१२ वर्षदेखि सोखु खोलाको पुल अलपत्र, बर्सेनि चार जिल्लाका यात्रुलाई सास्ती
![१२ वर्षदेखि सोखु खोलाको पुल अलपत्र, बर्सेनि चार जिल्लाका यात्रुलाई सास्ती](https://www.himalkhabar.com/uploads/posts/800X600/Khola_Alapatra_1692095976.jpg)
“कति दिन त गाडी, बाइक र यात्रुहरू वारिको वारि र पारिको पारि नै रहन्छन्। विगत १२ वर्षदेखि प्रत्येक वर्ष दोहोरिइरहने कथा हो यो। तर, ठेकेदारको लापरवाहीले पुल बन्ने सुरसार छैन।”
सिन्धुलीको फिक्कल गाउँपालिका-६, रत्नावतीस्थित सोखु खोलामा वर्षा शुरू भएसँगै यात्रुलाई सास्ती हुने गरेको छ। मध्यपहाडी राजमार्गको खुर्कोट-घुर्मी सडकखण्डमा पर्ने खोलामा पुल निर्माणको काम अलपत्र हुँदा खोटाङ, ओखलढुंगा, सोलुखुम्बु र भोजपुरबाट काठमाडौं आवतजावत गर्ने यात्रुले सास्ती खेपिरहेका हुन्।
बाढी आएपछि खोलाका दुई किनारमा सवारीसाधन रोकिन्छन् भने यात्रु अलपत्र पर्छन्। पप्पु नेपाल प्रगति जेभीसँग पहिलो ठेक्का तोडिएपछि आत्रेय निर्माण सेवाले ठेक्का लिएको १० वर्ष बित्दा समेत पुल निर्माण भएको छैन। यस कारण वर्षैपिच्छे वर्षा याममा यात्रुलाई सास्ती हुने गरेको छ। बाढीमा जबर्जस्ती तार्न खोज्दा कतिपय सवारी खोलाले बगाउने पनि गरेको छ।
साउन २८ गते जीप चढेर काठमाडौं जाने क्रममा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सोखु खोलाको बाढीले रोकिएको दिक्तेलका यात्रु भोजराज श्रेष्ठले बताए। सोही दिन काठमाडौं जाने क्रममा खोटाङका संविधानसभा सदस्य दुर्गाजयन्ती राई लगायत यात्रुहरू पनि सोखु खोला किनारमा ६ घण्टा अलपत्र परेका थिए।
“शुरूमा खोलामा ठूलो बाढी आएको थियो। केही गर्न सक्ने अवस्था थिएन। झन्डै चार घण्टापछि बाढी केही घट्यो। प्रहरीहरू आइपुगे। एस्काभेटर प्रयोग गरेर खोलालाई फराकिलो बनाएपछि गाडीहरू वारपार गराइयो,” संविधानसभा सदस्य राईले भनिन्, “हामी त्यहीं छँदै एउटा सुमो खोलाबीचमा फस्यो। त्यसलाई एस्काभेटरले निकाल्यो। हामी हिंडेपछि एउटा गाडी बगायो भन्ने खबर सुन्यौं। यो सबै समस्या निर्माण व्यवसायीको लापरवाहीले भएको हो।”
मोटरसाइकल तार्ने मालामाल
सोखु खोलामा बाढीले यात्रुलाई सास्ती दिंदा केही स्थानीयलाई भने मालामाल बनाएको छ। उनीहरूले प्रति मोटरसाइकल ५०० देखि एक हजार शुल्क लिएर नोलमा बोकेर मोटरसाइकल तार्ने गरेका छन्। शुल्क लिएर ट्र्याक्टरले तानेर जिपलाई समेत खोला पार गराउने गरिएको छ। खोलामा बाढी आएको दिन उनीहरूलाई भ्याइनभ्याइ हुने गरेको छ।
यात्रुसँग शुल्क लिएर मोटरसाइकल तारिंदैनेकपा (एमाले) खोटाङका उपाध्यक्ष देवविक्रम राई भन्छन्, “कति दिन त गाडी, बाइक र यात्रुहरू वारिको वारि र पारिको पारि नै रहन्छन्। विगत १२ वर्षदेखि प्रत्येक वर्ष दोहोरिइरहने कथा हो यो। तर, ठेकेदारको लापरवाहीले पुल बन्ने सुरसार छैन।”
खुर्कोट-घुर्मी सडकखण्डकै गोलन्जोर गाउँपालिका-६, हैबारमा रहेको अक्करेभीरले पनि काठमाडौं ओहोरदोहोर गर्ने क्रममा चार जिल्लाका यात्रुलाई दुःख दिने गरेको छ। अक्करेभीरले वर्षामा मात्र नभएर हिउँदमा समेत सास्ती दिइरहेको छ।