बाढीमा कागबेनी गाउँ जोड्ने तीन वटा अस्थायी पुल, जोमसोम–कोरला जोड्ने एउटा पक्की पुल र कागबेनी–तिरी गाउँ जाने झोलुङ्गे पुल बगेका छन्। उक्त बाढी मुस्ताङमा २०४६ सालयताकै सबैभन्दा ठूलो हो।
हिमालपारिको जिल्ला मुस्ताङमा २७ साउन रातिको बाढीले भौतिक संरचनामा व्यापक क्षति पुर्यायो। कागबेनीमाथिको तिरी खोला थुनिंदा आएको गेगर सहितको बाढी बस्ती पसेको थियो।
गण्डकी प्रदेशका सांसद विकल शेरचनका अनुसार कालीगण्डकी करिडोरमा बन्दै गरेको ढलाने पुल बगाएर आएको बाढीले २९ वटा घर, नौ वटा गोठ र १२ वटा सवारीसाधनमा क्षति पुगेको छ। कागबेनीमा १० वटा घर र एउटा प्रहरी चौकी पूर्ण रूपमा बगेका छन्। “पान्डा खोलामा बाढी बढ्नुअघि नै सेनाको टोलीले सुरक्षा सतर्कता अपनाउन लगाएकाले मानवीय क्षति भने भोग्नुपरेन, भौतिक क्षति त टुलुटुलु हेर्नुको विकल्प थिएन,” उनी भन्छन्।
बाढीमा कागबेनी गाउँ जोड्ने तीन वटा अस्थायी पुल, जोमसोम–कोरला जोड्ने एउटा पक्की पुल र कागबेनी–तिरी गाउँ जाने झोलुङ्गे पुल बगेका छन्। उक्त बाढी मुस्ताङमा २०४६ सालयताकै सबैभन्दा ठूलो हो। प्रदेश सांसद शेरचन नदी अतिक्रमण गरी संरचना बनाइनुलाई भौतिक क्षतिको मुख्य कारण ठान्छन्। “६०–७० वर्षअघि काग खोला जुन ठाउँबाट बग्थ्यो, अहिले बाढी त्यहींबाट गएको छ,” उनले भने, “नदी अतिक्रमण गरेर संरचना बनाइएकाले क्षति भोग्नुपरेको हो।”
शेरचनका अनुसार बर्खामा बढीजसो ठाडा खोलाले विपद् निम्त्याउने गरेका छन्। तिनले बगाएर ल्याउने गेगर कालीगण्डकीमा मिसिने गरेको छ। कालीगण्डकी नदी संरक्षण क्षेत्रमा पर्ने भएकाले उत्खनन गर्न पाइँदैन। “बर्सेनि थपिने गेगरले नदीको सतह बढ्दा पानी बस्ती पस्ने गर्छ,” उनी भन्छन्, “नदीभन्दा गाउँ तल पर्न थाल्यो।”
कतिपय विपद् रोक्न नसकिने भए पनि क्षति कम गर्न सकिने विज्ञहरू बताउँछन्। विपद् तथा यसबाट हुने क्षति रोक्नेतर्फ सम्बन्धित निकायले ध्यान केन्द्रित गर्नुपर्ने त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनीयरिङ अध्ययन संस्थानको विपत् अध्ययन केन्द्र प्रमुख वसन्त अधिकारीको भनाइ छ।
“पहिला त कहाँ, कस्तो खालको विपद्को सम्भावना छ, त्यसले कस्तो क्षति गराउँछ भन्ने अध्ययन हुनुपर्छ,” उनी भन्छन्, “त्यसपछि त्यसको रोकथामसँगै पूर्व तयारी तथा सूचना प्रणाली स्थापना गरिनुपर्छ। यसका लागि स्थानीय सरकारलाई सबल बनाइनुपर्छ।”
जलवायुविज्ञ धर्म उप्रेती एक दशकयताका घटनाले मौसमी विपद् निकै बढेको देखाउने बताउँछन्। “२०७८ सालमा सुदूरपश्चिम र मेलम्चीमा आएको बाढी, पोहोर मनाङमा आएको बाढी होस् वा अहिले मुस्ताङमा आएको, यी सबै मौसमी विपद्का घटना हुन्,” उनी भन्छन्। मुस्ताङ र मेलम्चीको बाढीको प्रकृति एउटै रहेको पनि उप्रेती बताउँछन्। “मुस्ताङमा ३०/३५ मिनेट नदी थुनिएपछि फुटेर तल्लो भेग बगायो। मेलम्चीमा पनि त्यस्तै भएको थियो,” उनी भन्छन्, “ठूलो मात्रामा पानी आउँदा क्षति पनि ठूलै भयो।”
किन आयो बाढी?
हिमालले बादल छेकिदिने भएकाले कम पानी पर्ने मुस्ताङ–मनाङलाई ‘रेन स्याडो एरिया’ मानिन्छ। तर केही वर्षयता यी जिल्लामा पनि वर्षा र बाढीका घटना बढेका छन्। दुई वर्षअघि मनाङमा भीषण वर्षाले ठूलो क्षति पुर्याएको थियो।
जल तथा मौसम विज्ञान विभागका अनुसार मुस्ताङमा बाढी आउनुअघिको २४ घण्टामा २५ मिलिमिटर वर्षा भएको थियो जुन त्यहाँको औसतभन्दा निकै बढी हो। जबकि २०३१ देखि २०७१ सम्मको तथ्याङ्क अध्ययन गर्दा मुस्ताङभरिको औसत वर्षा प्रतिवर्ष २५७.८ मात्र थियो। विभागले ३० साउनमा निकालेको बुलेटिनमा माथिल्लो तटीय क्षेत्रमा पहिरोले कागखोला थुनिएर बनेको ताल फुटेपछि लेदो सहितको बाढी आएको उल्लेख छ।
पटक पटकको विपद्ले भौगोलिक र भौतिक संरचना कमजोर बनाइदिने भएकाले देखिंदा साना जस्ता लाग्ने कारणले पनि ठूला क्षति गराइदिने विज्ञहरू बताउँछन्। जस्तो- २०७२ वैशाखको भूकम्पले ठाउँ ठाउँमा जमीन चिरा पारेर पहिरोको जोखिम बढाइदियो। त्यसपछि दुई वटा समुद्री आँधीको प्रभावले ठूला वर्षा भए।
त्यस्तै, मेलम्चीमा २०७८ सालको मनसुन शुरू भएको दोस्रो दिन (असार १) मै बाढी आयो। “अहिले पनि मुस्ताङमा पानी परेको दोस्रो दिनमै बाढी आएको छ,” अधिकारी भन्छन्। उनका अनुसार मौसमी विपद्को दीर्घकालीन कारण र प्रभाव हुन्छन्। “समुद्री सतहको औसत तापक्रम वृद्धि भएको छ। नेपालमा हुने वर्षा अरब सागर र बंगालको खाडीको वायुले ल्याउने हो। समुद्रको तापमान वृद्धिले पनि वर्षाको मात्रा बढाएको हो,” उनी भन्छन्।
अधिकारीका अनुसार पृथ्वीको औसत तापक्रम वृद्धि १.५ प्रतिशत रहेको भनिए पनि ठाउँपिच्छे त्यसको प्रभाव भिन्न हुन्छ। यसले वर्षाको प्रणाली पनि बदलिदिएकाले कतै धेरै पानी त कतै कम पर्न थालेको छ।
पछिल्ला केही वर्षको मौसमी तथ्याङ्क हेर्दा वर्षात्को समय समेत फेरबदल भइरहेको पाइन्छ। यससँगै प्राविधिक विकासले कहाँ र कति पानी पर्दै छ भन्ने अग्रिम सूचना पाइने भएकाले विपद्बाट जोगिने तयारी पनि गर्न सकिने भएको छ। “अहिले तीन महीनाअघि नै वर्षात्बारे थाहा पाउन सकिन्छ,” उप्रेती भन्छन्, “त्यसैले अब प्रविधिमा लगानी गरी तयारी अवस्थामा बस्नुको विकल्प छैन।”
करीब तीन वर्षअघि दशैं छेका परेको ठूलो पानीले क्षति पुर्याउँदा तराईका किसानले पाकिसकेको धान भित्र्याउन पाएका थिएनन्। सूचना प्रसार नभएकैले उक्त क्षति भएको स्मरण गराउँदै उप्रेती जलवायु सूचना सेवा प्रभावकारी बनाउनुपर्नेमा जोड दिन्छन्।
VIDEO