उद्धार गरिएकै वन्यजन्तु असुरक्षित
![उद्धार गरिएकै वन्यजन्तु असुरक्षित](https://www.himalkhabar.com/uploads/posts/800X600/zoological_park_pokhara_(6)_1693745953.jpg)
सुरक्षित राख्ने भन्दै विभिन्न क्षेत्रबाट उद्धार गरेर पोखराको पचभैया उद्धार केन्द्रमा राखिएका वन्यजन्तुको अवस्था नाजूक छ भने उचित व्यवस्थापन नहुँदा असुरक्षित बन्दै गएका छन्।
शिकारी चरासँगै आकाशमा ‘पाराग्लाइडिङ’ गर्नुलाई ‘पाराहकिङ’ भनिन्छ। पोखरामा ‘पाराहकिङ’ का लागि एक बेलायती नागरिकले दुर्लभ गोब्रे गिद्ध (इजिप्सियन भल्चर)लाई प्रयोग गरेका थिए।
सङ्कटापन्न सूचीमा रहेको गोब्रे गिद्धलाई पाराहकिङमा राखेको भन्दै विरोध भयो। त्यसपछि सरकारी निकाय तथा संरक्षणकर्मीको अगुवाइमा २०७३ माघमा गोब्रे गिद्धको उद्धार गरियो।
त्यसलाई पोखरास्थित पचभैया वन्यजन्तु उद्धार केन्द्रमा लगियो। त्यति वेला उद्धार केन्द्र निर्माणाधीन थियो। उद्धार गरिएका गिद्ध तथा वन्यजन्तुको अवस्था हेरेर जङ्गलमा छाड्ने नियम हुन्छ, तर गोब्रे गिद्ध भने सानैदेखि समातिएर राखिएका कारण जोखिम हुन सक्ने भन्दै खुला छाडिएन।
अहिले पचभैया उद्धार केन्द्रमा त्यही गोब्रे गिद्ध सहित २२ प्रजातिका वन्यजन्तु छन्। बरु बेलायती नागरिकसँग हुँदा राम्रो रहेको गिद्ध अहिले भने नाजुक अवस्थामा छ। अन्य वन्यजन्तुको अवस्था पनि टीठलाग्दो छ। २०७२ सालदेखि निर्माणको थालनी भएको केन्द्रमा अहिलेसम्म खासै सुधार आएको छैन।
सुन्दर परिकल्पना, लथालिङ्ग व्यवस्थापन
प्रदेशस्तरीय चिडियाखाना सातै प्रदेशमा बनाउने सरकारी योजना छ। पोखरास्थित पचभैया उद्धार केन्द्रलाई पनि प्रदेशस्तरीय चिडियाखाना बनाउने गण्डकी सरकारको योजना छ। त्यसलाई पर्यटकीय हबका रूपमा स्थापना गर्ने प्रदेश सरकारको परिकल्पना छ।
पचभैया उद्धार केन्द्र एवम् पोखरा जूलोजिकल पार्क। तस्वीरहरू: दुर्गा राना मगर/हिमालखबरत्यही परिकल्पना अनुसार २०७४ सालमा तत्कालीन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशको गौरवको योजनामा राखेर उद्धार केन्द्रका लागि वार्षिक बजेट पनि छुट्याउने निर्णय गरेका थिए। त्यसयता हरेक वर्ष उद्धार केन्द्रका लागि प्रदेश सरकारले बजेट विनियोजन गर्दै आएको छ।
अर्कातिर, आगन्तुकबाट पनि आम्दानी हुन्छ। विद्यार्थीका लागि १५ र सर्वसाधारणका लागि २५ रुपैयाँको टिकट निर्धारण गरिएको छ। पछिल्लो सात महीनामा ६५ हजार आय भएको पचभैया उद्धार केन्द्र व्यवस्थापन समितिका अध्यक्ष दीननाथ ढकालले बताउँछन्। माघयता शुल्क लिन थालिएको छ।
केन्द्रका वन्यजन्तुलाई हेरेर बालबालिका र विद्यार्थी रमाउने गरेको भए पनि सबैको अनुभव त्यस्तो छैन। केही समयअघि पुगेकी एक विदेशी पर्यटक वन्यजन्तुको अवस्था देखेर आत्तिइन्। “अव्यवस्थित भयो, वन्यजन्तुलाई राखिएको तरीका ठीक छैन,” उनले भनेकी थिइन्।
गोब्रे गिद्ध।अन्य व्यक्तिको पनि त्यस्तै अनुभव छ। उद्धार केन्द्रमा राखिएका वन्यजन्तुको राम्ररी हेरचाह नभएको र उनीहरूको बसोबासको व्यवस्था ठीक नभएको संरक्षणकर्मी पनि बताउँछन्।
समितिका अध्यक्ष ढकाल पनि उचित व्यवस्थापन नभएको स्विकार्छन्। “पहिले आउने मान्छेहरूले यहाँ राख्नुभन्दा बरु बाहिर नै छाडिदिए राम्रो हुन्थ्यो पनि भने, तर अहिले सुधारेका छौं। पछिल्लो एक वर्षमा राम्रो बनाएका छौं,” उनी भन्छन्।
तर, अध्यक्ष ढकालले दाबी गरे जस्तो सुधार देखिंदैन। गिद्ध, अजिङ्गर, मयूर, हुचिल, बाँदर, खरायो, कटुपा, चरीबाघ, बाघ, मृग, नील गाई, चित्तल, स्याल, वन बिरालो लगायत वन्यजन्तुलाई ससाना खोरमा राखिएको छ।
![](https://www.himalkhabar.com/uploads/editor/wildlife/pokhara%20zoological%20park/zoological%20park%20pokhara%20(2).jpg)
दुर्लभ गिद्ध लगायत चरा भुइँमै छन्। वन्यजन्तु राखिएको ठाउँमा पानीको पर्याप्त व्यवस्था छैन। केही वन्यजन्तु आक्रामक देखिन्छन्। कुनै वन्यजन्तु आक्रामक प्रकृतिकै हुन्छन् भने कुनै वातावरण तथा भोकै हुँदा पनि आक्रमक बन्ने गरेका छन्। साना खोर छन्। त्यसमा पनि वन्यजन्तुले गरेको दिसा छरपस्ट देखिन्छ।
वन्यजन्तुका लागि प्रत्येक दिन सात किलोग्राम मासु, साढे दुई किलोग्राम चना, दुई किलोग्राम मकै, १० किलोग्राम चोकर, दुई किलोग्राम फलफूल, डेढ किलोग्राम केराउ खुवाउने गरिएको केन्द्रले जनाएको छ। तर, वन्यजन्तु भने त्यसरी खुवाए जस्ता देखिंदैनन्। केही दिनअघि उद्धार केन्द्रमा पुगेका एक आगन्तुक भन्छन्, “खाएपिए जस्ता देखिंदैनन्। भोकै र पानी पिउन नपाएका देखिन्छन्।”
डिभिजन वन कार्यालय र सामुदायिक वनका गरी केन्द्रमा पाँच कर्मचारी छन्। एक जना भेटेनरी डाक्टर पनि छन्। भेटनरी डाक्टर भने सातामा एक दिन मात्रै आउने गरेको कर्मचारी बताउँछन्। जसले गर्दा उद्धार गरी ल्याएर तत्काल उपचार गर्नुपर्ने वन्यजन्तु जोखिममा पर्ने गरेको उनीहरूको भनाइ छ।
![](https://www.himalkhabar.com/uploads/editor/wildlife/pokhara%20zoological%20park/zoological%20park%20pokhara%20(3).jpg)
समितिका अध्यक्ष ढकाल भने दैनिक निगरानी भइरहेको बताउँछन्। उनी भन्छन्, “दैनिक निगरानी गरिरहेका हुन्छौं, सामुदायिक वन भएका कारण प्रत्येक दिन कोही न कोही त्यहाँ पुग्छौं।”
दुई वर्षअघि वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, गण्डकीले पनि पचभैया उद्धार केन्द्रको अध्ययन गरेको थियो। जसमा वन्यजन्तुको आहाराको विश्लेषण सहित विस्तृत अध्ययन गरी प्रतिवेदन तयार पारेको थियो। त्यो अध्ययनमा वन्यजन्तु स्वस्थ रहेको भए पनि उनीहरूलाई राखिएको तौरतरीका भने सुधार्नुपर्ने सुझाव दिइएको थियो।
त्यस्तै, वन्यजन्तुलाई दिइने आहाराबारे समय समयमा ध्यान दिनुपर्ने र राखिएका खोरहरू सानो रहेकाले उपयुक्त पिंजरा, खोर बनाइदिनुपर्ने सुझाइएको थियो। खोप लगाउनुपर्ने र नियमित स्वास्थ्य अवस्था जाँच गरिनुपर्नेमा जोड दिएको सहायक अनुसन्धान अधिकृत मन्जु केसी बताउँछिन्। तर, अहिलेसम्म केही सुधार गरिएको छैन।
![](https://www.himalkhabar.com/uploads/editor/wildlife/pokhara%20zoological%20park/zoological%20park%20pokhara%20(4).jpg)
हतारमा स्थापना, सञ्चालनमा समस्या
२०६८ सालमा तत्कालीन क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाले पोखरालाई ‘ग्रेटर सिटी’ का रूपमा विकास गर्न विभिन्न योजना ल्याएका थिए। त्यसमा एउटा थियो, चिडियाखाना। त्यसका लागि पोखरा महानगरपालिका, वन विज्ञान लगायत संस्थाले पोखरा वरपरका विभिन्न वनको अवलोकन र अनुसन्धान गरेका थिए।
अन्तिममा पोखराबाट २५ किलोमिटर परको पचभैया, चैनपुर, चायापानी-चिसाकुना सामुदायिक वनमा चिडियाखाना निर्माण गर्ने तय भयो। त्यति वेला क्षेत्रीय प्रशासक थपलियाले स्थानीय युनाइटेड क्लबलाई जिम्मा दिएको थियो। त्यसयता चिडियाखाना स्थापनाका लागि क्लबले महोत्सव आयोजना गरेर आर्थिक सङ्कलन गर्दै आएको थियो।
![](https://www.himalkhabar.com/uploads/editor/wildlife/pokhara%20zoological%20park/zoological%20park%20pokhara%20(5).jpg)
२०७२ सालमा पोखरा जूलोजिकल पार्कका रूपमा निर्माण शुरू भयो। जूलोजिकल पार्कसँगै केही वर्षदेखि भने उद्धार केन्द्र स्थापना भयो। जूलोजिकल पार्कको पूर्वाधार निर्माणका लागि शुरूआतमा एक करोडभन्दा बढी रकम खर्च भयो। अहिलेसम्म साढे तीन करोडभन्दा बढी रकम पूर्वाधार र सञ्चालनमा खर्च भइसकेको पचभैया उद्धार केन्द्र बनाउने प्रक्रियामा शुरूआतदेखि नै जोडिएका प्रदेश वन कार्यालयका उपसचिव केदार बराल बताउँछन्।
पोखरा वडा नं. ३०, ३१ र ३२ मा पर्ने तीन सामुदायिक वनको १३८ हेक्टर क्षेत्रमा पचभैया उद्धार केन्द्र फैलिएको छ। प्रदेश सरकारको डिभिजन वन कार्यालय, कास्की र तीन सामुदायिक वन उपभोक्ता समितिको स्वामित्व र व्यवस्थापनमा उद्धार केन्द्र सञ्चालित छ।
![](https://www.himalkhabar.com/uploads/editor/wildlife/pokhara%20zoological%20park/zoological%20park%20pokhara%20(9).jpg)
त्यति वेला हतारमै शुरूआत गरिएको उपसचिव बराल बताउँछन्। “पूर्वाधार राम्रोसँग नबन्दै हतारमा नै शुरू भयो, तर यसलाई व्यवस्थित गर्दै लगेका छौं,” उनी भन्छन्, “अहिले चिडियाखानाभन्दा पनि उद्धार केन्द्रका रूपमा मात्र हो। चिडियाखानाका लागि डीपीआर तयार गरेर पेश भएको छ।”
बत्ती-पानी र सडकको राम्रो व्यवस्था नहुँदै शुरू गरिएको भए पनि अहिले बिस्तारै व्यवस्थित गरिंदै लगिएको समितिका अध्यक्ष ढकालको भनाइ छ। सरकार फेरिने, मन्त्री परिवर्तन भइरहने गरेकाले चिडियाखानाको काममा ढिलाइ भएको उनको गुनासो छ।
अहिले पनि पचभैया उद्धार केन्द्रको विकासका लागि ८० लाख बजेट विनियोजन भएको छ। जसमध्ये पूर्वाधारमा ४५ लाख र बाँकी सञ्चालन खर्चका लागि रहेको उनी बताउँछन्। प्रशस्त क्षेत्रफल, सरकारको सहयोग र गण्डकीका लागि नयाँ परियोजनाका रूपमा प्रशस्त सम्भावना बोकेको भए पनि पचभैया उद्धार केन्द्र व्यवस्थित हुन सकेको छैन।
![](https://www.himalkhabar.com/uploads/editor/wildlife/pokhara%20zoological%20park/zoological%20park%20pokhara%20%2810%29-1.jpg)
पशुपन्छीलाई पनि ‘डिस्ट्रेस’
चिडियाखाना वन्यजन्तुबारे शिक्षा दिन स्थापना गरिएको हुन्छ। त्यसका लागि वन्यजन्तुलाई सुरक्षित रूपमा राख्नुपर्छ। “चिडियाखाना भनेको शिक्षा लिने ठाउँ हो। यसको उद्देश्य भनेको वन्यजन्तुबारे शिक्षा दिनु हो। त्यसैले चिडियाखानाको आफ्नै महत्त्व छ,” ललितपुरस्थित सदर चिडियाखानाका सूचना अधिकृत गणेश कोइराला भन्छन्, “वन्यजन्तुको अवस्थाको पनि विशेष ख्याल गरिनु जरुरी छ। चिडियाखाना वन्यजन्तु वातानुकूलित हुनुपर्छ।”
चिडियाखानामा राखिएका वन्यजन्तुलाई नियमित दानापानी, नियमित स्वास्थ्य जाँच, उपचार तथा वासस्थानमा विशेष ध्यान दिनुपर्ने उनी बताउँछन्। सदर चिडियाखानामा २७ वर्षदेखि वन्यजन्तुबारे अनुभव हासिल गरिरहेका कोइराला वन्यजन्तु कस्तो ठाउँमा बस्ने गर्थे, त्यस्तै किसिमको आफ्नो क्षेत्रफल हेरी प्राकृतिक रूपमा व्यवस्थापन गर्नुपर्ने बताउँछन्। “जस्तो चराको हकमा हाँगा, रूख हुनुपर्छ,” उनी भन्छन्, “त्यसो नहुँदा उनीहरूमा ‘डिस्ट्रेस’ हुने अवस्था आउँछ। मानिसलाई जसरी नै वन्यजन्तु पनि चिन्तित हुन्छन्। जसले उनीहरूको स्वास्थ्य र व्यवहारमा असर पुर्याउँछ र आक्रामक बन्छन्।”
![](https://www.himalkhabar.com/uploads/editor/wildlife/pokhara%20zoological%20park/zoological%20park%20pokhara%20(1).jpg)
चिडियाखानामा वन्यजन्तु राख्नका लागि नेपालले पनि अन्तर्राष्ट्रिय मापदण्ड कार्यान्वयन गरेको छ। थुप्रै ससाना चिडियाखाना खोलिएका छन्। त्यही अन्तर्गत पोखराको पचभैया उद्धार केन्द्र पनि पर्छ। हाल चिडियाखाना नै नभनिए पनि उद्धार गरेर ल्याइएका वन्यजन्तु राखिएका छन्। जसले गर्दा उद्धार केन्द्र पनि मापदण्ड अनुसार सञ्चालन गर्नुपर्ने बताउँदै कोइराला भन्छन्, “उचित व्यवस्थापन भएन भने वन्तजन्तुमा ‘डिस्ट्रेस’ हुन्छ र आक्रामक बन्छन्।”
‘पाराहकिङ’ मा प्रयोग हुँदा असुरक्षित भएको भन्दै उद्धार गरिएको गोब्रे गिद्धको अवस्था झन नाजुक छ। अन्य वन्यजन्तु पनि अप्ठ्यारोमा छन्। मापदण्ड अनुसार सञ्चालन नहुँदा पचभैया उद्धार केन्द्रमा राखिएका वन्यजन्तु ‘डिस्ट्रेस’ हुँदै गएका छन्।