डेंगी फैलिएपछि धरानमा एक दिन विद्यालय बन्द
_1690892167.jpg)
डेंगी नियन्त्रण गर्न धरान उपमहानगरपालिकाले एक दिन विद्यालय बिदा गरेर शिक्षक, विद्यार्थी र कर्मचारी परिचालन गर्ने निर्णय गरेको छ।
डेंगी नियन्त्रणका लागि उपमहानगरपालिकाले प्रभावकारी काम गर्न नसकेको भनेर चौतर्फी आलोचना भएपछि मंगलबार बसेको कार्यपालिकाको आकस्मिक बैठकले साउन १७ गते बुधबार एक दिन धरानका सबै विद्यालय बिदा गरेर लामखुट्टेको लार्भा खोजी र नष्ट गर्ने अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।
कार्यपालिका बैठकपछि उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मात्रिका भट्टराईले विज्ञप्ति जारी गर्दै डेंगी फैलाउने एडिज एजिप्टाई जातको लामखुट्टे टायरहरू, ड्रम, बाल्टिन, फूलदानी, गमला, कूलर, बिर्को नभएका पानीका ट्याङ्कीहरूमा पर्याप्त मात्रामा पाइने भएकाले यसले फुल पार्ने स्थानहरूको खोजी तथा नष्ट गर्न व्यापक रूपमा अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए। उनले धरानका सामुदायिक तथा संस्थागत सबै प्रकारका विद्यालयका शिक्षक, विद्यार्थीका साथै टोलविकास संस्था, टोलवासी सबैलाई परिचालन गरिने बताए।
उपमहानगरपालिकाको शिक्षा महाशाखा प्रमुख गणेशप्रसाद खतिवडाले धरानमा डेंगीका कारण विद्यार्थी, शिक्षक र कर्मचारीहरू समेत बिरामी परेको र विद्यार्थीहरूमा आँखा पाक्ने रोग पनि फैलिएको देखिएकाले एक दिन विद्यालय बिदा गरेर सबैलाई सरसफाइ र डेंगी नियन्त्रणमा परिचालन गर्न लागिएको बताए।
डेंगीका कारण धरानमा हालसम्म आठ जनाको ज्यान गइसकेको छ भने हजारौं संक्रमित भइसकेका छन्।