महीनावारी सास्ती
‘कोटाहालु मङ्गलय’ भनिने महीनावारीका वेला पालना गर्नुपर्ने कठोर नियममा केही खुकुलोपन देखिए पनि श्रीलंकाका साथै बाँकी दक्षिणएशियामा स्वच्छ महीनावारी तथा प्रजनन स्वास्थ्यको क्षेत्रमा धेरै गर्न बाँकी नै छ।
१२ वर्षको छँदा एक शनिबारको मध्याह्न आँगनमा खेल्ने क्रममा मैले आफ्नो भित्री वस्त्रमा टाटो देखें। त्यो मेरो बाल्यकालको अन्त्य थियो। त्यस लगत्तै परिवारका कुनै पुरुष सदस्यसँग हेलमेल नहोस् भनेर आमाले मलाई एउटा कोठामा बन्द गरिदिनुभयो। यसका साथै, दुष्ट आत्माले असर नगरोस् भनेर उहाँले तकियामुनि राख्न सरौता दिनुभयो। श्रीलंकाली समाजमा महीनावारी भएको वेला दुष्ट आत्मा नजिक आउँछन् भन्ने मान्यता छ।
त्यस साँझ मलाई धोबी समुदायका महिलाले दिएका कपडा लगाउन भनियो। जातव्यवस्थामा कट्टर र कठोर श्रीलंकामा धोबीलाई तल्लो जात मानिन्छ। महीनावारी भएकी किशोरीलाई धोबी महिलाको कपडा दिनुको अर्थ ‘तँ पनि उनीहरू जस्तै अशुद्ध र अछूत होस्’ भन्नु हो। त्यसपछिका ६ दिन मैले तिनै कपडा लगाएँ, तेल र मसला विनाको खाना खाएँ।
मलाई घरभित्र लुकाइएकै समयमा आमा र एक जना काकी मेरो चिना हेराउन गाउँकै एक ज्योतिषीकहाँ पुग्नुभयो। आमाले ज्योतिषीलाई मेरो पहिलो रजस्वला भएको जानकारी दिँदै रजस्वला शुरू भएको समय र ठाउँ तथा त्यस वेला मैले लगाएको कपडाको रङ पनि बताउनुभयो। ती जानकारीका आधारमा उनले म बाहिर निस्किने दिन, बाहिर निस्केपछि नुहाउने विधि, उक्त दिन लगाउनुपर्ने कपडाको रङ अनि मेरो वैवाहिक भविष्यबारे बताए।
ज्योतिषीले भनेकै दिन तौलियाले मुख छोपेर मलाई घर पछाडिको ढोकाबाट नुहाउन निकालियो। मेरो कारणले घरका पुरुष सदस्यहरूको जीवनमा अशुभ नहोस् भनेर उनीहरूलाई टाढा राखियो। ज्योतिषीकै सल्लाह अनुसार नुहाउने क्रममा म चटाइमाथि काठको पिर्कामा राखिएका धानमाथि उनैले भनेको दिशामा फर्केर बसें। मसँगै चम्पाको एक हाँगा पनि त्यही दिशामा राखियो, जसबाट भुइँमा दुधिलो चोप खसेको थियो। चोप सहितको रूख र धान प्रजननका प्रतीक हुन्।
त्यसपछि नयाँ माटाको भाँडामा पानी भरेर त्यहाँ फूलका केही पात हालियो र त्यो पानी बिस्तारै मेरो शरीरमा खन्याइयो। त्यो मलाई शुद्ध बनाउने प्रक्रिया थियो। धोबिनीले माटोको भाँडा फुटाएसँगै नुहाउने विधि सकियो।
नुहाएपछि मैले सेतो फूलको बुट्टा भएको नयाँ रातो घाँघरा लगाएँ। घर अगाडिको ढोकाबाट भित्र पसें, जसले मेरो स्त्रीत्वको शुरूआतको सङ्केत गर्थ्यो। ढोकामा राखिएको नरिवल मैले फोर्नुपर्थ्याे। नरिवल कसरी फुट्थ्यो भन्ने कुराले मेरो भावी जीवन सङ्केत गर्थ्यो। यसपछि आमाले मलाई सुनको कुण्डल अनि बाले घडी र हार दिनुभयो। साँझ घरमा भोज आयोजना गरियो। यी सबै कुरा गाउँघरमा देख्दै आएको परम्परा भएकाले मेरा लागि नौलो थिएन।
रजस्वला शुरू भएको समयमा अभ्यास गरिने श्रीलंकाली विधि र संस्कार रमाइला छन्। तर, चाँडै यो महीनैपिच्छे हुने र आफूले नै पालना गर्नुपर्ने एक कठोर नियम भएको ज्ञान हुन्छ। हामीसँग न कुनै पूर्व जानकारी हुन्थ्यो न कसैले महीनावारीलाई यसरी व्यवस्थापन गर्नुपर्छ भनेर सिकाए। अधिकांश आमा र काकी महीनावारीबारे आफ्नै छोरीहरूसँग कुरा गर्न पनि हिचकिचाउँथे। म क्रिश्चियन ननहरूले सञ्चालन गरेको कन्भेन्ट स्कूलमा पढ्थें, तैपनि हामीलाई किशोरावस्थाबारे केही भनिँदैनथ्यो।
हुर्कंदै गर्दा महीनावारीको वेला प्रयोग गरिने सेनिटरी प्याडमा मेरो पहुँच थिएन। धेरै महिला र केटीहरूले जस्तै म पुराना कपडा र साडीका टाला प्रयोग गर्थें। तिनै टाला धोएर, सुकाएर धैरै पटक प्रयोग गर्थ्यौं। तर, प्रयोग गरेका टालाहरू खुला रूपमा धुनु र सुकाउनु लाजमर्दो मानिन्थ्यो। कसैले नदेख्ने गरी घर पछाडि वा आफू सुत्ने कोठामा नै सुकाउनुपर्थ्यो। टाला प्रायः सुक्दैनथे र चिसै प्रयोग गर्नुपर्थ्यो।
महीनावारी हुँदा लगाइने कपडा परिवारका सदस्यसँग साटासाट गरेर प्रयोग गर्नु असामान्य लाग्दैनथ्यो। मैले पनि दिदी र आमासँग साटासाट गर्थें। मलाई अझै याद छ, धेरैपछि जब बजारमा प्याड पाइन थाल्यो, आमाले निकै सानो स्वरमा पसलेसँग प्याड माग्नुहुन्थ्यो। उनले त्यसलाई पत्रिकाले बेरेर खैरो झोलामा बाँधेर अरू सामानसँगै दिन्थे। सुपरमार्केट र औषधि पसलको आगमनसँगै पत्रिकाले प्याड बेरेर कालो झोलामा दिने प्रचलन घटेको छ। तथापि कतिपय ठाउँमा अझै त्यस्तो देखिन्छ। कतिपय महिलाले आफैं त्यसो गर्न आग्रह गर्छन्।
श्रीलंकाली समाजले बितेको ३० वर्षमा धेरै परिवर्तन देख्यो। यो बदलाव सन् १९७० को दशकमा भएको आर्थिक उदारीकरण, सिन्हाली र तमिलबीचको द्वन्द्वले निम्त्याएको आन्तरिक र बाह्य बसाइँसराइ र बढ्दो शहरीकरणले ल्याएको हो। यस्तो परिवर्तनको असर महीनावारीको वेला पालना गर्ने नियम र प्रचलनमा पनि परेको छ। महीनावारी हुँदा घरभित्र लुकाउने चलन अहिले श्रीलंकामा त्यति छैन, तर यसलाई अझै पनि लज्जाको विषय ठानिन्छ।
सन् १९७८ पछिको आर्थिक उदारीकरणले विशेषतः श्रीलंकाका शहरी क्षेत्रमा सेनिटरी प्याडको उपलब्धता सहज बनायो। यसबाट प्याड किन्न सक्ने आर्थिक हैसियत भएकाहरूलाई सजिलो भयो। आर्थिक तथा सामाजिक रूपमा पिछडिएका र विपन्न वर्गका लागि प्याडमा पहुँच समस्याकै रूपमा रहिरह्यो। धेरैसँग अझै पनि पुराना कपडा, पत्रपत्रिका या सुकेका पात प्रयोग गर्नुको विकल्प छैन।
आन्तरिक रूपमा विस्थापितहरूको शिविरमा बस्ने ४३ वर्षीया पुष्पमलाई महीनावारी व्यवस्थापनको विषयमा सोध्दा उनले भनिन्ः
‘शिविरमा भरपेट खाना पाउन पनि कठिन छ, प्याड त परको कुरा। भाग्यमा भए हामीले हरेक हप्ता राशनसँगै एक प्याकेट प्याड पनि पाउँछौं, नत्र पसलबाट किन्नुपर्छ। तर, हामीसँग पैसा नै हुँदैन। त्यसैले पुरानै कपडा साटासाट गरेर प्रयोग गर्छौं।’
चियाबगानमा काम गर्ने २४ वर्षीया रञ्जिनीले भनिन्ः
‘मैले प्याड कहिल्यै प्रयोग गरेको छैन। हामीसँग पुरानो कपडा पनि हुँदैन, त्यसैले महीनावारीको वेला म घरमै बस्छु। पत्रिका भए त्यही प्रयोग गर्छु। त्यो वेला काम गर्न नजाने भएकाले सधैं आर्थिक समस्या हुन्छ।’
४९ वर्षीया रिताले जेल जीवन बिताउँदाको महीनावारी अनुभव यसरी बताइन्ः
‘लागूऔषध कारोबारको आरोपमा म तीन वर्ष थुनामा परें। मलाई महीनाको तीन वा चार वटा प्याड मात्र दिइन्थ्यो। पछिल्ला केही महीना मलाई रक्तस्राव धेरै भएर दिनमै तीन वटा प्याड चाहिन्थ्यो, तर मसँग एउटा मात्र हुन्थ्यो। मैले एउटा प्याड बाह्र घण्टाभन्दा बढी प्रयोग गनुपर्थ्यो। मलाई प्याडको गन्धले असह्य हुन्थ्यो।’
प्याडमा पहुँचसँगै त्यस्ता सामग्रीको सही व्यवस्थापन अर्को समस्या हो। अधिकांश गाउँका महिलाहरू आज पनि पुराना कपडा धोएर सुकाएर पुनः प्रयोग गर्छन्। प्रयोग गर्ने अवस्थामा नरहेपछि जलाउने वा गाड्ने गर्छन् या कतिले शौचालयमा फालिदिन्छन्। तर, शहरमा बस्ने पुष्पम र रञ्जिनी जस्ता महिलाका लागि यस्तो फोहोर व्यवस्थापन सजिलो छैन। शहरका सुकुम्बासी बस्तीहरूमा चौबीसै घण्टा पानीको सुविधा नभएकाले महिलाहरूले नुहाउन पनि पाउँदैनन्। ३६ वर्षीया सकुले आफ्नो समस्या यसरी सुनाइन्ः
‘महिला र पुरुष एकै ठाउँमा कपडा धुनुपर्ने भएकाले महीनावारीको समयमा साह्रै अप्ठ्यारो पर्छ। त्यसैले आजकल म महीनावारीमा प्रयोग गरेका कपडा बाटामा धोएर घरभित्रै सुकाउँछु।’
शिक्षा र सूचनाको कमीका कारण आज पनि श्रीलंकाली महिलाहरूमा स्वच्छ महीनावारीबारे थोरै ज्ञान छ। एउटै प्याड लामो समय प्रयोग गर्दा र एउटै कपडा धेरैले लगाउँदा हुने जोखिमबारे उनीहरू अनभिज्ञ छन्। प्याडको बढ्दो प्रयोगले वातावरणमा पर्ने असरबारे पनि उनीहरूलाई थाहा छैन। केही गैह्रसरकारी संस्थाले जनचेतना अभियान चलाए पनि त्यो पर्याप्त छैन। स्वच्छ महीनावारी तथा प्रजनन स्वास्थ्यको क्षेत्रमा अझै धेरै काम गर्न बाँकी नै छ।
(‘पिरियड म्याटर्सः मेन्स्ट्रुएशन इन साउथएशिया’ (२०२२) पुस्तकमा संगृहीत अधिकारकर्मी गणेशपञ्चनको लेखको भावानुवाद निर्जला अधिकारीले गरेकी हुन्।)