हरेक शासनसत्ताले जनतामाझ आफ्नो वैधता स्थापित गर्न र त्यसलाई कायम राख्न प्रतिमा बनाउँछ। प्रतिमा स्मृतिसँग जोडिएको हुन्छ किनभने त्यसले कथा बोकेको हुन्छ। शासकले शासनको निरन्तरताका लागि त्यस्ता कथाहरू सिर्जना गर्छ।
सिद्धान्ततः कुनै पनि कलाले तीन प्रकारले भूमिका खेल्छ। कुनै कलाले आइकनको काम गर्छ भने कुनैले सिम्बोल र कुनैले इन्डेक्सको। नेपालीमा तिनलाई क्रमशः प्रतीक (आइकन), प्रतिमा (सिम्बोल) र सूचक (इन्डेक्स) भन्न सकिएला।
कसैले कुनै ढुङ्गालाई मान्छे जस्तो देख्छ भने त्यहाँ ढुङ्गाले प्रतीकको काम गरेको हुन्छ। कुनै वस्तुलाई मानवीय भावको रूपमा अर्थ्याइयो भने त्यसले प्रतिमाको काम गरिरहेको हुन्छ। जस्तै, गुलाफलाई सौन्दर्य र आगोलाई आक्रोशका रूपमा प्रस्तुत गरिन्छ। त्यही रातो रङ राजनीतिमा क्रान्ति र ट्राफिक बत्तीमा रोकिने सङ्केतको रूपमा प्रस्तुत हुन्छ। त्यसैले वस्तुले खेल्ने प्रतिमाको भूमिका समय–सन्दर्भ अनुसार फरक हुन्छ। सूचक भने कसैको अस्तित्वको चिह्न हो। औंठाछाप एक सूचक हो जसले यही मानिस भनेर बताउँछ। त्यस्तै कोठामा कसैको कोट छुटेको रहेछ भने हामी त्यो मानिस कुनै समय त्यहाँ थियो भन्ने बुझ्छौं। उक्त सन्दर्भमा कोट सूचक हो।
विगतका शासकहरूको प्रतिमा स्थापना गरेर पनि उसले आफ्नो वर्तमानको शासनको वैधता स्थापना गरिरहेको हुन्छ। पृथ्वीनारायण शाहको प्रतिमा त्यसको उदाहरण हो।
हरेक शासनसत्ताले जनतामाझ आफ्नो वैधता स्थापित गर्न र त्यसलाई कायम राख्न प्रतिमा बनाउँछ। त्यस्ता प्रतिमा स्मृतिसँग जोडिएको हुन्छ किनभने त्यसले कथा बोकेको हुन्छ। शासकले शासनको निरन्तरताका लागि त्यस्ता कथाहरू सिर्जना गर्छ। कथा अनुसार प्रतिमा र चित्रहरू बनाइन्छन्। शासकले जनताको प्रतिमा भने बनाउँदैन। त्यसका दुई कारण छन्। एक, जनताको प्रतिमा बनाएर शासकलाई फाइदा छैन। अर्को, जनताको प्रतिमा बनाउन धेरै गाह्रो छ। जनतालाई अभिव्यक्त गर्ने निश्चित भाष्य बनाउन गाह्रो हुन्छ।
त्यसैले नै शासककै प्रतिमाहरू बनाइन्छन्। जस्तै, भारतको प्रधानमन्त्री नरेन्द्र मोदीका अनेकौं प्रतिमा बनाइएका छन्। शासन सञ्चालनमा जनता वस्तु हो भने शासक विषय। शासकले सधैं आफ्नै प्रतिमा बनाउँछ भन्ने छैन। विगतका शासकहरूको प्रतिमा स्थापना गरेर पनि उसले आफ्नो वर्तमानको शासनको वैधता स्थापना गरिरहेको हुन्छ। पृथ्वीनारायण शाहको प्रतिमा त्यसको उदाहरण हो।
पृथ्वीनारायणको प्रतिमा
पृथ्वीनारायण शाहलाई प्रतिबिम्बित गर्ने तीन प्रकारका मूर्ति वा चित्र पाइन्छन्। एउटा नुवाकोट दरबारमा रहेको हात जोडेको मूर्ति, मुगल शैलीमा बनाइएको फूल समाएको तस्वीर र औंला ठाडो बनाएको अमर चित्रकारले बनाएको तस्वीर।
पृथ्वीनारायणका यी तीन छवि फरक फरक समयमा बनाइएका हुन् र यिनले फरक फरक अर्थ दिन्छन्। नुवाकोटको मूर्तिले भक्तिभाव र नम्रता देखाउँछ। त्यहाँ पृथ्वीनारायण शाह एक प्रार्थी र साधक देखिन्छन्। त्यस मूर्तिमा उनी साधारण मानिसले जस्तै देवता वा समाजलाई नमस्कार गरिरहेका देखिन्छन्।
फूल समाएको चित्रले थरीथरीका मानिसलाई एकजुट पारेर कलात्मक काम गरेको र अबको मार्ग शान्तिको रहेको अर्थ दिन खोजेको छ। गढवालका कलाकारले यो चित्र बनाएको इतिहासकारहरूले उल्लेख गरेका छन्। उनले गढवाली शैलीमा मुगल सम्राट्हरूको झल्को आउने गरी यो तस्वीर बनाएका थिए।
नुवाकोटको मूर्तिले भक्तिभाव र नम्रता देखाउँछ। त्यहाँ पृथ्वीनारायण शाह एक प्रार्थी र साधक देखिन्छन्।
एक औंला ठड्याएको तस्वीरले भने उनमा अन्तर्निहित बललाई अभिव्यक्त गरेको छ। मैले छरिएको नेपाललाई समेटें भन्ने अर्थ दिन्छ यसले। पृथ्वीनारायण शाहको सबैभन्दा चर्चित तस्वीर यही नै हो। यसले एकैपटक प्रतिमा र सूचकको काम गरेको छ। जसरी एउटा रेखाले चश्मा र लाठी बनायो भने पनि हामी गान्धी भनेर बुझ्छौं त्यसैगरी कसैले चोर औंला आफूतिर फर्काएर दायाँ हात उठायो भने पृथ्वीनारायण शाह भनेर बुझिन्छ।
सत्ता र प्रतिमा
माथि पनि उल्लेख भयो, शासकले जनतामाझ आफ्नो शासनको वैधता स्थापित गर्न कथा बनाउँछ। त्यस्तो कथा प्रतिमा मार्फत व्यक्त हुन्छ। औंला ठड्याएको पृथ्वीनारायण शाहको तस्वीर त्यस्तै एक प्रतिमा हो। यो चित्र पञ्चायतकालमा बनेको हो। साहित्यकार बालकृष्ण समको सल्लाहमा अमर चित्रकारले बनाएका हुन् यो तस्वीर।
चित्रकारले पूर्ण कदको तस्वीर बनाउनुअघि नै २०२४ सालमा हुलाक टिकटमा राखिएको पृथ्वीनारायण शाहको बसेको तस्वीरमा औंला ठड्याइएको छ। त्यो चाहिँ के.के. कर्माचार्यले बनाएका हुन्। उनले सरकारको निर्देशनमा नै पृथ्वीनारायणलाई लडाकु, बहादुर देखिने गरी बनाइएको जनाएका छन्। पछि अमर चित्रकारले उभिएको प्रतिमा बनाए। महेन्द्रले पृथ्वीनारायण शाहलाई नेपालको एकीकरण गर्ने एक क्षत्रिय राजाका रूपमा स्थापित गर्न त्यस्तो प्रतिमा बनाउन लगाएका थिए।
पञ्चायतको राष्ट्रवादी राजनीति स्थापना गर्न एकीकरणको भाष्य चाहिएको थियो। शाहवंशीय राजाले नेपाल बनाए भन्ने भाष्य बनाउन पृथ्वीनारायण शाहलाई नायकका रूपमा स्थापित गरियो जसका निम्ति उनको यो प्रतिमा सबैभन्दा प्रभावशाली हुन पुग्यो।
शासकले सधैं देशका लागि योगदान दिने व्यक्तिलाई आफू अनुकूल बनाउन खोजिरहेको हुन्छ। तत्कालीन पञ्चायती शासकले त्यसका लागि सबैभन्दा उपयुक्त पात्र पृथ्वीनारायण शाह ठाने। उनीभन्दा पनि पुरानो कालमा गयो भने बुद्ध वा सगरमाथाको प्रतिमा हुन सक्थ्यो। बुद्धले हिन्दू धर्मको प्रतिनिधित्व गर्न नसक्ने र सगरमाथाले शाह वंशको गरिमा स्थापना नगर्ने हुनाले पृथ्वीनारायण शाह नै सबैभन्दा उपयुक्त हुन पुगे।
यसरी प्रतिमाको निर्माण सत्ताले मात्र गर्दैन। समाज र मिडियाले पनि यसमा प्रशस्त भूमिका खेलेका हुन्छन्। उदाहरणका लागि अमेरिकी समाजमा आज पनि मर्लिन मुनरोलाई एउटा शोषित सुन्दरीका रूपमा चित्रण गरिन्छिन्। कुनै महिलाका दुःख र सौन्दर्यलाई सँगै प्रस्तुत गर्नुपर्यो भने उनको तस्वीर प्रयोग गरिन्छ।
शासन व्यवस्थामा परिवर्तन आउँदा सत्ताले बनाएका मानकहरू फेरिन्छन्, नयाँ बन्छन्। अहिले नायकका रूपमा स्थापित पृथ्वीनारायण शाहको छवि भविष्यमा फेरिन पनि सक्छ। उनी जति सम्मानित र स्वीकार्य छन् त्यति नै विवादित र निन्दित पनि। भविष्यको शासनसत्ताले उनको त्यसप्रकारको प्रतिमा स्थापित गर्न पनि सक्छ। त्यसैले प्रतिमा पनि परिवर्तनशील छ।
यसरी प्रतिमाको निर्माण सत्ताले मात्र गर्दैन। समाज र मिडियाले पनि यसमा प्रशस्त भूमिका खेलेका हुन्छन्।
बजार र सौन्दर्य
आधुनिक बजार अर्थतन्त्रको विकाससँगै व्यक्तिको शरीरलाई प्रस्तुत गर्ने दृष्टिकोणमा पनि परिवर्तन आएको छ।
सिद्धान्ततः मानव शरीरलाई दुई प्रकारले प्रस्तुत गरिएको छ। फ्रान्सेली दार्शनिक मिसेल फुकोले शरीरलाई जैवशक्ति (बायोपावर)का रूपमा प्रस्तुत गरेका छन्। यो मान्यताले बजारलाई सहयोग गरेको छ। बजारले शरीरलाई उपभोक्ताका रूपमा प्रयोग गरिरहेको हुन्छ, चाहे त्यो विज्ञापन मार्फत होस् वा राजनीति मार्फत। मानव शरीरलाई जोगाएर त्यसको उपभोग गर्ने चिन्तन हो यो।
अफ्रिकाली लेखक असिले म्बेम्बेले भने शरीरलाई सूक्ष्म राजनीतिका रूपमा प्रस्तुत गरेका छन्। उनका अनुसार शरीरलाई काम नलाग्ने वस्तुका रूपमा पनि अर्थ्याइन्छ। जस्तै, हिटलरले यहुदी शरीरको काम छैन भन्ने भाष्य निर्माण गरेर ६० लाख यहुदीको हत्या गरे। अफ्रिका, पूर्वी युरोप, कंगो वा रुवान्डामा भएका नरसंहारमा निश्चित प्रकारका मानव शरीर आवश्यक छैन भन्ने भाष्य स्थापना गरिएको थियो। अहिले पुटिन नेतृत्वको रुसी साम्राज्यले पनि त्यस्तै भाष्य निर्माण गरेर युक्रेनीहरूको हत्या गरिरहेछ।
फुकोको सिद्धान्तले भने मानव शरीरलाई जीवनोपयोगी बनाउँछ। औषधिदेखि सौन्दर्य प्रशाधनका सामग्रीको विज्ञापन, स्वास्थ्यलाभको प्रचार आदि सबैले शरीरकै महत्त्वलाई जोड दिएका हुन्। आखिर राजनीतिक संस्था र मिडियालाई पनि शरीर नै चाहिन्छ।
सुन्दर शरीरको मानकको निर्माणमा भने अर्थ–राजनीतिक स्वार्थ जोडिने गरेको छ। सौन्दर्य प्रतियोगिताहरूमा कम तौल भएका जति राम्रा हुन् भनेर स्थापित गरियो। मानव अधिकारकर्मीहरूले त्यसको विरोध गरे। ४० किलोग्रामभन्दा कम तौल हुनु त कुपोषण हो भनेर विरोध गरेपछि ४०.५ को मानक बनाइयो। पहिले मोटो शरीरलाई सुख र समृद्धिको प्रतीकका रूपमा मानक बनाइएको थियो। सौन्दर्य प्रशाधनहरूको उत्पादन र बजार बढ्न थालेपछि साथै सौन्दर्य प्रतियोगिताहरू हुन थालेपछि मानक नै परिवर्तन भयो।
बजारले सिर्जना गरेको मञ्च अनुसार मानक पनि परिवर्तन भइरहेको हुन्छ। सौन्दर्य प्रतियोगितामा पातलो शरीर बनिरहेको छ। छाती सानो भएको राम्रो भन्ने मानक बनाइएको छ। तर, अन्तर्वस्त्रका विज्ञापनमा त्यसको उल्टो छ।
सौन्दर्य प्रतियोगिता र सौन्दर्य प्रशाधन सामग्रीले जसरी मानक बनाइरहेका छन्, त्यो राजनीति हो। आखिर उद्देश्यपरक विचार वा कर्म राजनीति हुन्। कसैले ‘तिमीलाई माया गर्छु’ भन्छ भने त्यो पनि राजनीति नै हो। उसले प्राप्तिको चाहना राखेर नै त्यसो भनेको हुन्छ। मान्छेले धारणा, सपना, इच्छा राख्छ र त्यो प्राप्तिसँग जोडिन्छ भने राजनीति हो। चाहना अभिव्यक्त हुँदैन भने मात्र राजनीति हुँदैन।
उदाहरणका लागि चर्चित लेखक, चिन्तक सिमोन द बुभोले आफ्नो एक साथीबारे लेखेकी छन्। ती साथीले उनलाई गाडीमा लिएर जाने, विश्वविद्यालय पुर्याउने, पुस्तकालयमा बाहिर पर्खने गर्थे। तर कहिल्यै पनि सिमोनलाई ‘प्रेम गर्छु’ भनेनन्। एक दिन अति भएपछि सिमोनले सोधिन्, “के तिमी मलाई प्रेम गर्छौ?” उनले जवाफ दिए, “त्यो तिम्रो सरोकारको विषय होइन।”
त्यस्तो अवस्थामा मात्र राजनीति रहँदैन नभए प्रेम पनि राजनीति हुन्छ। र, त्यहाँ पनि मानिसको शरीर मानकका रूपमा प्रस्तुत गर्छ। कसैले ‘तिमी राजकुमारी जस्ती’ भन्छ भने उसले राजकुमारीको मानक आकृति मनमा स्थापित गरिसकेको हुन्छ।