बर्दियामा तीन सयभन्दा बढी घर डुबानमा, तीन जना बेपत्ता
बाढीका कारण बर्दियामा भएको क्षतिको पूर्ण विवरण भने आउन केही समय लाग्ने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताए।
शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण बर्दियामा ३०० भन्दा बढी घर डुबानमा परेका छन्।वर्षासँगै आएको बाढीले बर्दियाका गुलरिया, बारबर्दिया, ठाकुरबाबा र बाँसगढी नगरपालिकाका तीन ३०० भन्दा बढी घर डुबानमा परेको बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले हिमालखबरलाई बताए।
यस्तै, बाढीका कारण तीन जना बेपत्ता छन्। रिसालका अनुसार बाढीले बगाएर गुलरिया नगरपालिका-८, थपुवा गाउँका अक्षय थारू, वडा नम्बर १२ भैसाहीका बालकृष्ण चौधरी र गुलरिया पण्डितपुरका महेश चौधरी बेपत्ता छन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सहितको टोलीले उनीहरूको खोजी गरिरहेको छ।
बाढीका कारण बर्दियाका थुप्रै स्थानीय प्रभावित भएका र उनीहरूको उद्धार कार्य जारी रहेको प्रजिअ रिसालले बताए। जनप्रतिनिधि सहित सुरक्षाकर्मीको टोली उद्धारमा लागिपरेको उनले जानकारी दिए। त्यस्तै, बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका होटल तथा पर्यटन व्यवसायीहरू समेत ‘र्याफ्ट बोट’ सहित उद्धार कार्यमा जुटेको उनले बताए।
बाढीका कारण बर्दियामा भएको क्षतिको पूर्ण विवरण भने आउन केही समय लाग्ने उनले बताए।