इतिहासमा हुँदै नभएकाे ‘अखण्ड भारत’
नेपालले पनि आफ्नो इतिहासको गर्व भनेर विगतका ती भूक्षेत्रहरू समेटेर नक्शा बनाउन सक्छ। तर, त्यसको प्रयोजन इतिहास अध्ययनका लागि मात्रै हुन्छ, संसद् जस्तो वर्तमान राजनीतिक अभ्यास गर्ने थलोमा होइन। यो कुरा भारतले बुझ्नुपर्छ।
भारतको नयाँ संसद् भवनमा राखिएको कथित ‘अखण्ड भारत’ को नक्शाले नेपालमा तरङ्ग ल्याएको छ। तरङ्गको मुख्य कारण हो, लुम्बिनी र कपिलवस्तुलाई भारतको भूभागभित्र देखाउनु।
पूरै नेपाललाई नै उक्त नक्शामा समावेश गरिएको हो वा होइन, त्यो स्पष्ट छैन। यद्यपि, नेपालको सरहदभित्रका यी दुई ठाउँलाई भारतको नक्शाभित्र पार्नु भारतको गल्ती त हो नै, यसले धेरै अर्थ पनि दिन्छ। यसलाई ऐतिहासिक तथा पुरातात्त्विक सन्दर्भबाट पर्गेल्दा राजनीतिक रूपमा विचारविमर्श गर्न केही हदसम्म सघाउ पुग्छ।
सबैभन्दा पहिले त यस्तो नक्शा बनाउनुको औचित्य र सान्दर्भिकतामाथि नै भारतलाई प्रश्न गर्न सकिन्छ। आफ्नो भूक्षेत्रभित्रको इतिहास र भूगोल केलाउन भारत स्वतन्त्र छ, आफ्नो इतिहासमाथि गौरव गर्नु पनि उसको अधिकार हो। तर, लुम्बिनी र कपिलवस्तुलाई त्यस क्षेत्रभित्र राख्नु वर्तमानसङ्गत त छैन नै, आपत्तिजनक पनि छ।
नक्शाले प्राचीनताको झलक दिन खोजेको र वर्तमानसँग सम्बन्ध नरहेको जिकिर गर्न पनि सकिएला, तर ऐतिहासिक तथा पुरातात्त्विक दृष्टिले पनि यसमा प्राचीनता झल्किंदैन। भारतको वर्तमान भूक्षेत्र प्राचीनकालमा ‘अहिलेको भन्दा विस्तृत रूपमा फैलिएको र समृद्धि थियो’ भन्ने भाष्य आजभोलि मात्रै बनाइएको हो।
अझ जसलाई हामी आज भारत भनिरहेका छौं, ऐतिहासिक सामग्रीहरू पर्गेल्ने हो भने भारत नामको कुनै राज्य प्राचीन र मध्यकालमा समेत थिएन। भारतवर्ष भन्ने चलन पनि दुई हजार वर्षअघि मात्रै आएको अवधारणा हो। जुन राजनीतिक नभएर सांस्कृतिक सीमा क्षेत्रका रूपमा थियो।
वर्तमान भारतको प्राचीन इतिहासको सन्दर्भस्रोत जैन र बौद्ध वाङ्मय हुन्। यो इसापूर्व छैटौं शताब्दीबाट शुरू हुन्छ। निकै प्राचीन ग्रन्थ मानिने ऋग्वेदले वर्तमान भारतलाई चिनाउँदैन। यसले मध्यएशिया तथा त्यसभन्दा पूर्वमा पन्जाब लगायत केही भूभागको मात्रै जानकारी दिन्छ। अर्थात् ऋग्वेदको रचना भारतमा भएको थिएन। बरु यो आर्यहरूले भारतमा लिएर आएको धार्मिक ग्रन्थ हो।
जैन र बौद्ध स्रोतले पनि वर्तमान भारतले जस्तो एउटा निश्चित राज्यको नापनक्शा देखाउँदैनन्। त्यति वेला यस क्षेत्रमा विभिन्न राज्यको स्वतन्त्र अस्तित्व थियो र आफ्नो स्वतन्त्रता जोगाइराख्न वा अरूको स्वतन्त्रता हडप्नमा नै उनीहरूको ध्यान केन्द्रित थियो। अन्य राज्यका शासकलाई शासन गर्न दिए पनि कतिपयको रुचि तिनीहरूलाई आफ्नो प्रभाव क्षेत्रमा राख्नमा हुन्थ्यो।
उदाहरणका लागि गौतम बुद्धको समयतिर उनको पैतृक थलो शाक्य गणराज्य, कोशल महाजनपदको प्रभाव क्षेत्र अन्तर्गत थियो। शाक्य गणराज्यभन्दा पूर्वको कोलिय गणराज्य पनि कोशलकै प्रभाव क्षेत्रमा थियो। त्यति वेला ठूल्ठूला राज्यहरूलाई ‘महाजनपद’ र ससाना राज्यलाई ‘जनपद’ भनिन्थ्यो।
महाजनपदको संख्या प्रमुख रूपमा १६ वटा र जनपदहरूको संख्या पाँच दर्जनभन्दा बढी नै पाइन्छ। शाक्य जनपदको राजधानी कपिलवस्तु र कोलिय जनपदको राजधानी देवदह थियो। कोलिय जनपदको पुरातात्त्विक उत्खनन तथा अध्ययन पर्याप्त मात्रामा भइनसके पनि शाक्य गणराज्यको राजधानी कपिलवस्तुको चालू अध्ययन तथा त्यसभन्दा पूर्वस्थित गौतम बुद्धको जन्मस्थल लुम्बिनीको अकाट्य प्रमाणले तत्कालीन कोलिय गणराज्यको अवस्थितिलाई प्रमाणित गर्छ। कोलिय गणराज्यभित्रका पुरातात्त्विक अवशेषहरू पनि अहिले प्राप्त छन्।
प्राचीन समयका कपिलवस्तु र देवदह मात्रै नभएर अन्य क्षेत्रहरू पनि विस्मृतिको गर्तमा पुरिएको अवस्था थियो। अर्थात् हालै भारतले आफ्नो ‘प्राचीन नक्शा’ मा उल्लेख गरेका राज्य, राजधानी तथा नगरहरू पूर्णतः खोजीको विषय बनेका थिए। यिनीहरूको खोजी कार्य बेलायती उपनिवेशकालमा अंग्रेज शासकहरूले गरिदिएका थिए।
कपिलवस्तुको प्राप्ति सन् १८९५ मा भएको थियो भने त्यसको अर्को वर्ष लुम्बिनी पत्ता लाग्यो। ऐतिहासिक तथा पुरातात्त्विक दृष्टिले लुम्बिनीको मामिलामा अब दुईमत छैन। कपिलवस्तुको उत्खनन तथा अध्ययन अहिले व्यापक मात्रामा भइरहेको छ। केही दशकअघिसम्म यस सम्बन्धमा प्रश्न उठाउँदै भारतमा पर्ने पिपरहवा वा गनवरियालाई कपिलवस्तु मान्ने भारतका पुरातत्त्वविद्हरू पनि अहिले चूप लाग्न थालिसकेका छन्।
यस्तो अवस्थामा लुम्बिनी र कपिलवस्तु भारतीय भूभागभित्र देखाउनु वर्तमान भारतीय संस्थापनको अपरिपक्व काम मात्रै हो।
फेरि प्राचीन भारतको इतिहासतर्फ नै फर्कौं। इतिहास अध्ययन तथा लेखनका लागि भरपर्दो ऐतिहासिक स्रोतका रूपमा रहेका इसापूर्व छैटौं शताब्दीतिरका जैन तथा बौद्ध साहित्यमा भारत भन्ने कुनै ठाउँ त देखिंदैन नै, नाम शब्दको पनि व्युत्पति भएको पाइँदैन।
यही वेला बरु विभिन्न महाजनपद तथा जनपदहरूको नाम, तिनको राजधानी, राजधानीभन्दा परपर नगर तथा गाउँहरूको नाम उल्लेख भएको पाइन्छ। यसरी नै वनजङ्गल, नदीनाला, पहाड तथा तत्कालीन सामाजिक, सांस्कृतिक, आर्थिक तथा धार्मिक गतिविधि उल्लेख भएको पाइन्छ। कुन राज्यले कुन राज्यमाथि आधिपत्य कसरी जमायो वा सुलह भयो भन्ने विवरण पनि पाइन्छ।
यस अनुसार १६ महाजनपद अन्तर्गत पर्ने अङ्गलाई इसापूर्व छैटौं शताब्दीतिरै मगध नामको महाजनपदले आफूमा विलय गरिसकेको थियो। काशी कुनै वेलाको स्वतन्त्र महाजनपद भए पनि पछि कोशल महाजनपद अन्तर्गत पर्न गयो र बुद्धकै वेला उक्त महाजनपद मगधमा गाभियो।
बुद्धको महापरिनिर्वाण (ई.पू ४८३) भन्दा दुई वर्षअघि मगधका राजा अजातशत्रुले कोशल महाजनपदमाथि आक्रमण गरी आफ्नोमा विलय गराएका थिए। यसै वेला कोशल अन्तर्गतको शाक्य र कोलिय जनपद स्वतः मगध अन्तर्गत पर्न गयो।
मगधमा राजवंशहरू परिवर्तन भए पनि सीमा विस्तारको नीति र शक्ति भने फेरिएको थिएन। मौर्यवंशको स्थापनापछि यो अझ सशक्त भएर अगाडि बढ्यो र वर्तमान भारतको दक्षिणका केही भूक्षेत्र बाहेक विस्तृत भूक्षेत्र मगध साम्राज्य कायम भयो। यसपछि महाजनपद शब्दको औचित्य नरहेर मगध साम्राज्य मात्र भन्न थालियो।
तत्कालीन मगध साम्राज्य वर्तमान अफगानिस्तानसम्म पनि पुगेको थियो। यति ठूलो साम्राज्य स्थापना भइसक्दा पनि भारत नामको कुनै भूक्षेत्र देखापरेको पाइँदैन। तत्कालीन राजधानी पाटलीपुत्रमा राजदूतका रूपमा आएका अतिथि मेगास्थनिजले यहाँका बारेमा ज्यादै सूक्ष्म ढङ्गले अवलोकन गरी तयार पारेको ग्रन्थको नाम ‘इन्डिका’ थियो भने त्यसमा ‘भारत’ नाम नै परेको पाइँदैन।
यस अनुसार मगध नामको साम्राज्य ‘इन्डिका’ नामको क्षेत्रमा रहेछ भन्ने कुरा जानिन्छ। यही ‘इन्डिका’ वा इन्डिया खोज्न निस्केका जलयात्री क्रिस्टोफर कोलम्बस बाटो बिराएर अमेरिका पुगेका थिए र सर्वप्रथम देखेको जनसमुदायलाई ‘रेड इन्डियन’ नाम राख्न पुगे।
यस क्षेत्रलाई पछि ‘जम्बूद्वीप’ र ‘भारतवर्ष’ नाम दिइएको पाइन्छ। तर, जम्बूद्वीप अन्तर्गत भारतवर्ष पर्छ। जम्बूद्वीपको उल्लेख बौद्ध तथा जैन साहित्यमा बरोबर हुने गरे पनि भारतवर्षको उल्लेख प्रायः हिन्दूधर्म ग्रन्थ तथा समाजमा प्रयुक्त भएको पाइन्छ। तर, कुनै राजनीतिक भूगोलका रूपमा कहिल्यै पनि व्यवहार भएको पाइँदैन। भारतवर्षमा अनेकौं स्वतन्त्र राज्यहरू रहेको र ती स्वतन्त्र राज्यहरूको अस्तित्वमा कसैको कुनै आपत्ति नभएबाट यो कुराको पुष्टि हुन्छ। यस्तो लाग्छ, आफ्नो सांस्कृतिक प्रभाव जहाँ जहाँ पर्यो ती जम्मै भूक्षेत्रलाई भारतवर्ष भन्ने चलन थियो।
भारतवर्ष अन्तर्गत तिब्बत, चीन, कोरिया जापान मात्रै होइन, थाइल्यान्ड, वर्मा, कम्बोडिया, लाओस, भियतनाम तथा सुमात्रा द्वीप समूह पनि पर्छन्। हिजोआज भारतवर्ष नभनी ‘ग्रेटर इन्डिया’ भन्न थालिएको छ। तर, यो राजनीतिक नभएर सांस्कृतिक विषयवस्तु हो।
अतीतकै कुरा गर्ने हो भने इस्वीको १२औं शताब्दीमा पश्चिम नेपालको सिंजा उपत्यकालाई राजधानी बनाई खस साम्राज्य खडा गर्ने संस्थापक राजा नागराजले आफ्नो सीमा पश्चिममा वर्तमान भारतको उत्तरकाशीस्थित गढवालसम्म पुर्याएका थिए र ३०० वर्षसम्म यो भूभाग खस साम्राज्य अन्तर्गत कायम रह्यो।
भारतको नयाँ संसद् भवनमा राखिएको नक्शामा लुम्बिनी र कपिलवस्तु बाहेक अफगानिस्तान, पाकिस्तान र बाङ्लादेशका भूभागहरू पनि छन्। वर्तमान राजनीतिक भूगोलभित्र खामिने प्राचीन नामहरू मात्रै समावेश गरेको भए नक्शालाई लिएर कुनै विवाद उठ्दैनथ्यो।
ठीक यसै वेला सम्झिनुपर्ने अर्को कुरा वर्तमान भारतको सत्तापक्षीय दल भारतीय जनता पार्टीको अजेन्डा हो। राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)ले उठाउँदै आएको अजेन्डा ‘हिन्दूत्व’ र ‘अखण्ड भारत’ हो। हिन्दू राष्ट्रवादमा आधारित यी राजनीतिक अजेन्डाको मुख्य उद्देश्य छरछिमेकका राज्यहरूको स्वतन्त्रता हडप्ने हो जसका लागि भाजपाको राजनीतिक शक्तिलाई प्रयोग गरिंदै आएको छ।
भाजपाको ‘हिन्दूत्व’ लाई हिन्दू धर्म भनेर बुझ्नु र त्यसलाई भजाउनुको अर्थ हो- नेपाल, बाङ्लादेश, पाकिस्तान, श्रीलंका, म्यानमार लगायत देशका जनताले आफ्नो स्वतन्त्र राष्ट्र गुमाउनु।
‘अखण्ड भारत’ : इतिहासमै नभएको कुरा
अखण्ड भारत कुन समयावधिको कुरा हो भन्ने खुल्दैन। ज्यादातर यो शब्दको अर्थ लगाउँदा मौर्यकालीन मगध साम्राज्यलाई मानिन्छ। तर, त्यति वेलाको राजनीतिक भूगोलमा ‘भारत’ को सन्दर्भ आउँदैन। वर्तमान दक्षिण भारतको ठूलो भूक्षेत्र उक्त विशाल मगध साम्राज्यभित्र पर्दैन। यसरी नै नेपालको केही दक्षिणी भूभाग मगधभित्र परे पनि अधिकांश भूभाग पर्दैन।
कालान्तरमा मगध साम्राज्य विघटन भएर विभिन्न स्वतन्त्र राज्य खडा हुँदा पनि त्यहाँ भारत नामको एउटा सिङ्गो राज्यको भावना नै थिएन। विभिन्न स्वतन्त्र अस्तित्व कायम गरेका राज्यलाई एक ठाउँमा विलय गर्ने र इन्डिया नाम दिने काम ब्रिटिश साम्राज्यले गरेको थियो।
त्यति वेला वर्तमान म्यानमार पनि यसै अन्तर्गत थियो। बेलायतले यो भूभाग छाड्ने वेलामा शुरूमै म्यानमारले आफ्नो अलग्गै राज्य खडा गर्ने मनसाय राखेको थियो र छुट्टियो पनि। बाँकी भूभागबाट पाकिस्तानलाई छुट्याइदियो र बल्ल वर्तमानको भारत निर्माण भयो। पछि सिक्किम गाभियो। पाकिस्तानबाट पछि बाङ्लादेश छुट्टियो। ब्रिटिश साम्राज्यको चंगुलबाट नेपाल अछुतो थियो। अर्थात् छोटकरीमा भन्नुपर्दा ‘अखण्ड भारत’ भन्ने कुरा इतिहासमा कहिल्यै थिएन।
इतिहास जेजसरी अगाडि बढेको भए पनि वर्तमान भारतले लुम्बिनी र कपिलवस्तुलाई आफ्नो नक्शामा राखेर व्याख्या गर्नु गलत अभ्यास हो। अतीतकै कुरा गर्ने हो भने इस्वीको १२औं शताब्दीमा पश्चिम नेपालको सिंजा उपत्यकालाई राजधानी बनाई खस साम्राज्य खडा गर्ने संस्थापक राजा नागराजले आफ्नो सीमा पश्चिममा वर्तमान भारतको उत्तरकाशीस्थित गढवालसम्म पुर्याएका थिए र ३०० वर्षसम्म यो भूभाग खस साम्राज्य अन्तर्गत कायम रह्यो।
उनकै उत्तराधिकारी राजा अशोक चल्लले वर्तमान बोधगया लगायतको क्षेत्रबाट तुर्क आक्रान्ताहरूलाई हटाएर आफ्नो साम्राज्य अन्तर्गत पारेका थिए। र त्यस क्षेत्रमा कसैले केही गर्नुपर्यो भने सिंजा दरबारसँग अनुमति लिनुपर्थ्यो।
यस सम्बन्धी दुई अभिलेख बोधगया क्षेत्रमा पाइएका छन्। तत्कालीन नेपालमण्डलका राजा यक्ष मल्लले वर्तमान भारतको सीतामढी लगायत भूक्षेत्रमा अधिकार गरेका थिए। पछि शाहवंशीय शासन व्यवस्थामा राज्यलक्ष्मी तथा बहादुर शाहले पनि कुमाउँ-गढवालसम्म अधिकार गरे, तर पछि सो क्षेत्र छाड्नुपर्यो।
इतिहासमा यस्ता उथलपुथल भइराख्छन्। नेपालले पनि आफ्नो इतिहासको गर्व भनेर विगतका ती भूक्षेत्र समेटेर नक्शा बनाउन सक्छ। तर, त्यसको प्रयोजन इतिहास अध्ययनका लागि मात्रै हुन्छ, संसद् जस्तो वर्तमान राजनीतिक अभ्यास गर्ने थलोमा होइन। यो कुरा भारतले बुझ्नुपर्छ।