एक्लोको संसार
‘घर फर्किनु मलाई जहिल्यै कठिन लाग्थ्यो, किनभने मसँग घरको परिकल्पना सुन्दर र सजिलो थिएन। आफू कुनै हालतमा नेपाल बस्न सक्दिनँ भनेर मैले आफैंलाई सहमत गराइसकेको थिएँ।’
नेपाली साहित्यमा अधिकांश एउटै प्रकृतिका कथा र उही विषयको पुनरावृत्ति देखिन्छ। सीमान्तीकृत, अल्पसंख्यक र पहिचानविहीनहरूको विषयमा पर्याप्त लेखिएका छैनन्। यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका कथा त झनै उपेक्षित छन्। यो रिक्तता मेट्ने एउटा कदम हो, निरञ्जन कुँवरको संस्मरण कृति बिट्वीन क्वीन्स एन्ड द सिटीज्। निजी भोगाइ भए पनि यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायसँग समभाव र समानुभूति जोडिएकाले यो कृति उक्त समुदायकै सामूहिक कथा र व्यथा हो।
काठमाडौंको मध्यमवर्गीय परिवारमा जन्मेका कुँवरले समलिङ्गीको यौनिक पहिचानका कारण घरपरिवारदेखि समाजमा भोग्नुपरेको अपमान, दुर्व्यवहार र एक्लोपनको भोगाइ तथा गर्नुपरेको संघर्षको सँगालो हो यो पुस्तक। ६ भागमा विभाजित पुस्तकले उनको जीवनको १७ वर्षको कथा भन्छ। सन् २००० देखि २००८ सम्मको सन्दर्भ रहेको पहिलो भागमा उनी अमेरिका गएदेखि स्नातक उत्तीर्ण हुँदासम्मका अनुभव समेटिएका छन्।
उनले बाँचेको त्यो समय सरसर्ती हेर्दा आफ्नो देश र समाजमा उकुसमुकुस भोगेको एक दक्षिणएशियाली समलिङ्गी युवकले संसारकै सबैभन्दा प्रजातान्त्रिक मानिने मुलुकमा स्वतन्त्रता र आत्मसम्मानका लागि गरेको योजनाबद्ध यात्रा झैं लाग्छ। नेपालमा छँदा फरक यौनिक पहिचानका कारण कतिसम्म तीतोपन खेप्नुपरेको थियो भन्ने जनाउने गरी उनले शुरूमै लेखेका छन्, ‘घर (नेपाल) फर्किनु मलाई जहिल्यै कठिन लाग्थ्यो, किनभने मसँग घरको परिकल्पना सुन्दर र सजिलो थिएन। आफू कुनै हालतमा नेपाल बस्न सक्दिनँ भनेर मैले आफैंलाई सहमत गराइसकेको थिएँ।’
आफ्नो देशमा भोगेको तिरस्कार र दुर्व्यवहार अमेरिका जस्तो आधुनिक समाजमा भोग्नुनपर्ने उनको अपेक्षा विपरीत त्यहाँ पनि असहजताले पछ्याउन भने छाड्दैन।
आफ्नो देशमा भोगेको तिरस्कार र दुर्व्यवहार अमेरिका जस्तो आधुनिक समाजमा भोग्नुनपर्ने उनको अपेक्षा विपरीत त्यहाँ पनि असहजताले पछ्याउन भने छाड्दैन। खासगरी आफ्नै नेपाली समुदायमा आफ्नो पहिचान नखुलोस् भन्नेमा उनी सजग भइरहनुपर्छ। त्यस क्रममा उनी संसारकै विकसित शहर र ‘सभ्य’ मानिसहरूको भीडमा पनि एक्लो हुन्छन्।
२००९ देखि २०११ सम्मको समय बोकेको दोस्रो भाग पनि कुँवरको संघर्षकै पाटो हो। त्यति वेलासम्म उनले बुबाआमालाई आफ्नो यौनिक पहिचानबारे बताएका हुँदैनन्। आफ्नो वर्तमान र भविष्यबारे अन्योल र द्विविधामा फस्छन्। तिनै उल्झनले उनलाई मदिराको लतसँगै चरम निराशाको अवस्थामा पुर्याउँछ। इस्तानबुल यात्राको वर्णनले पुस्तकलाई थप पठनीय बनाएको छ। उनले आफूलाई ‘पूर्व र पश्चिम बीचको’ इस्तानबुल जस्तै भनेर विम्बमा चिनाएको निकै अर्थपूर्ण लाग्छ। यसले परिवार र समाजबाट अस्वीकृत पात्रको मनोदशा बोलेको छ।
सन् २०१२-१३ को परिवेश लेखिएको तेस्रो भाग उनको घर फिर्ताको अध्याय हो। बुबाआमालाई आफू समलिङ्गी भएको बताएर जब उनी न्यूयोर्क फर्कन्छन्, न्यूयोर्कले पनि उनलाई बिस्तारै विकर्षित गर्न थाल्छ। खासमा मानिस सधैं आफ्नोपन र सुरक्षित ठाउँको खोजीमा हुन्छ। उनलाई कहिल्यै बस्न सक्दिनँ जस्तो लाग्ने काठमाडौंका गल्लीहरूले बोलाए झैं लाग्छ। आफ्नो प्रेमी सहित उनी काठमाडौं त फर्कन्छन्, तर सम्बन्ध जोगाउन सक्दैनन्।
चौथो भागले २०१४ को उनको नेपाल बसाइ र नयाँ शुरूआतमा सामना गर्नुपरेको कठिनाइ कहन्छ। काठमाडौंमा एकभन्दा बढी घर भए पनि उनी घरमा अटाउँदैनन्, एकपछि अर्को डेरा सर्दै बस्छन्। फरक यौनिक पहिचानका कारण घरबारविहीन महसूस गर्छन्।
पाँचौं र छैटौं भागले विशेषतः उनको परिवारसँगको द्वन्द्व र लेखनको गहनता उधिनेको छ। २०१५ देखि २०१७ सम्मको स्मृति चर्चा गर्दा उनले आफ्नो जस्तै कथा भएका व्यक्तिहरूको भोगाइ समेटेका छन्। ‘हाम्रो गीत कसैले गाउँदैन’ शीर्षकको अन्तिम भागमा उनले लेखेका विभिन्न व्यक्तिका कथाले यौनिक अल्पसंख्यकका हरेक समूहको आवाज बोलेको छ जसले पुस्तकको गाम्भीर्य र ओज बढाएको छ। समलिङ्गी पुरुष र महिला, पारलैङ्गिकता जस्ता हरेक समूहको मिहिन व्याख्याले समलैङ्गिकताबारे बुझ्न सजिलो पारेको छ। गैरआख्यान भएर पनि पुस्तकको सरस भाषाले आख्यान झैं पाठकलाई बाँधेर राख्छ। कतिपय अनुच्छेद कविता झैं लाग्छन्।
समाज र यसभित्रका सदस्यले यौनिक पहिचानबारे नबुझ्दा र अस्तित्व नस्विकार्दा जुध्नुपरेका अनेकौं समस्याबारे लेखेर कुँवरले एक्लोपनको कथा संसारमा पुर्याएका छन्। अंग्रेजीमा लेखिएको र विषयवस्तुको गहनताका कारण पुस्तकले गर्ने यात्रा र टेक्ने भूगोल फराकिलो हुनेछ। निजी भोगाइ हुँदाहुँदै पनि यो कृति समाजले मूलधारमा गणना गर्न अनकनाइरहेको पिँधका मानिसको कथा हो। त्यसैले यो शरीर र भावनाको कथासँगै समाजको कथा हो।
पुस्तक: बिट्वीन क्वीन्स एन्ड द सिटीज् (गैरआख्यान), लेखक: निरञ्जन कुँवर, प्रकाशक: फाइनप्रिन्ट, पृष्ठ: ३२४, मूल्य: रु.५९८ (पातलो गाता)