सबाल्टर्नका स्वर रञ्जित गुहा
सबाल्टर्न अध्ययनसँगै जोडिएर आउने नाम हो, रञ्जित गुहा। उनी २०औं शताब्दीको भारतका महान् इतिहासकार र राजनीतिक चिन्तकहरूको सूची बनाउँदा पहिलो पंक्तिमै आउँछन्।
यूरोपलाई केन्द्र बनाएर घुमिरहेको ज्ञान प्रणालीलाई त्यसबाट मुक्त उत्तरऔपनिवेशिक ज्ञान प्रणालीको जग हाल्नेमध्ये उनी पनि एक हुन्। दक्षिणएशियाको इतिहास लेखन र अध्ययनलाई स्थापित ज्ञान परम्पराबाट नयाँ गोरेटोमा डोर्याउने गुहा अब हामीमाझ रहेनन्। यही मे महीनामा १०० वर्षको उमेर सिंढी टेक्दै गरेका गुहाको अस्ट्रियास्थित आफ्नै निवासमा निधन भएको छ।
२०औं शताब्दीको भारतका महान् इतिहासकार र राजनीतिक चिन्तकहरूमध्ये एक थिए, रञ्जित गुहा। उनकै अग्रसरतामा सबाल्टर्नको कोणबाट इतिहास लेख्ने नयाँ विधाको स्थापित भयो, जसले विश्व इतिहास लेखनमा उत्तरऔपनिवेशिक र यूरोपलाई केन्द्र नमान्ने पद्धतिको शुरूआत गर्यो। उपनिवेशवादबाट मुक्त हुँदै गरेको युगका चन्द्रमा थिए उनी।
२०औं शताब्दीका एशिया र अफ्रिकाका अन्य उपनिवेशविरोधी विश्व नागरिक जस्तै उनी पनि जर्मन दार्शनिक हेगेलबाट प्रभावित थिए। सन् २०११ मा पहिलो पटक भियना नजिकैको गाउँस्थित उनकै निवासमा भेट्दा उनले मलाई कसरी आफूले हेगेलको मालिक-दास संघर्षको गाथालाई सबाल्टर्नको कोणबाट पुनर्व्याख्या गरे भनेर बताएका थिए।
कार्ल मार्क्स त्यस्तै अर्का दार्शनिक हुन् जसले गुहालाई वर्ग संघर्ष र क्रान्तिबारे चिन्तन गर्न उत्प्रेरित गरे। तिनै प्रभाववश समाजवादी अभियन्ताका रूपमा गुहा भारत, यूरोप र पश्चिम एशियाभर घुमे।
चिनियाँ क्रान्ति र अल्जेरियाली मुक्ति युद्ध लगायत भारत र संसारका सबैतिरका स्वाधीनता संघर्षबाट प्रेरित भएका गुहा बिस्तारै हेगेल र मार्क्सबाट टाढिंद गए। हेगेलका निम्ति राज्यको कर्मचारीतन्त्र ‘वैश्विक वर्ग’ बाट निर्माण हुन्थ्यो, जुन आफैंमा आधुनिक ज्ञानको भण्डार थियो। मजदूरहरू समाजवादी क्रान्तिका अग्रदस्ता हुन्, जसले पूँजीवादलाई नष्ट गरिदिन्छन् भन्ने मान्यता स्थापित गर्न कार्ल मार्क्सले हेगेलको त्यही वैश्विक वर्गको मान्यता सापट लिए। बहुमत जनता किसान भएको र यूरोपेली साम्राज्यहरू विरुद्ध जुधिरहेका एशियाली र अफ्रिकाली समाजका लागि त्यस्ता मोडल कमै मात्र सान्दर्भिक थिए।
यूरोपेली-मार्क्सेली प्रगतिवाद सोभियत संघ, सोभियत गठबन्धनका अरू राज्य र नेहरूकालीन भारतका लागि कृषि समाज नष्ट गर्ने वैधानिकताको स्रोत बनेको थियो। सोभियत शैलीको साम्यवादबाट मोहभङ्ग भएपछि गुहाले अन्ततः सन् १९५६ मा कम्युनिस्ट पार्टी परित्याग गरे। बरु उनले सन् १९६० र १९७० को दशकमा भारतमा भएको नक्सलवादी किसान आन्दोलनमा प्रेरणाका बीज फेला पारे।
आफ्ना पुस्तकहरू अ रुल अफ् पपर्टी फर बंगाल (१९६३) र इलिमेन्टरी एस्पेक्ट्स अफ् पिजेन्ट इन्सर्जेन्सी इन कोलोनियल इण्डिया (१९८३) मा उनले बेलायती उपनिवेशवादी शासनले भारतीय किसानको शोषण गर्न कसरी भारतीय सम्भ्रान्तसँग मिलेको थियो भन्ने उजागर गरे। उपनिवेशअघिका सामुदायिक संरचना र धार्मिक मान्यताले शासक वर्ग विरुद्ध किसानको आन्दोलन जन्माएको उनले महसूस गरे।
सन् १९८२ मा उनले आफूसँग विचार मिल्ने साथीहरूसँगको सहकार्यमा दक्षिण भारतीय इतिहासको पुनर्लेखन गर्ने उद्देश्य राखी शोध आलेखहरूको संग्रह सबाल्टर्न स्टडीज शृङ्खलाको प्रकाशन थाले। उक्त शृङ्खलाको पहिलो अङ्कमा प्रकाशित घोषणापत्र सरह बनेको निबन्ध ‘अन सम एस्पेक्ट्स अफ् द हिस्टोरियोग्राफी अफ कोलोनियल इन्डिया’ मा उनले सबाल्टर्नको राजनीतिले ‘स्वायत्त क्षेत्र’ समेट्ने तर्क गरे।
गुहाका परिश्रमसाध्य अनुसन्धानले हामीलाई उपनिवेशअघिदेखि रहेको भारतीय लोकतन्त्रका आदिवासी जराहरू पहिल्याउन सघाउँछन्। भारतीय र विश्वकै लोकतन्त्रलाई बलियो सुदृढ बनाउने हो भने जोन लक वा जोन स्टुआर्ट मिलबाट नभई सबाल्टर्न समुदायबाट प्रेरणा लिनुपर्छ भन्ने गुहालाई थाहा थियो।
यो क्रान्तिकारी विरासत बुझ्न गुहाले आफ्नो जीवनको अन्तिम दशकहरू भारतीय दर्शन र साहित्यमा समर्पण गरे। उनले सीता, शकुन्तला, द्रौपदी र एन्टिगोनीलाई हिंसात्मक पुरुष सत्ताको प्रतिरोध गर्ने विद्रोही महिलाका रूपमा प्रस्तुत गरे।
सन् २०१९ मा भेट्दा उनको पुस्तकालय देखेर म चकित भएँ। मार्क्सका पुस्तकहरू महाभारतसँगै थिए। हेगेल र हेइडिगरका पुस्तकसँगै उपनिवेशपूर्व रचित बंगाली भाषाका मंगल काव्यहरू थिए। यो वैश्विकता उपनिवेशबाट मुक्ति युगको विशेषता थियो। लोकतान्त्रिक विश्वको यस्तो परिकल्पना गरिएको थियो, जसमा आदिवासी र वैश्विक प्रवृत्ति साथसाथै अटाउँथे।
गुहा अब हामीसँग रहेनन्। एउटा युगको अन्त्यमा हामी शोकमग्न छौं। तथापि उपनिवेशवादविरोधी उनको व्यक्तित्व र कर्म सदा सान्दर्भिक हुनेछ। जलवायु सङ्कट र नृवंशीय वर्ग असमानता व्याप्त हाम्रो युगमा सबाल्टर्न आन्दोलनका बहुजातीय गठबन्धनहरू देख्छौं। दलित-बहुजन र आदिवासी आन्दोलन होस् वा वातावरणवादीको आन्दोलन वा अश्वेतको वा नारीवादी आन्दोलन, सबैमा हामी आशाका किरण फेला पार्छौं।
हामी अझै पूर्ण रूपमा उपनिवेशवादबाट स्वाधीन भइसकेका छैनौं। उपनिवेशकालमा सिर्जित राजनीति र आर्थिक दमनका संरचना आज पनि कायम नै छन्। त्यसैले उपनिवेश विरोधी र सबाल्टर्न विरोधीले बहुजातीय लोकतन्त्रका निम्ति भइरहेको वर्तमान संघर्षलाई उत्प्रेरणा दिन्छन्। जब जब हामी यी संघर्षहरू सम्झिन्छौं तब तब हामीले रञ्जित गुहालाई पनि सम्झिरहनेछौं।
(बेनर्जी स्कटल्यान्डको ‘युनिभर्सिटी अफ् सेन्ट एन्ड्रयुज’मा आधुनिक इतिहासका अध्यापक हुन्। ‘द इन्डियन एक्सप्रेश’मा प्रकाशित अबिच्युअरीको भावानुवाद गरिएको हो।)