मनसुन भित्रिएसँगै पूर्वी पहाडमा बाढीपहिरोले जनजीवन प्रभावित छ। तीन जनाले ज्यान गुमाएका छन् भने ३० जना हराइरहेका छन्।
गएराति आएको बाढी तथा पहिरोका कारण संखुवासभामा एक जनाको मृत्यु भएको छ। बाढीपहिरोमा परेर २२ जना सम्पर्कविहीन छन्।
पाँचथरमा एक जनाको मृत्यु भएको छ। पाँच जना सम्पर्कविहीन रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यस्तै, ताप्लेजुङमा एक जनाको मृत्यु भएको छ भने तीन हराएका छन्।
संखुवासभाको हेवा खोलामा आएको बाढीले बगाउँदा सुपर हेवा खोला जलविद्युत् आयोजना निर्माणको काममा संलग्न पाँचखपन नगरपालिका-९ का सन्तोष राईको मृत्यु भएको हो। चैनपुर नगरपालिकामा रहेको जलविद्युत् आयोजनाको काम गरिरहेका २२ जनामध्ये १८ जना अझै सम्पर्कविहीन छन्।
बाढीले बगाउँदा तीन जना घाइते भएको संखुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र गोदारले बताए।
यस्तै, सभापोखरी गाउँपालिका-३ बाह्रबिसेमा खोल्सामा आएको बाढीले गोठ बगाउँदा दुई जना हराएका छन्। चैनपुर नगरपालिका-१ नुनढाकीमा पिलुवा खोलाले बगाउँदा एक जना सम्पर्कविहीन छन्। हेवा खोलाले बगाउँदा अप्पर हेवा खोला जलविद्युत् आयोजनामा कार्यरत एक कामदार सम्पर्कविहीन भएको डीएसपी गोदारले जानकारी दिए।
पहिरोमा परेर पाँचथरको फालेलुङ गाउँपालिका-४ का आठ वर्षीया जुना साउदेनको ज्यान गएको छ। मावली घरमा पहिरोले थिचिएर गम्भीर घाइते जुनालाई स्थानीय स्वास्थ्य संस्था हुँदै जिल्ला अस्पतालमा लगिएको थियो। अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवस कुँवरले बताए।
पाँचथरको हेवा खोलामा आएको बाढीले माउन्टेन ‘बी’ हाइड्रोपावरमा सेक्युरिटी गार्डको काम गर्दै आएका हिलिहाङ गाउँपालिका-७ का ४५ वर्षीय तिलकुमार तामाङ, फिदिम नगरपालिका-११ का २८ वर्षीय सञ्जोग लिम्बू, हेवा खोलामा गिटी कुट्ने काम गर्दै आएका फिदिम नगरपालिका-५ का ५५ वर्षीय राजकुमार राई, माझीटारमा होटल सञ्चालन गर्दै आएका हिलिहाङ गाउँपालिका-७ का २८ वर्षीय आशिष माझी र २५ वर्षीया एलिसा माझी हराइरहेका छन्।
पहिरोले घर बगाउँदा ताप्लेजुङको सिदिङ्वा गाउँपालिका-६ का ३० वर्षीय गणेश तामाङको मृत्यु भएको छ। पहिरोमा पुरिएको अवस्थामा गणेशको शव फेला परेको प्रहरीले जनाएको छ।
पहिरोमा परी ६३ वर्षीया भगीमाया बुढाक्षत्री, ३३ वर्षीया सन्ध्या बुढाक्षत्री र नौ वर्षीय प्रज्वल बुढाक्षत्री हराइरहेको प्रहरीले जनाएको छ। तीनै जना एकै परिवारका हुन्।
केही दिनयता पूर्वी पहाडमा लगातार पानी परिरहेको छ। जसले गर्दा पहिरो र बाढीले जनजीवन प्रभावित छ।