कालोपत्रे गर्न माग गर्दै मध्यपहाडी लोकमार्ग अवरुद्ध
![कालोपत्रे गर्न माग गर्दै मध्यपहाडी लोकमार्ग अवरुद्ध](https://www.himalkhabar.com/uploads/posts/800X600/road_1_1682843827.jpg)
महुरे–फोक्सिङटार सडकखण्डमा कालोपत्रे गर्न ढिलासुस्ती गरेको भन्दै खोटाङका स्थानीयले मध्यपहाडी लोकमार्ग अवरुद्ध गरेका छन्।
जनप्रतिनिधि सहित स्थानीयवासीले आइतबार बिहान मध्यपहाडी लोकमार्गको महुरे (नुनथला) मा सडकमै बसेर डेढ घण्टा अवरुद्ध गरेका हुन्। कालोपत्रेको काम अलपत्र पारेर ठेकेदार हिंडेकाले विरोध गर्नुपरेको कोशी प्रदेश सभाका सदस्य पाँचकर्ण राईले बताए। उनीहरूले ठेकेदार विरुद्ध नाराबाजी समेत गरेका थिए।
महुरे–फोक्सिङटार सडक दुई खण्डमा विभाजन गरेर कालोपत्रे शुरू गरिएको थियो। त्यसमध्ये महुरे–राजापानीको सिमपानी (२२ किलोमिटर) सडक भारत कन्स्ट्रक्शन/सिद्धिशाही जेभी र सिमपानी भञ्ज्याङ–फोक्सिङटार (२७ किलोमिटर) खण्डको ठेक्का देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले लिएको छ। गत पुस अन्तिम सातादेखि निर्माणस्थलबाट उपकरण उठाएर अन्यत्र लैजान थालेको भारत कन्ट्रक्शन/सिद्धिशाहीले गत माघ ४ गते क्रसरको सामान उठाएर लगेको थियो।
भारत कन्स्ट्रक्शन/सिद्धिशाहीले २०७७ असार २९ गतेभित्र काम सम्पन्न गर्ने शर्तमा २०७३ असार ३० गते सडक कालोपत्रे योजनाको सम्झौता गरेको थियो। यस्तै, देवनारायण पवन/मैनाचुली/खाम्पाचेले २०७७ साउन १० गतेभित्र कालोपत्रे पूरा गर्ने शर्तमा २०७३ साउन ११ गते सम्झौता गरेको थियो।
![](https://www.himalkhabar.com/uploads/editor/Authors/NewFolder/road_khotang.jpg)
काम छाडेर बेपत्ता भएका ठेकेदारलाई तत्काल निर्माणस्थलमा फर्काएर काम शुरू गराउन चक्काजाम गरिएको प्रदेश सभा सदस्य राईले बताए। “बेपत्ता बनेको ठेकेदार तुरुन्त काममा फर्कनुपर्यो। अलपत्र काम शुरू गराउनुपर्यो। असारसम्म म्याद छ। त्यो समयभित्र कालोपत्रेको काम सक्नुपर्यो,” राईले भने, “ठेकेदार वैशाखभित्र निर्माणस्थलमा नआए जेठ पहिलो सातादेखि अनिश्चितकालीन हडताल गर्नेछौं।”
सिद्धिशाहीसँग सम्बद्ध दीपेन्द्रबहादुर शाही नेपाली कांग्रेस डोल्पा सभापति हुन्। मैनाचुलीका मदन अधिकारी नेकपा (एमाले) निकट हुन्।