पाल्पाका ऐतिहासिक सराएँ
![पाल्पाका ऐतिहासिक सराएँ](https://www.himalkhabar.com/uploads/posts/800X600/nirmal-shresth-(1)-1697616390.JPG)
सामन्त युगमा राजपूतानामा राजपूतले दशैं उत्सवलाई विजययात्राका रूपमा मनाउँथे। उनीहरूले ‘ज्येष्ठ सुदी दशमी’ र ‘आश्विन शुक्ल दशमी’ गरी वर्षमा दुई पटक दशैं मान्थे। पछि, वर्षको दुई पल्ट दशैं मनाउने प्रचलन भारतवर्षभरि चल्यो।
निर्मल श्रेष्ठसेन वंशले पाल्पामा पाँच शताब्दीसम्म राज्य गरेका थिए। सूर्यवंशीय यी सेनहरू राजपूतानाका सिसौदिया वंशसँग सम्बन्ध राख्छन्। सेनहरू कोही राजपूतानाबाट कर्नाटक हुँदै बंगाल र कोही राजपूतानाबाट गंगाको तटीय क्षेत्र हुँदै पाल्पातिर आएका थिए। विभिन्न प्रमाण हेर्दा यिनीहरू राजपूतानाका राजपूत रहेको देखिन्छ।
राजपूतको सन्दर्भ जोडेर हेर्दा प्राप्त शिलालेख र कागजपत्रलाई आधार लियौं भने सन् ७०० देखि १२०० को पछिल्लो चरणमा ब्राह्मण-क्षत्रिय जातिको प्रादुर्भाव भएको देखिन्छ। राजा सामन्त सेनको देउपाराको प्रशस्ति शिलालेखमा ‘तस्मिन सेनाँवये प्रतिसुभट शतात्सादन ब्रह्मवादी। स ब्रह्मक्षत्रियाणांमजनि कुलपशिरोदाम सामन्तसेनः।।’ भनेर कुँदिएको छ। यसले सेनहरू ब्राह्मण-क्षत्रिय जाति भएको देखिन्छ। यसैगरी राजा लक्ष्मण सेनको राजकीय कागजपत्रमा उल्लिखित ‘वीरसेनस्य वंशे करनाट क्षत्रियानां अजनि कुलो शिरोदाम सामन्त सेन:।’ हरफबाट सेनहरू कर्नाटकबाट आएका राजपूत हुन् भन्ने पुष्टि हुन्छ।
यसरी नै ब्यारेकपुरमा रहेको विजय सेनको दानपत्रमा ‘कुर्ल्वन्तश्चन्द्र लीलामनितुल भुजो राजपुत्र बभुव’ उल्लेख गरिएकाले सेनहरू ‘राजपुत्र’ हुन् भन्ने पुष्टि हुन्छ। दानपत्रले सेनहरू ‘राजपुत्र’ हुन् भनी जोड दिएको छ। भारतीय पुरातत्त्वविद् आर.डी. बनर्जीले आफ्नो विचारमा सेनहरू ‘राजपूत’ नै भएको बताएका छन्। यसरी विभिन्न अभिलेखका आधारमा सेनहरू जातले ‘क्षत्रिय’ र संस्कृतिले ‘ब्राह्मण’ भएको देखिन्छ (वासुदेव उपाध्याय, द सोसिओ-रिलिजियस् कन्डिसन अफ नर्थ इन्डिया, ७००-१२०० एडी, सन् १९६४)।
राजपूतानाबाट आएका सेनहरूको केही पुस्ता गंगाको तटीय क्षेत्रमा आई प्रयागको सेरोफेरोमा धेरै पुस्तासम्म शासन गरेका थिए। उनै सेन वंशका सन्तान तुथा सेनले प्रयाग क्षेत्रमा मुसलमानहरूले आक्रमण गरेपछि राजपुरमा आई ‘राजपुर राज्य’ खडा गरेका थिए। चुरेको तलपट्टि तराईको ठूलो भाग समेटेको उक्त राज्यको सरहद पहाडतिर पाल्पाको रिब्दीकोटसम्म फैलिएको थियो। उनले तराई र पहाडमा एकीकृत राज्य विसं. १३०६ देखि १३४६ सम्म चलाएका थिए।
उनका छोरा रिबेली सेनले रिब्दीकोटमा राजधानी कायम गरी राज्य सञ्चालन गरेका थिए भने उनका सन्तानहरूमा उदय राव, उदयचन्द्र राव, जगब्रह्म सेन, धर्मपाल सेन, अनेक सेन, खामराज सेनले राज्य सञ्चालन गरेका थिए। खामराज सेनको विसं १५१० मा मृत्यु भएपछि उनका छोरा चन्द्र सेन पाल्पाका राजा भएका थिए। त्यसपछि रुद्र सेन पाल्पाका राजा भए। (सूर्यबहादुर सेन, पालपाली सेनः पाल्पादेखि पुरकोटसम्म, २०४९ साल।)
![nirmal shresth (2).JPG](https://www.himalkhabar.com/uploads/editor/Literature/dashain_2080/palpa nirmal shresth/nirmal shresth (2).JPG)
रुद्र सेनका छोरा राजा मुकुन्द सेन प्रथम बडो प्रभावशाली र शक्तिशाली थिए। उनको राज्यकालमा राज्यको सरहद पूर्वमा कोशी नदी, पश्चिममा हरिद्वारसम्म विस्तार गरेका थिए (सैयद नजमुल रजा रिजवी, अठारहवीं सदी के जमीदार, सन् १९८८)। उनले अवधका नवाबबाट राजपुर र तिलपुर क्षेत्र उपहारमा पाएपछि पाल्पा राज्यको दक्षिण सरहद राजपुर र तिलपुरसम्म फैलिएको थियो (सं. टेकबहादुर श्रेष्ठ, नेपालका राजाहरू तथा तराईका थारू, २०५८ साल)
यस्तै, दिग्विजयी सेनवंशीय राजा मुकुन्द सेन प्रथमले राज्यको सरहद भारतको अयोध्या एवम् लखनउ नजिकै अवस्थित यमुना नदीको उत्तराखण्डको मैदानी क्षेत्रदेखि हाल भारतको बिहार राज्यको पूर्णियाभन्दा दक्षिणसम्मको गंगा किनारका सम्पूर्ण समथर भूभागसम्म विस्तार गरेका थिए (निर्मल श्रेष्ठ, समर सौन्दर्यका नायक कर्णेल उजीरसिंह थापा, नेपाल-अंग्रेज युद्ध र महिषासुर मर्दिनी श्री ७ रणउजीरेश्वरी भगवती जात्रा, २०७९ साल)। साथै, पाल्पा राज्यको उत्तर-पूर्वको सरहद गोरखा भेगसम्म फैलिएको थियो (दिनेशराज पन्त, गोरखा राज्यको इतिहास, पहिलो भाग, २०४१ साल।
मुकुन्द सेन प्रथमका सन्तति मुकुन्द सेन द्वितीयले अठारौं शताब्दीमा आफ्नो राज्यको सरहद उत्तरमा कृष्णगण्डकीसम्म विस्तार गरेका थिए। उनका छोरा महादत्त सेनले पाल्पा राज्यको सरहद दक्षिणमा हरिहर क्षेत्रसम्म पुर्याएका थिए। सेनवंशीय राजाहरूले आफ्नो सरहदको विस्तार मात्र गरेनन्, आफ्नो मौलिक संस्कृति, रीतिरिवाज र मौलिक बान्कीका स्मारक, शिखर शैलीका मठमन्दिर, पाल-सेन शैलीका मूर्तिकला र त्यस मठमन्दिर एवम् मूर्तिमा खामिएका कलाकौशलले सुशोभित भएको पाल्पा राज्यलाई इतिहास, कला र संस्कृतिको केन्द्रबिन्दुका रूपमा ‘पाल्पाली सभ्यता’ को नामले परिचित गराएका थिए।
सेनहरूसँगै संस्कृतिको प्रवेश
पाल्पामा सेनहरू आउँदा आफू जुन ठाउँबाट आएका थिए, त्यहाँको कला, संस्कृति, रीतिरिवाज पनि साथमा लिएर आए। पाल्पाको सेनकालीन संस्कृति नियाल्यौं भने राजपूताना र बंगालका संस्कृतिसँग मिल्दाजुल्दा देखिन्छन्। उनीहरू आउँदा लिएर आएका संस्कृति, रीतिरिवाज, कलाकौशल, रहनसहन आदि कुनै न कुनै रूपमा सानै अंशमा भए पनि पाल्पामा जीवन्त रहेको पाइन्छ।
![palpa sarayan (6).JPG](https://www.himalkhabar.com/uploads/editor/Literature/dashain_2080/palpa nirmal shresth/palpa sarayan (6).JPG)
समयमा वर्षा भएन भने पानी माग्ने प्रचलन, चिठी पठाउँदा खामको पछाडि ‘साढे चौहत्तर’ (७४।।) लेख्ने प्रचलन, ‘गीत गोविन्द’ गाउने प्रचलन, मृत्यु हुन लागेको व्यक्तिलाई नदीको किनारमा लगेर शरीरको आधा भाग गण्डकीको पानीमा डुबाउने ‘अन्तर्जली’ वा ‘घाटमृत्यु क्रिया’ (स्थानीय भाषामा ‘अर्धजल लैजाने’) आदि सेनकालदेखि चलिआएको संस्कार र संस्कृति अहिले पनि पाल्पामा छँदै छ। यसमध्ये सेनकालीन इतिहास, कला र संस्कृतिसँग जोडिएको ‘ऐतिहासिक सराएँ’ पनि एक हो (निर्मल श्रेष्ठ, सेनकालीन इतिहास, कला र संस्कृति, २०७५ साल)।
ऐतिहासिक सराएँ
सामन्त युगमा राजपूतानामा राजपूतहरूले दशैं उत्सवलाई विजययात्राका रूपमा मनाउँथे। राजपूतानाका राजपूतहरूले ‘ज्येष्ठ सुदी दशमी’ र ‘आश्विन शुक्ल दशमी’ गरी वर्षमा दुई पटक दशैं मान्थे। पछि, वर्षको दुई पल्ट दशैं मनाउने प्रचलन भारतवर्षभरि चल्यो। नेपालमा पनि चैतेदशैं र बडादशैं गरी वर्षमा दुई पटक दशैं मनाइन्छ। चैते दशैंमा गंगा स्नानको महात्म्य छ भने बडादशैंमा दुर्गा पूजाको महत्त्व छ।
आश्विनको दशैंमा क्षत्रियहरू आफ्ना हातहतियार उजिल्याउने र घोडाहरू साध्ने गर्छन् भने वैश्यहरू कपडा, बहीखाता र कलमलाई पूजा गर्छन्। तरबारको धारबाट गरिने विजययात्रा (युद्ध) ज्येष्ठ सुदी दशमीदेखि वर्षा याम शुरू भएपछि अस्त्र-शस्त्र थन्क्याएर थामिन्थ्यो। आश्विन शुक्ल दशमीको दिन वर्षा याम समाप्त भएपछि थन्क्याइएका हातहतियार निकालेर सान लगाउने, अर्जाप्ने, उजिल्याउने र पाइन चढाउने गरिन्थ्यो। त्यस ताका यातायातको भरपर्दो साधन घोडा थियो। घोडालाई तालीम दिने र साध्ने काम पनि हुन्थ्यो (आचार्य चतुरसेन, वैदिक संस्कृति पौराणिक प्रभाव, सन् १९९५)।
![palpa sarayan (5).JPG](https://www.himalkhabar.com/uploads/editor/Literature/dashain_2080/palpa nirmal shresth/palpa sarayan (5).JPG)
राजपूतानाको विजययात्राको तयारीमा गरिने युद्ध अभ्यास र युद्धकलाको संस्कृतिको विकसित रूप नै ‘ऐतिहासिक सरायँ’ हो, जुन सेनहरूले पाल्पा राज्यमा भित्र्याएका थिए। ऐतिहासिक सराएँलाई स्थानीय बोलीचालीमा ‘वाख्खै’ भनिन्छ। सराएँ शब्दको ठ्याक्कै शाब्दिक अर्थ भने पाइँदैन। तर पाल्पा गुल्मेली उपभाषिकामा ‘दशैं ताका कोटको प्राङ्गणमा हतियार समाएर खेल्दै ‘वाख्खै’, ‘ह्वा’ भन्दै उफ्रने जोशिलो नृत्य’ भन्ने गरिन्छ (दिन पन्थी, पाल्पा-गुल्मेली उपभाषिका, २०५९ साल)।
सराएँलाई राग सहितको मधुर ध्वनि भनी उल्लेख गरिएको पनि पाइन्छ (नरेश कुमार, अपभ्रंश-हिन्दी कोश, सन् १९९९)। सराएँ बाजागाजाको तालमा खेलिने भएकाले सराएँको अर्थ ध्वनिसँग सादृश्य रहेको बोध हुन्छ। कोजाग्रत पूर्णिमादेखि पञ्चमीसम्म पाल्पा र त्यस सेरोफेरोका जुन जिल्लाहरू सेनकालीन पाल्पा राज्यभित्र समेटिएका थिए, ती स्थानका विभिन्न कोट र देवीका मन्दिरहरूमा ऐतिहासिक सराएँको प्रचलन छ। ‘पिकुलर संस्कृति’ का रूपमा रहेका ऐतिहासिक सराएँको प्रचलन भने नेपालको अन्य ठाउँमा देखिंदैन।
पाल्पाको पश्चिम भेकको मुझुङ, पालुङ मैनादी, खस्यौली, बल्ड्याङगढी र छहरा लगायत तानसेन नगरपालिका वडा नं. १४ मा अवस्थित और्वाश्रमेश्वरी भगवती मन्दिरमा सराएँ खेल्ने प्रचलन छ। यसैगरी तानसेन नगरपालिका-१३ स्थित भैंसीडाँडाको मन्दिरमा सराएँ खेल्ने प्रचलन छ। तानसेन नगरपालिका-११ को लिपिन्देवी मन्दिरबाट सराएँ निकालिन्छ। लिपिन्देवी मन्दिरबाट निकालिएको सराएँ (वाख्खै)मा सराएँ खेल्नेहरू रातो पहिरनमा हात हातमा ढाल, तरबार र खुँडा नचाउँदै झ्याली र ढोलकको तालमा ‘वाख्खै ह्वा’ को नादसँगै लिपिन्देवीको डाँडोलाई पटक पटक फन्को मार्दै जोगेपानीतिर जान्छन् र ‘सराएँ’ समापन हुन्छ। सराएँ खेल्ने कोट तथा मन्दिरहरूमा पूजा गर्ने पुजारीहरू धेरैजसो मगर जातिका हुन्छन्। तर तानसेन नगरपालिका-१४, अर्गलीमा हुने सराएँ खेल्ने मन्दिरमा पाण्डे, न्यौपाने थरका ब्राह्मण पुजारीले पूजा गर्छन्।
धेरैजसो ठाउँमा दशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमामा ‘सराएँ’ खेल्ने चलन छ। तर पाल्पाको रिब्दीकोट गाउँपालिकाको कन्ठिपोखरा र माथिल्लो खस्यौलीको सिमानामा रहेको आडेडाँडा भगवती मन्दिरमा चैतेदशैंको दिन सराएँ खेलिन्छ। साथै, पाल्पा सेरोफेरोका त्यस ताका सेनवंशबाट शासित राज्यहरू हालको अर्घाखाँची, गुल्मी जिल्लाका विभिन्न ठाउँमा सराएँ खेल्ने प्रचलन छ। गुल्मी र अर्घाखाँचीबाट बसाइँ सरेर आएका मानिसहरूले बुटवलमा सराएँ खेल्ने गरेका छन्। नेपाली सेनाको विशेष कार्यक्रम तथा उत्सवहरूमा पनि ऐतिहासिक सराएँलाई समेटिएको पाइन्छ।
ऐतिहासिक दमिनी सराएँ
पाल्पाका विभिन्न ठाउँमा खेलिने ऐतिहासिक सराएँमध्ये रैनादेवी छहरा गाउँपालिकाको बोखरमा हुने ‘ऐतिहासिक दमिनी सराएँ’ को नामले प्रख्यात छ। पाल्पाको मुझुङ, पालुङ मैनादी, खस्यौली, बन्दीपोखरा, अर्गली र तानसेन नगरपालिकाका विभिन्न ठाउँमा ऐतिहासिक सराएँ कोजाग्रत पूर्णिमाको दिन खेलिन्छ भने रैनादेवी छहरा गाउँपालिकाको बल्ड्याङगढी र बोखर गरी दुई ठाउँमा चाहिं दशैंको पञ्चमीमा खेलिन्छ।
![palpa sarayan (1).JPG](https://www.himalkhabar.com/uploads/editor/Literature/dashain_2080/palpa nirmal shresth/palpa sarayan (1).JPG)
ऐतिहासिक दमिनी सराएँ अलि फरक खालको छ। धेरैजसो सराएँ खेल्ने कोट र मन्दिरमा मगर पुजारी हुन्छन् भने ऐतिहासिक दमिनी सराएँ खेल्ने मन्दिरमा दमाईं जातिका परियार थरका पुजारी हुन्छन्। यस्तै, यो सराएँको व्यवस्थापन परियार समुदायकै २९ घरधुरीबाट हुन्छ। खाँडदेवीको पुजारी, लमिनी, पत्ता खेल्नेहरू सबैजसो दमाईं जातिकै हुन्छन्। तर एउटा महत्त्वपूर्ण पाटो, ऐतिहासिक दमिनी सराएँमा सबै जातजातिको सहभागिता हुन्छ। यसलाई धार्मिक र जातीय सहिष्णुताका रूपमा लिन सकिन्छ।
ऐतिहासिक दमिनी सराएँसँग अचम्मको इतिहास जोडिएको छ। छहराका मुढे दमाईं बल्ड्याङगढी जाँदा एक जना मगरले आफ्नो खुँडाले एकै पटकमा पाडो काटेको देखेपछि ‘भान्जा, मलाई यो खुडा देऊ, म तिमीलाई आस्कोट सिलाइदिन्छु’ भनेछन्। मगरले पनि ‘हुन्छ’ भनेर खुँडा दिएछन्। मुढे दमाईंसँग उनका ज्वाइँ कुलबहादुर दमाईंले ‘यो खुँडा मलाई दिनुस् न ससुरा’ भनी मागेपछि ज्वाइँलाई दिएछन्। कुलबहादुरले खुँडा घरमा ल्याएपछि श्रीमती फुर्सी दमिनीलाई लामा चढेछ। मुटु दुख्ने भएछ।
के भयो भनी हेराउँदा खाँड उत्रेको भनेपछि ताल्तुङका छहरी मगर लामा ल्याएर खाँडको पूजा गरेपछि ठीक भएछ। दुई वर्षपछि लामाले ‘यो तिमीहरूको खाँड हो, अब तिमीहरूले नै पूजा गर्नू’ भनेपछि फुर्सी दमिनीले पूजा गर्न थालिछन्। उनको मृत्युपछि उनकी छोराबुहारी सुन्तली दमिनी (परियार)लाई लामा चढेको र त्यसपछि सुन्तली ‘लमिनी’ भएकी ८४ वर्षीय बाबुराम परियारले बताउँथे।
रैनादेवी छहरा गाउँपालिकाको बोखरमा अवस्थित खाँडदेवी मन्दिरमा सराएँको दिन पूजा गर्न माथिल्लो भागमा कमेरो र तल्लो भागमा रातो गेरु माटोले पोतेर चिटिक्क पारिन्छ। खाँडदेवी मन्दिरको पारिपट्टि हार्थोक-छहरा मोटरबाटोबाट दाहिनेतिरको डाँडामा अवस्थित परियारहरूको बस्तीमा पूजा ल्याउने मूलघर छ। पूजाको वेला त्यहाँ पञ्चैबाजा गुन्जिन्छ।
पूजाका लागि डालोभरि बेमरा (बिमिरो), काँक्रा, केराका घरी, डोकोभरि तिहारे फूलका माला, तीन जोर कुखुरा र एउटा मेढा (राँगो) सहितका सामग्रीले आँगन सजिएको हुन्छ। मूलघर जाने बाटोको दुवैतिर ढुङ्गाले बनाइएको पर्खाल मूलघरसम्म पुगेको छ। तीनतले मूलघरको पूर्व पाटो सेतो कमेरो र अगाडिको पाटो आकाशे रङले पोतिएको छ भने घर जस्ताले छाएको छ। उत्तरतिर लमतन्न हिमशृंखला देखिन्छ। यस्तो दृश्यले सराएँ हेर्न आउनेहरूलाई मोहित पार्छ।
केही वर्षअघि यस पंक्तिकारलाई ऐतिहासिक दमिनी सराएँ हेर्ने अवसर मिलेको थियो। सराएँको दिन बिहानै ५५ वर्षीया ‘लमिनी’ सुन्तली परियार एउटा हातमा बलेको पानस अर्को हातमा जलले भएको अम्खोरा बोकेर काम्दै मूलघरमा आइन् र पूजा सामग्रीहरूमा जल छर्केर शुद्ध पार्न थालिन्। कुखुराका चल्लालाई मन्साएपछि राँगोको टाउकोमाथि पानस राखेर पूजा गरी जल छर्केर मन्साइन्। सुध्याइ कार्यमा आठ/नौ वर्षदेखि पुजारी रहेका ३८ वर्षीय जंगबहादुर परियारले सघाइरहेका थिए। उनले सेतो धोती र सेतै बन्डी लगाएका थिए।
पूजा र मन्साउने काम सकिएपछि राता, सेता, पहेंला ध्वजा बाँधिएका लिङ्गो बोकेकाहरूको लस्कर पञ्चैबाजा अघि अघि लगाउँदै, हल्लिंदै गरेकी ‘लमिनी’ सँगै अगाडि बढेको थियो। खाँडदेवीको मन्दिरमा पुगेपछि पुजारी जंगबहादुर परियारले सेतो धोती मात्र लगाई मन्दिरभित्र गएर मौलो, देवी र खाँड अगाडि सेतो र रातो रेखी लगाए। ‘लमिनी’ पूजा गरिरहेकी थिइन्। विभिन्न देवीको नाममा सात वटा टपरीमा जमरा रोपिएको थियो। जमरा रोपेको दिनदेखि ‘लमिनी’ ले एक छाक मात्र खाने र घरमा चोखोनीति गर्नुका साथै दिनहुँ खाँडदेवीमा पूजा गरी जमरामा पानी हाल्नुपर्थ्यो। जमरा हलक्क बढेको थियो।
![palpa sarayan (4).JPG](https://www.himalkhabar.com/uploads/editor/Literature/dashain_2080/palpa nirmal shresth/palpa sarayan (4).JPG)
पूजामा कालिकादेवी र खाँडदेवीलाई मेढाका रूपमा कुखुराको चल्ला र राँगोबलि सहित पूजा गरिएको थियो। अलि पर रूखमुनि जसुपति (भुयाँर/बाघ)लाई कुखुराको चल्लाको बलि दिएर पूजा गर्दै लमिनी हल्लिंदै ‘लौ परमेश्वर मलाई दुःख भयो। मलाई राम्रो गरिदेऊ’ भनेर रुँदै प्रार्थना गरेकी थिइन्। पूजाको समाप्तिसँगै सराएँ हेर्न आएकाहरूलाई टीका लगाइदिने र पञ्चामृत, प्रसाद दिने दमाईं पुजारीबाटै भइरहेको थियो। त्यहाँ जातजातिबीचको दूरी मेटिए झैं लाग्थ्यो। एकल महिलाहरूलाई सेतो टीकाको बन्दोबस्त पनि गरिएको थियो।
त्यसपछि सराएँ खेल्न खाँडदेवीको पूजामा राखिएको खाँड (हतियार) निकाल्ने वेला भएपछि ‘लमिनी’ सुन्तली परियारले दुई वटा खुँडा चार/पाँच वर्ष पुजारी भइसकेका ६८ वर्षका बिनबहादुर परियारको हातमा दिइन्। खाँड बोकेका व्यक्तिका पछि पछि ‘लमिनी’ एउटा हातमा बलिरहेको पानस अर्को हातमा जमरा लिएर काम्दै निस्किइन्, उनलाई हात हातमा जमराको टपरी लिएका ६ जना कन्याले पछ्याए। पञ्चैबाजाको नादसँगै ‘वाक्खै’ ‘ह्वा’ भन्दै खुँडा नचाउँदै मन्दिरको तल भलुवा पोखराको मैदानमा झरी सराएँ शुरू भएको थियो।
एक्काइसौं शताब्दीमा आएर पनि यो सराएँको नाम जातिको नामबाट किन रहन गयो, यसको नाम परिवर्तन हुन किन सकेन र नाम परिवर्तन गर्न किन खोजिएन भन्ने जिज्ञासा लाग्नु स्वाभाविकै हो। पहिले पुजारी भइसकेका ६८ वर्षीय बिनबहादुर परियारले पहिलेदेखि दमिनी सराएँ भन्दै आएको र त्यही नामबाट यो सराएँ प्रख्यात रहेको र त्यसै कारण यो नामप्रति आफूहरूको कुनै गुनासो नरहेको बताएका थिए।
![nirmal shresth (4).JPG](https://www.himalkhabar.com/uploads/editor/Literature/dashain_2080/palpa nirmal shresth/nirmal shresth (4).JPG)
‘लमिनी’ सुन्तली परियार र पुजारी जंगबहादुर परियारको पनि यस्तै भनाइ थियो। पुजारीका मामा खलकका ८४ वर्षीय बाबुराम परियारले पनि यो सराएँलाई पहिले ‘लमिनी सराएँ’ भनिने गरेकोमा दिदी फूर्सी दमिनीलाई खाँड उत्रिई लामा चढेकाले ‘दमिनी सराएँ’ भन्ने गरिएको बताएका थिए। केही युवाको भनाइ पनि यही थियो।
खाँडदेवी रहेको थुम्कोबाट सराएँ खेल्दै तल भलुवा पोखराको मैदानमा आएर सराएँ (पत्ता) खेल्न शुरू हुन्छ। पञ्चैबाजाको तालमा खेलिने यो सराएँ युद्धकलाको अभ्यास जस्तो देखिन्छ। ६८ वर्षीय बिनबहादुरले एउटा खुट्टाको भरमा खेल्दै बाजाको तालमा खुँडा नचाएको दृश्यले सराएँ हेर्न आउनेहरूलाई मुग्ध बनाएको थियो। पत्ता खेलेर कलाबाजी देखाउँदै, कुभिन्डो काट्दै सात वटा टपरीको जमरालाई ‘लमिनी’ ले पूजा सहित सेलाउने कार्यसँगै सराएँ सकिन्छ। नेपाली समाजलाई जकड्याएको जातीय विभेदको सीमाभन्दा पर यस ऐतिहासिक दमिनी सराएँले जातीय तथा धार्मिक सहिष्णुताको झल्को दिएको छ।
हिमाल दशैं साहित्यका थप सामग्री: