७० लाखमा एप बेच्ने बर्दियाका २२ वर्षीय कर्ण
एसईईपछि कम्युटरतिर लागेका बर्दियाका २२ वर्षीय कर्णबहादुर बुढाक्षेत्रीले विदेशी कम्पनीलाई ७० लाखमा एप बेचेर परिवारलाई चकित पारेका छन्।
मोबाइल वा ट्याब देखाउँदै स-साना बालबालिकालाई भात खुवाइरहेको दृश्य गाउँ-शहर जताततै देखिन्छ। स्क्रीनमा अभ्यस्त हुन थालेका बालबालिका कक्षा १-२ मा पढ्दै गर्दा मोबाइलका अम्मली बनिसकेका हुन्छन्।
डेढ दशकअघि मात्रै पनि स्मार्टफोन सबैको पहुँचमा नहुँदा मोबाइलको दुनियाँ अहिले जस्तो रंगीन थिएन, श्यामश्वेत थियो। त्यति वेला नेपाली समाजमा नोकियाको ११०० सिरिजको ‘टुकटुके’ मोबाइलकै बोलबाला थियो।
त्यही टुकटुके मोबाइल चलाउथे बर्दियाको बाँसगढी नगरपालिका-५ का कर्णबहादुर बुढाक्षेत्रीका बुवा भीमबहादुर बुढाक्षेत्री। “केटाकेटी उमेरमा खेल्न पाएको बुवाको त्यही मोबाइलसँग हो,” २२ वर्षीय कर्ण सम्झिन्छन्, “सधैं त खेल्न पाउँदैनथे, पाएको वेला सर्प दौडाउने खेल खेल्थें।”
उनको जन्म हुँदा नेपालमा मोबाइल भित्रिएको दुई वर्ष मात्र भएको थियो। नेपाल टेलिकमले २०५६ सालदेखि पोस्टपेड सिमकार्ड वितरण थाल्यो भने २०६० सालदेखि प्रिपेड सिम। त्यसपछि भने मोबाइल व्यापक हुने थालेको हो। त्यही वेला कर्णका बुवाले टुकटुके मोबाइल भित्र्याएका थिए।
स्कूल पढ्दै गरेका बालबालिकाले मोबाइल पाउने कुरा थिएन। कोभिड-१९ महामारीले व्यापक बनाइदिएको भर्चुअल कक्षाले गर्दा अहिले स्कूले बालबालिकासम्म मोबाइल पुगेको छ। कर्णले पनि एसईई सकेपछि मात्रै बुवाको पुरानो ‘सामसुङ-जे’ सिरिजको मोबाइल पाए।
स्कूल सकेपछि उनी नेपालगन्ज हानिए। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) को डिप्लोमा इन कम्प्युटर इन्जिनीयरिङको तीन वर्षे कोर्सका लागि नेपालगन्ज टेक्निकल कलेजमा भर्ना भए। त्यसपछि डेल कम्पनीको आई-५ सिरिजको ल्यापटप पनि पाए। अनि शुरू भयो कर्णको आईटी दुनियाँसँग साक्षात्कार।
कम्प्युटरमा घोत्लिन थालेको केही वर्षमै मोबाइल एप बनाउन थाले। ‘गुगल प्ले स्टोर’मा राखेका उनका एप केहीले डाउनलोड पनि गर्थे। पछिल्लो पटक बनाएको एपले त उनलाई नै चकित बनायो। “मैले बनाएको मोबाइल एप विदेशी कम्पनीले ७० लाखमा किन्यो,” कर्ण सुनाउँछन्।
कम्प्युटर प्रोग्रामिङमा रुचि राख्ने उनले एक वर्षअघि मोबाइल एप ‘पिकअप लाइन्स’ बनाएका थिए। एपमा चिजी, रोमान्टिक, क्युट, फन्नी आदि क्याटगोरीका ‘पिकअप लाइन’ रहेको उनी बताउँछन्। “जसलाई सजिलै कपी गरेर एसएमएस, इमेल वा मेसेन्जरमा प्रयोग गर्न सकिन्छ,” कर्ण भन्छन्।
एनरोइड ५.१ भन्दा पछिल्ला भर्सनमा चल्ने यो एपलाई सन् २०२२ नोभेम्बरमा ‘गुगल प्ले स्टोर’मा अपलोड गरेका थिए। शुरुआती दिनमा साथीभाइलाई एप डाउनलोड गरिदिन आग्रह गरेका थिए। चार महीनासम्म त खासै डाउनलोड भएन। अलिकति डाउनलोड भए बापत आउने रकम महीनाको ७०-८० डलर मात्रै आउने गरेको उनी सुनाउँछन्।
पाँचौं महीनादेखि डाउनलोड दर बढ्न थाल्यो। महीनाको १० हजार पुग्न थाल्यो। केही महीनामै ५० हजार पुग्यो। पछि त दिनकै पाँच हजारसम्म डाउनलोड हुन थाल्यो।
विशेष गरेर अफ्रिका र युरोपमा प्रयोगकर्ता बढ्दै गए। डाउनलोड बढ्दै जाँदा आम्दानी पनि विस्तारै बढिरहेको थियो। “जब डाउनलोडको दर महीनाकै दुई लाख पुग्यो, तब इजरायली कम्पनीले किन्ने रुचि देखायो,” उनी भन्छन्। त्यतिन्जेल डाउनलोडबाटै दुई हजार डलर कमाइसकेका थिए।
त्यसपछि आएको हो, इजरायली कम्पनी राउन्ड एआई लिमिटेडको ‘पिकअप लाइन्स’ एप खरीदको प्रस्ताव। दुई महीनाअघि मंसीर ७ मा राउन्ड एआईले २५ हजार डलरमा एप किन्न प्रस्ताव गर्यो। यो रकम उनको लागि थोरै त होइन, तैपनि विज्ञहरूसँग सल्लाह गरे। चिनजानका मान्छेले ‘बार्गेनिङ’ गर्न सल्लाह दिए, उनले त्यसै गरे।
अन्ततः ५३ हजार डलरमा सम्झौता तय भयो। जस अनुसार, उनले ६७ लाख रुपैयाँ पाए। तीन लाख ५० हजार त सरकारलाई कर नै बुझाए। उनले जाभा प्रोग्रामिङमा बनाएको ‘पिकअप लाइन्स’ एक वर्षमा पाँच लाखभन्दा बढी डाउनलोड भइसकेको छ।
जब आफ्नो एप विदेशीले किन्न लागेको आमाबुवालाई सुनाए, उनीहरूले पत्याएनन्। “शुरूमा त उहाँहरूलाई लाग्यो, यसले ठट्टा गर्दै छ,” उनी भन्छन्, “पछि जब साँच्चै हो भन्ने यकिन भयो, अनि छक्क पर्नुभयो।”
हुन त उनले सानोतिनो कमाइ गर्न थालेको दुई-तीन वर्ष भइसक्यो। ‘पिकअप लाइन्स’ बनाउनुअघि यस्तै प्रकृतिका अन्य एप बनाएका थिए। जुन १० हजारदेखि ५० हजारसम्म डाउनलोड भएका थिए। एप बनाउनअघि पनि कम्प्युटरको काम गरेका थिए। जसबाट कमाइ भएको उनी सुनाउँछन्। “मैले पहिलो पटक कम्प्युटरको काम गरेर १८ हजार कमाएको थिएँ,” उनी भन्छन्।
कोभिड-१९ को महामारीले बन्दाबन्दी भएका वेला उनले कक्षा ८ र ९ का विद्यार्थीलाई लक्ष्यित नेपाली विषयको एप बनाए। उनले बनाएका धेरै एपमा सबैभन्दा बढी डाउनलोड भएको कक्षा ९ को नेपाली विषयको गाइड हो। “त्यो एप बनाउँदा मलाई बडो आनन्द लागेको थियो र थप काम गर्न हौस्याएको पनि थियो,” कर्ण भन्छन्।
खाताको पैसा झिक्नै सकस
इजरायली कम्पनीलाई एप बेचेपछि उनको खातामा पैसा आयो। इस्क्रो डटकम मार्फत भएको कारोबारबाट ठूलो रकम आएपछि निकाल्न झन् सकस भयो। “विदेशबाट ठूलो रकम आएको देखेर ब्यांकले रोकिदियो,” उनी भन्छन्।
ब्यांंकका अधिकारीलाई कम्पनीसँग भएको सम्झौता लगायतको कागजात देखाउँदै असली कामको पैसा आएको हो भन्ने बुझाउनु समय लागेको उनी सुनाउँछन्। “कतै गैरकानूनी सट्टेबाजीको पैसा हो कि भन्ने शंका हुँदोरहेछ। त्यो कुरा स्पष्ट पार्न एक साता लाग्यो,” उनी भन्छन्।
गुगल प्ले स्टोरमा रहेको उनको ‘काकी डेभलपर्स’ एकाउन्टमा एक दर्जनभन्दा बढी एप उपलब्ध छन्। उनले बनाएका एप्स् ५० हजारभन्दा बढी पटक डाउनलोड भएका पनि छन्। उनका केही चर्चित एपमा कक्षा ९ र कक्षा ८ को नेपाली गाइड बुक, नेपाली व्याकरण, नेपाली सामान्य ज्ञान लगायत छन्। जुन डाउनलोड भए अनुसार, उनको खातामा पैसा आइरहन्छ।
देशमै केही गर्ने धोको
कर्णले आफ्नै मोबाइल र ल्यापटप पाएको एसईईपछि हो। दुई दिदीका भाइ उनको काम नै कम्प्युटरको सफ्टवेयर र एपमा घोत्लिने भयो। सधैं कम्प्युटरमै घोत्लिएर बसेको देख्दा के गरेको होला भनेर आमाले चिन्ता गर्थिन्। “आज मैले आफ्नो क्षमता प्रमाणित गर्न सकें जस्तो लाग्छ,” उनी भन्छन्।
गणित मन पराउने कर्णले राम्रा विद्यार्थीमा पर्थे। नेपालगन्ज टेक्निकल कलेजमा अध्ययन गर्दा पनि उनको पढाइ राम्रो थियो। कलेजका प्रधानाध्यापक छिनिङलाल थापा मगर कलेजमा पढ्दा कम्प्युटरमा रुचि राख्ने टाठो विद्यार्थी भएको सुनाउँछन्। “कम्प्युटरमा तीक्ष्ण थिए। उनको यो सफलताले हामी सबै खुशी भएका छौं,” थापा मगर भन्छन्।
उनी धेरै जसो समय त युट्युब र सामाजिक सञ्जालमा विभिन्न जानकारी बटुलिरहेका हुन्छन्। फुर्सद पाउँदा फूटबल हेर्छन्। ब्राजिलको खेल पछ्याइरहने उनी नेयमार जुनियरलाई मन पराउँछन्। पीएसजी मन पर्ने क्लब हो। फुर्सदमा सिनेमा हेर्न पनि छुटाउँदैनन्। खेलकूद र सिनेमाले थकान भुलाउने उनको अनुभव छ।
प्रायः युवा विदेशको सपना देख्छन्। हाल ललितपुरको युनिभर्सल इन्जिनीयरिङ एन्ड साइन्स कलेजमा स्नातक तह तेस्रो वर्षमा अध्ययनरत कर्ण भने विदेशको सपना नदेखेको सुनाउँछन्। त्यसको एउटा कारण बुवा पनि हुन्। बुवा भीमबहादुर वैदेशिक रोजगारीमा साउदी अरबमा छन्। १० वर्षदेखि विदेश रहेका बुवाको अभाव र गाह्रोसाह्रो भोगेर होला उनीसँग विदेश मोह छैन।
उनी नेपालमै राम्रो गर्ने सोचमा छन्। अहिले पाइरहेको सफलताले भविष्यमा अरू काम गर्ने वातावरण बन्ने उनको आशा छ। कर्ण भन्छन्, “भोलिका दिनमा नेपालमै बसेर सूचना प्रविधिको क्षेत्रमा स्वतन्त्रतापूर्वक केही नयाँ काम गर्ने धोको छ।”