‘मोबाइलमा अमेरिकाबाट आवाज त आउँछ, छोराछोरी आउँदैनन्’
नक्कली भुटानी शरणार्थी प्रकरण चुलिएको वेला झापाका विभिन्न शिविरमा रहेका शरणार्थी भने आफ्नो देश जान नपाएको र परिवारसँग छुट्टिएर बस्नुपरेको पीरमा छन्।
“भुटान सम्झँदा जाऊँ जाऊँ लाग्छ। तर, भुटानले हामीलाई आऊ नै भन्दैन,” ८२ वर्षीया सनमाया गुरुङले भक्कानिंदै भनिन्। सन् १९९० देखि नेपाली मूलका भुटानी नागरिक भुटानबाट लखेटिएका थिए। यिनै लखेटिनेमा परे- सनमायाका माइती पनि। माइतीकै पछि लागेर सनमाया नेपाल पसेकी थिइन्।
भुटानी शरणार्थी सनमाया गुरुङ।
सनमायाका माइती अहिले पुनर्वासका लागि अर्कै देश गइसके। उनी चाहिं अझै स्वदेश फिर्ताको अड्डी कसेर बसेकी छन्। “अब त मेरो सासको पनि टुङ्गो छैन, मर्ने वेलामा आफ्नै देशमा गएर मर्न पाए शान्ति मिल्थ्यो,” उनी भन्छिन्।
भुटानको गेलेफुङबाट सन् १९९२ मा नेपालमा शरण लिन आइपुगेका दलबहादुर कार्की झापाकै गोलधापमा रहेको शरणार्थी शिविरमा बस्छन्। दलबहादुरका चार छोरा र चार छोरी छन्। तर, यो उमेरमा उनलाई ‘बा’ भनिदिने कोही छैनन्।
कोटको खल्तीबाट मोबाइल झिकेर देखाउँदै दलबहादुरले भने, “यो ‘मोबिल’ पठाइदिएका छन्। तर, के गर्नु उनीहरूको आवाज मात्रै आउँछ, उनीहरू आउँदैनन्।”
दलबहादुरकी श्रीमती गोलधापकै शिविरमा बितिन्। उनले श्रीमतीका नाममा त्यहाँ चौतारा नै बनाए। “अब मेरै प्राण जाने वेला भएको छ। मेरो चौतारा बनाउन त छोराहरू नेपालै आउँछन् होला। तर, मलाई एक पटक चाहिं आफू जन्मेको देश हेर्न मन छ। हुर्केको माटो छुन मन छ। जिउँदै हुँदा पाउँछु त?,” उनको जिज्ञासा छ।

भुटानी शरणार्थी दलबहादुर कार्की।
दलबहादुर आफ्नै इच्छाले ‘कि स्वदेश फिर्ता कि नेपालमै बस्ने’ भनेर पुनर्वासमा नगएका हुन्। उनीजस्तै पहिलो पुस्ताका वृद्धवृद्धा शिविरमै छन् भुटान फर्किन पाउन आशमा।
तेस्रो मुलुक पुनर्वासका लागि देश सार्ने कार्यक्रमले शिविरमा बस्ने अधिकांशको परिवार छुट्टिएको छ। सन्तानसँग बस्ने रहर र चाहनाहरू पनि अपूरो भएका छन्।
७२ वर्षीया नीलमाया राईका लागि त अहिले परिवार भनेकै मोबाइल फोन मात्रै भएको छ। नीलमायाको श्रवणशक्ति पनि कमजोर छ।
दुई छोरा छन् उनका। दुवै अमेरिकामा बस्छन्। वेलावेला कान्छा छोराले पैसा पठाउँछन्, त्यही पैसाले नीलमाया र उनका श्रीमान्को जीविका चल्छ। “जीविका चल्नु र जीवन चल्नु त फरक होइन र?,” नीलमाया वेलाबखत आफैंसँग यस्तो प्रश्न गर्छिन्। अनि आफैं मनलाई सान्त्वना दिन्छिन्।
“पुनर्वासको प्रक्रियामा मैले भुटान जाने इच्छा देखाएँ। त्यसपछि छोराहरू मसँग खासै बोलेनन्। अहिले बोल्नका लागि कहिले उनीहरूको समय मिल्दैन, कहिले इन्टरनेटले काम गर्दैन,” नीलमायाले सुनाउँछिन्, “मर्ने वेला न छोराछोरी साथमा भए न त आफ्नो देश।”
भुटानी शरणार्थी नीलमाया राई।
छाक टार्नै समस्या
देशले बोलाओस् र परिवार आओस् भन्ने चाहनाकै बीच अहिले शरणार्थी शिविरमा रहेकाहरूलाई छाक टार्नै गाह्रो भइरहेको छ। शुरूआतमा खानपिनका लागि समस्या भए पनि पछिल्लो समय दैनिकी सहज रुपमा चलेकै थियो। अहिले अर्को समस्या थपिएको छ हातमुख जोर्ने नसकिने।
सन् २०१८ मा शरणार्थीको तेस्रो देश पुनर्वास कार्यक्रम बन्द भएपछि शिविरमा सञ्चालित धेरै परियोजना बन्द भए। त्यही वेलादेखि शिविरमा बस्दै आएका शरणार्थीले रासन पाउन छाडे।
बेलडाँगी शरणार्थी शिविरका सचिव टीबी राई रासन नपाएपछि बिहान-बेलुकाको छाक टार्नै समस्या भएको बताउँछन्। राईका अनुसार शिविरमा खानाका लागि कि आफन्तले विदेशबाट पैसा पठाउन पर्छ कि रतुवा खोलामा गिट्टी फोड्नुपर्छ। दैनिक ज्यालादारी काम गरेर पनि बिहान-बेलुकाको छाक टार्न समस्या छ।
त्यसो त सन् २०२० को अन्त्यमा झापामा २८ वर्षदेखि सञ्चालित संयुक्त राष्ट्रसंघ शरणार्थी सम्बन्धी उच्च आयोग (यूएनएचसीआर)को उपशाखा कार्यालय पनि बन्द छ। यो बन्द भएपछि पनि उनीहरूलाई गाह्रो भएको हो।
आक्रोशमा छन् शरणार्थी
भुटानी शरणार्थीको पुरानो पुस्ता अड्डी कसेर स्वदेश फिर्तीको मागमा छ। तर, आफूहरूको मागलाई नेपाल सरकारले पूरै बेवास्ता गरेको उनीहरू गुनासो गर्छन्। स्वदेश जान नपाएर छटपटाएका उनीहरू नक्कली शरणार्थी बन्न तयार नेपाली र तिनलाई शरणार्थी बनाउने नेताहरूप्रति आक्रोशित छन्।
शरणार्थी शिविरमा भेटिएका नयाँ पुस्ता भने अलि फरक सोच्छन्। आफ्नो नाम नखुलाउन आग्रह गर्दै शिविरमा भेटिएका एक युवाले भने, “एक बोतल रक्सीको भरमा आफ्नो परिचयपत्र नै बेच्ने भुटानीहरू पनि हुनुहुन्छ, त्यो हाम्रो गल्ती हो। हामीले स्विकार्नुपर्छ।”
बेलडाँगी शिविरको छाप्रो
अर्का युवा भन्छन्, “ढिलै भए पनि शरणार्थी शिविरको कालोपर्दा बाहिरिएको छ। घरज्वाइँ बनेर गएका नेपालीहरू, अर्काको सन्तान बनेर गएका नेपालीहरू ती सबैबारे अनुसन्धान हुने हो भने भुटानीभन्दा धेरै नेपाली चाहिं शरणार्थी बनेर गएको भेटिएलान्।”
उसो त जिल्ला प्रशासन कार्यालय झापाले २०७९ असोज १२ गते एउटा सूचना निकाल्दै गैरभुटानी शरणार्थीलाई भुटानी बनाई तेस्रो मुलुक पठाउने भ्रम सिर्जना गरी अफवाह फैलाउने, प्रलोभन दिने जस्ता कार्य गरेमा दण्डित गर्ने भनेर सचेत गराएको थियो। तर, त्यो सूचनाको विषयलाई लिएर एकाइमा कुनै पनि उजुरी परेन।
अझै पनि झापाको बेलडाँगी शिविरमा दुई हजार ६८८ पुरुष र दुई हजार २७८ महिला गरी जम्मा चार हजार ९६६ भुटानी शरणार्थी बस्दै आएका छन्। शरणार्थी समन्वय एकाइ झापाका प्रमुख दयाकृष्ण ढकालका अनुसार यस वर्ष तीमध्ये दुई हजार चार जनाले मात्र शरणार्थी परिचयपत्र नवीकरण गरेका छन्।