पुतली बाजेको ८७ वर्षको उमेरमा निधन
![पुतली बाजेको ८७ वर्षको उमेरमा निधन](https://www.himalkhabar.com/uploads/posts/800X600/kolin_smith_main_1686570648.jpg)
पुतली बाजेको नामले परिचित कोलिन फिलिप स्मिथको ८७ वर्षको उमेरमा निधन भएको छ।
पोखराको नयाँ गाउँस्थित चर्चमा बस्दै आएका स्मिथको आज बिहान ३ बजे निधन भएको उनका धर्मछोरा मीनकुमार परियारले बताए। “केही दिनदेखि अस्वस्थ हुनुहुन्थ्यो, आज बिहान बित्नुभयो,” परियारले भने।
सन् १९७२ मा शिक्षणका लागि बेलायतबाट नेपालका आएका स्मिथ यतै बसेका हुन्। गणित पढाउन आएको भए पनि उनको रुचि पुतलीमा थियो। त्यसपछि उनले पुतली अध्ययनमै जीवन अर्पण गरेका थिए। नेपालमा पाइने पुतलीको अध्ययन गरेकाले उनलाई ‘पुतली बाजे’ उपनाम दिइएको थियो।
उनको निधनले ठूलो क्षति पुगेको पुतलीविज्ञ महेन्द्रसिंहले लिम्बूले बताए। “पुतलीको क्षेत्रमा उहाँको योगदान अतुलनीय छ,” लिम्बूले भने।
उनले काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पृथ्वीनारायण (पीएन) क्याम्पस, एक्याप, इन्टरन्याशनल माउन्टेन म्यूजियम, फरेस्ट्री क्याम्पस, लिर्बड लगायत संस्थामा पुतलीसँग सम्बन्धित विषयमा काम गरेका थिए। उनले पुतलीको खोज तथा अनुसन्धान गर्नुअघि पनि नेपालमा अध्ययन हुने गरेको त थियो तर विदेशबाट आएकाहरूले नेपालको पुतली संकलन गर्थे र विदेश लैजान्थे। नेपालमा मात्र पाइने कतिपय पुतलीबारे बुझ्न अहिले विदेश जानुपर्ने अवस्था रहेको पुतलीविद् बताउँछन्।
नेपालको पुतली नेपालमा नै रहनुपर्छ भन्ने उनको मान्यता थियो। त्यसैले कोलिनको पहलमा पीएन क्याम्पस पोखरामा अन्नपूर्ण नेचुरल हिस्ट्री म्यूजियममा उनले संकलन गरेका पुतली र निशाचर पुतली (मोथ्स) संगृहीत छन्। हाल संग्रहालयमा नेपालका ६६० प्रजातिका पुतली र निशाचर पुतलीको संकलन छ।
उनी पछिल्लो ३७ वर्षदेखि नेपालमै थिए। नेपालमै अन्तिम सास लिने इच्छाले उनी बेलायत पनि गएका थिएनन्। सोमबार पोखरामै उनको अन्त्येष्टि गरिने परियारले बताए।
यो पनि पढ्नुहोस्: बिर्सिइएका ‘पुतली बाजे’ जसले नेपाललाई नै घर बनाए