कलामा बाँचिरहेका बाङदेल

नेपालका प्रसिद्ध कलाकार लैनसिंह बाङदेलका चित्रकला लन्डनमा लिलामीमा राखिएका छन्।
अन्तर्राष्ट्रिय प्रदर्शनीको शृङ्खलाको एक हिस्साका रूपमा ‘लैनसिंह बाङदेल: माउन्टेन्स एन्ड माइग्रेशन’ लाई मंगलबारसम्म लन्डनको ‘फाइन आर्टस् अक्शन हाउस एन्ड भ्यालुअर्स’ मा राखिंदै छ। कात्तिक २५ देखि शुरू भएको प्रदर्शनीलाई लिलामीमा परिणत गरिएको हो जुन मंसीर ५ सम्म चल्नेछ। यसमा बाङदेलका छानिएका २४ चित्रकला राखिएका छन्।
लेखक, कला संरक्षक तथा कला ऐतिहासिक बाङदेलको २०५९ सालमा ८३ वर्षको उमेरमा काठमाडौंमा निधन भएको थियो। उनकी छोरी डिना बाङदेलको पनि २०७४ सालमा निधन भइसकेको छ। डिना पनि एशियाली कलाविज्ञ थिइन्।
बालकृष्ण समको कलाकृति बनाउँदै लैनसिंह बाङदेल। तस्वीर अगेन्स्ट द करेन्टबाङदेल परिवारको कलाप्रतिको लगाव र उनीहरूको प्रभावलाई नेपाल सहित अन्तर्राष्ट्रियस्तरमै अमर बनाउन लागिपरेको डिनाका श्रीमान् तथा लैनसिंह बाङदेलका ज्वाइँ विभाकर शाक्य बताउँछन्। “प्रदर्शनी उद्घाटन एकदमै सफल रह्यो, सहभागीको ध्यानाकृष्ट गर्न सफल भयौं,” शाक्य भन्छन्, “म निकै खुशी भएँ। मलाई थाहा छ, मेरा ससुरा र श्रीमती हुन्थे भने गौरवान्वित महसूस गर्थे।”
शुरूमा प्रदर्शनी मात्र भनिए पनि पछि बजार परीक्षण गर्ने प्रयत्नस्वरूप यसलाई लिलामीमा परिणत गरिएको छ। प्रदर्शनीमा राखिएको ‘सङ अफ हिमालय’ चित्रकला सबैभन्दा महँगोमा बिक्री भएको छ। “अब हामीसँग एउटा मानक (बाङदेलको चित्रकलाको मूल्यको) भइसकेको छ। यहाँबाट हामी उँभो मात्र लाग्ने हो,” शाक्य भन्छनु।
सन् १९१९ मा दार्जीलिङमा जन्मिएका लैनसिंह बाङदेलले विभिन्न महादेश र संस्कृतिको गतिशील यात्रा गर्दै बहुआयामिक जीवन बाँचे। बाङदेल सुप्रसिद्ध भारतीय फिल्म निर्देशक सत्यजित रेका मित्र पनि थिए। उनीहरूबीच कोलकातामा चिनजान भएको थियो।
विभाकर शाक्य र डिना बाङदेल।सन् १९६० को दशकमा सिर्जनशील नेपाली बुद्धिजीवीलाई नेपाल फर्काउने राजा महेन्द्रको पहल अन्तर्गत बाङदेललाई पनि निम्त्याइएको थियो। बाङदेलको करिअरमा यसले निर्णायक भूमिक निर्वाह गर्यो।
उनी नेपाल कला परिषद्को महासचिव भए। नेपाली कलाको पुनर्जागरणलाई अघि बढाए। धेरै किताब लेखे। तीमध्ये एउटा थियो, सन् १९८० मा प्रकाशित स्टोलन इमेजेज् अफ नेपाल। यो पुस्तकले नेपालबाट चोरिएका कलाकृतिलाई घर फर्काउन सहयोग गर्यो।
बाल्यकालका विभिन्न सामाजिक-सांस्कृतिक परिवेशको प्रभावले बाङदेल एक स्थापित कलाकार मात्र भएनन्, प्रसिद्ध लेखक, कला संरक्षक र कला ऐतिहासिक पनि बने। बाङदेलले कक्षामा उत्कृष्ट विद्यार्थी रहँदै कलकत्ताको गभर्मेन्ट कलेज अफ आर्ट एन्ड क्राफ्टबाट स्नातक सके। पेरिसको एकोल डेस बेउक्स आर्टबाट आफ्नो शोखलाई निरन्तरता दिए।
लैनसिंह बाङदेलले बनाएको आफ्नै कलाकृति।तत्कालीन यूरोपको गतिशील कलामण्डलका कारण बाङदेलले पाब्लो पिकासो र जर्जेस ब्राक जस्ता समकालीनसँग सम्बन्ध विस्तार गरे। “सन् १९५० को दशकका बाङदेलका काममा यी कलाकारको प्रभाव थियो,” शाक्य भन्छन्, “बाङदेलले परम्परागत नेपाली अवधारणालाई आधुनिक कलाको माध्यमबाट व्यक्त गरे।”
डिना बाङदेल एशियाली कलाविज्ञ थिइन् र उनमा बुबामा जस्तै नेपाली कलाप्रति तीव्र अनुराग थियो। उनी नेपाली कलाकारलाई स्थापित गराउन पनि प्रतिबद्ध थिइन्। उनको अल्पायुमै भएको निधनले दक्षिणएशियाली कलावृत्तमा एक प्रकारको रिक्तता सिर्जना गरेको थियो।
बुबाले बुनेको विरासतलाई निरन्तरता दिने उनको ठूलो इच्छा थियो। उनी बुबाको चित्रकलाको प्रदर्शनी पनि गर्न चाहन्थिन्। “दुर्भाग्यवश यो पूरा हुन पाएन,” शाक्य भन्छन्।
लैनसिंह बाङदेलले बनाएको हिमालयको कलाकृति।कला संकलक हुनुअघि शाक्य अर्थशास्त्री थिए। तर श्रीमतीको निधनपछि उनको लक्ष्य पूरा गर्ने जिम्मेवारी सहित आफू रूपान्तरित भई कलावृत्तमै मग्न भएको सुनाउँछन्।
बाङदेल पेरिसमा आफ्ना समकालीन जति परिचित नभएको बताउँदै बोनह्याम्स लिलामी र आगामी प्रदर्शनीबाट आफूले उनको परिचय फराकिलो बनाउने प्रयास गरिरहेको शाक्य बताउँछन्। यो कामसँगै कलाकारका रूपमा जीवन निर्वाह गर्न सकिन्न भन्ने स्थापित भाष्यलाई पनि उनी चुनौती दिन चाहन्छन्।
लैनसिंह बाङदेलले बनाएको पूर्णिमाको रातको काठमाडौं।उनी बाङदेलदेखि वर्तमान समयसम्मको कलावृत्तलाई पछ्याउने डिनाको सपना पूरा गर्न लाग्ने बताउँछन्। साथै, उदीयमान् नेपाली कलाकारलाई सन् २०२६ को प्रदर्शनीका लागि बाल्टिमोर ल्याउने पनि उनको योजना छ।
शाक्यसँग बाङदेलका ७७० चित्रकला संगृहीत छन्। थप ६० जति संकलन सार्वजनिक संस्थामा छन्। यसमध्ये केही चित्रकला आउँदो दुई वर्षमा अमेरिका, हङकङ र काठमाडौंमा हुने प्रदर्शनीमा राखिनेछन्। शाक्य बाङदेलको उपन्यास लँगडाको साथीमा आधारित फिल्म बनाउने योजना रहेको बताउँछन्।
(यो सामग्री अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्।)