व्यक्तित्व शनिबार, साउन ११, २०७६

जीतबहादुरको पदक र मेरो आँसु

गोपाल गडतौला

एथ्लेटिक्समा ऐतिहासिक पदक दिलाएका पूर्व मुख्य प्रशिक्षक मधुशमशेर जबरा (८०) दौडलाई हरेक खेलको मेरुदण्डको रूपमा लिनुपर्ने सुझाउँछन्।

ललितपुर, कुपण्डोलस्थित चौरङ्गी हाउसमा मधुशमशेर जबरा ।

भारतको गोरखपुरस्थित गोरखपुर हाईस्कूल (हालको महात्मा गान्धी इन्टर कलेज), जहाँ अधिकांश गरीब र दीन–दुःखीका सन्तान पढ्थे– मधुशमशेर जबरा त्यहीं भर्ना गरिएका थिए । तर, थिए त उनी– श्री ३ वीरशमशेरका ‘ग्रेट ग्राण्डसन’ अर्थात् पनाति ।

बाबु भारतशमशेर जबरा एक्लो छोरालाई आफू जस्तै सेना बनाउन चाहन्थे । तर, त्यसअघि दुःख के हो बुझाउन उनले छोरालाई सामान्य विद्यालयमा पठाएका थिए । आम नेपालीका तुलनामा विलासी बाल्यकाल बिताइरहेका सातवर्षे मधुलाई गोरखपुरको गर्मीले कम सास्ती दिएन । तर, ठूलाले भनेको मान्ने उर्दीका कारण चनामा सक्खर र नून मोलेको खान्की खाएर एक वर्ष बिताए ।

त्यसपछि उनी बनारसको केन्द्रीय हिन्दू विद्यालय पठाइए । गुरुकुल परम्परामा चलेको यो स्कूलमा बिहान पाँच बजे उठेर नुहाईधुवाई गरी ध्यान–योग गर्नुपर्ने, सादा भोजन, व्यायाम अनि हरेक दिन घोकेर कण्ठस्त गर्नुपर्ने संस्कृत र हिन्दीका पाठ ।

एक दिन अचानक स्काउट शिक्षकले मैदानमा उभिएका मधुलाई सोधे, “पहाडिया, तुम कहाँ से आया है ?” मधुले ‘नेपाल’ भन्नेवित्तिकै उनले सोधे, “दौडेगा ?” नभन्दै चौरमा चप्पलमै उनले फेरो लगाए । त्यसको केही दिनपछि स्कूलमै विद्यालयस्तरीय दौड प्रतियोगिता भयो । “म त प्रथम पो भएछु” मधु (८०) सम्झिन्छन् । त्यसपछि ९ वर्षीय मधुको चिनारी फेरियो । उनी तेज धावकका रूपमा चिनिन थाले । म स्कूलमा तेज धावकको रूपमा चिनिएँ ।

डेढ वर्ष बनारस बसेपछि मधु काठमाडौं झिकाइए । र, सेन्ट जेभियर्स स्कूलमा भर्ना गरिए । यहाँ पनि उनको रुचि दौडमै थियो । स्कूलमा उनको चर्चा हुन्थ्यो । मधुले २०१९ सालमा एसएलसी उत्तीर्ण गरे । र, त्रिचन्द्र कलेजमा भर्ना भए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिव थिए, राजा महेन्द्रका ज्वाईं कुमार खड्गविक्रम शाह । काठमाडौंमा राम्रो धावकको परिचय बनाएका राणा खान्दानका मधु आँखामा नपर्ने कुरै थिएन । २०२४ सालमा राखेपले मधु सहित चार जना, एथ्लेटिक्सकै लक्ष्मीविक्रम शाह, फूटबलका धीरेन्द्र श्रेष्ठ र पदमकृष्ण श्रेष्ठलाई भारत, पञ्जाबको पटियालामा डेढवर्षे प्रशिक्षक प्रशिक्षणका लागि पठाउने भयो ।

तर, शर्त बडो कडा थियो । “प्रशिक्षणमा अनुत्तीर्ण भए लागेको सबै खर्च सरकारलाई फिर्ता गर्नेछु भन्ने कागज गराइएको थियो, अनुत्तीर्ण हुने छुट थिएन”, स्नातक अध्ययन बीचैमा छाडेर पटियाला गएका मधु सम्झन्छन् । त्यहाँबाट उनले एथ्लेटिक्स खेल सम्बन्धी ‘ट्र्याक एण्ड फिल्ड’ मा स्नातक उपाधि लिए । शर्तबमोजिम सबैले प्रशिक्षण उत्तीर्ण गरे र यस्तो प्रशिक्षक बन्ने मुलुककै पहिलो पुस्ता बने ।

त्यो जितको आँसु
मधु पटियालाबाट फर्केपछि काठमाडौंमा एथ्लेटिक्स प्रतियोगिता हुन थाले । यही मेसोमा सन् १९७३ मा नेपालले फिलिपिन्समा हुने एशियन एथ्लेटिक्स च्याम्पियनसिपमा सहभागिता जनाउन मुख्य प्रशिक्षक मधुका साथ धावकहरू जीतबहादुर केसी, भक्तबहादुर सापकोटा, बैकुण्ठ मानन्धर र केशरबहादुर बानियाँलाई पठाउने निधो गर्‍यो ।

सन् १९७३ मा फिलिपिन्समा भएको एशियन एथ्लेटिक्स च्याम्पियनसिपमा फिलिपिनी राष्ट्रपति फर्डिनान्ड मार्काेसबाट काँस्य पदक ग्रहणपछि बधाई ग्रहण गर्दै मधुशमशेर जबरा । 

तर समस्या, नेपाली धावकहरूसँग दौडने क्षमता भए पनि दौडदा लगाउने राम्रो जुत्ता नै थिएन । सेनाले लगाउने रबर र छालाको जुत्ता दौडँदादौडँदै तात्तिंदै गएपछि पसिनाले खुट्टामा घाउ हुन्थ्यो । राखेपको आग्रहपछि तत्कालीन बाँसबारी छाला–जुत्ता कारखानाले धावकका लागि नयाँ जुत्ता बनाइदियो । तर, त्यो पनि रबर र छालाकै थियो ।

नेपाली धावकहरू त्यही जुत्ता लगाएर लामो दूरी (४२.१९५ किमी) को म्याराथनमा भाग लिए । तर, अरू देशका धावकहरू भने राम्रा र हल्का जुत्तामा थिए । धावकलाई हौसला दिन सडक/बाटोमा ‘हुटिङ’ गर्दै पानी छ्याप्नेहरू हजारौं थिए । दौडमा निकै अगाडि बढिसकेका जीतबहादुरको तात्तिएको खुट्टामा त्यही पानी पस्यो । छाला फुटेर घाउ भयो ।

प्रशिक्षक मधु अफिसियलको रूपमा कारमा थिए । उनले देखे, जीतबहादुर पीडा सहन नसकी ट्र्याकमा बसिरहेका रहेछन् । कारैबाट “जीतबहादुर उठ, दौड, तिमी मेडल नजिकै छौ, यो इतिहास बनाउने मौका हो” भन्न मात्र भ्याएँ । जीतबहादुरले मेरो आवाज सुने, सुनेनन्, तर मेरो मुटुको धड्कन बढिरहेको थियो किनकि ऊभन्दा अगाडि दुई जना कोरियन धावक मात्र देखेको थिएँ”, ४६ वर्षअघिको त्यो दृश्यको झल्काे अहिले पनि मधुलाई बरोबर आइरहन्छ ।

म्याराथन सकियो । सजिसजाउ मञ्चमा मधु बसिरहेका थिए । ‘कङ्ग्र‍्याच मिस्टर राणा’ उनले एकाएक सुने । ‘वट ह्वाई ?’ उनले सोधे । ‘योर एथ्लेट् गट द मेडल’, फिलिपिन्सका खेल अधिकारीले यसो भन्दा मधुलाई सारा धर्ती नै झलमल्ल भए जस्तो भयो । मैदानमा लडिरहेको जीतबहादुरलाई झ्याप्पै अँगालो हाले, विस्तारै उठाए । “हर्षका आँसु झर्दै हामी धेरैबेर हाँस्यौं” उनी भन्छन्, “जीवनमा त्यतिको खुशी अहिलेसम्म महसूस गरेको छैन ।”

खुशी यसकारण पनि कि जीतबहादुरले जितेको त्यो काँस्य नेपालीले विदेशी भूमिमा जितेको पहिलो पदक थियो । आयोजक फिलिपिन्स लगायत भारत, चीन जस्ता मुलुकका धावकलाई उछिन्दै भक्तबहादुर र बैकुण्ठ पनि चौथो र पाँचौं भएका थिए । सबैको प्रशिक्षक थिए, उनै मधु ।

“मिस्टर राणा, तिम्रो देशमा पनि दौडने चौर छ र ?” पदक वितरण चलिरहँदा फिलिपिनी राष्ट्रपति फर्डिनान्ड मार्काेसले बडो आश्चर्यजनक शैलीमा सोधे । शायद मार्कोसलाई लागेको थियो, नेपाल हिमाल र पहाडको मात्र देश हो । मधुले राष्ट्रप्रमुखलाई जवाफ दिए, “हाम्रो देश नेपालमा हिमाल, पहाड र तराई छ, दौडनका लागि पुग्दो ठाउँ छ ।”

प्रतियोगितापछि काठमाडौं फर्किएको नेपाली टोलीलाई विमानस्थलमा स्वागत गर्न पूरै काठमाडौं उर्लिएको थियो । विमानको ढोकाबाटै मधुले नेपालले जितेको काँस्य पदक देखाउँदा उमंगले काठमाडौं उचालिएको उनी अझै सम्झन्छन् । लगत्तै ३१ साउन २०३१ मा राखेपले मधुको एक ग्रेड रु.२५ बढाइदियो, त्यतिबेला उनको तलब मासिक रु.४०० थियो ।

तत्कालीन सदस्यसचिव शरदचन्द्र शाहसँग दूरी बढेपछि २०४० सालमा मधुले राखेपबाट बिदा लिए । “राम्रालाई भन्दा हाम्रालाई काखी च्याप्न थालेपछि मलाई जागिर खाइरहन मन भएन”, उनी भन्छन् ।

उमेरले ८० पुगे पनि दौडलाई हर खेलको मेरुदण्ड बनाउने मधु थाकेका छैनन् । कुपण्डोलस्थित निवास चौरङ्गी हाउस मा आफ्ना चेलाहरूसँग अनुभवका पत्र केलाइरहेका भेटिन्छन्, जसले थुप्रै राष्ट्रिय र केही अन्तर्राष्ट्रिय पदक भित्र्याइसकेका छन् ।

“जीवनको उर्वर उमेर देशलाई अन्तर्राष्ट्रिय पदक दिलाउने प्रशिक्षकको रूपमा खेलकुदमा लगाउन पाएकोमा म खुशी छु”, जीवनप्रति उनको निष्कर्ष छ । 

प्रतिकृया दिनुहोस