राष्ट्रिय एकता दिवसको विपक्षमा
आजको नेपाल बन्ने प्रक्रियामा द्रव्य शाहदेखि जंगबहादुर राणासम्मको योगदान रहे पनि पृथ्वीनारायण शाहलाई मात्र राष्ट्रनिर्माता मान्ने र उनको जन्मदिनमा राष्ट्रिय एकता दिवस मनाउने ऐतिहासिक आधार कमजोर देखिन्छ।
उद्धव प्याकुरेल
धेरै देश र व्यक्तिको इतिहास बन्ने प्रक्रिया प्रायः एउटै देखिन्छ। कुनै कुरा प्रस्तुत गरेर समाजमा विश्वसनीय बनाउन शक्ति, स्रोत र दिमाग खर्चिएको पाइन्छ। इतिहास जित्नेले लेख्ने हो भन्ने भनाइका पछाडिको यथार्थ यही हो। प्रश्न गर्नेहरू कम भएको नेपाल जस्तो देशमा स्रोतसाधन सहित केही मानिस लाग्दा केही दशकमै तथ्यहरू तोडमरोड गरेर नयाँ इतिहास रच्न त सकिने रहेछ, तर त्यसलाई टिकाउन सजिलो रहेनछ। पृथ्वीनारायण शाहबारे भइरहेका बहस र प्रश्नले यही देखाउँछन्।
कुनै पनि तथ्य स्थापित गर्ने आधार चाहिन्छ। इतिहास केलाउँदा पृथ्वीनारायणलाई राष्ट्रनिर्माता अर्थात् नेपाल देश बनाएका राजा मान्ने र प्रचार गर्ने आधार फितलो देखिन्छ। उनले युद्ध मार्फत नुवाकोट, मकवानपुर, कीर्तिपुर सहित हालको काठमाडौं उपत्यका, चौकोटभित्रका पनौती, बनेपा, नाला र खड्पु जितेका थिए। १८२५ सालमा कान्तिपुर र पाटन, यसको एक वर्षपछि भादगाउँ जिते। यी भूमि गोर्खामा गाभेपश्चात् सरदार रामकृष्ण कुँवरलाई वल्लो किरात, माझ किरात र पल्लो किरात इलाका कब्जा गर्न अरुण नदीपारि पठाएको बाहेक त्यसपछि पृथ्वीनारायणले कुनै ठूलो भूभागमा आक्रमण गरेको र जितेको कतै उल्लेख छैन।
पृथ्वीनारायणको योगदानको लेखाजोखा गर्दा अहिलेको नेपालको जग बसाउने कामलाई सम्झने हो। तर, त्यत्तिकै आधारमा उनलाई राष्ट्रनिर्माता भनेर पुस २७ लाई राष्ट्रिय एकता दिवस मान्न सकिने अनुमति इतिहासले दिँदैन। बरु उनकै पुर्खा तथा गोर्खाका पहिलो शाह राजा द्रव्य शाहले राज्य विस्तारको थालनी गरेको सम्मानमा दशैंको टीकाको दिनलाई एकता दिवस मनाउन सकिएला। लिगलिगकोटमा घलेहरूले दौड प्रतियोगितामा प्रथम हुनेलाई राजा बनाउने परम्परा १६१६ सालको टीकाको दिन द्रव्य शाहको उदयपश्चात् अन्त्य भएको थियो। पछि उनैले लिगलिगकोटलाई गोर्खासम्म विस्तार गरे।
अर्को, अहिलेको नेपालले चर्चेको भूमिबारे पृथ्वीनारायणले त्यही वेला कुनै सोच/योजना बनाएका कुनै दस्तावेज वा अभिलेख भएको भए आजको मुलुकको नक्शाङ्कन गर्ने व्यक्ति मानेर राष्ट्रनिर्माता भन्ने आधार हुन्थ्यो। तर, त्यस्तो भेटिएको छैन। राष्ट्रनिर्माताको भाष्य बनाउन सहयोगी उनको दिव्योपदेशमा पनि उनी बनारसबाट फर्कने क्रममा काठमाडौं उपत्यकामा नजर परेकोबारे मात्र उल्लेख छ, न कि अहिलेको समग्र नेपालको भूगोलमा।
गोर्खा राज्य विस्तार गर्नमा उनको योगदान हेरेर राष्ट्रनिर्माता मान्नुपर्छ भन्ने तर्क पनि गर्न सकिँदैन। किनभने गोर्खाको विस्तार गर्न खोज्नेमा उनी पहिलो थिएनन्। यस कार्यमा उनका पिता नरभूपाल शाहदेखि पुर्खा राम शाहसम्म लागेका थिए। नरभूपालले १७९६ सालमा नुवाकोटमा हार बेहोरेका थिए।
राष्ट्रनिर्माता मान्ने अर्को आधार अहिलेको नेपालको भूभागमध्ये अधिकांश भाग गोर्खामा मिलाएको अवस्था हुन सक्थ्यो। तर, मुलुकको भूगोल आजको अवस्थामा आइपुग्नुमा पृथ्वीनारायणभन्दा बढी योगदान उनका कान्छा छोरा बहादुर शाह र प्रथम प्रधानमन्त्री (मुख्तियार) भीमसेन थापाको देखिन्छ। राजालाई छाडेर नायब र प्रधानमन्त्रीलाई राष्ट्रनिर्माणको जस नदिने हो भने पनि अहिलेको नेपालले आकार लिएको समय त पृथ्वीनारायणका नाति र पनाति राजाहरू रणबहादुर र गीर्वाणयुद्धविक्रमको शासनकाल हो।
२०२४ सालको पृथ्वी जयन्तीमा जारी गरिएको हुलाक टिकट।
यी बाहेक मुलुकको वर्तमान नक्शालाई अन्तिम रूप दिने कार्य राष्ट्रनिर्माता मान्ने अर्को आधार पनि हुन सक्थ्यो। यसमा पनि जंगबहादुर राणाको नाम अगाडि आउँछ। अंग्रेज शासन विरुद्ध भारतको लखनउमा चर्किएको विद्रोह दबाउन गोर्खाली सेनाको नेतृत्व गरेर सघाएका जंगबहादुरबाट खुशी भई अंग्रेजले सुगौली सन्धिमा गुमेका तराईका भूभाग बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता दिएका थिए। फिर्ता आएको सहितको भूक्षेत्र नै वर्तमान नेपाल हो।
पृथ्वी जयन्ती मनाउने चलन राणाहरूबाट शासनसत्ता शाहवंशमा फिर्ता आएपछि अर्थात् २००७ सालपछि शुरू भएको देखिन्छ। पृथ्वीनारायणले मुलुकको एकीकरण गरेको भाष्य निर्माण गरी राष्ट्रवादको आडमा शाहवंशलाई फेरि सत्तामा स्थापित गर्ने अवधारणा अन्तर्गत पञ्चायतकालमा राजा महेन्द्रले पृथ्वी जयन्ती मनाउने रीत बसाए। पृथ्वीनारायणको कस्तो चित्र बनाउँदा जनताले सहजै पत्याउलान् भनेर गरिएका केही प्रयोग तथा उनका बहुप्रचारित चित्रहरूबारेका तथ्य कलाकार र चित्रकार मार्फत नै बाहिर आएका छन्।
हातमा फूल लिई पलेंटी कसेर बसेको चित्र पृथ्वीनारायणको प्रचारमा आएको सबभन्दा पुरानो चित्र मानिन्छ। सूर्यविक्रम ज्ञवाली लिखित जीवनी पुस्तक पृथ्वीनारायण शाह (१९९२ साल) मा समेटिएको त्यो चित्र पृथ्वीनारायणका नाति रणबहादुरको शासनकालमा गढवाली दरबारका कलाकार मौलारामले काठमाडौं आएर बनाएको बताइन्छ।
त्यसैबीच पुरानो चित्रमा जस्तै बसेको तर फूलको ठाउँमा चोर औंला उठाएको पृथ्वीनारायणको नयाँ चित्र सहितको हुलाक टिकट २०२४ सालको पृथ्वी जयन्तीमा जारी गरियो। उक्त तस्वीर बनाउँदा पहिरन इतिहासकार बाबुराम आचार्यको सल्लाहमा र अनुहार र जिउडाल कलाकार अमर चित्रकार आफैंले गमेर बनाएका चित्रकारका समकालीन ठाकुरप्रसाद मैनाली र मनुजबाबु मिश्रको कथन छ। कलाकार केके कर्माचार्यले डिजाइन गरेको त्यो चित्र कसले कुन प्रयोजनले बनाउन लगायो भन्ने पाटो छलफलमा आउँदै छ।
२०७६ पुस २७ गतेको कान्तिपुरमा प्रकाशित लेखमा कर्माचार्यले बताए अनुसार, महेन्द्र राजा भएपछि पृथ्वीनारायणको चित्रको खोजी हुँदा फूल बोकेको मात्र भेटिएको र त्यसले राज्य एकीकरणकर्ताको छवि विम्बित नगर्ने भन्दै तत्कालीन पञ्चायती सरकारको निर्देशन अनुसार बहादुर देखाउने र राष्ट्रिय एकताको भाव दर्शाउने गरी औंला उठाएको नयाँ चित्र उनले बनाएका थिए।
राष्ट्रियता र राष्ट्रवादको आडमा निर्दलीय पञ्चायतको पक्षमा माहोल बनाउन राजा महेन्द्रले शाहवंशको गुणगानमा आधारित शिक्षा नीति नै अघि बढाए। उदाहरणका लागि पञ्चायतले पृथ्वीनारायणलाई राष्ट्रिय एकताको सूत्रधार मान्दै विद्यालय शिक्षामै घोकायो। नयाँ राष्ट्रिय शिक्षा पद्धति २०२८ पश्चात् प्रकाशनमा ल्याइएका महेन्द्रमाला पढेर हुर्किएका हामी पृथ्वीनारायणलाई नेपाल एकीकरणका नायक अर्थात् राजाहरूमा पनि ठूला/बडामहाराज र त्रिभुवनलाई देशमा प्रजातन्त्र ल्याउने राष्ट्रपिता भनेर हुर्कियौं।
पृथ्वीनारायणको पुरानो चित्र।
विद्यालय तथा कलेजमा वक्तृत्वकला प्रतियोगितामा यिनै विषयमा नयाँ नयाँ तर्क जुटाउँदै सहभागी भयौं, सुन्यौं, सुनायौं। उतिवेला कक्षा ९ को महेन्द्रमालाको पहिलो लेख ‘नेपालको राजतन्त्रात्मक संस्कृति’ मा लेखिएको थियो, ‘नेपाल राजाको देश हो। आजको नेपाल श्री ५ बडामहाराज पृथ्वीनारायण शाहको उघाउनी हो। त्यसैले राजतन्त्र नेपालको संस्कृति हो। हामी नेपाली हजारौं वर्ष अघिदेखि राजाका कोखमा हुर्किएर आएका हौं। यसो हुनाले राजालाई आफ्नै बाबुसरह मान्छौं।’
पृथ्वीनारायण शाहको मृत्यु भएको स्थान नुवाकोट देवीघाटको बाटो हुँदै मामाघर जाने मेरा लागि विद्यार्थीकालमा पृथ्वीनारायण झनै महत्त्वपूर्ण थिए। किनभने मामाघर जाने बाटोमै थियो, उनको एक हातको चोर औंला ठडिएको र अर्को हातमा तरबार भएको ठूलो ढुङ्गामाथिको शालिक। हरेक पटक त्यस ठाउँमा पुग्दा किताबको सन्देश सम्झिन्थें र भावमा डुब्थें, ‘कस्ता महान् मान्छे। यत्रो मुलुक आर्जेर जनतालाई दिएछन्। पछि आउने उनका सन्तान–दरसन्तानले अन्यथा गर्लान् भनेर औंला ठड्याएर खबरदारी पनि गरेका रहेछन्।’
सयौं पटक त्यो बाटो आवतजावत गर्दा त्यहाँ पुगेपछि उच्च सम्मानको भाव जाग्थ्यो, तर त्यो शालिक कहिले बनाइएको रहेछ भन्ने पत्ता लगाउने चेष्टा कहिल्यै गरिएन। पृथ्वी जयन्तीलाई एकता दिवसका रूपमा मनाउने चलनले निरन्तरता पाउनुपर्छ भन्ने आवाज एकथरीले अलि चर्को पार्न थालेपछि भने शालिक पनि प्रचार अभियानकै हिस्सा रहेकोमा संशय भयो। त्यसबारे सोधखोज गर्दा देवीघाटको बगैंचा र त्यहाँभित्रको शालिक पञ्चायतकालमै २०३७/३८ सालतिर मात्र बनाइएको थाहा भयो।
सारमा, हरेक देशले आफ्ना नागरिक नतमस्तक हुने केही कुरा इतिहास या संस्कृतिका रूपमा पस्किन्छ। यो स्वाभाविक हो। तर, पस्किएको कुरा तथ्य र प्रमाणमा आधारित हुनुपर्छ। पृथ्वीनारायणलाई आधुनिक नेपालको एकीकरणकर्ता भनेर उनले काठमाडौं उपत्यका विजय गरेको समय १८२५/२६ साल उल्लेख गरिन्छ। त्यो समय आजभन्दा २५४ वर्ष मात्र अघिको हो, जति वेला विश्वले भाषा, साहित्य, कला आदिमा ठूलो फड्को मारिसकेको थियो।
त्यसैले उनका व्यक्तित्व र कीर्तिबारे दसी प्रमाणका आधारमा बहस, छलफल र चर्चालाई अन्यथा मानिनु हुँदैन। बरु यस प्रकारको बहसले इतिहास खारिन्छ र सर्वमान्य बिन्दुमा पुग्न सकिने स्पष्टता ल्याउँछ। तर, तथ्यमा नभई लहडबाजी रूपमा प्रचार गर्ने र जनताले किन्तु परन्तु नगरी स्विकार्नुपर्छ भनेर मुख थुन्ने कतिपयको तर्क र कार्यले स्विकारिसकेका भावमा पनि शङ्का उब्जिने र नमान्ने अवस्था निम्तिन सक्छ।
पृथ्वीनारायणको सम्झना नै गरिनु हुँदैन भन्ने होइन, पृथ्वी जयन्ती मनाउन चाहने समूहलाई लोकतान्त्रिक राज्यले रोक्नु हुँदैन र मिल्दैन। तर, राष्ट्रिय एकता दिवसकै रूपमा सबैले मानून् भन्ने चाहना राज्य वा कसैले गर्छ भने त्यसको प्रमाण र सान्दर्भिकता आवश्यक हुन्छ।
(प्याकुरेल राजनीतिक समाजशास्त्रका सहप्राध्यापक हुन्। हिमालको २०७९ चैत अङ्कबाट।)