शेर्पा सङ्गीतमा हिमालको माया
वर्तमानमा जलवायु परिवर्तनले हिमालको हिउँ घटेर वातावरण, वनस्पति, वन्यजन्तु र मानव जीवन जोखिमतिर धकेलिइरहँदा शेर्पाहरूको परम्परागत मौखिक साहित्यमा यो चेत उहिल्यैदेखि रहेको बुझिन्छ।
विश्वलाई थाहा छ- हिमालसँग सबैभन्दा निकट कोही छन् त शेर्पाहरू छन्। अनि यो निकटता हिमालको काखमा घर हुनु र अरूले भन्दा छरितोसँग तिनका चुचुरा टेक्नुमा मात्र सीमित छैन। हिमालसँग शेर्पा समुदायको सम्बन्धको गहिराइ नाप्न नेपालीमा अनूदित यो शेर्पाभाषी गीत हेरौं:
पूर्वबाट घाम लाग्छ
घाम नलागे उत्तरको हिमाल उज्यालो देखिंदैन
हिमाल अडिंदैन
हिमालमा हिउँ नजमे नदीनाला बन्दैनन्,
हरियो पानी हुनेछैन
पानी नबगे माछा बाँच्न सक्दैनन्
माछा नभए यो वनजङ्गल बन्नेछैन
बोटबिरुवा उम्रिंदैनन्
बोटबिरुवा नभए चराचुरुङ्गी हुनेछैनन्
यो सारा सृष्टि हुनेछैन।
शेर्पा जातिका शुभकार्यमा गाइने यो प्राचीन गीतलाई ‘स्यार ठिन्चे निमा’ भनिन्छ। उच्च प्रकृतिचेतयुक्त यस गीतको रचनाकाल कुन हो, थाहा छैन। तर, वर्तमानमा जलवायु परिवर्तनले हिमालको हिउँ घटेर वातावरण, वनस्पति, वन्यजन्तु र मानव जीवन जोखिमतिर धकेलिइरहँदा शेर्पाहरूको परम्परागत मौखिक साहित्यमा यो चेत उहिल्यैदेखि रहेको बुझिन्छ।
“हाम्रो समुदायमा परापूर्वदेखि नै रहेको प्रकृतिचेतको प्रमाण हो यो,” सोलुखुम्बुकी रिन्जिन ल्हामो शेर्पा भन्छिन्। हिमालयन शेर्पा सांस्कृतिक केन्द्रकी सदस्य रिन्जिनले नै सुनाएको यो गीतको सन्देश स्पष्ट छ- ठूलो जनसंख्या निर्भर रहेको हिमालमुनिको पारिस्थितिक प्रणाली जोगाउन हिमाल जोगाउनु अनिवार्य छ।
आधुनिक दोहनवादी चेतले प्रकृतिको विनाश बढाइरहँदा यस्ता आदिवासी संस्कृतिले पृथ्वीप्रति अगाध श्रद्धाभाव प्रकट गरिरहेको भेटिन्छ। यस अर्थमा जलवायु परिवर्तनबाट सिर्जित आधुनिक सङ्कटसँग जुध्न प्राचीन संस्कृति निकै सहयोगी हुन सक्छ।
शेर्पाका अन्य परम्परागत गीतमा पनि हिमालप्रतिको गहिरो निकटता झल्किन्छ। केन्द्रका उपाध्यक्ष पासाङ छिरिङ शेर्पाले सुनाएको ‘काङ्दी थोम्बी’ भनिने यो गीत हेरौं:
उत्तरमा हिमाल हेर
कति अग्लो रहेछ ओहो
त्यो देखेर मन कति खुशी छ
त्यहाँ अग्लो सुनको पर्खाल छ
अनि त्यो पर्खालभित्र हाम्रा अमूल्य निधि छन्
हाम्रा विद्वान्हरू त्यहीं बस्छन्।
“यो गीतले हाम्रा हिमालमा अन्यत्र नपाइने महत्त्वपूर्ण कुराहरू रहेको जनाउँछ,” पासाङ भन्छन्। शेर्पा साहित्यमा हिमाललाई पवित्रता, रहस्य, सुन्दरताको विम्ब मानिएको छ। यिनै विम्ब दक्षिणएशियाका अन्य साहित्य र धर्मग्रन्थमा पनि फैलिएका छन्।
शुभ कार्यमा गाइने अर्को गीत ‘केलुङ डोमिरिला’ ले हिमालसँग शेर्पा समुदायको आध्यात्मिक सम्बन्ध उजागर गर्छ। बौद्ध गुरु ठुची रिम्पोचेले रचना गरेको यो गीत पनि पासाङले नै सुनाए:
तिब्बतमा केलुङ डोमिरिला भन्ने ठूलो पहाड छ
त्यो पहाड एकदम राम्रो र शक्तिशाली छ
त्यहाँ धेरै माने बनाउनुपर्छ।
“माने हाम्रो धार्मिक अभ्याससँग जोडिएको छ। तर, यो गीतमा भनिएको माने साँच्चिकै नभएर प्रतीक मात्र हो। यसको आशय जति धेरै धर्मकर्म अर्थात् राम्रो काम गर्यो उति फलिफाप हुन्छ भन्ने हो,” उनी भन्छन्।
परम्परा बोक्ने यस्ता गीत आधुनिकता हावी भएसँगै सङ्कटमा पर्दै छन्। हिमालवासी शेर्पा समुदाय आज संसारभर छरिएको छ। तर, हिजो हिमालप्रतिको असीम श्रद्धाभावले सिर्जित यी गीत आज तिनैलाई नौला लाग्न सक्छन्। यस्तै कारणले हराउँदै गएको शेर्पा संस्कृतिको पुनर्जागरणमा हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले काम गर्दै आएको छ।
काठमाडौंस्थित यो केन्द्रले सातामा एक पटक बालबालिका भेला गरेर शेर्पा संस्कृतिबारे बुझाउने गरेको रिन्जिन बताउँछिन्। उनी भन्छिन्, “हाम्रा नानीहरू अंग्रेजी गीत र डिस्कोमा भुलिए। त्यसैले हामीले कम्तीमा साताको एक घण्टा उनीहरूलाई शेर्पा भाषा, गीत र नाच सिकाउने गरेका छौं।”
शेर्पा समुदायमा अरू पनि थुप्रै मौलिक गीत छन्। उपाध्यक्ष पासाङका अनुसार दुःखमा गाउने गीतलाई क्योलु भनिन्छ भने जन्तीमा गाइने गीतलाई जन्तिलु। त्यसैगरी, केटाकेटीले गाउने दोहोरीलाई जलु, बसेर गाउने ठलु, गोलो घेरामा नाच्दै गाउने शेब्रुलु, विवाहमा नाच्दै गाउने गीतलाई सिलिलु भनिन्छ। शेर्पा भाषामा लु भनेको गीत हो। “हामीले अहिलेसम्म एक हजारभन्दा बढी बालबालिकालाई यी गीत गाउन र नाच्न सिकाएका छौं,” उनी भन्छन्।