विश्वासघात, धोका र अस्थिरता राजनीतिको पर्यायवाची शब्द बन्ने देखिएको छ। यस्तो अवस्थाको तत्काल अन्त्य हुनुपर्छ।
प्रधानमन्त्री वा प्रधानन्यायाधीश बनिसकेको व्यक्ति राष्ट्रपति बन्न मिल्दैनथ्यो। पूर्व प्रधानमन्त्री वा पूर्व प्रधानन्यायाधीश राष्ट्रपतिको उम्मेदवार नबन्नु राम्रो कुरा हो। नेपाली कांग्रेस र नेकपा (एमाले)ले दुवैले राम्रो उम्मेदवार अघि सारेका छन्।
मुलुकलाई कसरी अगाडि बढाउने भन्ने जिम्मेवारी कांग्रेस र एमालेको हो। किनभने जनमत यी दुई दलले पाएका छन्। नेकपा (माओवादी केन्द्र) त धेरै टाढाको तेस्रो दल हो। जनमतको कदर गर्ने हो भने प्रधानमन्त्री कांग्रेस वा एमालेबाटै हुनुपर्दथ्यो।
नेपाली जनताले दुई जनासम्मले आलोपालो प्रधानमन्त्री चलाउने भन्ने कुरा झेलेकै हुन्। तर, तीन जनाले आलोपालो गर्ने भन्ने कुरा आएको छ। साँचो हो भने यो नितान्त जनभावना विपरीत कुरा भयो।
जनताले भोट नदिएकाहरू पनि प्रधानमन्त्री नबनी नहुने हो भने त कांग्रेसले ३२ महीना, माओवादीले १२ महीना, जनता समाजवादी पार्टीले १३२ दिन, एकीकृत समाजवादीकाे ११०, जनमत पार्टीले ६६ दिन, लोकतान्त्रिक समाजवादी पार्टीले ४४ दिन, नागरिक उन्मुक्ति पार्टी ४४ र राष्ट्रिय जनमोर्चाले ११ दिन प्रधानमन्त्री चलाए हुन्छ।
कांग्रेस र एमाले नमिल्दा मुलुक बलियो हुँदैन। आपसमा झगडा गरेर बस्दा विदेशीले खेल्ने मौका पाउँछन्। निर्वाचनपछि बनेको सरकार पाँच वर्ष पनि नचल्नु भनेको दुर्भाग्य हो।
राष्ट्रपति निर्वाचनमा जे देखिंदै छ, त्यसले निरन्तर अस्थिरता हुने देखिएको छ। विश्वासघात, धोका, आशङ्का, अविश्वास र अस्थिरता राजनीतिको पर्यायवाची शब्द बन्ने देखिएको छ। यस्तो अवस्थाको तत्काल अन्त्य हुनुपर्दछ।
(कुराकानीमा आधारित)