काठमाडौंले बिर्सिएको बागी आवाज
![काठमाडौंले बिर्सिएको बागी आवाज](https://www.himalkhabar.com/uploads/posts/800X600/dikradevi-badi-main-1697708055.jpg)
डिक्रादेवी बादी आफ्नो समुदायप्रतिको सामाजिक दृष्टिकोण र राज्यको रवैया बदल्ने प्रयत्नमा छिन्- पहिले गीत, अहिले राजनीति मार्फत।
जातीय पिरामिडको पिंधमा
पुर्खौंदेखि पिल्सिएकी
छूतहरूकी अछूत
अछूतहरूकी अछूत
म हुँ डिक्रा बदिनी।
(कुमारी आमा र सपनाहरू)
कवि केवल बिनाबिले यादहरूको संग्रहालय कवितासंग्रहमा दिएजस्तै छ, डिक्रादेवी बादीको परिचय। यसले सिङ्गो बादी समुदायको अवस्था चित्रण गर्छ। पुस्तौंदेखि जातीय विभेद र सामाजिक बहिष्करण भोग्दै आएका उनीहरू जीविकाका न्यूनतम अवसरबाट समेत वञ्चित छन्।
ठूलो हिस्सासँग अझै आफ्नो घर छैन। जमीन अभावमा हातमुख जोर्नै मुश्किल छ। राज्यसंयन्त्रमा पहुँच छैन, आवाज खासै सुनिंदैन। आफूहरूलाई केवल यौन व्यवसायसँग जोडेर हेरिंदा आत्मसम्मान खस्किएको अनुभूति गरिरहेछन् बादी महिला।
डिक्रा आफूहरूप्रतिको यस्तो सामाजिक भाष्य र राज्यको रवैया बदल्ने प्रयत्नमा छिन्- पहिले गीत, अहिले राजनीति मार्फत। सुदूरपश्चिम र कर्णालीमा गाइने देउडा र ठाडी भाकाकी कुशल गायिका हुन् उनी।
उमेरले पाँच दशक पार गरिसक्यो। अनुहारमा मुजा देखिन थालिसके। तर, ओठमा लिपस्टिक र आँखामा गाजल जवानीकै दिनमा जस्तो छ। मुस्कुराउँदै भन्छिन्, “उमेर बूढो भया पन मन वाहाणी छ (उमेर बूढो भए पनि मन जवान छ)।”
२०५० साल ताका गायनकै कारण चर्चामा थिइन् डिक्रा। उनकै स्वर मार्फत स्थानीय स्तरमै सीमित सुदूरका भाका बजार आइपुगे। अहिले धेरै भयो, उनले रेकर्डिङ स्टुडियो टेकेकी छैनन्। डिक्रा भन्छिन्, “दिन गया, समय अर्काई भया। आजभोल कोई मकन बोलाउँदैनन्।”
![dikra badi (1).jpg](https://www.himalkhabar.com/uploads/editor/Personalities/dikradevi badi/dikra badi (1).jpg)
हुन त अहिले उनको जिम्मेवारी फेरिएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ की बासिन्दा उनी त्यहींकी वडा सदस्य हुन्। २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसका तर्फबाट उठेकी उनले एमालेकी गर्वीदेवी सुनारलाई पराजित गरिन्।
वडा सदस्यमा एक जना दलित महिला हुनुपर्ने अनिवार्य व्यवस्था छ। डिक्राको अनुभव पनि केही फेरिएको छ, “हिजो छि..छि... दुरदुर गर्ने बादी महिलालाई आजकल नमस्कार भन्छन्।”
राजनीतिबाट समुदायको हितमा काम गर्न अझ सहज र प्रभावकारी हुने उनलाई लागेको छ। “मबाट समुदायले धेरै आश गरेको छ,” उनी भन्छिन्, “जग्गाको समस्या समाधान गर्ने वाचा गरेकी छु।”
०००
शायद अबको केही वर्ष उनी राजनीतिमै हुनेछिन्। नयाँ गीत नआउन सक्छन्। तर, गीत-सङ्गीत परिचयको अभिन्न अङ्ग बनेर पछ्याइरहेकै हुनेछ, डिक्रालाई।
सुदूरपश्चिम तथा कर्णालीका पहाडी क्षेत्रमा उनका गीत बजिरहेकै छन्। पहिलो गीत २०५२ सालमा रेकर्ड भएको थियो, धनगढी नजिकै भारतको पलियामा। गोरख थापा, कटक नेपाली र नरेन्द्रराज रेग्मीको सहयोगमा रेकर्ड गरिएको गीतमा उनकै पति कित्थ्याले सारङ्गी बजाएका थिए। देउडा गाउने महिला खासै नरहेको त्यो समयमा डिक्राको बसिबियाँलो अल्बम आएको थियो।
२०५३ सालमा दोस्रो गीत रेकर्ड गर्न काठमाडौं आइन्। बझाङका नारायण विष्टको सहयोगमा बालाजुस्थित स्टुडियोमा रेकर्ड गरिएको गीत सारङ्गी अल्बमका लागि थियो।
तेस्रो अल्बम बौजु-बौजुको सोही शीर्षक गीत निकै चर्चित रह्यो। यो गीत उनले झुमा लिम्बूसँग मिलेर फेरि गाएकी छन्। जुन यस्तो छ-
बौजु-बौजु
बास्मती धानका भात
बौजु-बौजु कति बास आयाको
बौजु-बौजु तम्रो त्यो बैंसालो जोवन
बौजु बौजु देख्दो रसायाको।
गायन र नृत्य बादी समुदायको पुर्ख्यौली कला नै हो। डिक्राले त्यसलाई व्यावसायिक रूप मात्रै दिइनन्, सामुदायिक जागरणमा उपयोग गरिन्। डिक्राका अनुसार उनको स्वरमा एक दर्जनभन्दा बढी अल्बम छन्। दुई हजार हराहारी गीत गाइसकेकी छन्।
उति वेला भारतसम्मका मेला-महोत्सवमा गाउन बोलाइन्थ्यो। गीत गाए बापत २०० देखि ५०० रुपैयाँसम्म पारिश्रमिक पाउँथिन्। तर, क्यासेटको प्रचलन हटेसँग उनी ओझेल पर्न थालिन्।
नयाँ पुस्ताका गायक-गायिका आएका छन्। डिक्रालाई अहिलेका गीतमा देउडा र ठाडी भाकाको मूल मर्म नै हराइरहे जस्तो लाग्छ। उनका अनुसार ठाडी भाका परदेश गएका आफन्तको सम्झनामा गाइन्छ। तर, अहिलेका गायनमा ठेट शैली पाइँदैन। देउडामा पनि नयाँ नयाँ मिश्रण हुन थालेको छ। नयाँ पुस्ताले यी भाकाको मर्म बिर्सिएकामा चिन्ता गर्छिन् डिक्रा।
उनका जेठो छोरा भारतमा काम गर्छन् भने कान्छो मलेशियामा। छोराहरूकै कमाइबाट परिवार धानिंदै छ। डिक्राको कमाइ भनेको त कहिलेकाहीं कसैले दिने कदर र सम्मानपत्र मात्र हो। उनले २०७६ सालमा दमन्ता खनाल स्मृति नारी स्रष्टा पुरस्कार पाइन्। २०७९ फागुन १२ मा कन्सेप्ट नेपाल संस्थाले डिक्रादेवी बादी एकल देउडा गायन कार्यक्रम आयोजना गरिदिएको थियो, काठमाडौंको राष्ट्रिय नाचघरमा।
![dikra badi (5).jpg](https://www.himalkhabar.com/uploads/editor/Personalities/dikradevi badi/dikra badi (5).jpg)
डिक्राको पुर्ख्यौली थलो बाजुराको बडिमालिका नगरपालिका-१, जुगाडा हो। उनी २०२६ सालमा त्यहीं जन्मिएकी हुन्। जुगाडामा बादी परिवार उनको मात्र थियो। अर्को ब्रह्मतोलामा भने बादीको बस्ती नै थियो। उनको बाल्यकाल बाजुरामै बित्यो। परिवारमा आमा-बुबा, दुई भाइ र पाँच बहिनी थिए।
अन्य बादी परिवार जस्तै उनीहरूसँग पनि जग्गाजमीन थिएन। बालबच्चालाई विद्यालय पठाउने चलन पनि थिएन। त्यतिवेला बादी समुदायको काम नै गाउँ गाउँ डुलेर नाचगान गर्ने र माटोको सुल्पा बेच्ने थियो। सुल्पा सुर्ती राखेर तमाखु खान प्रयोग गरिन्छ।
प्रत्येक परिवारलाई गाउँ भाग लगाएको हुन्थ्यो। आफ्नो भागमा परेको गाउँमा चाडबाड, बिहेबारी, छैठी आदिमा गएर नाचगान गर्नुपर्थ्यो। यस बापत रुपैयाँ र अन्न पाउँथे जसलाई खलिया (खलो) प्रथा भनिन्थ्यो। गाउँ गाउँ गएर यसरी नाचगान गर्दागर्दै डिक्रा गायनमा पोख्त बनिन्।
![dikra badi (4).jpg](https://www.himalkhabar.com/uploads/editor/Personalities/dikradevi badi/dikra badi (4).jpg)
२०३६ सालमा १० वर्षकै उमेरमा बझाङको थलाराका कित्थ्यासँग विवाह भयो। उनीहरूको भेट पनि फिरन्ता शैलीमा गाउँ डुल्दै गर्दा भएको थियो। विवाहपछि उनी बझाङमै बसिन्।
२०४९ सालमा गाउँमा पहिरो आयो। जायजेथा बगेपछि उनीहरूको वास बाटो किनारमा सर्यो। त्यही वेला कित्थ्याले सरकारले तराईमा ऐलानी जग्गा बाँडिराखेको सुने। अनि परिवार सहित कञ्चनपुर बसाइँ सरे। पहिरोले वास उठेका धेरै बादी परिवार त्यही वेला तराई झरेका हुन्। डिक्राका अनुसार कञ्चनपुरको कृष्णपुर-२ बंकमा उनको गाउँबाट आएका ६६ परिवार बस्दै आएका छन्।
बझाङ, बैतडी, बाजुरा, अछाम र डोटीसम्मका बादी समुदाय त्यहीं झरेका छन्। तर, उनीहरूले जग्गा पाएनन्। त्यसैले जङ्गल फाँडेर बस्न थाले। “त्यही आरोपमा हामी १२ जनालाई पक्राउ समेत गरियो,” कित्थ्या भन्छन्, “१८ दिन हिरासत बसेका थियौं।”
देश नयाँ शासनव्यवस्थामा प्रवेश गर्दैगर्दा २०६४ सालमा बादी समुदाय राज्यसँग हकअधिकार माग्दै बृहत् आन्दोलनमा उत्रियो। यसकै लागि २३ जिल्लाका बादी समुदायका अगुवा काठमाडौंमा एकजुट भएका थिए। २०६४ साउन ३१ मा आयोजित राष्ट्रिय सम्मेलनले १२ बुँदे घोषणापत्र जारी गर्दै काठमाडौं केन्द्रित आन्दोलन घोषणा गर्यो। साउन ३२ मा उमादेवी बादीको नेतृत्वमा चरणबद्ध आन्दोलन थालियो, जसमा डिक्रा र कित्थ्या पनि सक्रियतापूर्वक सहभागी थिए।
उनीहरूको भदौ ५ को प्रदर्शनले देशभरको ध्यान खिचेको थियो। बादी महिलाहरू निषेधाज्ञा तोडेर अर्धनग्न भई सिंहदरबारको दक्षिणी गेट चढेका थिए। यति गरेपछि बल्ल राज्य बादीका मागप्रति लचिलो बन्दै सम्बोधन गर्यो। तर, कार्यान्वयन अहिलेसम्म गरेन। डिक्रा भन्छिन्, “सिंहदरबारको ढोकामै पुगेर आन्दोलन गर्दा पनि बादीका समस्या उस्तै छन्।”
(सम्पादन: प्रदीप खतिवडा, भाषा: प्रद्युम्न खनाल)