तिहारले नछोएका गाउँ
![तिहारले नछोएका गाउँ](https://www.himalkhabar.com/uploads/posts/800X600/Bhukampa-Pidit-Tent-1699966050.jpg)
भूकम्प प्रभावित गाउँका बासिन्दालाई ढलेको घर अगाडि तिहारको रमाइलो गर्ने आँट आएको छैन।
मध्यपहाडमा पर्ने जाजरकोट र रुकुम पश्चिमका गाउँमा दशैंभन्दा तिहारलाई बढी महत्त्व दिइन्छ। लाहुर गएका, कामको खोजीमा भारत पसेका, भविष्य बनाउन शहर पसेका अनि खाडी पुगेका युवा घर फर्कन तिहारको प्रतीक्षा गरेर बसेका हुन्छन्।
तिहार नजिकिएसँगै युवाहरू सबै काम छाडेर हुल बाँधेर गाउँ पस्छन्, ठूल्ठूला गुन्टा बोकेर। कैयौं दिनको कष्टकर यात्रापछि टाउकोमा रुमाल बाँधेका, नयाँ जिन्स पाइन्ट लगाएका बैंसालु युवाको समूह गाउँ पुगेपछि तिहारको रौनक शुरू हुन्छ।
बिहेबारी भएर टाढा पुगेका दिदीबहिनी दाजुभाइ खोज्दै माइतीघर फर्कन्छन्, डोकोभरि कोसेलीपात बोकेर। दाजुभाइ दिदीबहिनी गाउँ फर्किएपछि वृद्ध भइसकेका बाबुआमाको मनमा पनि उत्साह भरिन्छ। यति भएपछि गाउँमा तिहारको माहोल जबर्जस्त रमाइलो भइसक्छ।
घरको आँगनदेखि बारीको कान्लासम्म लटरम्म फुलेका सयपत्री र मखमली फूलको रङले गाउँलाई नै रंगीन बनाइदिन्छ। गाउँमा सबै जम्मा भएर देउसीभैलो खेल्ने अनि तिहार सकिए पनि सिंगारु, लहरे, सोरठी नाचेर मनोरञ्जन गर्ने पहाडी तिहारको परम्परा नै हो। हरेक गाउँमा गुन्जिने मादल, झ्यालीको ताल र नाचगानको उत्साहले गाउँमा तिहारको रौनक नै बेग्लै हुन्छ।
भूकम्पले चर्किएका घर अगाडि दाताले दिएका रंगीबिरंगी त्रिपाल टाँगिएका छन्। गाउँमा तिहार मनाउन पुगेका आगन्तुक चर्किएका घर देखेर खल्लो मानिरहेका छन्।
तर यसपालिको तिहारमा यहाँका गाउँमा तिहारको माहोल फरक छ। धेरैको अनुहारमा निराशा देखिन्छ। सबैजसो पीडामा छन्। जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम जोडले हल्लायो। भूकम्पमा १५३ जनाले अकालमा ज्यान गुमाए। प्रारम्भिक तथ्यांक अनुसार ३० हजार घरमा क्षति पुगेको छ, जसका कारण ३८ हजार घरपरिवार प्रभावित छन्।
शोकमा गाउँ
धेरैले दिवंगत आफन्तको काजकिरिया भर्खर सकेका छन्। भारतमा काम गर्न गएकाले समयमै घर पुग्न नसकेकाहरू परम्परा अनुसार काजकिरिया गरिरहेका छन्। गाउँमा सेतो लुगा लगाएका मानिसहरू धेरै देखिन्छन्।
नेपाली समाजमा परिवारका दिवंगत सदस्यको शोकमा एक वर्षसम्म सेतो लुगा लगाएर बरखी बार्ने चलन छ। त्यस्ता परिवारमा दशैंतिहार लगायत उत्सव मनाइँदैन।
भूकम्पले थिलोथिलो पारेका दुई जिल्लाका यी गाउँमा तिहारको रौनकभन्दा पनि भूकम्पको त्रास बढी छ। तिहारको रमाइलो सम्झेर घर फर्केकाहरूको आँखामा आँसु छचल्किएको छ। मनमा पीर थुप्रिएको छ, वर्षौंदेखि विस्फोट हुन नपाएको भूकम्पीय शक्ति जस्तै।
स्थानीयवासी दुःखमा मन खोलेर रुन पनि सकिरहेका छैनन्। तिहारको मुखमा दिल खोलेर रमाउन पनि सकेका छैनन्।
भूकम्पले चिरा परेको घरजसका घर भत्किएका छन् उनीहरू अब कसरी बास ठड्याउने भनी चिन्तामा छन्। घर चर्किएकाहरू असुरक्षित महसूस गरेर भित्र पस्न सकेका छैनन्। कारण, अहिले पनि यो क्षेत्रमा निरन्तर परकम्प गइरहेका छन्।
भूकम्पले चर्किएका घर अगाडि दाताले दिएका रंगीबिरंगी त्रिपाल टाँगिएका छन्। गाउँमा तिहार मनाउन पुगेका आगन्तुक चर्किएका घर देखेर खल्लो मानिरहेका छन्।
“घर चर्किएको छ। हामी यही भैंसी बाँध्ने ठाउँमा पाल टाँगेर बसिरहेका छौं। भित्र बस्न सकिने अवस्था छैन,” चौरजहारी नगरपालिकाको मेलैनाउलीमा बस्दै गरेका रामप्रसाद आचार्यले भने।
भिरालो जाजरकोट सदरमुकाम खलंगा बजार पनि ‘टेन्ट सिटी’ जस्तो देखिन्छ। मध्यपहाडी राजमार्गको चौरजहारी-मुसिकोट सडकखण्ड भएर यात्रारत जोकोहीले जाजरकोटमा भत्किएका घर बाहिर टाँगिएका रंगीबिरंगी त्रिपाल देख्न सक्छ।
जाजरकोट र रुकुम पश्चिममा पर्ने मध्यपहाडी राजमार्गका सडकखण्ड चिरा परेका छन्। यसबाट पनि भूकम्पको क्षति अनुमान गर्न सकिन्छ।
भूकम्पले भेदभाव गर्दैन, नेता र कर्मचारीले किन गर्छन्?
“सदरमुकाममा सबै बाहिर त्रिपालमा बसिरहेका छन्। घर भएकाहरूले त जसोतसो त्रिपाल पाए। डेरामा बस्दै आएकाले अहिले पनि त्रिपाल पाउन सकेका छैनन,” सोमबार राहतस्वरूप ३०० थान त्रिपाल र ३०० थान कम्बल पुर्याएर फर्किएका एमाले नेता घनश्याम पाण्डेले भने।
उनले भने जस्तै जाजरकोट र रुकुम पश्चिमका विकट गाउँका बासिन्दाले अहिले पनि त्रिपाल बाहेक केही पाउन सकेका छैनन्। त्रिपाल पाउनेलाई पनि के खाने के गर्ने अन्योल छ। सरकारले दिने राहतमा भेदभाव भएकाले उनीहरूको मन झन् कुँडिएको छ।
“दल्लीमा हुनेहरूले दाल, चामल, लुगा, साबुन सबै पाए। मैले एकथान पाल बाहेक केही पाइनँ। कसरी बाँच्ने हो?” काँडादल्लीका पूर्णबहादुर गिरीले भने, “हाम्रो सरकार नै यस्तै हो कि? के भएको हो? कहींकतै यो कुरा भने हामीले पनि राहत पाउँछौं कि!”
एकीकृत राहत वितरणका नाममा राजनीतिक र प्रशासनिक पहुँच भएकाले तत्कालै राहत पाए। पहुँच नभएकाले एकसरो पालको भरमा रात काटिरहेका छन्। भूकम्पले गरीब र धनी नभन्दा पनि नेता र कर्मचारीबाट किन भेदभाव हुन्छ भन्दै पहुँच नभएकाहरूले प्रश्न गरिरहेका छन्।
भूकम्प लगत्तै अवलोकन गर्न भन्दै प्रधानमन्त्री, मन्त्री साथै राष्ट्रपति समेत हेलिकोप्टरमा प्रभावित क्षेत्र पुग्ने प्रतिस्पर्धा चल्यो। तर उक्त अवलोकनले कत्ति पनि अवस्था बदलिएन।
अहिले लामो दूरीका बसको छत र खाली ठाउँमा त्रिपाल लगायत राहतका सामान ओसारिंदै छ। भूकम्पमा घाइते भएकाहरू अस्पतालमा उपचाररत छन्। यस्तो अवस्था भोगिरहेका भूकम्प प्रभावित गाउँका बासिन्दालाई ढलेको घर अगाडि तिहारको रमाइलो गर्ने आँट आएको छैन।