उपाधि भिडन्तमा हरेक बलले विश्व विजेता टोलीको भाग्य उलटफेर पारिरहेको नाटकीय रोमाञ्च विश्वकप क्रिकेटमा शायदै दोहोरिएला।
सबै तस्वीरः आइसीसी
एकदिवसीय खेलको सर्वोच्च प्रतियोगिता विश्वकप क्रिकेट–२०१९ समापन भएको एक साता बितिसकेको छ । तर न्यूजिल्याण्डलाई पराजित गर्दै इङ्ल्याण्डलाई विश्व च्याम्पियन बनाएको फाइनल खेलको चर्चा सेलाएको छैन ।
नाटकीय खेलको चर्चा हत्तपत्त सेलाउने पनि देखिंदैन । एकदिवसीय क्रिकेट र त्यसमा पनि विश्वकपको फाइनलमा यस्तो रोमाञ्च, कौतूहल, विवाद र आश्चर्यको मिश्रण शायदै देख्न पाइएला ।
एकदिवसीय क्रिकेटका निकै कम मात्र प्रतियोगिता ‘टाई’ हुने गरेका छन् । विश्वकपको फाइनल त्यसैमध्येको एक बन्नु अनौठो इतिहास भएको छ । एकदिवसीयमा सुपर ओभर नभएकोमा त्यो इतिहास पनि यही विश्वकपमा लेखिएको छ ।
निर्धारित ५० ओभरको खेलमा २४१ रनको बराबरी भएपछि खेलाइएको सुपर ओभर पनि १५/१५ रनको बराबरीमै टुंगियो । त्यसपछि विजेताको छिनोफानो दुई टोलीले प्रहार गरेको बाउन्ड्री (छक्का र चौका) गनेर गरियो । न्यूजिल्याण्ड १६ बाउन्ड्रीमा सीमित रहेकाले इङ्ल्याण्डले प्रहार गरेको २४ बाउन्ड्रीका आधारमा पहिलो पटक विश्व विजेताको ताज चुम्यो ।
नतिजा जति अस्वाभाविक थियो, प्रतिस्पर्धा उत्तिकै रोचक थियो । लर्डस् मैदानमा प्रत्यक्ष हेरिरहेका ३० हजार दर्शक र विश्वभरका करोडौं क्रिकेटप्रेमीका लागि विश्वकप फाइनल अद्भुत बन्यो । खेल सुपर ओभरसम्म पुग्दा क्रिकेटका पण्डितदेखि चर्चित क्रिकेटरसम्मले विस्मय माने । खेलको कमेन्ट्री गरिरहेका महान् क्रिकेटर सचिन तेन्दुलकर भन्दैथिए, “अब सबै भगवानको हातमा छ । यस्तो फाइनल त अब देख्न पाइन्न होला ।”
नाटकीय खेलमा केन विलियम्सको न्यूजिल्याण्डलाई हराउँदै इङ्ल्याण्डलाई विश्व विजेता बनाउने केही महत्वपूर्ण घटना भएका थिए, खेलको ‘टर्निङ प्वाइन्ट’ मानिएको ती प्रसंगको चर्चा गरौं ।
बोल्टको क्याच र डोरी
४९औं ओभरमा खेल चलिरहँदा इङ्ल्याण्डलाई उपाधि जित्न ९ बलमा २२ रनको खाँचो थियो । क्रिजमा रहेका इङ्ल्याण्डका बेन स्टोक्सको सामु बल बाउन्ड्री पार गर्नुको विकल्प थिएन । न्युजिल्याण्डका बलर जिमी निशामको बलमा स्टोक्सले छक्काको लागि लामो प्रहार गरे, तर बल डिप मिड विकेटमा गयो । त्यहाँ बसिरहेका फिल्डर ट्रेन्ट बोल्टले क्याच गरे ।
तर एकाध सेकेण्डमै कहानी बदलियो । बाउन्ड्री लाइनमा बल क्याच लिएपछि उनको दायाँ खुट्टाले मैदानभित्र टेके पनि बायाँ खुट्टाले बाउन्ड्रीको डोरीमा टेक्न पुग्यो । फलस्वरूप, मैदानमा जमिरहेका स्टोक्सले जीवनदान मात्र पाएनन्, उक्त बलले पनि छक्काको रुप पायो ।
बोल्ट तत्काल चनाखो भई नजिकको साथीलाई बल पास गरिदिएको भए स्थिति बेग्लै हुन्थ्यो । इङ्ल्याण्डले ८ बलमा २२ रन बनाउनुपर्ने हुन्थ्यो, जसले खेल न्यूजिल्याण्डको पक्षमा मोडिने निश्चित थियो ।
अन्तिम ओभरको ‘ओभर थ्रो’
खेल जित्न इङ्ल्याण्डलाई अन्तिम ओभरमा १५ रन आवश्यक भयो । बलिङका लागि ट्रेन्ट बोल्ट तयार थिए भने क्रिजमा बेन स्टोक्स नै थिए । पहिलो दुई बलमा बोल्टले कुनै रन दिएनन् । अब ४ बलमा १५ रन आवश्यक पर्यो । तेस्रो बलमा स्टोकले छक्का प्रहार गरिदिए । अन्तिम ओभरको चौथो बलमा भने अनौठो भयो ।
बोल्टले फालेको चौथो फुल टस बललाई स्टोक्सले डिप मिड विकेटमा प्रहार गरे, र रनका लागि दौडिए । उनी दोस्रो रनका लागि फर्किंदा फिल्डमा रहेका मार्टिन गुप्टिलले विकेटमा प्रहार गरे, तर बल स्टोक्सको ब्याटमा लागेर दिशा बदल्दै चौकामा परिणत हुनपुग्यो । अम्पायर कुमारा धर्मसेनाले लेग अम्पायरसँग परामर्श गरी स्टोक्सले लिएको २ रन र बाउन्ड्रीको ४ गरी इङ्ल्याण्डलाई ६ रन दिए ।
यो नाटकीय रन प्राप्त भएसँगै इङ्ल्याण्ड २ बलमा ३ रन लिनुपर्ने सहज स्थितिमा पुग्यो । यद्यपि त्यसपछिको दुई बलमा इङ्ल्याण्डले २ रन मात्र लिंदा खेल २४१/२४१ रनको बराबरीको स्थितिमा पुगेर सुपर ओभर आवश्यक भयो ।
विवादै विवाद विश्वकप फाइनलको टकरावमा विस्मय मान्नुपर्ने अन्य धेरै घटनासँगै विवाद पनि छन् । विवादको मुख्य विषय त सुपर ओभर पनि बराबरी भएपछि बाउन्ड्रीको आधारमा विजेता छान्ने नियम बन्यो । थुप्रै क्रिकेटरले यसको आलोचना गरे ।
भारतीय क्रिकेटर राहुल द्रविडले उक्त नियमलाई ‘वाहियात्’ नै भने । धेरैले ट्रफी दुवै देशलाई बाँडेर संयुक्त विजेता बनाउनुपर्ने बताए । श्रीलंकाका हस्ती मुथैया मुरलिथरनले लेखे, “वास्तवमा दुवै टोली ट्रफीका हकदार हुन् । न्यूजिल्याण्ड कहाँ पराजित भएको छ र !”
मुख्य विवाद त ५०औं ओभरको ओभर थ्रोमा दिइएको ६ रनको बारेमा भयो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का पूर्व अम्पायर सिमोन टफेलले त्यो ५ रन मात्र हुने तर्क गरेपछि त्यो विषय अझ तरंगित बन्यो । तर आईसीसीले यसबारे कुनै प्रतिक्रिया दिएको छैन । यस विषयमा न्यूजिल्याण्डका खेलाडीले आफ्नो टोली ठगिएको महसूस कत्तिको गरे ? ट्रेन्ट बोल्टको जवाफ थियो, “त्यस्तो छैन ।”
नतिजामा इङ्ल्याण्डले बाजी मारे पनि न्यूजिल्याण्डलाई पराजित नमान्नेहरूको संख्या ठूलो छ । केन विलियम्सको टोलीले सर्वत्र प्रशंसा पाएको छ । मुख्यतया, विश्वकपमा इङ्ल्याण्ड र न्यूजिल्याण्डबीचको फाइनलले ५० ओभरको क्रिकेटमा ज्यान भरिदिएको विश्व क्रिकेटको विश्लेषण छ । यसले क्रिकेट अब टी–ट्वान्टी शैलीको छायाँमा परिसक्यो भन्ने टिप्पणीलाई गलत साबित गरिदिएको छ । (स्रोतः विभिन्न समाचार एजेन्सी)