उपचार गर्न नसक्दा ह्वीलचेयरमै बाँधेर राखेका छन् २८ वर्षीया छोरी
पुनर्वासका क्रममा केही भुटानी शरणार्थी अमेरिका, बेलायत गए, नेपालमै रहेकाले भने सास्ती खेपिरहेका छन्। उनीहरूमध्ये एक झापाको बेलडाँगी शिविरमा रहेका पदमलाल पोखरेलले छोरीको उपचार गर्न नसकेपछि ह्वीलचेयरमै हातखुट्टा बाँधेर राखेका छन्।
झापाको दमक नगरपालिका-३ बेलडाँगी शरणार्थी शिविरको सेक्टर बी-३ को हट नम्बर २९६ मा एउटा बेग्लै घर (छाप्रो) छ। शिविरका अन्य छाप्रो खुलै भए पनि यो भने चारैतिर घेरिएको छ, बाँसका भाटाले।
किन यसरी बाँसका भाटाले घेरिएको होला? ६८ वर्षीय पदमलाल पोखरेल भन्छन्, “कान्छी छोरी घरको चौघेराबाट निस्किएर हिँडिन् भने भेट्नै मुश्किल हुन्छ। यही भाटाकै टाँटीको सहायतामा गेट पनि बनाएका हौं।”
भुटान छोडेर सन् २०१२ मा नेपाल आएका पदमलाल त्यसयता शिविरमै बस्दै आएका छन्। उनका चार सन्तानमध्ये जेठी छोरी पुनर्वास प्रक्रियाबाट अमेरिका पुगेकी छन्। अहिले श्रीमती, दुई छोरी र एक छोरासँग शिविरमा बसिरहेका छन्।
उनकी कान्छी छोरी प्रमिलालाई मानसिक समस्या देखिएको छ। उनी घरबाट भागेर यताउता नजाऊन् भनेर छाप्राको चारैतिर बाँसका भाटाले घेरिएको पदमलाल सुनाउँछन्। “सानैदेखिको समस्या हो, तर देश छोडेर हिंडेको थिएँ, राम्ररी उपचार गराउन सकिनँ,” उनी भन्छन्।
भुटान छोडेर मेघालय पुग्दा प्रमिला जन्मिएकी थिइन्। वर्षदिनसम्म उनको स्वाभाविक शरीरको विकासक्रम भएन। भर्खरै आफ्नो देश छोडेर हिंड्नुपर्ने बाध्यता आइलागेको थियो। त्यसैले शुरूआतमै उपचार गर्न नसकेकोमा उनलाई पछुतो छ।
छरछिमेकमा सोधपुछ पनि गरेका थिए। बूढापाकाले प्रमिलालाई ‘हावा लागेको’ भनेर सुनाए। त्यसैले उनी पनि झारफुकमै लागे। “केही सुधार भएन, झन् झन् बढ्दै गयो,” उनी भन्छन्।
नेपाल पुगेपछि भने केही सजिलो भयो। सरसहयोग पनि पाइन थाल्यो। प्रमिलाको उपचार पनि गर्न खोजे। “छोरीको उपचारका लागि कहिले सिलगुढी त कहिले दमक धेरै धाएँ, तैपनि सन्चो भएन,” उनी भन्छन्।
उमेर बढ्दै जाँदा प्रमिला बिस्तार घिस्रिंदै यताउता गर्न थालिन्। त्यही क्रममा हात खाटको खट्टामा बजारिन्। जसले गर्दा देब्रे हात भाँचिएको उनी बताउँछन्। उपचार गर्दा हात त ठीक भयो, तर चिन्ता कम भएन। “फेरि हातखुट्टा भाँच्ली कि भन्ने पीरले ह्वीलचेयरमा बाँधेर राख्दै आएका छौं,” पदमलाल सुनाउँछन्।
पदमलालको घरमा पुग्दा उनकी पत्नी देवीमाया छोरी प्रमिलासँग कुराकानी गरिरहेकी थिइन्। प्रमिला चर्को स्वरमा बोलिरहेकी थिइन्। कृष्ण दिदीलाई नबोल्न आग्रह गरिरहेका थिए। ह्वीलचेयरमै बसेर टेलिभिजन हेरिरहेकी प्रमिलाको भने बोलीको कुनै ठेगान थिए। “आफैं बर्बराईराख्छे, एक जनाले कुरेर बस्नुपर्छ,” पदमलाल दुःखेसो गर्छन्।
प्रमिला अहिले २८ वर्षकी भइन्। पछिल्लो पाँच वर्षमा मानसिक समस्या झन् झन् बढ्दै गएको छ। औषधिले पनि काम गर्न छोडेको भाइ कृष्ण बताउँछन्। कति वेला सम्हाल्नै नसकिने भएकाले कपडाले हातखुट्टा बाँधेको उनी सुनाउँछन्। “दिदीको हातखुट्टा अलिकति खोलिदिनै हुँदैन, हातखुट्टा भुइँमा बजार्नुहुन्छ,” कृष्ण भन्छन्, “ठूलठूलो स्वरले बोल्नुहुन्छ, छिमेकीलाई नै अप्ठ्यारो हुन्छ।” चौबीसै घन्टा एक जनाले रेखदेख गर्नुपरिरहेको उनी बताउँछन्।
प्रमिला अहिले बस्दै आएको ह्वीलचेयर पनि पुरानो भइसक्यो। चार वर्षअघि शिविरमै रहेको स्कूलले दिएको थियो। त्यो पनि टुटफुट हुन थालेको छ। “नयाँ किन्नका लागि पैसा छैन,” पदमलाल भन्छन्, “ह्वीलचेयरलाई पनि बाँसका भाटाले बाँधेर बस्ने व्यवस्था गरेका छौं।”
प्रमिलाले ह्वीलचेयरमै रात कटाउन थालेको आठ वर्ष भयो। उनको सहारा बनेको यो तेस्रो ह्वीलचेयर हो। “खाटमा भन्दा ह्वीलचेयरमै निदाउन सजिलो मान्नुहुन्छ,” कृष्ण भन्छन्, “दिदीको रात ह्वीलचेयरमै बित्छ।”
छोरीको उपचार गर्ने त पदमलालको इच्छा थियो। तर, खानलाउनै धौधौ भइरहेको वेला उपचार गर्न नसकेपछि बाँधेर राख्नुपरेको उनी बताउँछन्। “ह्वीलचेयर किन्ने पैसा त छैन, उपचार कसरी गर्नु!” उनी भन्छन्, “छोराछोरीलाई बाँधेर राख्न त मन लाग्दैन, अर्को उपाय पनि छैन।”