सारसलाई सकस

सिमसार क्षेत्रको अतिक्रमण र शहरीकरणसँगै संख्या घट्दै गए पनि लुम्बिनी क्षेत्रमा भने बुद्ध कथाका सारस सजिलै देख्न सकिन्छ।
सिद्धार्थ गौतम एक दिन बगैंचामा टहलिरहेका हुन्छन्। त्यति वेलै वाण लागेर छटपटिएको उड्ने हाँस उनीछेउ खस्छ। हाँसको शरीरमा लागेको वाण झिकेर स्याहारसुसार गरिरहेकै वेला उनका काकाका छोरा देवदत्त आएर शिकार भएको जिकिर गर्दै आफूलाई दिन आग्रह गर्छन्। सिद्धार्थ भने देवदत्तलाई हाँस दिन मान्दैनन्।
हाँसको स्वामित्वबारे उनीहरूको विवाद चर्किएर राजाको कचहरीमा पुग्छ। बुबा राजा शुद्धोधनले शिकार गरेर ज्यान लिनुभन्दा ज्यान जोगाउनु ‘ठूलो कर्म भएको’ तर्क गर्दै हाँस सिद्धार्थले राख्न पाउने फैसला गरिदिन्छन्।
त्यसपछि सिद्धार्थ गौतम हाँसलाई मल्हमपट्टी लगाउँछन्। त्यसलाई निको पारेर केही दिनमा जङ्गलमा छोडिदिन्छन्। बुद्ध कथाहरूमा पाइने यो किंवदन्तीमा उल्लिखित ‘उड्ने हाँस’ लुम्बिनी क्षेत्रमा पाइने सारस भएको विज्ञहरूको भनाइ छ।
सारस उडान। तस्वीर: चुङ्बा शेर्पा/डीनएपीडब्लुसी एक्सन प्लानअहिले भने सारस बचाउने सिद्धार्थहरू कमै छन्। जसले गर्दा सारसको संख्या घट्दै गएको एक अध्ययनले देखाएको छ। “सारस संरक्षणमा गम्भीर नहुने हो भने यो सङ्कटापन्न हुन पुग्ने देखिन्छ,” अनुसन्धानकर्मी हेम कटुवाल भन्छन्।
सारस लुम्बिनी क्षेत्र तथा नेपालको होचो इलाकामा सदियौंदेखि पाइने चरा हो। ठूलो शरीर र तौलका कारण सारस ४०-५० फिट हाराहारीमा मात्रै उड्छ, जुन उचाइमा वाण प्रहार गर्न सकिन्छ।
त्यति वेला वाण प्रहार गरेर मार्ने गरिएको थियो, अहिले भन्ने थुप्रै कारणले सारसको संख्या घटिरहेको अध्ययनले देखाएको छ। इन्टरन्याशनल क्रेन फाउन्डेशन र विश्व वन्यजन्तु कोष नेपालको आर्थिक सहयोगमा नेपाल जूलोजिकल सोसाइटी र त्रिभुवन विश्वविद्यालयको प्राणीशास्त्र केन्द्रीय विभागले अध्ययन गरेको हो। अध्ययन अनुसार अहिले देशभर ६९० सारस छन्।
प्राणीशास्त्र केन्द्रीय विभागका सहप्राध्यापक हरि शर्मा वैशाख र जेठमा गरिएको अध्ययन प्रतिकूल मौसममा भए पनि प्राप्त निष्कर्षले उत्साहित बनाएको बताउँछन्। “गर्मी र सुक्खा मौसममा गरिएको अध्ययनले निराश बनाउने त होइन भन्ने डर थियो, तर प्राप्त परिणामले हामी उत्साहित छौं,” शर्मा भन्छन्, “सुक्खा मौसममा त यो संख्यामा सारस रहेको पत्ता लगाउन सक्यौं भने बर्खाको वेला त संख्या पक्कै बढ्छ।”
जोडी सारस। तस्वीर: सागर गिरी/डीनएपीडब्लुसीबृहत् लुम्बिनी क्षेत्र र अन्य जिल्लामा सारसको वितरण, संख्या, वस्तुस्थितिबारे अनुसन्धान गरिएको अध्ययनमा सहभागी चराविज्ञ कटुवाल बताउँछन्। मानवीय क्रियाकलापले जैविक विविधता ह्रास हुँदै जाँदा संरक्षण चुनौतीपूर्ण बन्दै गएको बताउँदै कटुवाल भन्छन्, “बढ्दो शहरीकरण संरक्षणको मुख्य समस्या बन्दै गएको देखियो। यसले चराहरू सङ्कटमा देखिन्छन्।”
चरा जोगाउन नेपालमा मात्रै होइन, संसारभरि नै चुनौतीपूर्ण बन्दै गएको छ। विश्वमा पाइने कुल पन्छी प्रजातिमा झन्डै १४ प्रतिशत विश्वव्यापी जोखिममा रहेको उनी बताउँछन्। यसमा एशियाका चराको बाहुल्य रहेको उनको भनाइ छ।
यसरी जोखिममा रहेका चरामा ठूला आकारका र खेतबारीमा बस्ने अधिक छन्। “सारस पनि त्यही वर्गमा पर्ने हुँदा जोखिममा छ,” कटुवाल भन्छन्, “मिचाहा वनस्पति प्रजातिले पनि सारसको वासस्थानलाई साँघुरो पार्ने र तिनको आहार ढाकिदिने चुनौती छ।”
कहाँ कहाँ भेटिए सारस?
विश्वमा पाइने १५ प्रजातिमध्ये नेपालमा चार प्रजातिका सारस पाइन्छन्। जसमा सारस, कर्याङकुरुङ सारस, लक्ष्मण सारस र कालीकण्ठ सारस छन्। कर्याङकुरुङ, लक्ष्मण र कालीकण्ठ सारस हिउँदे आगन्तुक हुन्। यी सारस हिउँदमा उत्तरी ध्रुवबाट बसाइँसराइ गरेर नेपाल हुँदै दक्षिणीतिर लाग्छन् भने केही यहीं बस्छन्।
सारस (ग्रुस एन्टिगन) भने नेपालको रैथाने प्रजाति हो। यो प्रजाति संवेदनशील (भलनरेबल) अवस्थामा छ। चराविज्ञ कटुवालका अनुसार अहिलेको अध्ययन रैथाने सारसमा मात्र केन्द्रित थियो।
९३ ब्लकमा १४ वटा टोलीले सर्भे गरेका हुन्। बृहत् लुम्बिनी क्षेत्रमा १०, कपिलवस्तुमा दुई, जगदीशपुर तालमा एक, बजाहा तालमा एक, रुपन्देहीमा सात र नवलपरासीमा एक ‘रुस्टिङ साइट’ पहिचान गरिएको जनाइएको छ। जगदीशपुरमा १६३ सारस पाइए भने बझाहा तालको आसपास २७ वटा सारस देखिए। “यो समयमा खोलाहरू सुक्ने हुँदा चराहरू अझ दक्षिणतिर जान्छन्। गएको हिउँदमा यही बझाहा तालमा १०० भन्दा बढी सारस पाइएका थिए। अहिले पानी सुकेको वेला पनि २७ वटा देखिए,” कटुवालले भने।
आफ्नै धुनमा सारस। तस्वीर: चुङ्बा शेर्पा/डीनएपीडब्लुसी एक्सन प्लानत्यस्तै, रुपन्देहीमा सात वटा ‘रुस्टिङ साइट’ मा ३१० वटा, विष्णुपुरा गैडहवा ताल आसपासमा ५० वटा र परासीको नन्दन तालमा २३ वटा सारस देखिएका छन्। समग्रमा कपिलवस्तुमा २००, रुपन्देहीमा ३८२ र परासीमा ७० सारस पाइएका छन्।
अन्य जिल्लामा पनि सारस देखिएका छन्। बाँकेमा २० वटा ब्लकमा ३३ वटा सारस भेटिएको उनले बताए। कञ्चनपुरमा ‘अपरचुनिस्टिक सर्भे’ गर्दा बेलडाडी क्षेत्रमा पाँच वटा भेटिएका छन्। कैलालीको पुरनिया ताल र बर्दिया तालमा सारस देखिने गरे पनि यस पटक भने भेटिएनन्। अन्य जिल्लामा पनि यो समयमा सारस नदेखिएको जनाइएको छ।
‘हट स्पट’ मा पनि हराउँदै
नेपालका नौ वटा संरक्षित पन्छीमा सारस पनि पर्छ। यो पन्छी मध्य नेपालको चितवनदेखि कञ्चनपुरसम्म पाइएको अभिलेख छ। नेपालमा प्रायः ३०० मिटरको उचाइमा सारस पाइएको छ।
सारस संरक्षणका लागि लुम्बिनी विकास क्षेत्रमा सारस संरक्षण क्षेत्र पनि बनाइएको छ। लुम्बिनी-सांस्कृतिक नगरपालिकाले सारसलाई नगरपन्छी घोषणा गरेको छ। “पहिले तराईका सम्पूर्ण क्षेत्रमा सारस पाइन्थ्यो भनिए पनि पछिल्ला अध्ययनहरूमा पूर्वी क्षेत्रमा सारस देखिएका छैनन्,” कटुवाल भन्छन्।
अहिलेसम्मको अध्ययनको समीक्षा गर्दा लुम्बिनी र कपिलवस्तुमा सारसबारे बढी अध्ययन भएका छन्। यो क्षेत्रमा बढी सारस पाइने हुँदा प्राथमिकतामा राखेर अध्ययन भएको उनी बताउँछन्। “सारस सिमसारमा बस्ने पन्छी हो भन्ने मान्यता थियो। तर, अहिले भएका अनुसन्धानले यसले सिमसारभन्दा बढी खेतबारीमा बच्चा कोरल्ने गरेको रहेछ,” उनी भन्छन्।
घाइते सारसको उद्दार गरिँदै। तस्वीर: डीनएपीडब्लुसी एक्सन प्लानलुम्बिनीमा तीन वटा आईबीए (इम्पोर्टेन्ट बर्ड एन्ड बायोडाइभर्सिटी एरिया) छन्। यसमा कपिलवस्तुको खेती क्षेत्र, लुम्बिनीको खेती गरिने स्थान र जगदीशपुर ताल तथा देवदह पर्छन्। अहिलेसम्म यही क्षेत्रमा सारसबारे अधिक अध्ययन भएका छन्। सन् १९९६ देखि २०१६ सम्म गरिएका अध्ययनमा सारसको संख्या बढेको देखिन्छ। चराविज्ञ कटुवाल भने सारस पाइने सम्भावित सबै ठाउँमा अध्ययन गर्दा त्यसको संख्या बढेको देखिएको बताउँछन्। विगतमा विस्तृत र व्यापक अध्ययन नभएकाले यस्तो देखिएको उनको भनाइ छ।
यसअघि सारसको यकीन तथ्याङ्क थिएन। यद्यपि भएका अध्ययनका आधारमा ४०० देखि ७०० सारस होलान् भन्ने अनुमान थियो। त्यही भएर पनि एउटा बृहत् अध्ययन गर्नुपरेको सहप्राध्यापक शर्मा बताउँछन्।
अहिले लुम्बिनी क्षेत्रमा पूर्वाधार निर्माणको काम अत्यधिक चलिरहेको छ। यो निर्माण कार्य आगामी दिनमा अझ बढ्ने देखिन्छ। यसको सोझो असर सारसको वासस्थानमा पर्ने शर्मा बताउँछन्। नवनिर्माणले सारसको वासस्थान साँघुरिंदै जानेछ।
सारस जोगाउन सकस
अध्ययन सारसको प्रजनन समयअघिको जेठ महीनामा गरिएको थियो। यो समयमा अत्यधिक गर्मी हुने हुँदा पानीको स्रोत (वाटर होल) सुक्खा थिए। यस्तै, लुम्बिनीमा गहुँ-धान काटिसकेपछि खेतमा आगो लगाउने चलनले पनि खेतमा सारसलाई आहारको कमी हुन्छ। “त्यसैले यो समयमा सारस खेतमा उति बस्दैनन्। सकेसम्म पानीका स्रोत नजिक बस्छन्,” कटुवाल भन्छन्।
अध्ययनको मुख्य क्षेत्र बृहत् लुम्बिनी क्षेत्र थियो। कपिलवस्तु, रुपन्देही तथा परासी सहितको यो क्षेत्रलाई सारसको ‘हट स्पट’ मानिन्छ। तीन वटै जिल्लामा पाँच वर्ग किलोमिटरको एउटा ब्लक बनाइएको थियो। त्यो ब्लकमा वन क्षेत्रलाई समावेश गरिएको थिएन, किनभने नेपालको सारसले जङ्गल उपयोग गरेको पाइएको छैन। “म्यानमारमा पाइने सारसले वनभित्रका सिमसार क्षेत्र उपयोग गरेको पाइएको छ। नेपालको सारस वन क्षेत्रमा जाने गरेको छैन,” उनी भन्छन्।
कति अग्लो सारस। तस्वीर: दीक्पाल कर्माचार्य/डीनएपीडब्लुसीअध्ययनमा सिमसार क्षेत्रको अतिक्रमण र शहरीकरणले सारसलाई प्रभावित पारेको देखिएको छ। सिमसारको क्षेत्र बढ्दा सारसको संख्या बढ्दै जाने तर शहरीकरण बढ्दै जाँदा सारसको संख्या घट्दै जाने देखिन्छ। त्यसैले पानीको स्रोतको दिगो व्यवस्थापन गर्नुपर्ने उनी बताउँछन्। “यदि पानी नभएको ठाउँ छ भने कृषि सिमसार क्षेत्र बनाएर सारस संरक्षण गर्न सकिन्छ। सिमसार वा पानीको क्षेत्र कृषि र प्राणी दुवैका लागि उपयोग हुन सक्छ,” कटुवालको बुझाइ छ।
अध्ययनका क्रममा ४०० भन्दा बढी स्थानीय बासिन्दासँग कुराकानी गर्दा सबैले सारसलाई चिनेको बताएका थिए। सबैले यसलाई सारस वा सरहंस भनेका थिए। अन्य चराबारे अध्ययन गर्दा फोटो देखाए पनि धेरैले नचिन्ने गरेको उनी सुनाउँछन्।
स्थानीय बासिन्दाले सारस खेतबारीमा आउनुलाई राम्रो सङ्केत मान्ने गरेका छन्। उनीहरूले सारसबाट कुनै अप्ठ्यारो, असजिलो महसूस गरेको नपाइएको उनी बताउँछन्।
रैथाने समुदायले सारसलाई मार्दैन, त्यसैले पनि सारस त्यो क्षेत्रमा जोगिएको हुन सक्ने तर्क विज्ञहरूको छ। बसाइँसराइ गरी गएका नयाँ समुदायका मान्छेले भने सारसलाई मार्ने गरेको पाइएको छ। यद्यपि सारस मार्नु गैरकानूनी हो। नेपालको संरक्षित पन्छी सारसलाई हानि पुर्याउने, मार्ने, अन्डा नष्ट गर्ने वा व्यापार गर्ने कार्य गैरकानूनी मानिएको छ। यस्तो काम गर्ने वा गराउनेलाई १५ हजारदेखि ३० हजार रुपैयाँसम्म जरीवाना वा तीनदेखि नौ महीनासम्म कैद सजाय वा दुवै सजाय हुन सक्ने व्यवस्था छ।
विद्युतीकरणले पनि सारसलाई जोखिम बढाइरहेको छ। सारस अग्लो चरा भएकाले धेरै उचाइमा उड्न सक्दैन। “यो हाई अल्टिच्यूडमा उड्दैन, लो अल्टिच्यूडमा उड्दा धेरै पर जाँदैन,” कटुवाल भन्छन्, “त्यही भएर यिनीहरू बिजुलीको हाइटेन्सन लाइनमा ठोक्किन पुग्छन्।”
बितेको १२ वर्षको अवधिमा ४२ वटा सारस बिजुलको तारमा ठोक्किएर, करेन्ट लागेर मरेको पाइएको छ। जति पनि विद्युतीय प्रसारण लाइन छन् ती सबै खेतबारी हुँदै गएका छन्। विद्युतीय प्रसारण लाइनकै वरिपरि सारसको गुँड हुँदा जोखिम बढेको अध्ययनमा देखिएको छ।
धान खेतमा सारसको जोडी। तस्वीर: चुङ्बा शेर्पा/डीनएपीडब्लुसी एक्सन प्लानकेही अघि स्नातकोत्तर तहको शोधमा सरस्वती थापाले गरेको अध्ययनमा पनि सारसको गुँड नजिकै भएको विद्युतीय प्रसारण लाइनमा सारसलाई करेन्ट लाग्ने वा तारमा ठोक्किने दर बढिरहेको पाइएको थियो। “यसलाई प्राथमिकतामा राखेर काम गरेको देखिएको छैन। त्यसकारण बिजुलीको तारबाट सारसलाई जोगाउन चुनौती छ,” कटुवाल भन्छन्।
सारसको वासस्थान भएको क्षेत्र नेपाल-भारत सीमामा छ। कति सारस भारततिर गइरहेका हुन्छन्। नेपालसँगै भारतमा पनि संरक्षण अभियान चलाउनुपर्ने अध्ययनमा देखिएको छ। “हामीले सारसलाई रैथाने चरा भने पनि यसको ट्रान्स-बाउन्ड्री मुभमेन्टबारे जानकारी नुहँदा कति परसम्म जान्छ भन्ने थाहा छैन। “नन ब्रीडिङ टाइममा त्यसको होम रेन्ज कति हो भन्ने अझै थाहा छैन। त्यही भएर पनि ट्यागिङ स्टडी गर्नुपर्ने देखिन्छ,” उनी भन्छन्।
नेपालका सारसविज्ञ तथा विश्व वन्यजन्तु कोषसँग आबद्ध संरक्षणकर्मी राजेन्द्र सुवाल छाडा कुकुरले अन्डा लगिदिंदा सारस संरक्षणमा सकस देखिएको बताउँछन्। किशोरावस्थाका बालबालिकाले पनि सारसका अन्डा चोरेर लग्ने गरेको पाइएको छ। त्यसैले सारस जोगाउन स्थानीय बालबालिकालाई दिइने संरक्षण शिक्षा सघन बनाउनुपर्ने सुवालको तर्क छ। उनी भन्छन्, “यति हुँदाहुँदै पनि परासीमा देखिएको सारसको संख्या निश्चय नै उत्साहप्रद कुरा हो।”
वासस्थान विनाश बाहेक चोरी शिकारी अर्को चुनौती हो। अध्ययनले सारसको अवस्थाबारे निरन्तर अनुगमन र अध्ययन गर्नुपर्ने देखाएको छ।
कस्तो हुन्छ सारस?
सारस विश्वकै अग्लो चरा/पन्छी हो, जुन उड्न सक्छ। यसको शरीर हल्का खैरो रङको हुन्छ। टाउको र घाँटीमा रातो रङको पट्टी जस्तो टाटा हुन्छ। खुट्टा गुलाबी रङको हुन्छ।

सारस शब्द संस्कृतको सारस (तालको पन्छी)बाट आएको हो। उभिंदा यसको उचाइ झन्डै दुई मिटर हुन्छ र यसले दुई वटा पखेंटा फिजाउँदा झन्डै तीन मिटरको ठाउँ लिन्छ। यसको तौल ६ देखि १२ केजीसम्म हुन्छ। यो सर्वभक्षी (ओम्निभर) प्रजाति हो, यसले वनस्पति (बीउबीजन र तिनका जरा) र कीराफट्याङ्ग्रा-गँड्यौला खान्छ।
सारस तीन-चार वर्षमा प्रजननयोग्य हुन्छ र यसले वर्षायाममा बच्चा कोरल्ने गर्छ। यसले घाँसका त्यान्द्रा, जरा, नर्कटको साना डाँठ बटुलेर सिमसार क्षेत्र र खेतबारी गुँड बनाउँछ। प्रायः एउटा गुँडमा एक-दुई वटा अन्डा पार्छ। भाले र पोथी दुवै ओथारो बस्ने गर्छन् र करीब ३०-३२ दिनको ओथारोपछि चल्ला कोरल्छन्। चल्ला ६ महीनासम्म माउसँगै रहन्छ र त्यसपछि अन्य सारसको झुन्डमा बस्न थाल्छ। त्यही झुन्डमा एउटा जोडी खोजेर आजीवन दुई सारस सँगै बस्छन्। सारसको आयु चिडियाखानामा ४० वर्षसम्म अभिलेख गरिएको छ।
स्थानीयको बुझाइमा गर्मी समयमा सारस खेतमा आउनु पानी पर्न लागेको जनाउ हो। त्यस्तै, सिमसारमा सारस देखिनु स्वस्थ्य सिमसारको सङ्केत हो। यससँगै सारसलाई गहिरो प्रेमको सङ्केतका रूपमा पनि लिने गरिन्छ, सारसको जोडी जस्तै हुनु भन्ने आशीर्वाद नवविवाहितालाई दिने प्रचलन अद्यापि कायमै छ।