नयाँ क्यामरा किनेपछि अभ्यास गर्ने वेला इतुम्बहाल का प्रज्ञारत्न शाक्यले खिचेको एउटा तस्वीरले गर्दा चोरी भएर अमेरिका पुगेको ७०० वर्ष पुरानो सम्पदा फिर्ता भएको छ।
इतुम्बहालका प्रज्ञारत्न शाक्यको ठमेलमा चाँदीको गरगहनाको पसल थियो। एक दिन उनको पसलमा एक रूसी पर्यटक आए।
तिनले भने, “मसँग राम्रो जेनिथको क्यामेरा छ। पैसा पनि मिलाउँछु। लिनुहुन्छ?”
प्रज्ञारत्न फोटो खिच्नमा शौखिन। क्यामेरा देखेपछि मन थाम्नै सकेनन्। फ्याट्ट भनिहाले, “लु, मिलाउनुस् दाम।”
दुवैले एक हजार रुपैयाँमा कुरा मिलाए। “२०५२ सालमा एक हजारले धेरै काम हुन्थ्यो,” प्रज्ञारत्न सम्झन्छन्, “तैपनि क्यामेरा चलाउने शौख पूरा गर्नु थियो। सस्तोमा पनि पाएँ र खरीद गरें।”
प्रज्ञारत्नको यही क्यामेराले २५ वर्षअघि चोरी भएको इतुम्बहालको केशचन्द्र महाविहारको सम्पदा अहिले नेपाल फिर्ता ल्याएको छ।
क्यामेरा किनेपछि प्रज्ञारत्नले केशचन्द्र महाविहारको भित्र-बाहिरका सम्पदाहरूको तस्वीर लिएका थिए। तस्वीर लिनुको उद्देश्य थियो- नयाँ क्यामेराबाट राम्रो खिच्ने अभ्यास गर्नु।
उनले लगभग २५ वटा तस्वीर खिचेका रहेछन्। जसको नेगेटिभ बनाएर सुरक्षित राखेका थिए।
प्रज्ञारत्न शाक्यले २५ वर्षअघि खिचेको विहारको कुलदेवता घरको तस्वीर।
यसको तीन वर्षपछि २०५५ सालमा महाविहारमा रहेको ‘माला पहिरिएकी’ अप्सराको काठको प्रतिमा एकाएक गायब भयो। गन्धर्वको उडिरहेको आकृतिको प्रतिमा हराएपछि केही दिन खोजी भयो। समुदायमा छलफल भयो, तर भेटिएन।
प्रज्ञारत्नलाई पनि त्यस वेला तस्वीर लिए/नलिएको हेक्का नै भएन। एक वर्षअघि भने उनले सन् १९९९ देखि हराएकी ‘माला पहिरिएकी अप्सरा’ न्यूयोर्कको रुबिन म्यूजियममा सन् २००३ मा ‘डिस्प्ले’ मा राखिएको जानकारी पुरातत्त्व विभागबाट पाए।
७०० वर्षभन्दा पुरानो मानिएको सम्पदा यदि आफ्नो हो भन्ने प्रमाण पेश गर्न सके फिर्ता हुने जानकारी पनि पुरातत्त्वले गरायो। “प्रमाणमा फोटो, चित्र वा अन्य केही सामग्री भए ल्याउनू। त्यसपछि मात्र फिर्ता गर्न सकिन्छ,” प्रज्ञारत्नलाई विभागले भन्यो।
सम्पदा त आफ्नै हो, प्रमाण पो कसरी जुटाउने?
प्रज्ञारत्न यही सोचेर घोत्लिन थाले। अनि झल्याँस्स सम्झिए- २५ वर्षअघि अभ्यास गर्दा खिचेका तस्वीरहरू। उनी आफ्नै ‘आर्काइभ’ खोतल्न थाले। दुई दिनपछि रिल भेटियो।
उनले विहारको झ्यालको दायाँ र बायाँ भाग सहित अप्सराको काष्ठकला भएको तस्वीर खिचेका रहेछन्। हराएकी अप्सरा बायाँपट्टिकी थिइन्।
त्यसपछि उनको खुशीको सीमा नै रहेन। “पुरानो फोटोको प्रमाण भएपछि सम्पदा फर्कने पक्का भयो। त्यसपछि हामी विहार समुदायका सबै साथीहरू काष्ठकलाको प्रतीक्षामा थियौं,” प्रज्ञारत्न भन्छन्।
अमेरिकाबाट फिर्ता आएको अप्सराको मूर्ति।
फिर्ता गर्ने वेला रुबिन म्यूजियमले अप्सरालाई सन् २००३ मा आफ्नो संग्रहमा पुगेको बताएको थियो। नेपाली सम्पदाको पहिचान तथा प्रमाणीकरणको अभियान ‘लस्ट आर्टस् अफ नेपाल’ ले यसबारे सूचना बाहिर ल्याएको थियो।
म्यूजियमले फिर्ता गरेपछि याे सम्पदा २०७८ पुसमा नेपाल आइपुगेको हाे। शुरूमा छाउनीस्थित राष्ट्रिय संग्रहालयमा राखिए पनि चैत २ गते भने इतुम्बहालको महाविहारमै ल्याइएकाे छ।
अब साइत हेरेर पूजा गरी यसलाई पुरानै स्थानमा राखिने महाविहार समाजका अध्यक्ष समेत रहेका प्रज्ञारत्न बताउँछन्। “हामीले नसोचेको कुरा पाएका छौं। अब यसको संरक्षणमा हाम्रो पूरा ध्यान हुन्छ। महाविहारले पनि अहिले पूर्णता पाएको छ,” उनी भन्छन्।
२०४० सालमा चोरी भएको टुँडाल पनि फिर्ता
महाविहारबाट २०४० सालमा चोरी भएको शालभञ्जिकाको आकृति भएको टुँडाल पनि अहिले फिर्ता भएको छ। मेट्रोपोलिटन म्यूजियम अफ आर्ट, न्यूयोर्कमा टुँडाल रहेको जानकारी पाएपछि नेपाल सम्पदा पुन:स्थापना अभियानले फिर्ताका लागि पहल गर्न पुरातत्त्व विभागलाई आग्रह गरेको थियो।
विभागको पहलमा फिर्ता ल्याएर छाउनीमा राखिएको थियो। त्यसलाई पनि चैत २ मै छाउनीबाट महाविहार ल्याइएको छ।
सम्पदा फर्किएपछि महाविहार समाजका संरक्षण अगुवा टोली।
प्रज्ञारत्नका अनुसार, यो टुँडाल १२/१३औं शाताब्दीको हो। साथै नेपालमा बाँकी रहेकामध्ये सबैभन्दा पुरानो काष्ठकलाको सम्पदा पनि यही हो। “टुँडालको तल र माथिको भागको यक्षको मूर्ति हामीले ४० वर्ष सुरक्षित राख्यौं। यो हाम्रो सम्पदा संरक्षण गर्ने चेत हो,” उनी भन्छन्।
चोरी भएका सम्पदा फिर्ता हुने माध्यम भनेकै सम्पदासँग सम्बन्धित प्रमाणहरू भएकाले त्यस्ता प्रमाण सुरक्षित राख्न अध्ययन शुरू गरिने भएको छ। “सम्पदा हीरा रहेछन्। फिर्ता भएका दुई सम्पदाले विहारमा त्यसको झल्को दिएका छन्,” उनी भन्छन।
हराएका सम्पदा फिर्ता ल्याउनेसँगै समुदायको जागरणले चोरी रोक्न सकिने छाउनी संग्रहालयका प्रमुख जयराम श्रेष्ठ बताउँछन्। “हराइसकेपछि पनि फर्काएर ल्याउन समुदायको नै पहल चाहिन्छ। जोगाउन पनि समुदायको,” श्रेष्ठ भन्छन्।
महाविहारका अध्यक्ष प्रज्ञारत्न अब २०६० सालमा सोही विहारबाट चोरी भएका चार वटा सुनका गजुर र २०३७ सालमा चोरी भएको मूल देवताको खोजी गर्ने बताउँछन्। गत जेठबाट अध्यक्ष भएका उनी आफ्नो कार्यकालभर हराएका सम्पदा र मूर्तिहरूको खोजी गर्ने बताउँछन्। भन्छन्, “केही हराएका मूर्तिहरूको अध्ययन र खोजी थालिसकेका छौं। भारतका केही संग्रहालयमा बुझ्ने काम पनि भइरहेको छ।”
महाविहारको इतिहास
इतुम्बहाललाई एक प्रमुख महायानी बौद्ध महाविहारका रूपमा लिइन्छ। काठमाडौं महानगरपालिका-२४ मा अवस्थित महाविहार ११औं शताब्दिको मध्यतिर केशवचन्द्र (बोलीचालीमा श्री केशचन्द्र) नाम गरेका व्यक्तिले निर्माण गरेका थिए।
काठमाडौंमा शासन गरिरहेका नुवाकोटे ठकुरी राजा भास्करदेवको पालामा विहार निर्माण भएको देखिन्छ। संस्कृतमा यस विहारको नाम ‘श्री भास्करदेव संस्कारित केशवचन्द्र कृत पारावत् महाविहार’ हो।
केशचन्द्र महाविहारको अर्को पुरानो नाम यातुम्वाहार क्वाथ हो। यसैको अपभ्रंश भएर इतुम्बहाल भयो । केशचन्द्रले सुनको छानो छाएर स्वर्णमय विहार बनाएको पनि भनिन्छ।
इतुम्बा अभिलेख संग्रह का अनुसार, त्यस वेला केशवचन्द्र एक जुवाडे मात्र थिए। जुवामा सबथोक गुमाएपछि उनी अत्यन्त दुःखी भएका थिए। पछि एकचित्तले ईश्वरको आराधना गरेपछि कृतभैरवको करुणादृष्टि उनका परेको थियो भन्ने मान्यता छ।
पछि परेवाहरूको बिस्टा सुनमा परिणत भएर उनी धनी भएको मानिन्छ। सो सुन उनले गुरुमापाको मद्दतबाट बोकी ल्याएका थिए। पाटनका राजा हरिदेवकी छोरीसँग उनको विवाह भएको थियो।
इतुम्बा अभिलेख संग्रह मा लेखक स्वस्तिरत्न शाक्यले केशवचन्द्रले विहार मात्र नबनाएर आवश्यक गुठी जग्गाहरूको व्यवस्था पनि गरिदिएको उल्लेख गरेका छन्।
VIDEO