काठमाडौं उपत्यकामा पहिलो पटक देखियो कलहाँस
![काठमाडौं उपत्यकामा पहिलो पटक देखियो कलहाँस](https://www.himalkhabar.com/uploads/posts/800X600/Greater-White-Fronted-Goose-(10)-1701953082.jpg)
नेपालमा विरलै देखिएको कलहाँसलाई संरक्षणकर्मीले पहिलो पटक भक्तपुरको हनुमन्ते खोलामा भेटेका छन्।
चरा अवलोकनका लागि भक्तपुरको हनुमन्ते खोलाको किनारतिर गइरहने सुजन श्रेष्ठले मंसीरको एक दिन नौलो प्रकारको हाँस देखे। त्यस दिन उनले क्यामेरा बोकेका थिएनन्।
त्यहींबाट अर्का संरक्षणकर्मी सूर्यमान श्रेष्ठलाई फोन गरे। ठिमी चोकबाट बालकोट जाने बाटोमा रहेको पुल कटेपछि केही मिटरमा हनुमन्ते नदी किनार पुगेर सूर्यमानले हाँसको तस्वीर खिचे।
चरा प्रजाति यकीन गर्न विभिन्न एपमा विवरण भिडाउन थाले। साथै, नेपाल पन्छी संरक्षण संघका विज्ञ र चराविद् हेमसागर बराललाई चराको तस्वीर पठाए। अर्का चराविद् कमलराज गोसाईंलाई हनुमन्तेको किनारमै बोलाए। अनि प्रजाति यकीन भयो- श्वेतमाथा कलहाँस।
![Greater White Fronted Goose (2).JPG](https://www.himalkhabar.com/uploads/editor/wildlife/greater white fronted goose/Greater White Fronted Goose (2).JPG)
यसरी मंसीर १३ को बिहान ८ बजे पहिलो पटक देखिएको पन्छी श्वेतमाथा कलहाँस भएको यकीन भयो। अंग्रेजीमा ‘ग्रेटर ह्वाइट फ्रन्टेड गूज’ भनेर चिनिने कलहाँस नेपालमा विरलै पाइने गरेको छ। अझ काठमाडौं उपत्यकामा त यसअघि देखिएको थिएन।
डेनमार्क, ग्रीनल्यान्ड, क्यानडा र रूसको रैथाने प्रजाति श्वेतमाथा कलहाँस भारततिर वेलावेला विचरण गर्न आउने गरेको छ। भारतमै गुँड बनाएर बसेको भने पाइएको छैन। अझ नेपालमा त आउने गरेको भेटिएको थिएन। यसको विश्राम गर्ने स्थान वा बाटोमा पनि नेपाल पर्दैन।
कलहाँसले दिनकै सयौं किलोमिटर यात्रा तय गर्ने चराविद् बताउँछन्। यसको शरीर अन्य हाँस प्रजातिभन्दा केही ठूलो र शरीर पनि मोटो हुन्छ। घाँटी छोटो हुने कलहाँसको अगाडिको भागमा सेतो टाटो हुन्छ।
![Greater White Fronted Goose (9).JPG](https://www.himalkhabar.com/uploads/editor/wildlife/greater white fronted goose/Greater White Fronted Goose (9).JPG)
नेपालमा यो हाँस दुई दशकअघि पूर्वी तराईको कोशीटप्पु वन्यजन्तु आरक्षमा देखिएको थियो। पहिलो पटक २०६० सालमा देखिएको चराविद् सुनाउँछन्। “हालसम्म काठमाडौं उपत्यकामा देखिएको थिएन, यो नै पहिलो पटक हो,” श्रेष्ठ भन्छन्। यो कहाँबाट हनुमन्ते खोलामा आइपुग्यो भन्ने यकीन गर्न सकिएको छैन।
त्यस्तै, सन् २०२० मा प्रकाशित चराविद् क्यारोल इन्सकिपको चरा सम्बन्धी अनुसन्धानात्मक लेखमा कलहाँस नेपालको पूर्वी क्षेत्र कोशी टप्पु वन्यजन्तु आरक्ष, पोखराको फेवा ताल र चितवन राष्ट्रिय निकुञ्जमा देखिएको उल्लेख छ। त्यति वेला देखिएको चरा एउटै हो कि फरक फरक हो भन्ने पुष्टि गर्न सकिएको थिएन।
त्यसपछि सन् २०२१ मा कैलालीमा पनि एक पटक कलहाँस देखिएको चराविद् बताउँछन्। नेपाल पन्छी संरक्षण संघका कार्यक्रम अधिकृत दिलीप चन्दले दाङ जिल्लाको लमही नगरपालिका र राजपुर गाउँपालिकाको सिमाना राप्ती नदीको दोभानमा सन् २०२३ नोभेम्बरमा एक जोडी कलहाँस देखेका थिए। जाडो याममा देखिएको सो कलहाँस विश्रामका लागि नेपालमा बसेको अनुमान थियो। “अहिलेसम्म नेपालका तीन ठाउँमा १४ पटक मात्र देखिएको अभिलेख पाइन्छ तर काठमाडौंमा देखिएको अभिलेख छैन,” श्रेष्ठ भन्छन्।
![Greater White Fronted Goose (6).JPG](https://www.himalkhabar.com/uploads/editor/wildlife/greater white fronted goose/Greater White Fronted Goose (6).JPG)
काठमाडौंमा यो हाँस देखिएपछि पन्छी संरक्षणकर्मी र पन्छी अवलोकनकर्ता उत्साहित छन्। नेपालमा अहिलेसम्म ८९३ वटा पन्छी प्रजातिका चरा रहेको अभिलेख छ।
जोगाउने चिन्ता
कलहाँस नेपालमा विरलै पाइने पन्छी हो। हनुमन्ते खोलामा भेटिएको थाहा पाएपछि त्यसलाई जोगाउन सक्रिय भएर लागेको संरक्षण विकास फाउन्डेशनमा कार्यरत सूर्यमान श्रेष्ठ बताउँछन्। सूर्यमान भन्छन्, “स्थानीयले उडेर आएको हाँस त हो नि भनेर मारेर खाइदेलान् भन्ने डर थियो। हामीले मोनिटरिङ गरेर बचाउने प्रयास गर्यौं।”
उनीहरूले हाँसको निगरानी गरिरहँदा पनि आवतजावत गर्ने मान्छेले ढुंगा हान्न थाले। त्यसपछि डिभिजन वन कार्यालय, भक्तपुर र मध्यपुर नगरपालिकामा संरक्षण र उद्धारका लागि पहल गर्न अनुरोध गरेको उनी बताउँछन्।
वन कार्यालय र नगरपालिकाबाट निगरानीका लागि मानिस आएपछि भने हाँसलाई उद्धार गरेर चिडियाखाना लाने योजना बन्यो। जालीले छोपेर नियन्त्रणमा लिन खोज्दा हाँस उडेर गयो। “हाँस अलि बिरामी जस्तो देखिन्छ। चिडियाखाना लान पाएको भए उपचार हुने थियो तर लान सकिएन,” सूर्यमान भन्छन्, “यो एक्लो भएकाले बाजले टाउकोमा हानेको हान्यै गरेको देखियो, टाउकामा घाउ पनि लागेको छ।”
![Greater White Fronted Goose (7).JPG](https://www.himalkhabar.com/uploads/editor/wildlife/greater white fronted goose/Greater White Fronted Goose (7).JPG)
हाँसको घाँटी कडा हुने भए पनि टाउको भने कमलो हुन्छ। बाजले चरा मार्न पहिले टाउकोमा हिर्काउँछ। सानो चरालाई त च्याप्पै समात्छ। बाजबाट जोगाउन सकिने भए पनि मान्छेबाट जोगाउन मुश्किल भएको उनीहरू सुनाउँछन्। “यो प्रजाति नेपालमा दुर्लभ हो भन्ने सबैलाई थाहा छैन। स्थानीयले पनि हाँस त हो नि भन्ने ठानेका छन्,” सूर्यमान भन्छन्।
अहिले पनि हाँस आसपासमै बसिरहेको छ। त्यो ठाउँमा व्यावसायिक हाँसपालन भएकाले वरिपरि नै बसिरहेको सुजन बताउँछन्। “हामीले देखेदेखि त्यहीं नै बसिरहेको छ अन्यत्र गएको छैन,” उनी भन्छन्, “हरेक दिन राति हेर्न गएका थियौं, त्यही छ।”
हाँस प्रजाति झुन्डमा डुल्ने गर्छ तर यो हाँस एक्लो छ। यो हाँसले घाँस, लेउ मात्र खान्छ। त्यो पनि सफा तालको तर यो भने फोहोरमा बसिरहेको छ। “यो पानीमा डुबुल्की मार्दै बस्ने प्रजाति हो तर हामीले पानीमा डुबुल्की मारेको देखेका छैनौं। शायद पानी फोहोर भएर पनि होला,” सुजन भन्छन्।