पुतली अध्ययनको आधार बसाउने ‘पुतली बाजे’
पुतली अध्ययनको आधार बसालेका कोलिन फिलिप स्मिथले नेपालमै अन्तिम सास लिने चाहना अनुसार नै ८७ वर्षको उमेरमा पोखरामा देहत्याग गरे।
नेपालमै प्राण बिसाउन पाए हुन्थ्यो भन्ने केही प्रख्यात व्यक्तिमध्ये एक थिए, कोलिन फिलिप स्मिथ। जनसाधारणमाझ ‘पुतली बाजे’ को नाउले चिनिएका कोलिनले आफ्नो चाहना अनुसार नै कात्तिक १८ मा ८७ वर्षको उमेरमा नेपालमै अन्तिम सास लिए।
धुवाँधूलोरहित तालैतालको पोखरा उपत्यका, जहाँबाट आकाश खुलेको वेला हिमाल टड्कारै देखिन्छ। लन्डनको धुम्म वातावरणमा जन्मेहुर्केका कोलिन पोखरामा आकर्षित हुनु अनौठो थिएन। ३० वर्षको उमेरमा ख्रिष्टियन मिसनरी संस्था ‘युनाइटेड मिसन टू नेपाल’ मार्फत शिक्षकका रूपमा आएका उनले बाँकी जीवन नेपालमा नै बिताए।
गणित शिक्षक कोलिन २०२२ सालमा पोखरा पुगेका थिए। स्थानीय गण्डकी बोर्डिङ र अन्य स्कूलमा गणित पढाउँदा पढाउँदै बेलायत बिर्सिए। नेपाललाई नै माया गर्न थाले।
उनी नेपाललाई कति माया गर्ने भन्ने एउटा उदाहरण हो, पोखराको रथारोहण। २०७४ सालमा रथारोहण गर्दा नेपालको राष्ट्रिय झन्डा अंकित सल र झोला प्रदान गरिएको थियो, जसलाई जहिल्यै आफ्नो साथमा राख्थे। साधारण शर्ट र पाइन्ट लगाउने कोलिनको टाउकोमा ढाकाटोपी छुट्दैनथ्यो। प्रायः नेपाली नै बोल्थे।
बालबालिकालाई पढाउँदा पढाउँदै पुतलीतिर आकर्षित भए। पुतली संकलन गर्न नेपालका गाउँ गाउँ डुले। पोखरास्थित पृथ्वीनारायण (पीएन) क्याम्पस परिसरमा रहेको पुतली संग्रहालयमा उनैले संकलन गरेका पुतली छन्।
कोलिनले पुतलीको खोज तथा अनुसन्धान गर्नुअघि पनि नेपालमा अध्ययन हुने गरेको त थियो तर विदेशबाट आएकाहरूले पुतली संकलन गर्थे र विदेश नै लैजान्थे। उनले पुतली अध्ययन र अभिलेखीकरणको काम थालेपछि नेपालका पुतली नेपालमा नै रहन थाले।
उनको पहलमा पीएन क्याम्पस परिसरमा स्थापना गरिएको अन्नपूर्ण न्याचुरल हिस्ट्री म्यूजियममा पुतली र निशाचर पुतली (मोथ) संगृहीत छन्। हाल संग्रहालयमा नेपालका ६६० प्रजातिका पुतली र निशाचर पुतलीको संकलन छ।
उनले पुतली खोज्न कैयौं जिल्लाको पैदल भ्रमण गरेका थिए। हिमाल, पहाड र तराई पुगेर पुतलीका प्रजाति पत्ता लगाउने र संकलन गर्नमै ५७ वर्ष बिताए।
युवावस्थामा कोलिन फिलिप स्मिथ। तस्वीर: राजु आचार्य
नेपाल आएदेखि नै टोलमा रहेका बालबालिकालाई पुतलीको पोस्टकार्ड दिने, घुमाउन लैजाने गर्थे। पछि लामागाउँमा सानो घर बनाएर उतै बस्न थाले। दशैंतिहारको बिदामा स्थानीय किशोरकिशोरीलाई ‘क्याम्पिङ’ लैजान्थे। क्याम्पिङमा पुतली संकलन गर्ने र पढाउने पनि गर्थे।
गणितमा उनको रुचि थियो। उच्च शिक्षामा पनि गणितलाई नै मूल विषय बनाए। त्यसपछि विश्वविद्यालयमा सहायक लेक्चररका रूपमा काम गरे। सन् १९६६ मा ‘युनाइटेड मिसन टू नेपाल’ मार्फत पहिलो पटक नेपाल आउँदा पनि गणितकै शिक्षकका रूपमा आएका थिए।
गणित अध्ययन गरे पनि सानैदेखि पुतलीप्रति रुचि थियो। मामा बेलायतमा पुतली संकलन गर्थे। मामालाई देखेरै उनी पनि पुतलीतर्फ आकर्षित भए। त्यही रुचिले होला, नेपाल आएपछि गणित पढाउन छोडेर पुतलीतिर लागे।
उनकै पहलमा स्थापना भएको न्याचुरल हिस्ट्री म्यूजियममा नेपालमा पाइने ६६० प्रजातिको पुतली र निशाचर पुतलीको संकलन छ। यससँगै पोखराकै अन्तर्राष्ट्रिय पर्वतारोहण संग्रहालय र काठमाडौंको स्वयम्भूस्थित प्राकृतिक विज्ञान संग्रहालयमा पुतली संगृहीत छन्। तीनै ठाउँमा पुतली संकलन र अध्ययनमा उनको योगदान छ। “कोलिनले १२ हजार जति पुतली संकलन गरे होलान्,” पुतलीविज्ञ प्राध्यापक भैया खनाल भन्छन्, “कोलिनलाई धेरैले थोरै बोल्ने र धेरै काम गर्ने मान्छेका रूपमा चिन्थे। तर पुतलीको कुरा गर्न थालेपछि भने रोक्न मुश्किल पर्थ्यो, घन्टौंसम्म गफिन सक्थे।”
पुतलीको अध्ययन अनुसन्धनमै जिन्दगी बिताए। यही योगदानको सम्मान गर्दै नेपाल सरकारले २०७६ सालमा कोलिनलाई सम्मानार्थ नेपाली नागरिकता प्रदान गर्यो। नेपाली नागरिकता पाउने सरकारको निर्णय सुनेपछि उनले दिएको प्रतिक्रिया थियो, “नेपाली भएर नेपालमा मर्ने सपना पनि पूरा हुने भयो। म खुशी छु। सबैलाई धन्यवाद!”
यसरी सम्मानार्थ नेपाली नागरिकता पाउनेमा बेलायती पर्वतारोही सर एडमन्ड हिलारी, स्वीडेनका भूगर्भविद् टोनी हागन र कोरियाली पर्वतारोही उम होेङ-गिल छन्।
नेपालमा पुतली अध्ययनको जग निर्माणमा कोलिनको महत्त्वपूर्ण योगदान छ। प्राध्यापक करनबहादुर शाह कोलिनले नेपालमा पुतली अनुसन्धानको जग तयार पारेको बताउँछन्। “व्यक्तिगत रूपमा पूर्व मेचीदेखि पश्चिम महाकाली, तराईदेखि हिमालसम्मका पुतलीको खोज गर्नु आफैंमा ठूलो काम हो,” शाह भन्छन्।
कोलिनले २०४६ सालमा शुरू गरेको कामलाई हाल पुतलीविज्ञ सुरेन्द्र परियारले निरन्तरता दिइरहेका छन्। पोखरास्थित संग्रहालय व्यवस्थापनको काम गरिरहेका परियारले कोलिनबाटै पुतलीसँग नजिकिएका हुन्। अहिले पुतली अभिलेखीकरणको कामलाई अघि बढाइरहेका छन्।
कोलिनको जन्म बेलायतमा २४ नोभेम्बर १९३६ मा भएको थियो। लन्डनस्थित इम्पेरिएल कलेजबाट गणितमा स्नातक गरेपछि करीब चार वर्ष ग्लास्गो विश्वविद्यालयमा गणित अध्यापन गरे। त्यसपछि नेपालका आएका उनले पोखरामा पनि गणित नै अध्यापन गराएको संरक्षणकर्मी राजु आचार्य बताउँछन्।
त्यसपछि त्रिभुवन विश्वविद्यालयको प्रकृति विज्ञान संग्रहालयमा लेक्चररका रूपमा काम गरे। संग्रहालयमा १० वर्ष पुतली संकलन र अभिलेखीकरणको काम गरे। संग्रहालय छोडेपछि पनि पुतली संग्रह र अध्ययनलाई निरन्तरता दिइरहे। उनले काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पृथ्वीनारायण (पीएन) क्याम्पस, एक्याप, अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, फरेस्ट्री क्याम्पस, लि-बर्ड लगायत संस्थामा पुतली संकलन, संग्रह र अभिलेखीकरणको काम गरेका थिए।
नेपालमा पाइने ६६० प्रजातिका पुतलीमध्ये ९० प्रतिशत पुतली उनैले संग्रह गरेको पुतलीविज्ञ खनाल बताउँछन्। पुतली बाहेक उनले निशाचर पुतली (मोथ) र गाइनेकीरा (ड्रागन फ्लाई)मा पनि काम गरेका थिए। नेपालका पुतली सम्बन्धी कोलिनका ३० वटा वैज्ञानिक लेख र १० वटा पुस्तक प्रकाशित छन्।
यो पनि पढ्नुहोस्: