तुलसीलाल अमात्यले जब एउटै प्रश्नकाे उत्तर २५ पेज लेखे
तुलसीलालले लेख्दै जाँदा पहिलो प्रश्नको उत्तरमै २५ पेज भरेछन्। पहिलो प्रश्नको उत्तर लेख्दैमा डेढ घण्टा बितिसकेको थियो। बाँकी रह्यो डेढ घण्टा।
ललितपुरको खानदानी अमात्य परिवारमा जन्मेका तुलसीलाल नेपाली कम्युनिस्ट आन्दोलनको एकजना शीर्षस्थ नेता थिए। नेपालका वामपन्थी नेताहरूमध्ये उनी पनि पहिलो पुस्ताका नेता थिए।
नेपाल कम्युनिस्ट पार्टीको तेस्रो महाधिवेशनबाट महासचिव निर्वाचित उनी ललितपुरबाट निर्वाचित सांसद समेत रहे। २०१५ सालमा भएको पहिलो आम निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टीका चार जना उम्मेदवार मात्र विजयी भएका थिए। ती निर्वाचित चारमध्ये उनी पनि एक थिए र उनलाई नेकपाको संसदीय दलको नेता बनाइएको थियो।
नेपालमा किसान आन्दोलन उठाउनुमा ठूलो भूमिका तुलसीलालकै नेतृत्वको थियो। रौतहट, बारा लगायत तराईका विभिन्न जिल्लामा गरीब किसानहरूकै घरमा बसेर रातदिन खटी उनले किसानहरूको संगठन गरेका थिए।
उनी नेपाल कम्युनिस्ट पार्टीले गठन गरेको अखिल नेपाल किसान संगठनका संस्थापक अध्यक्ष थिए र पटक पटक यो पदमा रहे। काठमाडौं उपत्यकामा किसानहरूबीच पार्टी संगठन विस्तारमा पनि उनको भूमिका थियो।
नेताहरूमध्ये तुलसीलाल स्वभावले अत्यन्त सरल र सहज स्वभावका मानिन्थे। खास गरेर सपरिवार बनारस, दरभंगा र दिल्लीमा बस्दा उनले भोग्नुपरेका आर्थिक कठिनाइ र अन्य अप्ठ्याराहरू कहालीलाग्दा थिए। पञ्चायती व्यवस्था र राजाको तानाशाही विरुद्ध उनले गरेको संघर्षका कथाहरूले अरूलाई पर्न संघर्षमा लाग्न प्रेरित गर्दथ्यो।
सरलता, सहजता र संघर्षशील जिन्दगी विशेषता थिए तुलसीलालका। जस्तोसुकै अप्ठ्यारो परिस्थितिलाई पनि सहजताका साथ ग्रहण गर्न सक्ने र आफ्नो सोझोपन लुकाउनै नसक्ने एउटा निश्छल बालक जस्तै लाग्थे उनी। तर थिए- संघर्ष, समर्पण र सरलताका प्रतिमूर्ति।
उनको सरलताको एउटा प्रसङ्ग रोचक छ। लखनउ विश्वविद्यालयमा अर्थशास्त्र लिएर उनी एमए तहमा अध्ययनरत थिए। पहिलो वर्षको परीक्षा आयो।
उनले आफ्ना सहपाठीसँग सोधेछन्, “एमएको जाँचमा कति पेज लेख्नुपर्ला?”
एउटाले ठट्टैठट्टामा फ्याट्ट भनिदियो, “एमएको जाँच हो कमसेकम २५ पेज त लेख्नैपर्ला नि!”
तुलसीलालले पत्याइहाले। तुलसीलाल जाँच दिन बसे। प्रश्नहरू जम्मा पाँच वटा थिए। दिमागमा २५ पेज भन्ने शब्दावली थियो नै। उनले लेख्दै जाँदा पहिलो प्रश्नको उत्तरमै २५ पेज भरेछन्। पहिलो प्रश्नको उत्तर लेख्दैमा डेढ घण्टा बितिसकेको थियो। बाँकी रह्यो डेढ घण्टा।
दोस्रो प्रश्नको जवाफ १२ पेज लेखे। एक घण्टा त्यसले खाइदियो। बाँकी रह्यो जम्मा आधा घण्टा। हतार हतारमा तेस्रो प्रश्नको उत्तर लेखिसक्दा समय सकियो। चौथो र पाचौं प्रश्नको उत्तर लेख्न समय नै बाँकी थिएन। उत्तर थाहा भए पनि लेख्न भ्याएनन्।
प्रथम वर्षको परीक्षा उनका लागि एउटा अनुभव भयो। दोस्रो वर्षमा पहिलो वर्षको परीक्षा दिंदाको अनुभवलाई ध्यानमा राखेर लेखे। पहिलो र दोस्रो वर्ष समेत गरी अन्तत: उनले दोस्रो श्रेणीमा २००१ सालमा एमए तह उत्तीर्ण गरे।
निरन्तर संघर्ष
२००१ सालमा अर्थशास्त्रमा एमए पास गरेपछि उनी नेपाल फर्के र नेपाल ब्यांकमा महीनाको १०० रुपैयाँ तलब पाउने गरी जागीरे भए। त्यो बेला त्यति तलब राम्रै मानिन्थ्यो। चार महीनापछि शाखा प्रमुखका रूपमा उनको बढुवा भयो।
तर, राजनीतिक रूपले सचेत तुलसीलाललाई जागीरे जीवन त्यति रुचिकर लागिरहेको थिएन। उनी तुलसीमेहरको प्रभावमा पर्दै र राणाशासन विरोधी हुँदै गएका थिए। जागीरे भएपछि उनको विवाह काठमाडौंको प्रतिष्ठित परिवारकी छोरी रत्नबाबा वैद्यसँग भयो।
ब्यांकमा जागीरे रहेकै अवस्थामा उनी राणा विरोधी जुलूसमा सहभागी हुन थाले। त्यस वेलासम्म उनी छोराका बाबु बनिसकेका थिए। उनको गतिविधिलाई नियालिरहेका राणा शासकले अन्तत: उनलाई पक्राउ गर्न लगाए र जेल हाले।
छोरा तीन वर्षको नपुग्दै उनकी श्रीमती रत्नबाबालाई ग्लान्ड टीबी रोगले सिकिस्त पार्यो। तुलसीलालका पिता पनि रोगले थला परेका थिए। उनी पक्राउ परेको तेस्रो दिनमै पिताको मृत्यु भयो। उनी कारागारमा रहेकै केही समयपछि श्रीमती रत्नबाबाको पनि देहान्त भयो।तुलसीलाल सानैमा आमा मरेर टुहुरो भए झैं भर्खरै तीन वर्ष पुगेका छोरा रवीन्द्र पनि टुहुरो बने।
जेलबाट छुटेपछि पनि उनको सक्रियता जारी नै रह्यो। आफैं बिरामी भएर भारतमा उपचार गर्न गएको वेला दिल्लीमा उनले मनमोहन अधिकारीबाट दादुराको महामारीमा परेर मामाघरमा बसेर पढिरहेको आफ्नो छोरो मृत्यु भएको खबर पाए। त्यो खबरले अत्यन्त आहत भए उनी। यो २००९ सालको घटना थियो र त्यस वेला उनी कम्युनिस्ट पार्टीमा लागिसकेका थिए र नेता बनिसकेका थिए।
२००६ भदौ ३० गते नेकपाको घोषणापत्र जारी गर्ने वेला उनी कलकत्ता (हाल कोलकाता)मा नै थिए। नेकपाको पुनर्गठित ६ सदस्यीय संगठन समितिका तुलसीलाल एक सदस्य बने। त्यसपछि उनी नेपालको वीरगन्ज नजिकै भारतीय सीमा क्षेत्र रक्सौलमा बसेर किसानहरूबीच संगठन गर्न थाले। यसैबीच उनलाई पक्राउ गरेर भारतको भागलपुर र मोतीहारी जेलमा आठ महीना बन्दी बनाइयो। त्यहाँबाट छुटेपछि उनी स्वदेश फर्के।
२००८ असोज ११ देखि १६ सम्म कलकत्तामा नेपाल कम्युनिस्ट पार्टीको पहिलो सम्मेलन भयो। त्यो सम्मेलनले पुष्पलाललाई संगठन कमिटीको महासचिव चुन्यो भने तुलसीलाललाई पोलिटब्यूरोको सदस्य बनायो।
२०१७ पुस १ गते राजा महेन्द्रले संसद् विघटन गरी शासन हातमा लिएपछि तुलसीलाल, पुष्पलाल लगायतका नेताहरू भूमिगत भए। भूमिगत भएको बीसौं दिनपछि पुष्पलाल, तुलसीलाल र नरबहादुर कर्माचार्य लुभुका राम दाइ भन्ने कार्यकर्तालाई साथमा लिएर सात दिन हिंडेर रौतहट पुगे।
रौतहटमा एक जना अमिन नाम गरेका कार्यकर्ताको घरमा रात बिताएर भोलिपल्ट बिहान रक्सौल हुँदै दरभंगातर्फ लागे। यसपछि पुष्पलाल र तुलसीलालका प्रवासका कठिन दिनहरूको फेरि शुरूआत भयो। राजा महेन्द्रले विभिन्न राजनीतिक नेताहरूको सर्वस्वहरण गरे जसमा तुलसीलालको घर-सम्पत्ति पनि पर्यो।
पहिली श्रीमती बितेपछि तुलसीलालले फेरि विवाह गरेका थिए। दोस्री श्रीमती कमला राजभण्डारीबाट तुलसीलाललाई जीवनभर साथ मिल्यो। भारतको निर्वासनकालमा कहिले मजदूरी गरेर त कहिले कपडा सिलाएर तुलसीलालको खर्च चलाउने काम समेत कमला राजभण्डारीबाट भयो। दरभंगामा उनले बेहोर्नुपरेको कठिनाइ देखेर साथीहरूले उनलाई दिल्ली लगे तर त्यहाँ पनि जीवन कष्टकर नै रह्यो।
पार्टीमा विवाद र विभाजन बढ्दै थियो। त्यस्तै, विवाद र बहसबीच भएको तेस्रो महाधिवेशनले तुलसीलाललाई महासचिव बनायो। तर पनि, विवाद र विभाजन बढ्दै गयो। तुलसीलालका दु:खका दिनहरू जारी नै रहे। जस्तै दु:खका अघि पनि तुलसीलालले पाइला पछि सारेनन् र संघर्षमा जोड दिई नै रहे।
मानार्थ अध्यक्ष र आन्दोलनकारी
२०३६ सालको आन्दोलन र जनमत संग्रहको घोषणापछि राजनीतिक वातावरण केही खुकुलो जस्तो भए पनि जनमत संग्रहमा बहुदल पक्षलाई धाँधली गरेर हराएपछि निरङ्कुशता बढ्दै गएको थियो। नेपाली कांग्रेसले २०४२ सालमा शुरू गरेको सत्याग्रह पनि अपेक्षित रूपमा सफल हुन सकेन। कांग्रेस एक्लैले लोकतन्त्र ल्याउन सक्दैन भन्ने पुष्टि भएपछि वामपन्थीहरूले दिंदै आएको संयुक्त जनआन्दोलनको नीतिको पक्षमा जनमत निरन्तर बढिरहेको थियो।
भित्र भित्र भइरहेको वार्तालाई व्यावहारिक रूप दिन र संयुक्त जनआन्दोलन अघि बढाउन संयुक्त वाममोर्चा गठन भयो। सहाना प्रधान अध्यक्ष र तुलसीलाल अमात्यलाई मानार्थ अध्यक्ष बनाइयो। २०४६ फागुन ७ गतेकै दिन आन्दोलन शुरू गर्ने घोषणा अनुरूप विभिन्न स्थानमा जुलूसहरू प्रदर्शन भए। तुलसीलाल अमात्यको नेतृत्वमा न्यूरोडबाट जुलूस निस्क्यो। म लगायत साथीहरू पनि पछि पछि थियौं।
जाडो केही बाँकी नै रहेकाले तुलसीलालको शिरमा बाक्लो ऊनी टोपी र काँधमा कपडाको एउटा ठूलो झोला थियो। प्रहरीसँग मुठभेड हुन थालेपछि हामीले पनि उनलाई तान्न र लुकाउन खोज्यौं तर तुलसीलालले स्पष्ट शब्दमा ‘मैले गिरफ्तारी दिने हो, टाउकोमा ऊनी टोपी लगाएको जेलमा जाडोबाट बच्न हो, जेलमा फेर्नका लागि चाहिने केही थपडा र अन्य सामान झोलामा छ’ भनेपछि नारा लगाउँदै गल्लीतिर लाग्यौं। पार्टीको झण्डा फहराउँदै अघि बढेका तुलसीलाललाई त्यसपछि प्रहरीले गिरफ्तार गर्यो।
२०४६ सालको जनआन्दोलनको सफलतापछि तुलसीलाल सहित आन्दोलनकारीहरू सबै जेलबाट रिहा भए। तुलसीलाल र उनको पार्टी एकता प्रक्रिया पूरा गरेर नेकपा (एमाले)मै समाहित भयो। २०५१ सालको मध्यावधि निर्वाचनपछि बनेको नेकपा (एमाले)को सरकारले उनलाई चीनका लागि नेपालका राजदूतको रूपमा नियुक्त गर्यो।
शान्त र सौम्य व्यक्तित्व
तुलसीलाल स्वभावैले सरल र सहज थिए भने उनको व्यक्तित्व पनि शान्त र सौम्य थियो। अध्ययनशील व्यक्ति र राम्रो वक्ताका रूपमा उनको तारीफ २०१५ सालको संसद्का सभामुख रहेका पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले समेत गरेका थिए। २०१५ सालको संसद्का एक जना प्रभावशाली सांसदका रूपमा तुलसीलालको गणना हुन्थ्यो।
तुलसीलाल बुद्धको व्यक्तित्वबाट प्रभावित थिए र उनले बौद्ध साहित्यको समेत अध्ययन गरेका थिए। उनले बुद्ध, बुद्धत्व र बुद्ध दर्शन पुस्तक नै लेखेका छन्। त्यस्तै, आफ्नो राजनीतिक जीवन र घटनाक्रमलाई सम्झँदै उनले संस्मरणका पानाहरू पुस्तक पनि लेखेका छन्। तुलसीलाल अमात्य: एक आदर्श व्यक्तित्व शीर्षकमा उनको जीवनी पनि प्रकाशित छ।
साउन १७ गते उनको स्मृति दिवस पर्छ। यसपल्ट उनको २६औं स्मृति दिवस मनाइँदै छ।
तुलसीलाल अमात्यबाट नेपालका राजनीतिकर्मीहरूले धेरै कुरा सिक्न सक्छन्। तडकभडकबाट टाढा बसेर सामान्य, शान्त र सरल जीवन जिउने, निरन्तर र जीवनभर अध्ययनशील रहने तथा जस्तोसुकै दु:खमा पनि धैर्य नगुमाएर आफ्नो लक्ष्यप्रति समर्पित रहने उनको विशेषता थियो। यस्तो गुण र विशेषता अचेल हत्तपत्त देखिंदैन। तुलसीलालका यी गुणहरूलाई बुझ्न र जीवनमा उतार्न सक्यौं भने उनीप्रति सच्चा श्रद्धाञ्जली अर्पण गरेको ठहर्छ।
(प्रतिनिधि सभा सदस्य पन्त एमाले स्थायी कमिटी सदस्य हुन)