कसरी जोगाउने गिद्ध?
_1695044574.png)
तीन दशकअघिको तुलनामा अहिले गिद्धको संख्या ९५ प्रतिशतले घटेकाले गिद्धको संरक्षण गर्न समुदाय नै जोडिनुपर्ने विज्ञहरू बताउँछन्।
शिकारी चरा समूहमा पर्ने गिद्धले आफैं भने शिकार गर्दैन। प्रकृतिको कूचीकार भनिने गिद्धले मरेका जीवजन्तु खाएर जीवन निर्वाह गर्छ।
तर, सन् १९९० को दशकअघिसम्म दक्षिणएशियासँगै नेपालमा पनि गिद्ध प्रशस्त मात्रामा देखिन्थ्यो।पछिल्ला दशकमा भने नेपाल सहित दक्षिणएशियामै यसको संख्या ९५ प्रतिशतले घटेको विभिन्न अध्ययनले देखाएको छ। सन् २००२ देखि २०११ सम्म प्रत्येक वर्ष नेपाल पन्छी सरक्षण संघले गरेको राजमार्ग सर्वेक्षणमा डंगर गिद्ध ९१ प्रतिशत र सानो खैरो गिद्ध ९६ प्रतिशतले घटेको पाइएको थियो।
संघले सन् २०१२ देखि २०१८ का बीच गरेको अर्को अनुसन्धानमा भने दुवै प्रजातिका गिद्धको संख्या आंशिक रूपमा बढेको पाइएको थियो । अर्थात् पछिल्ला केही वर्षयता गिद्धको संख्या र वासस्थानमा सुधार हुँदै आएको छ। यद्यपि त्यो पर्याप्त छैन। त्यसैले संरक्षण प्रयासलाई समुदायसँग जोड्नुपर्ने संरक्षणकर्मी बताउँछन्।
गिद्धबारे लामो समयदेखि अध्ययन तथा अनुसन्धान गर्दै आएका पन्छीविद् कृष्ण भुसाल संरक्षणमा ध्यान नदिने हो भने गिद्ध लोप हुने अवस्थामा पुग्ने बताउँछन्।
गिद्धः प्रकृतिका कूचीकार पुस्तकका लेखक समेत रहेका भुसालका अनुसार अकल्पनीय र अप्राकृतिक विनाशका कारण सानो खैरो, डंगर, लामो ठुँडे र सुन गिद्ध अति सङ्कटापन्न र सेतो गिद्ध सङ्कटापन्न अवस्थामा छन्। संरक्षण नभए अति सङ्कटापन्न प्रजाति अबको १० वर्षमा लोप हुन सक्ने उनको भनाइ छ। यस्तै, सङ्कटापन्न गिद्धको लोप हुने सम्भावना ५० प्रतिशत छ।
“आजको अवस्थाको आकलन गर्दा सङ्कटापन्न गिद्ध प्रजाति १० वर्षमा लोप हुने सम्भावना ५० प्रतिशत छ,” भुसालले भने।
खैरो गिद्ध। तस्वीर: देउबहादुर गुरुङ/डीएनपीडब्लुसीकस्ता छन् चुनौती?
पशु उपचारमा दुखाइ कम गर्ने डाइक्लोफेनेक औषधिको व्यापक प्रयोगका कारण गिद्ध जोखिममा पर्ने गरेका छन्। उक्त औषधि प्रतिबन्धित भए पनि त्यस्तै प्रकृतिको किटोप्रोफिन, निमोस्लाइड, एसिक्लोफेनेक जस्ता औषधि अझै प्रयोगमै छन्।
सेतो गिद्धका माउ तथा बचेरा। तस्वीर: प्रताप गुरुङ/डीएनपीडब्लूसीत्यस्तै, गाउँघरमा पशुचौपायालाई दुःख दिने कुकुर, स्याल, चितुवा जस्ता प्राणीलाई मार्न विष हाल्ने प्रचलनले पनि समस्या थपेको छ। विषादीको कारण मरेका पशुचौपाया खाँदा गिद्ध पनि मर्ने गरेका छन्।
त्यस बाहेक गिद्धका विभिन्न पक्षको वैज्ञानिक अनुसन्धान, प्रजनन केन्द्रबाट प्राकृतिक वातावरणमा छाडिएका गिद्धको अनुगमन, सुरक्षित आहारको व्यवस्था, वासस्थान संरक्षणका काम प्रभावकारी नहुँदा पनि चुनौती थपिएको छ।
किन संरक्षण गर्ने गिद्ध?
गिद्धको पेटमा रहेको अत्यधिक अम्लीय रसले विभिन्न हानिकारक कीटाणु भएको सडेगलेको मासु पनि सहजै पचाउँछ। तर, गिद्धको अभावमा प्रकृतिमा सिनो यसै सड्छ। यस्ता सिनो खाने कुकुर, स्याल, मुसा र झिंगा मार्फत रेबिज, प्लेग, आउँ, झाडापखाला जस्ता सरुवा रोग मानिसमा फैलिने जोखिम हुन्छ।
त्यस्तै, पशुचौपायामा एन्थ्रेक्स, ब्रुसेलोसिस र क्षयरोग सर्न सक्छ।
गिद्धको उपस्थिति पारिस्थितिक स्वस्थताको सङ्केत पनि हो। विश्वमा २३ प्रजातिका गिद्ध पाइन्छन् भने दक्षिणएशियामा नौ। नेपालमा पनि नौ प्रजातिकै गिद्ध पाइन्छन्।
मानिसभन्दा आठ गुणा टाढासम्म देख्ने गिद्धले औसत तीन दिनमा एक केजी सिनो खान्छ। सिनोको खोजीमा गिद्ध ३०० किलोमिटर टाढासम्म उड्छ।
नेपालमा गिद्धको वासस्थान चितवन पश्चिमको तराई र मध्यपहाडी क्षेत्रमा पाइएको छ।
गिद्धलाई रेस्टुरेन्ट
गिद्धलाई डाइक्लोफेनेकरहित शुद्ध आहार उपलब्ध गराउन र गिद्ध संरक्षण गर्ने उद्देश्यले २०६३ सालमा सामुदायिक वन उपभोक्ता समितिहरूको सहभागितामा नवलपरासीको पिठौलीमा ‘जटायु रेस्टुरेन्ट’ खोलियो। यसका लागि पहिलो गिद्ध संरक्षण कार्ययोजनाले मार्गप्रशस्त गरेको थियो।
“त्यस वेला त गिद्ध साँच्चै लोप होला कि भन्ने खतरा मडारिएको थियो। त्यही भएर पनि स्वस्थ आहाराका लागि गिद्ध रेस्टुरेन्टको अवधारणामा काम अघि बढाइएको थियो,” भुसाल भन्छन्।
गाईबस्तुको प्राकृतिक मृत्यु भएपछि तिनलाई गिद्धको आहाराका लागि त्यस्ता रेस्टुरेन्टमा राखिन्छ। रेस्टुरेन्टका आगन्तुकले अति सङ्कटापन्न गिद्धका विभिन्न प्रजाति र क्रियाकलाप अवलोकन गर्न सक्छन्। यसले पर्यापर्यटनमा पनि टेवा पुगेको छ।
सिनो खाइरहेको गिद्धको झुन्ड। तस्वीर: कृष्ण भुसाल/डीएनपीडब्लुसीसमुदायबाटै सञ्चालित यस्ता रेस्टुरेन्ट गिद्धको उच्च घनत्व भएका पश्चिम नेपालका रुपन्देहीको गैडहवा ताल, दाङको लालमटिया र बिजौरी, कैलालीको खुटिया, कास्कीको घाचोक र पूर्वमा सुनसरीको कोशीटप्पुमा पनि विस्तार गरिएको छ।
गिद्ध जोगाउन विस्तारित कार्ययोजना
गिद्ध संरक्षणको संस्थागत प्रयासलाई निरन्तरता दिन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन तथा भू-संरक्षण विभागले ‘तेस्रो पञ्चवर्षीय गिद्ध संरक्षण कार्ययोजना (२०२३-२०२७)’ ल्याएको छ। यसअघिका दुई वटा कार्ययोजनाबाट प्राप्त उपलब्धि र सिकाइलाई संस्थागत गर्दै त्यसले मार्गदर्शन गरेका योजनालाई नयाँमा समेटिएको छ।
यस पटकको कार्ययोजनाको उद्देश्य अझ विस्तारित भएको विज्ञहरू बताउँछन्। “पहिलेको कार्ययोजनाले संरक्षणका तत्कालीन उपायलाई सम्बोधन गरेको थियो भने यस पटक दीर्घकालीन संरक्षणका योजना अघि सारिएका छन्,” भुसाल भन्छन्, “अब हामीले समुदायसँग मिलेर गिद्ध संरक्षणलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने देखिन्छ।”
हाल गिद्ध संरक्षणमा देखिएको मुख्य चुनौती भनेको विष खुवाएर वन्यजन्तु मार्ने गाउँघरतिरको अभ्यास हो। त्यस्तै, किटोप्रोफिन, निमोस्लाइड, एसिक्लोफेनेक जस्ता औषधिलाई प्रतिबन्ध गर्नु आवश्यक छ। “भौतिक संरचना निर्माण गर्दा गिद्ध वा दुर्लभ पन्छी जोगाउने खाकामा जोड दिनुपर्ने देखिन्छ,” नेपाल पन्छी संरक्षण संघको गिद्ध संरक्षण परियोजना प्रमुख अंकितविलास जोशी भन्छन्।
सिनो खान एकत्रित गिद्ध। तस्वीर: अंकितविलास जोशी/डीएनपीडब्लुसीविगतका गिद्ध संरक्षण कार्ययोजनाका सबै लक्ष्य पूरा नभएको उनी बताउँछन्। “गिद्ध संरक्षण किन गर्नुपर्छ र हानिकारक औषधि किन प्रयोग गर्नु हुँदैन भन्ने सन्देश तल्लो तहसम्म पुर्यायौं। मरेका गिद्धको पोस्टमार्टम गर्दा विषादी औषधिका कारण मरेको देखिएन,” जोशी भन्छन्, “समुदाय गिद्ध संरक्षणमा गम्भीर भएर लागेको पनि छ। अब भने ठूला परियोजना बनाउँदा पन्छी र वन्यजन्तुमैत्री बनाउने नीतिमाथिको वकालत आवश्यक देखिन्छ।”
अहिले गिद्ध प्रजनन सफलता दर तथा गुँड बढ्दै गएको पाइएको छ। “विगतमा हाम्रो मुख्य जोड प्राकृतिक वासस्थानमा गिद्धको संख्या नघटाउने थियो। त्यो काममा सफल भयौं,” जोशी भन्छन्।
गिद्ध संरक्षणमा समुदाय जोड्नुपर्ने विज्ञहरू बताउँछन्। स्थानीय सरकार, विभाग, काम गर्ने संघसंस्थासँग सहकार्य जरुरी रहेको उनीहरूको भनाइ छ। गिद्ध संरक्षण भएका ठाउँमा पनि संरक्षणका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने विज्ञको जोड छ।
भुसाल भन्छन्, “गिद्ध संरक्षण क्षेत्र साँच्चै नै गिद्धको संरक्षण भएको ठाउँ हो भन्ने प्रमाणित गर्न पनि निरन्तर काम गर्नुपर्नेछ।”