिक भिन्न वैचारिक दृष्टि राख्ने र स्पष्ट वक्ता मानिने महामन्त्रीद्वय थापा-शर्मा पनि लुम्बिनी भेलामा मौनप्रायः देखिए। जबकि थापाले झन्डै ६ महीनाअघि नक्कली शरणार्थी बनाउने गिरोहको पर्दाफास भएपछि र आफ्नै दलका केन्द्रीय नेताहरू पुर्पक्षमा पर्न थालेपछि लिखित अभिव्यक्ति नै दिएका थिए, “अनुहारमा दाग लागेपछि जति पटक पुछे पनि पुछिंदैन। त्यसका लागि पार्टीभित्र शुद्धीकरणको अपरिहार्यतालाई बोध गर्दै प्रत्येक सदस्यले दृढ संकल्प गर्ने वेला आएको छ।”
नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाउनेहरू जुनसुकै परिवार, पद र पार्टीका रहे पनि निष्पक्ष अनुसन्धान भई दोषीले सजाय पाउनुपर्ने खरो राय दिंदै उनले भनेका थिए, “...यति गम्भीर आरोप लगाइसकेपछि मुद्दाको अन्तिम किनारा नलागेसम्म जुनसुकै तहको जिम्मेवारीमा रहेको व्यक्ति स्वतः पार्टीको जिम्मेवारीबाट अलग हुनुपर्छ अन्यथा पार्टीले निलम्बन गर्नुपर्छ।”
केन्द्रीय नेता खाणज्यू- पार्टी र नेताबाट नभए पनि जनसाधारणको मन-मस्तिष्कबाट तपाईंको निलम्बन भइसकेको छ। राज्य पद्धति दोहन गर्ने तपाईंहरूको कार्यशैली समेत जनसाधारणका दृष्टिमा सधैंलाई खारेजीमा परिसकेको छ।
महामन्त्री थापाजीले सुनाएको निलम्बन-कथा चाहिं ‘भन्नेलाई फूलको माला, सुन्नेलाई सुनको माला’ जस्तै भइगयो। यही मेहरो, माहोल र मुद्रामा कवि प्रदीप रोदनले ‘यो किस्सा वैकुण्ठ जाला’ को शैलीमा भनिसकेका छन्,
सक्दैनौ आफैंलाई काँध हाल्न के राजनीति गर्छौ?
जाबो एक मुठी सास लिएर फाल्न के राजनीति गर्छौ?
क्षमता भए खानीबाट सुन निकाल, हिरा निकाल
अपराधी जेलबाट निकाल्न के राजनीति गर्छौ?
नखुलेका पहेली
प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले नीतिगत असन्तुष्टि जनाएर राजीनामा दिएको दुई साता भइसकेको छ। तर यो राजीनामा बालुवाटारमै ‘होल्ड’ मा छ। के होला यो नीतिगत असन्तुष्टि?
यो पनि एउटा नखुलेको पहेली हो। सरकारलाई जनउत्तरदायी बन्दै आफ्नो साख बढाउने अवसर बनेर आएको नक्कली शरणार्थी प्रकरण छानबिनको चुरोमा पुगेर गजुरेलले राजीनामा दिएका हुन् त? अब्बल शैलीमा भइरहेको अनुसन्धान अवरुद्ध पार्न सम्बद्ध प्रहरी अधिकारीहरूलाई जगेडामा पठाउने निर्णयको विरोधमा गजुरेल त्यही वेला रहेछन्, जुन वेला उनको बोलीको सुनुवाइ भएन। न प्रधानमन्त्री दाहाल न त छाया हैसियतमा राज्यपद्धति चलाउने नातागोता (भाउजू, आमा, छोरी)ले गजुरेललाई ‘सल्लाहकर्ता’ हैसियतमा राखे।
एकपछि अर्को गर्दै सुन काण्ड, बालुवाटार काण्ड सहितको अनुसन्धानमा पनि त्यही नीतिगत अड्चन ल्याउने कर्तूत जारी रह्यो। जेलभित्र पुगेका ‘वरिष्ठ’ नेताहरूको सधैंको ‘नत्र मुख खोलिदिन्छु’ को धाकधम्कीयुक्त परकम्पमा गजुरेल नराम्ररी तानिए, मंसीर २० को उनको राजीनामाको अन्तर्य यही हो।
नक्कली शरणार्थी काण्डको अनुसन्धान र छानबिनमा जुटेका प्रहरी अधिकारीहरू मुख्यालयको कामै नहुने जगेडा शाखामा पुर्याइए। फैसलाकर्ता जिल्ला न्यायाधीशलाई बेरीतको मौका रोजेर र बेरीतकै हैसियतमा ‘कालापानी’ पुर्याइयो। दोस्रो चरणको अनुसन्धानमा जो पुर्पक्षमा तानिंदै थिए (केही सांसद, सहयोगी र आसेपासे समेत), तिनकै अरनखटनमा गृहमन्त्रीदेखि प्रधानमन्त्रीसम्म जकडिएको संकेत मिलिसकेको थियो।
कतिसम्म भने अनुसन्धानका एक मियो नेपाल प्रहरीका एआईजी श्यामलाल ज्ञवालीलाई जन्ममिति विवादमा मुछेर संसद्को एउटा समितिले छानबिन शुरू गर्यो। विगतमा अदालत, अख्तियार सहितबाट सफाइ पाइसकेका ज्ञवालीलाई फेरि कुन नियत र प्रपञ्चले यो बात लगाइएको हो? स्पष्टै छ। एक साताभित्र छानबिन गर्ने भनिएको यो सरोकार महीना दिनदेखि गृह मन्त्रालयमै तामेलीमा छ।
यसमा बात लगाउने र साख गिराउने नियत बाहेकको पहेली के होला? राज्यव्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडालाई अझ नजिकबाट थाहा हुनुपर्छ- जो मानमर्दनको यस्तै बात (रोलेक्स घडी काण्ड) लगाइएपछि आफैंलाई ‘क्लीन-चिट’ दिलाउन हरतरहले बल गरिरहेका हुन्छन्, त्रस्त मुद्रा लिएर।
नक्कली शरणार्थी काण्डपछि खाणको शुद्धीकरण अब उनलाई पार्टी सभापतिको दाबेदार बनाउनुपर्ने बहसतर्फ अघि बढिरहेछ। आखिर लोकतन्त्र-गणतन्त्रमा समेत ७ महीना जेल परेको विरासत र गरिमा जो मिलेको छ, भलै अभियोग जतिसुकै संगीन होस्। अपव्याख्या गर्नेहरूका लागि त नेपाली राष्ट्रिय कांग्रेसले २००३ सालमा भद्रगोल जेलभित्रै रहेका नेता टंकप्रसाद आचार्यलाई सभापति बनाएको नजीर समेत छँदै छ। आसेपासेहरू अब खाणलाई पनि पार्टी सभापतिको दाबेदार मान्न सकिने भन्दै ‘दाजु-भाउजू’ का अघिपछि गर्दै छन्। राजनीति यही बाटोमा अघि बढे त्यो दिन पक्कै देखिएला।
अब फेरि ‘स्वर्गालय’ तिरै फर्कौं जहाँ बीपी र मदन कान्तिपुरी नगरीतिर हेर्दै विरक्ति पोखिरहेका हुन्छन्। केन्द्रीय कारागारतर्फ औंल्याउँदै तिनको संवाद यसरी अघि बढ्छ:
बीपी- “अनि को हुन् यिनीहरू? यी लस्कर?”
मदन- “यी मन्त्रीका बाबुछोरा हुन्। यी गृहमन्त्रीका बूढाबूढी हुन्। यी भाइका दाइ हुन्, यी देवरका भाउजूहरू हुन्। जो नागरिकलाई नक्कली शरणार्थी बनाएर स्वर्ग पठाइदिन्छु भन्दै देशलाई नर्कमा धकेलिरहेका छन्।”
बीपी- “हरे, हेर त बीपी र पुष्पलालका सपना! यस्तालाई त जिन्दगीभर जेलमा सडाउनुपर्ने...! कानून छैन कि के हो अचेल तल?”
मदन- “नेपालको कानून पनि पैसामा बिक्री हुन थालेको छ महाशय। त्यसो भएको हुनाले यिनीहरूको दण्ड नेपालमा होइन, यमलोकमा यमराजले दिने दण्डले मात्रै सम्भव हुन्छ...।”