वर्षाले बिरिङ खोलाको पुल भासियो
![वर्षाले बिरिङ खोलाको पुल भासियो](https://www.himalkhabar.com/uploads/posts/800X600/Biring_Pul_3_1691918214.jpg)
अविरल वर्षाका कारण झापाको अर्जुनधारा नगरपालिका-१ स्थित बिरिङ खोलाको पुल भासिएको छ।
लगातारको वर्षाका कारण आइतबार बिहान पुल भासिएको हो। पुल भासिएपछि सवारी साधान आवातजावतमा रोक लगाइएको छ।
पुल भासिँदा दुई छेउमा लगाइएको रेलिङ भत्किएको छ। जुनसुकै वेला पनि पुल भत्कन सक्ने अवस्थामा पुगेको स्थानीय बासिन्दाले बताए।
![](https://www.himalkhabar.com/uploads/editor/Disaster/flood%202080/Biring%20Pul_2.jpg)
समयमै मर्मतसम्भार नहुँदा पुल भासिएको स्थानीय रुपेश खतिवडाले बताए। पुल जीर्ण हुँदा पनि नगरपालिकाले वास्ता नगरेको उनको भनाइ छ। “पुल मर्मतका लागि पटकपटक आग्रह गर्दा पनि वास्ता गरेन,” खतिवडाले भने।
पुल मर्मतका लागि बजेट विनियोजन गरिएको भए पनि मर्मत सम्भारमा ढिलाइ भएको नगरपालिकाका सूचना अधिकारी हिमराज सेढाईँ स्वीकारे। “आर्थिक वर्षको अन्तिम समयमा पालिकाले जीर्ण अवस्थामा रहेको केही पुलहरूको मर्मतका लागि एकमुष्ट २० लाख रुपैयाँ छुट्याएको थियो। कामको चापले गर्दा असार मसान्तसम्म पुल ममर्त गर्न सकेनौं,” सेढाईंले भने।
![](https://www.himalkhabar.com/uploads/editor/Disaster/flood%202080/Biring%20Pul.jpg)
पानीको वहावलाई परिवर्तन गरी जाली भर्ने काम भइरहेको नगरपालिकाले जनाएको छ।
२०६३ सालमा भारत सरकारको दुई करोड सहयोगमा पुल निर्माण गरिएको थियो। पुल निर्माणसँगै इलाम आवातजावत गर्ने बैकल्पिक बाटो सहज बनेको थियो।