सुनकोशीमा जीप खस्यो, सीटीईभीटीका तीन कर्मचारी बेपत्ता

मध्यपहाडी राजमार्ग अन्तर्गत सिन्धुलीको गोलञ्जोर गाउँपालिका-७ लौकुनबाट सीटीईभीटीका कर्मचारी सवार जीप सुनकोशी नदीमा खसेको छ।
काठमाडौंबाट खोटाङ जाँदै गरेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) कर्मचारी सवार बा १ झ ७४६७ नम्बरको जीप सुनकोशीमा खसेको हो। दुर्घटनामा तीन जना बेपत्ता रहेका छन्।
गाडी चालक भने नदीबाट निस्किन सफल भएका छन्। उनी सामान्य घाइते रहेको र स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाएको छ।
जीपमा चार जना सवार रहेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बताए। एक जना सुनकोशी नदीबाट जीवितै निस्कएको र तीन जनाको अवस्था अज्ञात रहेको प्रहरी नायब उपरीक्षक दाहालले बताए।
बेपत्ता संख्या र गाडी नम्बरका आधारमा सीटीईभीटीको गाडी दुर्घटनामा परेको यकीन भएको महुरेगढी प्राविधिक शिक्षालयका प्राचार्य पुष्पराज प्याकुरेलले बताए। प्याकुरेलका अनुसार सीटीईभीटीबाट चालक सहित चार जना शुक्रबार आउने र दिउँसो ३ बजे प्राविधिक शिक्षालयमा अन्तरक्रिया कार्यक्रम तय गरिएको थियो। यसका लागि पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेल दिक्तेल पुगिसकेका छन्।
बेपत्ता हुनेमा सीटीईभीटीका प्रशासन निर्देशक कृष्ण केसी, योजना, नीति तथा तर्जुमा निर्देशक एम भुर्तेल र प्राविधिक अधिकृत भानु पौडेल रहेको महुरेगढी प्राविधिक शिक्षालयका प्राचार्य प्याकुरेलले बताए। उनीहरू शैक्षिक गतिविधिबारे अन्तरक्रियाका लागि महुरेगढी प्राविधिक शिक्षालय, नुनथला गइरहेका थिए।
उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।