सडकले कुलो पुरिंदा बाँझियो डेढ सय रोपनी खेत
![सडकले कुलो पुरिंदा बाँझियो डेढ सय रोपनी खेत](https://www.himalkhabar.com/uploads/posts/800X600/khet_1_1681709633.jpg)
सडक निर्माणका क्रममा कुलो पुरिंदा खोटाङको हलेसी तुवाचुङ नगरपालिका-११ राजापानीको भाडबेंसीमा डेढ सय रोपनी खेत बाँझो भएको छ।
भाडबेंसीका रणबहादुर भट्टराईले कुलो सञ्चालन हुँदा २१ रोपनी खेतबाट वार्षिक ३० मुरी धान, ६ मुरी मकै र पाँच मुरी गहुँ भित्र्याउँथे। सडक निर्माणका क्रममा कुलो पुरिएपछि उनले धान र गहुँ खरीद गर्नुपरेको छ। सोही ठाउँका बिर्खबहादुर बुढाथोकीको आठ रोपनी जग्गामा वार्षिक १२ मुरी धान फलाउँथे। मकै, गहुँ, भटमास र उखु पनि राम्रै उत्पादन गर्थे। कुलो पुरिएर सिंचाइ अभाव भएपछि उनले खेतमा मकै लगाउँदै आएका छन्।
हलेसीधामबाट फोक्सिङटार, उदयपुरको गाईघाट हुँदै धरान, विराटनगर जोड्ने हलेसी-धितुङ-भाडबेंसी–रेग्मीटार २७ किलोमिटर सडक निर्माणका क्रममा २०७५ सालमा भाडबेंसीको कुलो पुरिएको थियो। लैकुखोला लुकुवा मुहान भएको बाँझगरा कुलो पुरिंदा सिंचाइ अभावमा भाडबेंसीको ३२ घरका करीब १६० रोपनी खेत बाँझो भएको छ।
संघीय, प्रदेश सरकार र हलेसी तुवाचुङ नगरपालिकाको करीब डेढ करोड रुपैयाँ लगानीमा कुलो निर्माण गरिएको हो। धितुङबाट लैकुखोला पार गर्ने बित्तिकै कुलोलाई ‘क्रस’ गरेर कुलोमाथिबाट भाडबेंसीतर्फ सडक निर्माण गरिएको छ। कुलोमाथिबाट सडक खन्दा झरेको ढुङ्गा र माटोले कुलो पुरिएको छ। सडक निर्माण सकिए लगत्तै कुलो मर्मत गर्ने शर्तमा सडक बनाउन दिइए पनि हालसम्म मर्मत नभएको स्थानीय बिर्खबहादुर बुढाथोकीको गुनासो छ।
सडकका कारण कुलो पुरिंदा सुनकोशी नदी किनारको वर्षमा तीन बाली पाक्ने खेत अहिले बारीमा परिणत भएको छ। कुलो सञ्चालन भएको वेला खेतमा धान, मकै, गहुँ, उखु, आलु, लसुन, प्याज, मास लगायत बाली उत्पादन हुने गरे पनि अहिले मकै मात्र खेती हुँदै आएको बुढाथोकी बताउँछन्। पहिले हिउँद-वर्षा हराभरा देखिने भाडबेंसी अहिले सुक्खा छ।
कुलो पुरिएपछि बाँझो भएको खेत देखाउँदै पशुपति भट्टराई। कुलो पुरिएपछि यादव दाहालको १३ रोपनी, भोजराज सुवेदीको पाँच रोपनी, अमृतबहादुर कार्कीको पाँच रोपनी, बालकुमार कार्कीको पाँच रोपनी, चन्द्रबहादुर थलारीको तीन रोपनी, ईश्वरबहादुर भट्टराईको २५ रोपनी र घनश्याम सुवेदीको सात रोपनी खेती बाँझिएको छ। यस्तै, कटबहादुर बरालको आठ रोपनी, जीवन कार्कीको १५ रोपनी, देविका रायको १० रोपनी, दुर्गादेवी खत्रीको पाँच रोपनी, कल्पना खत्रीको पाँच रोपनी, बीरबहादुर बुढाथोकीको सात रोपनी, शंकर भट्टराईको १० रोपनी, क्षेत्रबहादुर सुवेदीको पाँच रोपनी र नारायण थलारीको तीन रोपनी खेत बाँझिएको छ।
गाउँकै विकास हुने भएकाले सडक बनाउन जग्गा दिएको तर शर्त अनुसार भत्किएको कुलो मर्मत नगरिदिंदा आफूहरू मर्कामा परेको कटकबहादुर बराल बताउँछन्। “तीन बाली पाक्ने खेतमा अहिले मकै मात्र फल्छ। रोड चाहियो, जग्गा काटेर दियौं। विकास आउँदा दिन पनि पर्यो, अवरोध गर्ने कुरा भएन,” बरालले भने, “बारी काटेर जग्गा दियौं, तर तीन-चार वर्ष बित्दा पनि शर्त अनुसार कुलो मर्मत भएन।”
२०७७ असोज २६ गतेदेखि सडक सञ्चालनमा आएपछि भाडबेंसीमा यातायातको पहुँच पुगेको छ। पूर्वका ठूला शहर जानआउन सहज भएको छ। कृषिउपज बजार पठाउने पनि सजिलो भएको छ। तर‚ कुलो मर्मत नहुँदा खेत मरुभूमि झैं बनेको स्थानीयको गुनासो छ। “सागसब्जी यही खेतमा हुन्थ्यो। उखु हुन्थ्यो। उखुको सक्खर बनाएर एक-दुई पैसा लिन्थ्यौं, त्यही पैसाले माछामासु खान्थ्यौं,” कृष्णकुमारी भट्टराईले भनिन्, “आठ-नौ जनाको परिवार छ। खेत बाँझिएपछि सागसब्जी किनेर खानुपर्छ। अर्काको खेतमा काम गर्नुपर्छ। घरीघरी बसाइँ जाऔं भन्छु बुढा मान्दैनन्।”
हलेसी तुवाचुङ नगरपालिकाका निवर्तमान मेयर इवन राई र वर्तमान मेयर विमला राईलाई कुलो मर्मतका लागि पटक पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको पशुपति भट्टराईको गुनासो छ। निवर्तमान प्रदेश सांसद राजन राई र निवर्तमान संघीय सांसद विशाल भट्टराईले स्थलगत अवलोकन गरेर आश्वासन मात्र बाँडेर फर्किएको स्थानीयवासी बताउँछन्।
पानीको सुविधा भएको तथा राम्रो उब्जनी हुने भएकाले उनीहरूले विदेशको मरुभूमिमा पसिना बगाएर कमाएको पैसाले भाडबेंसीमा खेत खरीद गरेका थिए। हलेसी तुवाचुङ-८ धितुङका बिर्खबहादुरका परिवारले विदेशमा कमाएको पैसाले २०६० सालमा खेत किनेर भाडबेंसी बसाइँ सरेका थिए। पशुपति भट्टराईको परिवारले पनि विदेशको कमाइले २०७० सालमा भाडबेंसीमा खेत किनेको थियो।
हलेसी-धितुङ-भाडबेंसी-रेग्मीटार सडक निर्माणका क्रममा भाडबेंसी पुछारमा लगिएको माझ कुलो र धितुङको कटहरेतर्फको कटहरे कुलो पनि बिग्रिएको थियो। प्रदेश सरकारको आर्थिक सहयोगमा माझ कुलो र कटहरे कुलो मर्मत भइरहेको छ।