हेटौंडा-काठमाडौं मार्गको अवरोध हट्यो, निर्माणले गति लिंदै

हेटौंडा-काठमाडौं जोड्ने छोटो मार्ग भैंसे-भीमफेदी सडक निर्माणमा देखिएको अवरोध हटेको छ भने अब निर्माण कार्यले गति लिन थालेको छ।
क्षतिपूर्ति र मुआब्जा विवादका कारण चार वर्षदेखि निर्माण रोकिएको थियो। यो सडकखण्डमा पर्ने भीमफेदी गाउँपालिकाका वडा नं. ४ र ६ मा सडक दायाँबायाँका घर/जग्गाधनीले राहत र क्षतिपूर्तिको माग गर्दै विरोध जनाइरहेका थिए।
घर/जग्गाधनीले राहत, मुआब्जा र क्षतिपूर्ति माग गर्दै सडक विस्तार गर्न दिएका थिएनन्। बागमती प्रदेश सरकारले राहत र क्षतिपूर्ति दिन शुरू गरेपछि सडक विस्तारको कामले निरन्तरता पाएको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात पूर्वाधार निर्देशनालय, हेटौंडाले जनाएको छ।
प्रदेश सरकारले सडकलाई १० मिटर चौडा गर्ने क्रममा घरजग्गा लगायत संरचना हटाउँदा राहत र क्षतिपूर्ति दिन आर्थिक वर्ष २०७७/७८ मा बजेट विनियोजन गरेको थियो। तर, कार्यविधिको अभावमा राहत र क्षतिपूर्ति बापत रकम दिन सकेको थिएन। अहिले प्रदेश सरकारले निजी जग्गाको क्षतिपूर्ति दिन कार्यविधि बनाएसँगै राहत र क्षतिपूर्ति बापत रकम दिने निर्णय गरेको हो।
भैंसे-भीमफेदी-कुलेखानी सडकखण्डलाई दुई खण्डमा विभाजन गरी सडक स्तरोन्नतिको काम शुरू गरिएको थियो। भीमफेदी-कुलेखानी सडकखण्डको काम पूरा भएको छ। भीमफेदी गाउँपालिका वडा नंं ४ र ६ का सडक क्षेत्रको दायाँबायाँका घरजग्गाको राहत र क्षतिपूर्ति विवादका कारण भैंसे-भीमफेदी सडकखण्डका विभिन्न स्थानमा काम रोकिंदै आएको थियो।
भैंसे-भीमफेदी सडकखण्डमा पर्ने ऐलानी जग्गामा घर बनाएर बस्दै आएका २२ परिवारलाई राहत र क्षतिपूर्ति दिन रकम निकासा गरिसकिएको यातायात पूर्वाधार निर्देशनालयका प्रवक्ता हरिप्रसाद ओझाले बताए। “सार्वजनिक जग्गामा घर बनाएर बसेका स्थानीयसँग भएको सहमति अनुसार संरचना हटाएसँगै सडक स्तरोन्नतिको काम शुरू भएको छ। राहत रकम वितरण गर्न २२ लाख दुई हजार रुपैयाँ निकासा भएको छ, वडा मार्फत वितरण हुनेछ,” ओझाले भने।
यो सडकखण्डको दायाँ-बायाँ ३८ वटा निजी घरजग्गा परेका छन्। जसमध्ये १४ वटा धनीले क्षतिपूर्ति बापतको रकमका लागि सम्झौता गरेका छन्। उनीहरूलाई क्षतिपूर्ति दिन ४२ लाख ३६ हजार रुपैयाँ भुक्तानी गरिएको छ।
क्षतिपूर्ति कार्यविधि अनुसार घर लगायतका संरचना हटाउन सम्झौताको समयमा २० प्रतिशत र संरचना हटाइसकेपछि बाँकी रकम भुक्तानी दिने व्यवस्था रहेको छ। प्रदेश सरकारले भैंसे-भीमफेदी सडकखण्डमा पर्ने निजी घर/जग्गाधनीलाई क्षतिपूर्ति प्रदान गर्न एक करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ।
भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले वर्षौंदेखि बसोबास गर्दै आएको स्थानबाट स्थानीय बासिन्दा विस्थापित मात्र होइन घरबारविहीन हुने अवस्था आएपछि राहत, क्षतिपूर्ति र मुआब्जाका लागि पहल गरिएको बताए। राहत र क्षतिपूर्ति दिन शुरू गरेसँगै सडक विस्तारको काम थालिएको अध्यक्ष लामाले बताए।
“अझै केही घर/जग्गाधनीले क्षतिपूर्ति रकम कम भएको भनिरहेका छन्, तैपनि अधिकांश स्थानमा अवरोध हटेको छ, धमाधम काम भइरहेको छ,” अध्यक्ष लामाले भने।
यो सडकखण्डमा हालसम्म ११.५ किमी सडकको ६५ प्रतिशत काम सकिएको छ। क्षतिपूर्ति दिन बाँकी क्षेत्र बाहेक सडक चौडा गर्ने काम ९५ प्रतिशत सकिएको निर्देशनालयले जनाएको छ। आगामी चैतसम्म निर्माण सक्ने गरी ३८ करोड ७८ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको छ।