ब्लग आइतबार, साउन १९, २०७६

कठै ! सिंहदरबारको पर्खाल

मिलन बगाले

पर्खाल, गारो र भित्ताको भेद तपाईं कसरी छुट्याउनुहुन्छ ? भाव उस्तै लाग्छ कि फरक—फरक ? पर्खाल भन्नासाथ मेरो मनमा गाउँका गल्लीका दायाँबायाँ बडाबडा छपनी हालेर बनाइएका अग्ला सफा र रहरलाग्दा संरचनादेखि चीनको ‘ग्रेट वाल’ सम्मको सम्झना आउँछ ।

भित्ताले चाहिं ठूल्ठूला दरबार, प्रशासनिक भवन र ब्यारेकमा चुच्चा फलामका भाला, ठाउँठाउँका सुरक्षा पोष्ट र काँडेतारको गुजुल्टो राखिएको संरचनाको झल्काे दिलाउँछ ।

संसारमा रहरलाग्दा भित्ताहरू नभएका हैनन् । तर हामीकहाँ चाहिं डरलाग्दा भित्ताहरू छन् । कतिपय भित्ताका वरिपरि हिंड्न निषेध गरिएको छ, राम्ररी हेर्न बन्देज लगाइएको छ । लाग्छ, ती भित्ताहरू ठूलो रहस्य बोकेर उभिएका छन् । दरबार हत्याकाण्डसँगै भित्ताहरूभित्रको डरलाग्दो रहस्य बाहिर निस्कियो । डरैडरका घर बनेका भित्ताहरूको शासकीय त्रासदी सकियो । फोटो खिच्न समेत निषेध गरिएका भित्ताहरूको डर पनि समयले भत्कायो ।

शासकीय त्रासदी सकिएको अलि वर्षपछि भित्ताहरूले अर्को ‘आतंक’ फैलाए । हेर्दा अग्ला र डरलाग्दा भए पनि तिनीहरूको जग असाध्यै कमजोर रहेछ भन्ने तथ्य २०७२ सालको भूकम्पले बाहिर ल्याइदियो ।

दूतावासदेखि नारायणहिटी दरबारसम्मका पर्खाल भूकम्पमा भटाभट लडे । भित्ताहरू डरका घर बने । मर्मत गर्दा पनि उस्तै हालत दोहोरियो । १ असोज २०६८ मा ६.८ म्याग्निच्यूडको भूकम्प जाँदा लैनचौरस्थित ब्रिटिश दूतावासको पर्खाल भत्किंदा तीन जनाले ज्यान नै गुमाए ।

सिंहदरबार परिसर पश्चिमपट्टिको ऐतिहासिक भवनको पुनर्निर्माण चलिरहेको बेला असार अन्तिम साता पूर्वी भागको भित्तो (कम्पाउण्ड पर्खाल) भत्किएको छ । भवन निर्माणका लागि जग खन्दा निस्किएको माटो थुपारिएको ठाउँमा वर्षाको चाप परेका कारण भित्तो भत्किएको प्रारम्भिक खबर छ । यो पर्खालसँगै ‘फूटपाथ’ जोडिएको छ । थुप्रै मानिस त्यहाँबाट हिंड्छन् । भित्तो बलियो छ भन्ठानेर निर्धक्क हिंड्ने पैदल यात्रुहरू अहिले झस्किएका छन् । तर, सिंदरबारभित्रको सरकार भने झस्किएको मेसो पाइएको छैन ।

पर्खालको मापदण्ड
निजी भवन बनाउँदा भूकम्प प्रतिरोधी बनाउनुपर्छ भन्ने चेतनाको विकास भइसके पनि पर्खाल बनाउँदा यो मापदण्ड निरन्तर बेवास्ता गरिएको छ । मापदण्डभन्दा अग्लो बनाउने, पिलर नहाल्ने वा कमसल पिलर राख्ने, जग मजबूत नबनाउने, टाई बिम नहाल्ने, ढलानको तेर्सोपट्टि वा बिम नहाल्ने, इँटाको पिलर जस्तो बनाएर झारा टार्ने काम अझै पनि चलिरहेकै छ ।

तत्कालीन काठमाडौं उपत्यका नगर विकास समिति (हाल काठमाडौं उपत्यका विकास प्राधिकरण) ले कम्पाउण्ड पर्खाल निर्माण सम्बन्धमा मापदण्ड (काठमाडौं उपत्यकाभित्रका नगरपालिका र नगरोन्मुख गाविसमा गरिने निर्माण सम्बन्धी मापदण्ड २०६४) बनाएको थियो ।

शासकीय त्रासदी सकिएको अलि वर्षपछि भित्ताहरूले अर्को ‘आतंक’ फैलाए । हेर्दा अग्ला र डरलाग्दा भए पनि तिनीहरूको जग असाध्यै कमजोर रहेछ भन्ने तथ्य २०७२ सालको भूकम्पले बाहिर ल्याइदियो ।

मापदण्ड अनुसार, सीमा पर्खाल (कम्पाउण्ड वाल) को उँचाइ बाटोको केन्द्र रेखाबाट १.५ मिटर हुनुपर्ने, स्थानीय निकायको स्वीकृतिमा २.१ मिटरसम्म उँचाइको पर्खाल लगाउन सकिने तर यस्तो पर्खालको माथिल्लो भाग ०.६ मिटर खुला किसिमले बनाउनुपर्नेछ । साथै, यस्तो मापदण्ड जेल, र औद्योगिक भवन, विद्युत् सब–स्टेशन, ट्रान्सफर्मर स्टेशन, शैक्षिक भवन वा अन्य सार्वजनिक भवनका लागि भने स्थानीय निकायले बढीमा २.४ मिटरसम्मको उँचाइलाई स्वीकृति दिनसक्ने प्रावधान पनि राखिएको छ ।

२०७२ को भूकम्पपछि भने काठमाडौं उपत्यका विकास प्राधिकरणले निजी घरको पर्खालको उँचाइ १.५ बाट बढाएर १.८ मिटर बनाउन प्रस्ताव गरेको छ । यो मापदण्डको मस्यौदामा गारोको भागको १.२ मिटर राखी बाँकी भागमा खुला देखिने रेलिङ लगाउनुपर्दछ ।

त्यस्तै सार्वजनिक प्रयोगका भवनमा ०.९ मिटरको उँचाइसम्म गारो लगाई सोभन्दा माथि खुला देखिने रेलिङ लगाउनुपर्ने उल्लेख गरिएको छ । विशेष प्रकृतिका भवनका लागि सम्बन्धित नगरपालिकाबाट स्वीकृति गराउनुपर्ने प्रस्ताव गरिएको छ ।

नयाँ संरचना निर्माणमा त मापदण्ड पालना गरिएला तर भूकम्पले क्षति पु-याएका वा खल्बलिएका पुराना पर्खाललाई भूकम्प प्रतिरोधी हिसाबले मर्मत गरिएको दृश्य विरलै देखिएको छ ।

सिंहदरबार जस्ता राज्यका प्रशासनिक एकाइका लागि पर्खाल सुरक्षाकवच मात्रै होइन, सुन्दरता, शालीनता, सभ्यता र भव्यता झल्काउने मानक पनि हो ।

झरीकै पानीले भत्काएको सिंहदरबारको यो भित्ताबाट पाठ सिकेर हाम्रा स्थानीय सरकारहरूले जीर्ण भित्ता भत्काइहाल्ने र जोखिमरहित नयाँ भित्ता बनाउने जमर्को कस्नुपर्छ ।

प्रतिकृया दिनुहोस