काठमाडौंमा थपिएको कला-उत्सव (भिडिओ)
![काठमाडौंमा थपिएको कला-उत्सव (भिडिओ)](https://www.himalkhabar.com/uploads/posts/800X600/art_(1)_1692881685.JPG)
कलाको शहर काठमाडौं उपत्यकामा नयाँ उत्सव थपिएको छ, हिमालयन कला महोत्सव।
जात्रैजात्राको शहर काठमाडौं उपत्यकामा कलाकारका लागि अर्को पर्व थपिएको छ, हिमालयन कला महोत्सव। देशभरका नयाँ तथा पुराना कलाकारका कलाकृति महोत्सवका आकर्षण बनेका छन्।
काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा भदौ ७ गतदेखि हिमालयन कला महोत्सव प्रारम्भ भएको छ। इ-आर्टस् नेपालले आयोजना गरेको यो महोत्सवको छैटौं संस्करण हो।
![](https://www.himalkhabar.com/uploads/editor/Art/himalayan%20art%20festival/2080/art%20%282%29.JPG)
कलाकारका लागि नयाँ उत्सवका रूपमा हिमालयन कला महोत्सव आयोजना गरिएको इ-आर्टस् नेपालका संस्थापक आशा डंगोल बताउँछन्। “दशैंको मुखमा धेरै मेला-उत्सव हुने भए पनि नेपाली कलाको मेला हुने गरेको थिएन। त्यही कमीलाई पूरा गर्न कलाकार मिलेर कला महोत्सवको आयोजना गर्न थालेका हौं।”
नेपाली कलाकारले बनाएका कलाकृति नेपालीकै घरमा सजियून् भन्ने उद्देश्यले महोत्सव आयोजना गरिएको क्युरेटर प्रतिमा थकाली बताउँछिन्। यो संस्करणमा ८० भन्दा बढी कलाकारको सहभागिता छ।
महोत्सवको यो संस्करण विगतभन्दा फरक रहेको क्युरेटर थकालीको भनाइ छ। “पहिले सबैलाई सहभागिताको खुला आह्वान गर्थ्यौं, यस पटक गरेनौं,” उनी भन्छिन्, “कला क्षेत्रमा सक्रिय नयाँ तथा पुरानो पुस्ताका सबै कलाकारलाई निम्त्याएका छौं।”
![](https://www.himalkhabar.com/uploads/editor/Art/himalayan%20art%20festival/2080/art%20(3).JPG)
यस पटकको महोत्सवका विविध विषयमा कलाकारका सिर्जना राखिएका छन्। केही कलाकृतिमा दैविक विषयलाई आधुनिकताको कसीमा प्रस्तुत गरिएको छ भने केहीमा सामाजिक न्यायको मुद्दा उठाइएको छ। “केही कलाकारले जलवायु परिवर्तनका पेचिला मुद्दामा पनि दह्रो हस्तक्षेप गरेका छन्,” जोमसोममा जन्मेकी थकाली भन्छन्, “हाम्रै मुस्ताङमा साउनको अन्तिम साता कहिल्यै नदेखेको बाढी आयो, जलवायु परिवर्तनको कुरा आएको छ। यो मुद्दालाई पनि केही कलाकारले प्रभावशाली ढङ्गले प्रस्तुत गरेका छन्।”
उसो त हिमालयन कला महोत्सव पनि प्रभावशाली ढङ्गले उदाउँदै आएको छ। निजी क्षेत्रबाट हुने महोत्सवमा ६ वर्षदेखि देश-विदेशका कलाकारले आफ्ना कलाकृति प्रदर्शन गर्दै आएका छन्। समकालीन कलाकारका लागि हिमालयन कला महोत्सव आफ्नो कला प्रवर्द्धन गर्ने मञ्च बनेको धारणा युवा कलाकार राजन काफ्ले बताउँछन्। “प्रदर्शनीका प्रत्येक शृङ्खलाले नयाँ स्वाद दिएको छ भने सबै पुस्ताका कलाकारलाई एकै ठाउँमा प्रस्तुत पनि गरेका छौं,” काफ्ले भन्छन्, “यो कला-उत्सवलाई महोत्सव बनाउन खोजेको हौं।”
![](https://www.himalkhabar.com/uploads/editor/Art/himalayan%20art%20festival/2080/art%20(4).JPG)
कलाकारका लागि यो महोत्सव अर्को पर्वका रूपमा थपिएको उनको भनाइ छ। कला प्रदर्शनीमा आएर कला अवलोकन गर्नुलाई किताबको पाण्डुलिपि हेर्न पाउने अवसरसँग तुलना गर्दै काफ्ले भन्छन्, “कला अवलोकन गरेर दर्शकबाट आउने प्रतिक्रियाले कलालाई नयाँ दिशा दिन मद्दत गर्छ।”
महोत्सवमा बर्सेनि एक जना वरिष्ठ कलाकारलाई सम्मान गर्ने गरिन्छ। यस वर्ष मूर्तिकार तथा प्राध्यापक गोविन्दनारायण ज्यापूलाई सम्मान गरिएको छ। प्रदर्शनीमा मूर्तिकार ज्यापूका कलाकृति विशेष प्रदर्शनी अन्तर्गत राखिएका छन्।
२०७४ सालदेखि हरेक वर्ष दशैंअघि गरिंदै आएको महोत्सव कला क्षेत्रबारे बहस गर्ने थलो पनि बनेको छ। कलाकारसँग कला क्षेत्रका विषयमा छलफल पनि हुने गरेको छ।
![](https://www.himalkhabar.com/uploads/editor/Art/himalayan%20art%20festival/2080/art%20(5).JPG)
यससँगै कलाकारको सहभागिता पनि बढ्दै गएको छ। २०७४ सालमा पहिलो प्रदर्शनीमा ५० कलाकारका समसामयिक चित्रकला र मूर्तिबाट महोत्सवको शुरूआत गरिएको थियो। यस वर्ष ८० भन्दा बढी कलाकारका सिर्जना प्रदर्शनीमा राखिएका छन्। जसमा पुराना पुस्ताका कृष्ण मानन्धर, किरण मानन्धर, शशीकला तिवारीदेखि इशान परियार, सविता डंगोल, सुजन डंगोल, मुना भँडेल लगायत सहभागी छन्।
अहिलेसम्मको अनुभवबाट महोत्सवले हौसला बढाएको आयोजक समिति सदस्य एवं कलाकार एरिना ताम्राकार बताउँछिन्। “नेपाली कला नेपालमै भन्ने उद्देश्यले थालिएको प्रदर्शनीले छैटौं संस्करणमा आइपुग्दा राष्ट्रिय महोत्सवको महत्त्व पाएको छ,” ताम्राकार भन्छिन्, “पाँच वर्षको अनुभवले उत्साहित छौं।”