‘भिज्युअल आर्ट’मा गोर्खा सैनिकका श्रीमतीको जीवन भोगाइ
![‘भिज्युअल आर्ट’मा गोर्खा सैनिकका श्रीमतीको जीवन भोगाइ](https://www.himalkhabar.com/uploads/posts/800X600/sujata-thapa-shrish-(5)-1701189609.jpg)
अहिलेसम्म युद्धमा होमिएका गोर्खा सैनिकका बहादुरीका कथा पढ्यौं। उनीहरूका श्रीमतीको जीवन भोगाइ कस्तो होला? सुजाना थापा श्रीसले यही फरक पाटो उधिनेकी छन्।
गोर्खा वा गोर्खा सैनिक भन्ने बित्तिकै तपाईंको दिमागमा के आउँछ? खुकुरी सहित खाकी बर्दीमा सजिएको बहादुर योद्धाको तस्वीर।
नेपाल कला परिषद्मा सुजाना थापा श्रीसको ‘भिज्युअल आर्ट एक्जिबिशन’ ले भने त्योभन्दा फरक कथा भन्छ। प्रदर्शनीमा गोर्खा सैनिकका श्रीमतीको जीवन भोगाइ अनुभूत गर्न सकिन्छ।
सुजाना थापा श्रीस।‘गोर्खाली महिला’ नामक प्रदर्शनीले गोर्खाली सेनाका श्रीमतीहरूको अनुभव र भोगाइबाट गोर्खाली इतिहासलाई नयाँ ढंगबाट प्रस्तुत गरेको छ। गोर्खाली इतिहासबारे चलिआएको भाष्यले गोर्खाली सेनासँगै जोडिएका जीवनको गाथालाई भने छुटाएको थापा महसूस गर्छिन्।
युद्धकालमा लडाइँ गरेका गोर्खालाई बहादुर भन्ने भाष्य त छँदै छ। थापा ती गोर्खा आर्मीका श्रीमतीलाई अदृश्य योद्धा भनेर सम्बोधन गर्छिन्। “गोर्खाली सेना जब युद्धमा लड्दै थिए, गोर्खाली महिला आफ्नो जीवन आफैं हाँकिरहेका थिए,” थापा भन्छिन्।
श्रीस क्रिएटिभ आर्टस् इनिसिएटिभकी संस्थापक थापा पूर्व गोर्खा सैनिककी नातिनी हुन्। उनी आफ्नी हजुरआमाको भोगाइ सुन्दै हुर्किइन। सानैदेखि कला क्षेत्रप्रति उनकाे विशेष अभिरुचि थियो। अहिले भने कलालाई व्यावसायिक रूपमा अघि बढाएकी छन्।
“पहिचान खोतल्ने क्रममा यो परियोजनाले मूर्त रूप लिएको हो। उहाँहरू को हो, उहाँहरूको जीवन कस्तो थियो र गोर्खा इतिहासमा उहाँहरूको योगदान कस्तो रह्यो भन्ने खोज्दै जाँदा गोर्खाली महिलाको पहिचान देखाउन जरुरी लागेको हो,” २९ वर्षीया थापा भन्छिन्।
![sujata thapa shrish (12).jpg](https://www.himalkhabar.com/uploads/editor/Art/sujata thapa/sujata thapa shrish (12).jpg)
गोर्खा, गुल्मी, पाल्पा, कास्की, सुनसरी, रुपन्देही र बाग्लुङमा गरी ५० जना सात दशक उमेर नाघेका गोर्खाली महिलासँग अन्तर्वार्ता लिएपछि बल्ल यो कथा बनेको थापा बताउँछिन्। उनको प्रारम्भिक सोचबाट यो परियोजनासम्म आइपुग्दाको विकासक्रम पनि प्रदर्शनीले समेटेको छ।
प्रदर्शनीमा थापाले चित्रकला, तस्वीर, वृत्तचित्र र ध्वनिको माध्यमलाई समेटेकी छन्। प्रदर्शनी मंसीर १३ गतेसम्म चल्नेछ।
![sujata thapa shrish (11).jpg](https://www.himalkhabar.com/uploads/editor/Art/sujata thapa/sujata thapa shrish (11).jpg)
![sujata thapa shrish (10).jpg](https://www.himalkhabar.com/uploads/editor/Art/sujata thapa/sujata thapa shrish (10).jpg)
![sujata thapa shrish (9).jpg](https://www.himalkhabar.com/uploads/editor/Art/sujata thapa/sujata thapa shrish (9).jpg)
![sujata thapa shrish (8).jpg](https://www.himalkhabar.com/uploads/editor/Art/sujata thapa/sujata thapa shrish (8).jpg)
![sujata thapa shrish (6).jpg](https://www.himalkhabar.com/uploads/editor/Art/sujata thapa/sujata thapa shrish (6).jpg)
![sujata thapa shrish (7).jpg](https://www.himalkhabar.com/uploads/editor/Art/sujata thapa/sujata thapa shrish (7).jpg)
![sujata thapa shrish (4).jpg](https://www.himalkhabar.com/uploads/editor/Art/sujata thapa/sujata thapa shrish (4).jpg)