‘एआईबारे पढ्न अमेरिका-बेलायतबाट नेपाल आउँछन्’
![‘एआईबारे पढ्न अमेरिका-बेलायतबाट नेपाल आउँछन्’](https://www.himalkhabar.com/uploads/posts/800X600/bishesh_khanal_main_1694686262.jpg)
‘कानूनी रूपमा हाम्रो जस्तो संस्थालाई कसले हेर्ने भन्ने नीति नै छैन। समाज कल्याण परिषद्ले हेर्ने परम्परागत गैरसरकारी संस्था पनि भएनौं र नेपाल राष्ट्र ब्यांकले हेर्ने कम्पनी जस्तो पनि भएनौं। राम्रो काम गर्न खोज्दा पनि अत्यन्तै दुःख पाएका छौं।’
नेपालमा ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई)’ मा अन्तर्राष्ट्रिय स्तरको वैज्ञानिक अध्ययन-अन्वेषण तथा अध्यापन गर्ने अनि नवप्रवर्तन हुर्काउने संस्था, नेपाल अप्लाइड म्याथम्याटिक्स एन्ड इन्फरमेटिक्स इन्स्टिट्यूट फर रिसर्च (नामी)। संसारका विभिन्न देशबाट आउने विद्यार्थीलाई एआईबारे पढाउने यो संस्थाका सह-संस्थापक विशेष खनाल निर्देशक तथा वैज्ञानिकका रुपमा काम गरिरहेका छन् ।
नेपालमा इलेक्ट्रोनिक्स तथा टिलीकम्युनिकेसन इन्जिनीयरिङ् सकेपछि उनले फ्रान्सबाट सूचना प्रविधिमा विद्यावारिध गरे। बेलायतको किङ्स कलेजबाट ‘पोस्ट-डक्टरल’ सकेपछि स्वास्थ्य अनुसन्धानमा काम गरे।
बेलायतमा छँदा नै उनले साथीहरूसँग मिलेर सन् २०१८ मा मशिन लर्निङ र एआईको क्षेत्रमा काम गर्ने संस्था नामी खोले अनि त्यसको केही महिनामा नेपाल फर्केर काम गर्न थालेका हुन् । नेपाल जस्ता मध्यम आय भएका देशका समस्यालाई सम्बोधन गर्ने प्रविधिको विकासमा केन्द्रित यो संस्थाले गरिरहेका कामबारे निर्देशक खनालसँग हिमालखबरका लागि महेश्वर आचार्यले गरेको संवाद:
सूचना प्रविधिमा फ्रान्स र बेलायतमा अध्ययनपछि उतै काम गरिरहनुभएको थियो। नेपाल आएर संस्था खोल्ने योजना कसरी बन्यो?
विदेश पढ्न जाँदा पनि १० वर्षमा नेपाल फर्किन्छु भन्ने सोच थियो। पाँच वर्षमा पीएचडी सक्ने, पाँच वर्ष अनुभव लिने योजना बनाएको थिएँ। तर, त्यति वेला नेपाल फर्केर कस्तो खालको संस्था बनाउने भन्ने स्पष्ट थिएन।
पुल्चोक क्याम्पसबाट इन्जिनीयरिङ सकेर फ्रान्समा पीएचडी गर्दा धेरै साथीसँग चिनजान भयो। छलफलका क्रममा नेपालमा अन्तर्राष्ट्रिय स्तरको ज्ञान उत्पादनमा योगदान दिने काम गर्नुपर्छ भन्ने साझा धारणा बन्यो। नेपाल जस्ता देशका समस्या निराकरण गर्न प्रविधिले ठूलो भूमिका खेल्न सक्छ भन्ने लागिरहेकै थियो। पुल्चोक क्याम्पस नेपालको एउटा उत्कृष्ट शैक्षिक संस्था हुँदाहुँदै पनि जुन तहमा प्रविधिको उपलब्धता हुनुपर्ने हो, त्यो नभएको महसूस थियो। यस्तो अवस्थामा एउटा संस्थाको अभाव खट्किरहेको थियो।
फ्रान्स, जर्मनी, स्वीट्जरल्यान्डमा विभिन्न खालका अनुसन्धान गर्ने संस्था देख्यौं, जुन संस्थाले अमेरिका र बेलायतभन्दा फरक ढङ्गले काम गरेका थिए। विश्वविद्यालय बाहिरको वातावरणमा पनि कसरी प्रतिष्ठित र ठूल्ठूला प्रयोगशालाले अध्ययन अनुसन्धान गर्दै ज्ञान उत्पादन गरिरहेका छन् र तिनको प्रकृति कस्तो हुँदो रहेछ भन्ने बुझ्ने मौका पायौं।
अनुसन्धानमा विश्वमै उत्कृष्ट काम गर्न सक्ने संस्था बनाउनुपर्छ भन्नेमा स्पष्ट थियौं। तर, नेपालका विश्वविद्यालयमा त्यो तहको परिवर्तन हामी जस्ता मान्छेले ल्याउन सम्भव हुँदैन। त्यसैले सानो तर अत्यन्तै गुणस्तरीय संस्थाबाट शुरू गरेर त्यसलाई ठूलो बनाउने खाका अनुसार ‘नेपाल अप्लाइड म्याथम्याटिक्स एन्ड इन्फरमेटिक्स इन्स्टिट्यूट फर रिसर्च (नामी)’ खोलेका हौं।
नेपालमा संस्था खोलेपछि त्यसमै काम गर्छु भन्नेमा स्पष्ट थिएँ। संस्था दर्ता भइसकेपछि ‘एआई (आर्टिफिसियल इन्टेलिजेन्स)’ पढाउने काम पनि गरौं भन्ने तय भयो। अनि अन्तर्राष्ट्रिय स्तरको ११ दिनको तालीमको खाका बनायौं। पाँच वर्षअघि पहिलो पटक एआईको तालीम दिंदा विदेशबाट मानिस आए। यूरोप, अमेरिकामा विद्यावारिधि गरेका विद्यार्थीदेखि चीन र थाइल्यान्डसम्मका देशबाट पढ्न आए।
त्यो तालीममा के विशेष थियो जसकारण अमेरिका, बेलायत, चीनबाट विद्यार्थी आए?
यस्ता तालीमका चार वटा संस्करण पूरा गरिसक्यौं। विदेशमा भएको हाम्रा विज्ञको सञ्जालका कारण पनि आएका हुन्। किनभने विदेशका प्रतिष्ठित प्रयोगशालामा आबद्ध व्यक्तिहरू पनि तालीम दिन आउँछन्। यस्ता विज्ञ नेपाली तथा विदेशी दुवै छन्।
यो तालीममा के सिकाउनुहुन्छ?
एआईको जग बलियो बनाउन चाहिने आवश्यक कुरा सिकाउँछौं। साथै, स्वास्थ्य, कृषि, विभिन्न क्षेत्रमा आवश्यक हुने विभिन्न एप्लिकेशन सिकाउँछौं। प्रत्येक तालीममा एउटा न एउटा थिम हुन्छ, त्यही थिममा रहेर एप्लिकेशनबारे सिकाउँछौं।
![](https://www.himalkhabar.com/uploads/editor/interview/bishesh%20khanal/bishes%20khanal%20%281%29.jpg)
तालीममा सहभागी हुन केकस्तो योग्यता चाहिन्छ?
एआईमा बढी प्रयोग हुने ‘पाइथन प्रोग्रामिङ’ हो, त्यसमा अलिकति ज्ञान भएको हुनुपर्छ। यससँगै गणितको आधारभूत ज्ञान पनि हुनुपर्छ। यसका लागि ५००-६०० आवेदन आउँछन्। १०० जना हाराहारी छान्छौं। पछिल्लो पटक चौथो संस्करणमा १५० जनालाई तालीम दिएका थियौं।
पहिलो पटकको तालीममा कक्षा १२ पढेका एक जना विद्यार्थीलाई पनि लिएका थियौं। त्यस्तो अपवाद पनि छ, तर अधिकांश सहभागी इन्जिनीयरिङ पृष्ठभूमिका हुन्छन्। केही विद्यावारिधि गरिरहेका विदेशी पनि आइरहेका छन्। विश्वविद्यालयमा अध्यापन गरिरहेका पनि आएका छन्।
यस बाहेक अन्य केकस्ता काम गरिरहनुभएको छ?
विकासको गतिमा पछाडि परेका नेपाल जस्ता देशका समस्या अत्यन्तै जटिल र संवेदनशील छन्। हाम्रो जस्तो देश भूमण्डलीकरणले छायामा पर्न सक्छ। अनि अध्ययन अनुसन्धान पनि धनी राष्ट्रहरूको रुचि र प्राथमिकता अनुसार हुन्छ। यसको उदाहरण कोभिड-१९ हो। कोभिड महामारीपछि दुई वर्षमा खोप आउनु चानचुने कुरा थिएन। कोभिडले नेपाल जस्तो देशलाई मात्रै पिरोलेको भए त्यति छिटै खोप आउने थिएन।
डेंगी, मलेरिया, क्षयरोगले कति दुःख दिइरहेको छ। बर्सेनि हजारौं मान्छे मरिरहेका छन्। तर, कैयौं वर्ष भइसक्यो, यी समस्याको समाधान हुन सकेको छैन। किन त भन्दा यसले हामीलाई मात्र पिरोलेको छ, सम्पन्न देशलाई छैन।
अहिले के देखिन्छ भने जटिल रोगको समस्याको समाधानबारे कुनै विकासे संस्था आउने, रिपोर्ट लेखिदिने। उनीहरूले ज्ञान बाँडे जस्तो गर्ने र हामीले चाहिं विदेशीले भनेको भन्दै पछ्याउने गरिरहेका छौं, यसले समाधान निस्कँदैन। त्यसका लागि गहिरिएर वैज्ञानिक, प्राज्ञ समुदाय लाग्नुपर्छ। ज्ञान निर्माणका लागि संस्थाहरू बनाउनुपर्छ। फेरि त्यो ज्ञान उत्पादन समाजको विकाससँग जोडिनुपर्छ।
अहिले त हाम्रो देशमा नेपालीबाट केही हुन सक्दैन भन्ने आमनैराश्य छ, त्यसलाई चिर्ने पनि उद्देश्य हो। त्यस बाहेक सूचना प्रविधिको क्षेत्रमा केही गर्ने प्रयास हो। हाम्रो संस्थाको नाम नै ‘नेपाल अप्लाइड म्याथम्याटिक्स इन इन्फरमेटिक्स इन्स्टिच्यूट अफ रिसर्च’ छ, जसमा कम्युटर साइन्स, डिजिटल साइन्सका सम्पूर्ण विधा समेटिन्छन्।
ज्ञान उत्पादनसँगै एआईको जुन विकास भएको छ, यसले हेरक मान्छेलाई प्रभावित पारेको छ। च्याट जीपीटीले जागीर जाला भन्ने आमजनको चिन्ता एकातिर छ भने अर्कातिर हेरक विधामा यसको प्रयोग बढ्दै छ। शासनदेखि लिएर कानूनसम्म, कृषिदेखि स्वास्थ्यसम्म हरेक विधामा एआईले असर गर्ने प्रस्ट छ। हामीले पनि एआईलाई अझ बढी प्रभावकारी रूपमा उपयोग गर्नुपर्छ, त्यसमा केन्द्रित छौं।
समाजलाई द्रुत परिवर्तन हुने डिजिटल युगका लागि नै तयार पार्नुपर्दा स्कूले केटाकेटीलाई अबको १० वर्षपछिको परिदृश्य कस्तो हुन्छ भन्ने केही ज्ञान दिन आवश्यक छ। उनीहरूलाई इन्टरनेट, एआईका संसारमा कसरी चल्ने भन्ने सिकाउन जरुरी छ भने नीतिनिर्मातालाई पनि यसबारे अभिमुखीकरण दिनुपर्ने खाँचो छ। सचेतनाको यस अभियानलाई ‘बच्चादेखि प्रधानमन्त्रीसम्म’ भन्ने नारा दिएका छौं।
ढुक्कसँग के भन्न सक्छौं भने नेपालमा कोही पनि एआई सम्बन्धी स्टार्टअप गर्न चाहन्छ भने संसारको फलानो संस्थाले एआईमा काम गर्न सक्ला, नेपालमा त नहोला भन्नुपर्ने अवस्था छैन। धेरै कुरा नेपालमै गर्न सकिन्छ। दीर्घकालीन रूपमा त्यस्तै स्टार्टअप बनोस्, नेपालमा धनी कम्पनी बनून्, जसले विदेशमा आफ्ना उत्पादन बेच्न सकून् भन्ने सोच राखेका छौं।
यो त दीर्घकालीन योजना भयो। अहिलेसम्म के के गर्नुभएको छ?
चौथो संस्करणको तालीममा पीएचडी गरिरहेका विद्यार्थीदेखि प्रतिष्ठित व्यक्तिको सहभागिता थियो। त्यसअघिको तालीममा बेलायती प्रधानमन्त्रीको कार्यालयका तीन जना डेटा साइन्टिस्ट आवेदन हालेरै पढ्न आए, पैसा तिरेर पढे। भारतको आईआईटीबाट इन्जिनीयरहरू इन्टर्नशिप गर्न आएका छन्।
गर्भवतीको पेटभित्रको भ्रूणको शल्यक्रिया गर्ने प्रविधि विकास गर्न आयोजित अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा विनोद भट्टराईले नेतृत्व गरेको नामीको टोली प्रथम भएको थियो। मेडिकल इमेजिङ र एआईको अत्यन्तै प्रतिष्ठित उक्त प्रतिस्पर्धामा संसारका ३० वटा ठूला ल्याबले भाग लिएका थिए। प्रथम भएसँगै अनुसन्धानका काम अघि बढाइरहेका छौं।
नेपालमा पाठेघरको क्यान्सर भयावह छ। यसका कारण कैयौं महिलाले ज्यान गुमाइरहेका छन्। जबकि शुरूमै पहिचान हुन सके रोग लाग्नबाट बचाउन सकिन्छ। अहिले त खोप पनि लगाउन शुरू गरिएको छ। युवावस्थासम्म त खोप पनि लगाउन सकिन्छ, तर वयस्क महिलामा पाठेघरको क्यान्सरको शुरूआती लक्षण पत्ता लगाउनु चुनौतीपूर्ण छ। यसका लागि डा. अर्चना श्रेष्ठको टोलीसँग सहकार्य गरी स्मार्टफोनबाटै सजिलै रोगको पहिचान गर्न सकिने प्रविधिको विकासमा लागिरहेका छौं।
डा. वसन्त गिरीसँग मिलेर स्मार्टफोनमै माइक्रोस्कोप बनाउन सक्ने र डाइरिया लाग्ने पारासाइट चिन्ने प्रविधिको विकासमा पनि काम गरिरहेका छौं। साथै, क्षयरोगमा पनि काम भइरहेको छ। घरमै सजिलैसँग तरकारीमा भएको विषादीको मात्रा पत्ता लगाउने प्रविधिको विकासमा शोध गरिरहेका छौं। यससँगै सम्पदाहरूको ‘थ्रीडी ड्रइङ’ मा पनि काम गरिरहेका छौं।
![](https://www.himalkhabar.com/uploads/editor/interview/bishesh%20khanal/bishes%20khanal%20(3).jpg)
अध्ययन अनुसन्धानका लागि चार वर्ष त थोरै समय हो। तैपनि यो शुरूआत गरेयताको अनुभव कस्तो छ?
हाम्रो संस्था नाफा वितरण नगर्ने ढाँचाको छ, जसको अर्थ नाफा नै नबनाउने भन्ने होइन। बरु भएको नाफा संस्थाकै विस्तारका लागि लगानी गर्छौं। अप्ठ्यारो पक्कै पनि छ, तर अप्ठ्यारो हुन्छ भन्ने शुरूआतमै अनुमान त थियो नै।
बाहिरतिर स्वास्थ्यका लागि हुने अनुसन्धानमा सरकारले पैसा दिन्छ वा दानदातव्य पाइन्छ। हाम्रो देशमा दुवै व्यवस्था छैन। यस्तो सहयोगले शुरूमा अघि बढ्न सहयोग गर्छ, तर दीर्घकालमा त संस्थाले आयआर्जन हुने गरी नै बढ्नुपर्छ।
त्यस्तै, बाहिरका कम्पनीको ‘रिसर्च एन्ड डेभ्लपमेन्ट’ को काम पनि गरिरहेका छौं। तर, नेपालका कम्पनीले अझै यस्तो सेवा मागेका छैनन्। शायद यहाँका कम्पनीलाई नेपालमा यो तहको सेवा यहीं उपलब्ध छ भन्ने थाहा नभएको पनि हुन सक्छ।
सूचना प्रविधिको विकासले भोलि के होला भन्न नसकिने अवस्था छ। तपाईंलाई के लाग्छ- भोलिको ‘जब मार्केट’ नै उथलपुथल हुन्छ कि नयाँ आयामको सम्भावना छ?
एआई अत्यन्तै बृहत् कुरा हो। तर, योभन्दा पनि क्यान्सरलाई पहिचान गर्ने एआई छ भने त्यो ठूलो कुरा हो।
शहरबजारमा भएको सेवा गाउँमा पुर्याउन अझै गाह्रो छ। त्यहाँ एआईको प्रयोग भयो भने कसैको जागीर खाँदैन, सेवा विस्तार हुन्छ। त्यस्ता प्रकृतिका धेरै कुरा छन्, जसले जागीर खाँदैनन्।
बरु हाम्रा आधारभूत अधिकार; स्वास्थ्य, शिक्षा, कृषि लगायत अधिकार तल्लो तहमा पुर्याउन एआई सहायक हुन्छ। अर्को पाटोमा हेर्दा भाषा अनुवादको काम एआईले राम्रोसँग गरिदियो भने त्यो काम जोखिममा पर्ला, सबै त पर्दैन, केही अंशमा चाहिं पर्छ।
अलिकति डर चाहिं के छ भने सफट्वेयर इन्जिनीयरहरूको जागीर पनि धरापमा पर्ने देखिन्छ। त्यहाँ पनि सबैको जागीर जान्छ भन्ने होइन, धेरैको जान सक्ला। यो एउटा चुनौती छ। हाम्रो जस्तो मुलुकले ‘आउटसोर्सिङ’ बाट जति कमाइरहेको थियो, अब त्यो घट्न सक्छ।
एआईले नै समाचार उत्पादन गर्न सक्ने सम्भावना भएपछि अर्को डर चाहिं ‘फेक न्यूज’ को प्रसार हुन सक्छ। किनभने कम्पनीले वा कसैले गलत सूचना प्रवाह गर्न एआईको प्रयोग गरिदियो भने जानेर वा नजानेर पनि स्थिति बिग्रन सक्छ, त्यसको नियमन गर्नेतिर सोच्नुपर्छ।
अर्को, एआई विश्वमै नयाँ प्रविधि हो र यसमा हामी धेरै पछाडि छैनौं। वैज्ञानिकहरूले एआईमा सन् १९५० देखि नै अन्वेषण गर्न थाले पनि सन् २०१० को दशकदेखि मात्र समस्या समाधानमा सफलता मिल्न थालेको हो ।त्यो क्षेत्रमा काम गर्ने नेपालीको संख्या उल्लेख्य छ। फेरि इन्टरनेटले गर्दा ज्ञानको पहुँच पनि सहज छ। धनी देशले पनि सन् २०१६/१७ देखि एआईमा राम्रो पहुँच बनाएका हुन्। यो मामिलामा हामी धेरै पछाडि छैनौं।
अन्त्यमा, नवप्रवर्तनलाई बढावा दिंदै सूचना प्रविधि र एआईबाट फाइदा लिन नेपालले के गर्नुपर्ला?
नेपाली कम्पनीहरूले ‘रिसर्च एन्ड डेभ्लपमेन्ट’ को महसूस गर्नुपर्यो। योजना र रणनीतिभित्र सूचना प्रविधि र एआईलाई पार्नुपर्छ। अझै पनि कतिपय नेपाली कम्पनीलाई नेपालमा हामीले दिने सेवा, हामी जस्तै संस्थाले दिने सेवाबारे थाहा छैन।
अधिकांश नेपाली कम्पनीसँग कुराकानी गरिसकेपछि ‘ओहो, नेपालमा पनि यो खालको सेवासुविधा छ?’ भन्ने प्रतिक्रिया आउँछ। बेलायती प्रधानमन्त्री कार्यालयका प्रमुख सल्लाहकार र डेटा साइन्स एआईका प्रमुख सल्लाहकार आएका थिए। उनीहरूले ‘नेपालमा यस्तो गजब काम भएको रहेछ’ भने।
हाम्रो जस्तो संस्थालाई पहिचानकै सङ्कट छ। कानूनी रूपमा हाम्रो जस्तो संस्थालाई कसले हेर्ने भन्ने नीति नै छैन। अत्यन्तै दुःख पाएका छौं। गैरसरकारी संस्थालाई नियमन गर्ने समाज कल्याण परिषद् छ, जसको नियमावलीमा वैदैशिक सहयोगको अपूरो र प्रस्ट अर्थ नआउने परिभाषा छ अनि व्यावहारिक रूपमा नियमन गर्दा बाहिरबाट आउने सबै किसिमका पैसा वैदेशिक सहयोग मात्रै हो भन्ने गलत सोचाइ राखी काम गर्दछ ।
अर्कातिर कम्पनीहरूको लागि सेवा निर्यात गर्ने विषयलाई नेपाल राष्ट्र ब्यांकले हेर्छ। हामी बीचमा परेका छौं किनभने हामी परम्परागत गैरसरकारी संस्था पनि भएनौं, निर्यात गर्ने कम्पनी जस्तो पनि भएनौं।
हामीले दिने तालीम लिन विदेशबाट मानिस आउँछन्, तालीमका लागि शुल्क तिर्छन्। त्यो शुल्कलाई पनि समाज कल्याण परिषद्ले वैदेशिक सहयोगका रूपमा लिन्छ।
हामी सधैं माग्ने मात्र होइनौं, सेवा, सुविधा, विज्ञता प्रदान गरेर आर्थिक उपार्जन गर्न सक्छौं भन्ने सोचको कमी छ। अब बन्ने ऐन त्यो ढाँचामा बन्नुपर्यो। किनभने हामी जस्ता संस्थाले पाउने आर्थिक सहयोग तथा शुल्क कसरी नियमन गर्ने भन्ने ठूलो समस्या छ।
हजारौं हजार गैरसरकारी संस्था नियमन गर्ने समाज कल्याण परिषद्ले हाम्रो जस्तो संस्था नियमन गर्न सम्भव नै छैन। अनि राष्ट्र ब्यांकले पनि हेर्दिनँ भन्छ। हामीलाई कसले हेर्ने हो केही थाहा छैन। हाम्रो जस्ता संस्थालाई नियमन गरिदिने निकाय चाहिन्छ।