तुलसीपुरमा ७३ वर्षीया वृद्धा बलात्कृत, दुई जना पक्राउ
![तुलसीपुरमा ७३ वर्षीया वृद्धा बलात्कृत, दुई जना पक्राउ](https://www.himalkhabar.com/uploads/posts/800X600/arrest_1597632505.jpg)
उपचारका लागि प्यूठानबाट तुलसीपुर आएकी वृद्धालाई गाडीकै स्टाफले बलात्कार गरेका हुन्।
दाङको तुलसीपुरस्थित बसपार्कमा एक ७३ वर्षीया वृद्धामाथि बलात्कार भएको छ। गएराति करीब साढे १२ बजे बसपार्कमा पार्क गरी राखिएको ना४ख ७८४८ नम्बरको बसभित्र ती वृद्धामाथि सामूहिक बलात्कार भएको हो।
घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा तुलसीपुर-१५ का पुष्कर रोका र सल्यानका रेशम विक रहेको इलाका प्रहरी कार्यालय, तुलसीपुरका प्रमुख पुष्पराज मल्लले जानकारी दिए। रोका र विकलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको मल्लले जानकारी दिए।
उपचारका लागि प्यूठानबाट तुलसीपुर आएकी वृद्धालाई ७८४८ नम्बरकै गाडीका स्टाफले बलात्कार गरेको मल्लले बताए।