नागरिक उन्मुक्तिका सांसद अरुण चौधरी रिहा
राष्ट्रपतिबाट आममाफी पाएका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी रिहा भएका छन्।
कैलाली–२ बाट निर्वाचित चौधरी आइतबार कैलाली कारागारबाट रिहा भएका हुन्। कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले आवश्यक प्रक्रिया पूरा गरेर चौधरीलाई रिहा गरिएको बताए। उनी सहित कैलालीबाट चार जना कैदी रिहा भएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा ३९५ जना कैदीको सजाय माफी गरेकी छन्। त्यसैमध्ये एक सांसद चौधरी पनि हुन्।
थरुहट आन्दोलन ताका बन्दको अवज्ञा गरिएको भन्दै २०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको घटनामा २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरी सहित तीन जनालाई जनही ६ महीना कैद र आठ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउनुपर्ने फैसला गरेको थियो। कैद भुक्तान नगरेको भन्दै चौधरीलाई माघ १९ गते प्रहरीले पक्राउ गरेको थियो।