गजब गोक्यो
गोक्योबाट सूर्यास्तका वेला सुन्तला रङमा टल्किएको चो-ओयू, घ्याचुङ काङ र सगरमाथाको रोमाञ्चक दृश्य देख्न सकिन्छ।
हिउँदको अफ-सिजन शुरू भएसँगै मानव आवागमन नहुने भएकाले गोक्यो पदमार्गको निर्मल सौन्दर्य झनै झाँगिएर आउँछ। तर गोक्योमा यति वेला मानव मात्रै नभएका होइनन्, बरफ र हिउँ पनि गायब छन्।
सगरमाथा आधारशिविर पदमार्ग हेरीकन गोक्यो पदमार्गमा भीडभाड सधैं कम नै हुन्छ। हिउँदमा त यो पूर्णतः सुनसान हुन्छ।
दुबईमा हालै सम्पन्न कोप-२८ सम्मेलनसँग संयोगवश जुध्न पुगेको गत साताको एक पदयात्राले पनि यस्तो जनाउ घन्टी बजायो- जीवाश्म इन्धनलाई पूर्णतः र तत्कालै प्रतिस्थापन गर्न विश्व अर्थतन्त्रहरू असक्षम हुँदा हिमालयमा कतिसम्म प्रभाव परिरहेको छ।
सगरमाथा पदमार्गको लोकप्रियताले अधिकांश समय छायामा पारे पनि गोक्यो पदमार्ग ‘लुप्त रत्न’भन्दा बढी पहिचान पाउन योग्य छ। लुक्लासम्मको हवाई यात्रापछि पदयात्रीले ११ दिने यात्राका दौरान खुम्बुको विविधतायुक्त सौन्दर्य अवलोकन गर्न पाउँछन्।
यस रूटले आगन्तुकलाई चर्चित ‘हिलरी पुल’, नाम्चे हुँदै सडकछेवैका तीर्थस्थल, रमणीय पाँच गोक्यो ताल किनारहरू र अन्ततः पाँच हजार ३५७ मिटर अग्लो गोक्यो रीको शिखरमा पुर्याउँछ। यहाँबाट सूर्यास्तका वेला सुन्तला रङमा टल्किएको चो-ओयू, घ्याचुङ काङ र सगरमाथाको रोमाञ्चक दृश्य देख्न सकिन्छ।
पाँच हजार मिटर उचाइका पाँच गोक्यो तालहरू संसारकै अग्लो स्थानमा रहेको ताजा पानीको तालप्रणाली हो। यी तालमा नाग देवता विराजमान रहेको विश्वास गर्ने भएकाले हिन्दू र बौद्ध दुवै धर्मावलम्बी पवित्र मान्छन्।
गोक्यो ताल हुँदै बग्छ नेपालकै लामो ङोजुम्पा हिमनदी। विश्वव्यापी तापमान वृद्धिका कारण पछिल्लो २५ वर्षमा यो हिमनदी नाटकीय रूपमा खुम्चिंदै गएको छ। हिमालयका अन्य हिमनदी झैं ङोजुम्पामा अहिले ठाउँ ठाउँमा बरफका गुफाहरू र पोखरी बनिरहेको छ र यो हिमनदी पग्लिरहेको छ।
पृथ्वीका दुई ध्रुवपछिकै धेरै बरफका रूपमा पानीको भण्डार भएका कारण हिमालयलाई तेस्रो ध्रुव पनि भनिन्छ। तर वर्तमान समयमा भइरहेको तापमान वृद्धिका कारण यो शताब्दीमा यी हिमालले आफ्नो दुईतिहाइ बरफ गुमाउने जलवायु वैज्ञानिकहरू बताउँछन्।
एशियाभर दुई अर्बभन्दा बढी मानिस पानीका लागि हिमालय र तिब्बती पठारबाट शुरू भएर बग्ने नदीको भर पर्छन्। स्थायी बरफको पग्लाइबाट मात्र नभई अनावृष्टिबाट पनि जलवायु आपत्कालको मूर्त प्रभाव गोक्यो पदमार्गभरि स्पष्ट देखिन्छ।
(अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्।)